नर्भिकले मुटुको जाँचमा १० प्रतिशत छुट दिने
काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो । यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् । यो अफर आजबाट (असोज १३ गते) देखि असोज १६ गतेसम्म कायम रहने अस्पतालले जनाएको छ ।
‘बैशाखसम्म सबै नेपालीलाई काेराेनाविरुद्धकाे खाेप’
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए । वर्तमान सरकारले आफ्नो करिव ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाई छ । राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताए । कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारिरीक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे । उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साँढे ३२ किलोमिटर साईकल ट्रयाक बनाएको जानकारी दिए । उनले साईकल चढेर नागरिकहरुले शारिरीक व्यायाम गरुन भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साईकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताए ।
काभ्रेका छ पालिकामा कोरोना सङ्क्रमणदर शून्य
काभ्रेपलाञ्चोक । यहाँका दुई नगरपालिका र चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् । अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको तथ्याङ्कले देखाएको छ । सङ्क्रमणमुक्त हुनेमा मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा चौँरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । भुम्लु र महाभारत गाउँपालिकामा एक/एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसीसिएमसी०ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लोे २४ घण्टामा जिल्लामा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २२ सङ्क्रमणमुक्त भएका हुन् । सोमबार नौ सङ्क्रमित थपिए भने २० सङ्क्रमणमुक्त भएका छन् । चौंरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका भने केही हप्तादेखि सङ्क्रमणमुक्त भएका हुन् । जिल्लामा हाल ७४ सक्रिय सङ्क्रमितमध्ये बनेपामा २६, पाँचखालमा आठ, धुलिखेलमा २२, पनौती नगरपालिकामा छ तथा बेथानचोक गाउँपालिकामा १० सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदर भन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ५७० मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । गत भदौ महिनायता नगन्यदरमा सङ्क्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ दशमलव १७ प्रतिशत अर्थात् १४ हजार ३०४ सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले जिल्लामा पछिल्ला केही हप्तादेखि यही असोज ५ गतेसम्म ‘मिक्स लकडाउन’ गर्दै आएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । रासस