कोरोना सङ्क्रमण दर १८ प्रतिशत

काठमाडाैं । पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८७४ जनामा आज कोरोना परीक्षण गरिएको थियो । देशभर सक्रिय सङ्क्रमित १६ हजार ६०६ छन् । नेपालमा सङ्क्रमण दर १८.८ प्रतिशत छ । पाँचसय भन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर भक्तपुर, कास्की र रुपन्देही ५०० भन्दा बढी सङ्क्रमित भएको जिल्ला हुन् । आज एक हजारले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने सात लाख ७० हजार २२४ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ । सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ । हाल देशभर ३५१ जना सघन उपचार कक्ष, ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेशन, एक हजार १५२ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् । कोभिड–१९ विरुद्धको खोप एक लाख २० हजार ५४८ जनाले लगाएका छन् । अहिलेसम्म नेपालमा ७८ लाख पाँच हजार ६८५ ले पहिलो मात्रा र ६३ लाख ८४ हजार १७२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

हृदयघात भएका चाैधरीकाे मुटुको सफल शल्यक्रिया

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक वसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । परिवारसँग छुट्टी मनाउन दुबई पुगेका बखत चाैधरीलाई हृदयघात भएकाे थियाे । अस्पतालले विज्ञप्ति जारी गर्दै चौधरीको सफल शल्यक्रिया सफल भएको जानकारी दिएको हो । गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको ओपन हार्ट सर्जरी भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालको अनुसार सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन् र २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । असोज ८ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि चाैधरी अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले उनलाई शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए ।

६३ लाख ४८ हजार २७९ जनाले लगाए दुवै डाेज खाेप, अझै ७० प्रतिशतले लगाउन बाँकी

काठमाडाैं । नेपालमा लक्षित जनसङ्ख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ३५.४ प्रतिशत पुगेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ८३ हजार ३७३ जनाले खोप लगाएका छन् ।