जनशक्ति नहुँदा जाजरकाेटकाे जिल्ला अस्पतालमा भेन्टिलेटर प्रयोगमा आएन

जाजरकाेट । अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो । खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयका कर्मचारी बताउँछन् । प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु दुःखद भएको चिकित्सक बताउँछन् । असामान्य खालका बिरामीलाई उपचार गर्न प्रयोग हुने भेन्टिलेटर सेवा जाजरकोट अस्पतालमा ल्याएदेखि प्रयोगमा आउन नसक्नु दुःखद् भएको जुनिचाँदेका रेशमबहादुर खड्काले बताए । नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँको अभावकै कारण सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टिकाराम जैशीले बताए । ‘प्रदेश सरकारले हामीलाई कर्मचारी पठाउँछौँ भनेर जानकारी आएको छ, सायद छिट्टै हुन्छ होला’, उनले भने । त्यस्तै एचडीयू सेवाका लागि जिल्ला अस्पतालमा आएको सामग्री ठाउँ अभावका कारण जोड्न नसकिएको उनले बताए । पच्चीसमध्ये अहिलेसम्म १५ वटा मात्र जोडिएको जैशीको भनाइ छ । जिल्ला अस्पतालमा २५ वटा अक्सिजन सिलिण्डर भए पनि अघिल्लो वर्ष खरिद गर्नुपर्ने अक्सिजन प्लान्ट अहिलेको आर्थिक वर्षको अन्तिममा आएर काम सुरु गर्दा बिरामीले सुविधा पाउन मुस्किल भएको छ । पलान्ट खरिद गर्नका लागि सम्झौता मात्र भएको तर कहिले जिल्ला अस्पतालमा पुग्ने हो, त्यसको कुनै समय नभएको अस्पताल प्रशासनले बताएको छ । कोरोना महामारीको समयमा २०० भन्दा बढी बिरामी भए पनि ठाउँ अभावका कारण अस्पतालमा उपचार हुनसकेको छैन । जिल्ला अस्पतालमा १० चिकित्सक भए पनि सामग्री खरिदका लागि नेतृत्वले इच्छाशक्ति नदेखाउँदा हैरान भएको स्वास्थ्यकर्मी बताउँछन् । कोरोना सङ्क्रमितलाई राख्नका लागि प्रत्येक पालिकाले कम्तीमा १० देखि १५ शय्यासम्मको क्वारेन्टिन बनाउने निर्णय भए पनि स्थानीय तहले त्यसको कार्यान्वयन गरेका छैनन् । भारत वा अन्य मुलुकबाट आएका सर्वसाधारण सिधै घर जाने गरेका छन् । भेरी नगरपालिका–२ मा भारतबाट आएका सर्वसाधारण बिरामी हुँदा व्यवस्थापनमा समस्या आएको छ । रासस

भरतपुरकाे स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र तयार

भरतपुर । नयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् । जिल्लाका अस्पतालमा आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा कोरोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ । बिरामीलाई शय्या अभाव हुन नदिनका लागि आइसालेशन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ । भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्ष्य गरेर अक्सिजनसहितको आइसोलेशन शय्या तयार पारेका छन् । रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नं १६ वडा कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा आठ शय्याको आइसोलेशन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो । होम आइसोलेशनमा बस्ने वातावरण नभएका सङ्क्रमितलाई राख्ने गरी वडा कार्यालयको सभाहल र अस्पतालमा आइसोलेशन तयार गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिए । उनले आइसोलेशनमा राख्न हाललाई जम्मा सातवटा अक्सिजन सिलिन्डर पाइएको बताउँदै अरु शय्यामा अक्सिजन खोजिरहेको बताए । उनले सामान्य अवस्थाका बिरामी होम आइसोलशनमै रहेको र जटिल नभएसम्म अस्पताल नआउन भनिएको बताए । नगरपालिकाले तयार गरेको आइसोलशनमा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मी र औषधिको समेत व्यवस्था गरिएको छ । कोरोनाको दोस्रो लहर सुरू भएपछि वैशाख १ गतेयता रत्ननगरमा १०८ मा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये नौ जना अस्पतालमा उपचारत रहेको र ९९ होम आइसोलेशनमा रहेको नगरप्रमुख वनले बताए । राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले नगरपालिकाले भण्डारा अस्पतालमा अक्सिजनसहित ३० शय्याको आइसोलेशन कक्ष बनाएको बताइन् । अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र आइसोलशनमा राखिने उनको भनाइ छ । सामान्य अवस्थाका बिरामीलाई सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न आग्रह गरिएको उनले बताइन् । माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले पहिले बनाइएको २० शय्याको आइसोलशन कक्षलाई पुनः सरसफाइ गरेर तयारी अवस्थामा राखिएको बताए । अक्सिजनसहितको सो आइसोलशन कक्ष माडी नगरपालिका–६ छरछरेमा छ । यस्तै छ शय्यासहितको कोरोना रोकथाम तथा नियन्त्रण अस्पतालसमेत बनाइएको नगरप्रमुख ढकालले जानकारी दिए । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले २४ शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताए । उनले वडा नं २ मा रहेको स्वास्थ्यचौकीमा १५ शय्या र वडा नं ९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नौ शय्याको आइसोलशन बनाइएको जानकारी दिए । शय्यामा अक्सिजन राख्ने तयारी गरिरहेको उनको भनाइ थियो । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कालिका अस्पतालमा नगरपालिकाले २० शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताए । उनले आइसोलेशनमा शय्या र अक्सिजन राखिसकिएको र अन्य सामग्री थप्दै जाने जानकारी दिए । उनले आइसोलेशनमा बिरामी आएमा तत्कालै राख्न सक्ने गरी तयारी गरिएको बताए । इच्छाकामना गाउँपालिकाकामा पनि ६० शय्याको आइसोलेशन कक्ष तयार भएको छ । स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाका अनुसार गाउँपालिकामा सामुदायिक भवन, सामुदायिक विद्यालय, गाउँपालिका परिसर, सामुदायिक प्रहरी भवन र इच्छाकामना कोरोना अस्थायी अस्पतालमा गरी ६० शय्याको आइसोलशन रहेको छ । हाललाई कोरोना अस्थायी अस्पतालमा १० शय्याको सुविधासम्पन्न आइसोलशन निर्माण गरिएको छ । यहाँ अक्सिजनसहित अन्य आधारभूत स्वास्थ्य उपकरण र औषधि रहेको सापकोटाले बताए । अरु शय्यामा पनि अक्सिजनको व्यवस्था गर्दै लगिने उनको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले आइसोलेशन निर्माणका लागि सबै सरोकारवाला पक्षसँग छलफल गरिएको बताए । मङ्गलबार चितवनमा रहेका सबै अस्पतालसँग सल्लाह लिन बैठक बसिएको जनाउँदै उनले अब कसरी अघि बढ्ने भन्नेबारे योजना बनाइने बताए । पहिलो लहर फैलँदा भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा कोभिड–१९ अस्पताल र बागीश्वरी प्राकृतिक चिकित्सालयमा आइसोलेशन कक्ष बनाएको महानगरले अब के गर्ने भन्ने कुनै ठोस निर्णय लिन सकेको छैन । रासस

देशकाे ८ स्थानमा आइसोलेशन सेन्टरसहित अस्थायी अस्पताल बनाउँदै सेना

फाइल फाेटाे काठमाडाैं । नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया, वीरगञ्ज, रानी र काँकडभिट्टा नाका नजिक यस्ता पूर्वाधार निर्माण गर्न लागेको हो । काठमाडौंको हकमा भने सेनाले महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल वा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल कुनलाई प्रयोगमा ल्याउने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यद्यपि सेनाले त्रिचन्द्र अस्पतालबाट करिब ८० जनालाई कोरोना उपचार सेवा उपलब्ध गराउन सकिने प्रारम्भिक अध्ययन गरिसकेको छ । पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको अवस्था तीव्र हुँदै गएपछि सरकारले स्वास्थ्य उपचारका क्षेत्रमा क्षमता बढाउने सिलसिलामा अक्सिजनको उपलब्धतासहितका अस्थायी अस्पताल निर्माणलाई उच्च प्राथमिकता दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवासीलाई सम्बोधन गर्ने क्रममा सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको बताइसकेका छन् । बहुपयोगी ती भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा बजेट निकासाका लागि सेनाले पत्राचार गरिरहेको जनाएको छ । ती सबै पूर्वाधार निर्माण करिब डेढ महिनाभित्रै तयार हुने अनुमान गरिएको छ । रासस