शुक्रबार ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सङ्ख्या १५ हजार ६१४ रहेका छन् । पाँच सय बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० बढी सङ्क्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् । सङ्क्रमण दर १८.७ प्रतिशत छ । सो अवधिमा एक हजार ३३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ७४ हजार १७३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ । यस्तै सङ्क्रमणबाट आज १० जनाको मत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २१० जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् । आज ४३ हजार ९४१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८० लाख ४१ हजार ५९४ पहिलो मात्रा र ६४ लाख ४१ हजार ६३२ पूर्णमात्राको खोप लगाइसकेका छन् ।

कामपामा आजदेखि दसैँलक्षित कोभिड विरुद्धको खोप अभियान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो । महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन् । कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, “स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।” खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ । खोप कार्यक्रम विहान १०ः०० देखि अपरान्ह ४ः०० बजेसम्म सञ्चालन हुनेछ । विद्युतीय दर्ता नम्बरका लागि वेबसाइट vaccine.mohp.gov.np बाट सेवा लिन सकिने व्यवस्था छ ।

बिहीबार ८०५ सङ्क्रमित थपिए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६७२ जनामा कोरोना परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार ९४२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । सङ्क्रमण दर १८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ९११ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७३ हजार १४० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा आठ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २०० जनाको निधन भइसकेको छ । हाल देशभर ३२९ जना सघन उपचार कक्ष (आइसियु), ११२ जना भेन्टिलेटर, १४ हजार ७२८ जना होम आइसोलेसन, एक हजार २१४ जना संस्थागत आइसोलेसन र २४२ जना क्वारेन्टिनमा रहेका छन् । आज ५७ हजार १५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८० लाख आठ हजार ८५४ पहिलो मात्रा र ६४ लाख ३० हजार ४३१ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।