स्वास्थ्यकर्मी भन्छन्: उपचार नै नपाउने अवस्था आउन सक्छ, निषेधाज्ञाको पालना गरिदिनुस्
काठमाडौं । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् । अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्ने तर्फ सचेत रहन आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गरे । अहिले देशैभरीका कोभिड अस्पताल र अन्य सरकारी अस्पतालमा संक्रमितको चाप बढिरहेको छ । हिजो स्वास्थ्य मन्त्रालयको तथ्यांकमा २४ घण्टामा ७ हजार ३ सय ८८ व्यक्ति संक्रमित भएका छन् भने ३७ जनाको मृत्यु भइसकेको छ । कोभिड संक्रमणको दोस्रो लहर ७७ वटै जिल्लामा पुगिसकेको छ । यसबाट सर्वसाधारण सँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार धमाधम संक्रमित हुन थालेका छन् ।
चीनबाट २० हजार सिलिन्डर खाली आउँदै
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताउनुभयो । ‘हामीसँग अक्सिजन ग्यासको कमी छैन’, उनले भने, ‘तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।’ मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।
सल्यान अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव
सल्यान । सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन् । अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमितहरुलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकाले एकै दिनमा १० वटा सिलिन्डर सकिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘हरेक २४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन्, बाँकीले आठदेखि १० घण्टा धान्नुपर्छ । यतिबेला बिरामीहरुलाई पूरा समय अक्सिजन पुग्दैन’, अस्पतालका डा भिमकान्त जैसीले भन्े । अस्पतालमा सुर्खेतबाट अक्सिजन ढुवानी गर्नुपर्ने भएकाले सुर्खेत जान र आउन तथा सिलिण्डर भर्न समय लाग्ने हुँदा अक्सिजन समयमा पु¥याउन समस्या भइरहेको डा जैशी बताउँछन् । अस्पतालमा थप १० वटा सिलिण्डर मात्रै भएको भए पनि केही राहत हुने उनको भनाइ छ । अस्पतालमा भर्ना भएका अन्य बिरामीलाई समेत अक्सिजन दिनुपर्ने अवस्था रहेको डा प्रदीप शर्माले बताए । केही दिनअघि मात्रै अस्पतालमा अक्सिजन प्लान्ट मेसिन आएको छ । कर्णाली प्रदेशबाट मेसिन त आयो तर जडान गर्ने जनशक्ति नपठाउँदा त्यसै थन्किएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि भने काम गर्न सहज हुने शर्माको भनाइ छ । यसैबीच सल्यान अस्पतालमा एन्टिजेन किट सकिएपछि कोरोना परीक्षण रोकिएको छ । एन्टिजेन विधिमार्फत अस्पतालमा गरिंदै आएको कोरोना परीक्षण हाललाई स्थगित गरिएको स्वास्थ सेवा कार्यालय सल्यानले जनाएको छ । किट कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएपनि प्रदेशमै किट सकिएपछि पाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले बताए । एन्टिजेन नहुँदा पिसिआरबाट परीक्षण रिपोर्ट ढिला आउने देखिएको छ । पिसिआरका लागि २०० स्वाब सङ्कलन गरेर मात्रै सुर्खेत पठाइने हुँदा रिपोर्ट ढिला आउने भएको हो । जिल्लाका स्थानीय तहहरुले कोरोना सङ्क्रमितहरुका लागि आइसोलेसनको व्यवस्था गरेपनि सङ्क्रमितहरु भने जिल्ला अस्पतालमै आउने गरेका छन् । सल्यानमा दुई जना कोरना सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका७ का ७० वर्षिय एक पुरुष र सिद्ध कुमाख गाउँपालिका१ का ३३ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै सल्यानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । रासस