छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित

काठमाडाैं ।  कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो । ‘अहिले अन्य अस्पतालमा बिरामीले सहजै उपचार गराउन पाउने भएकाले आइसोलेसनमा भर्ना हुन आउनेको सङ्ख्या कम छ, आगामी दिनमा आवश्यक परे सेवालाई निरन्तरता दिने गरी हाललाई सेवा स्थगन गरिएको छ’, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने । उनका अनुसार राधास्वामी आइसोलेसन सेन्टरलाई अहिले भएका जनशक्तिमध्ये एकतिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिइएको छ । ‘सेवा बन्द होइन, स्थगन हो । आवश्यक परेका बेला यसलाई पुनः सञ्चालन गर्न सकिन्छ’ उनले भने । दोस्रो लहरको उत्कर्षको समयमा कामपाले विभिन्न १२ अस्पतालसँग सम्झौता गरी सङ्क्रमित बिरामीको उपचारमा सहजिकरण गरेको थियो ।’ त्यसैगरी बैठकले बन्दाबन्दीका कारण समयमा सम्पन्न हुन नसकेका योजनाको म्याद थप गर्ने, वडा १२ मा रुद्र विनायक नाय्खिँ गणेश निर्माण गर्न जग्गा प्राप्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्नेलगायत निर्णय गरेको छ । यसैगरी नेपाल भाषा प्रशिक्षण व्यवस्थासम्बन्धी कार्यविधि, २०७७ मा केही संशोधन गरेर नेपाल भाषाका सहायक प्रशिक्षकलाई प्राथमिक तह तृतीय श्रेणीसरह बनाएको छ । यस्तै बैठकले नेपाल भाषा सहजीकरण तथा अनुगमन समिति र नेपाल भाषा समन्वय समितिका पदाधिकारीलाई काम गरेका दिनमा खाना, खाजा र यातायातबापत एक हजार ५०० रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

जापानले दिएकाे १६ लाख अस्ट्राजेनिका खोप आइतबारसम्म नेपाल आइपुग्ने

काठमाडाैं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले आज साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित अस्ट्राजेनिका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गरेका छन् । महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

छ महिनासम्म शिशुलाई अनिवार्य आमाको दूध खुवाउनुपर्छ

काठमाडाैं । आमाको दूध बच्चालाई कम्तीमा छ महिनासम्म अनिवार्य खुवाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । बच्चालाई अन्य रोगबाट बचाउन जन्मेदेखि कम्तीमा छ महिना आमाको दूधमात्र खुवाउनुपर्ने विज्ञहरुले बताएका छन् । आमाको दूध नै बालबालिकाका लागि पहिलो खोप भएकाले जन्मेदेखि छ महिनासम्म अन्य कुनै खाद्य पदार्थ नखुवाई आमाको दूधमात्र खुवाउनुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आमाको दूधमा जस्तो अन्यमा पोषिलो पदार्थ नभएकाले कम्तीमा छ महिनासम्म आमाको दूध खुवाउनुपर्ने बताए । ‘छ महिनापछि भने अन्य पोषिलो खाद्य पदार्थसँगै दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्दछ’, उनले भने, ‘यही दुई÷तीन महिनामा नै अन्य कुरा खुवाउनथाल्यो भने बच्चाको आन्द्रामा केही रोग देखा पर्न थाल्दछन् ।’ शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा झनै पोषिलो हुने बताइएको छ । आमाको दूध बच्चाका लगि अमृत समान भएकाले शिशु जन्मेको एक घण्टाभित्र नै स्तनपान गराउनु आवश्यक रहेको उनले बताए । यही साउन १७ देखि २३ गतेसम्म ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । सप्ताह कार्यक्रममा स्तनपानको महत्वबारे आमाहरूलाई जानकारी गराइँदै आएको छ । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले शिशु जन्मिनेबित्तिकै दूध खुवाउनुपर्ने बताए । उनले आमाको दूधबाहेक अन्य खानेकुरा शिशुका लागि पोषिलो नहुने भएकाले बच्चालाई निरन्तर दुई वर्षसम्म स्तनपान गराउनुपर्ने जानकारी दिए । ‘शिशु जन्मेपछि छ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक आहार आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्दछ’, उनले भने, ‘बच्चा जन्मेको छ महिना पूरा भएपछि पोषिलो थप खानाका साथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिइनुपर्दछ ।’ नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा पूर्ण स्तनपान गराउने सङ्ख्या ६६ प्रतिशत, शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपान गराउने ८९ प्रतिशत छ । यसैगरी जन्मनासाथ स्तनपान गराउनुअघि १० नवजात शिशुमध्ये तीन नवजात शिशुलाई घ्यू, मह, चिनी आदि चटाउने गरेको पाइएको विभागको पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । उनका अनुसार नेपालमा जन्मेदेखि एक महिनासम्म आमाको दूध मात्र खुवाउने ८० प्रतिशत छ । शिशु दुईदेखि तीन महिनासम्मको हुँदा आमाको दूध मात्र खुवाउनेको सङ्ख्या घटेर ७२ प्रतिशत पुगेको छ । उनले नेपालमा शिशुलाई कहिल्यै पनि स्तनपान नगराउने सङ्ख्या एक प्रतिशत मात्र रहेको बताए । पोषण शाखा प्रमुख पराजुलीले शिशुलाई स्तनपान गराउन सार्वजनिक ठाउँमा स्तनपान कक्ष निर्माणलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ३०० स्थानीय तहले स्तनपान केन्द्र स्थापना गरिसकेका छन् । आमाको दूध पहिलो खोप आमाको दूधलाई पहिलो खोपका रूपमा लिइएको छ । दूधले विभिन्न रोगसँग लड्न क्षमता बनाउने भएकाले आमाको दूधलाई पहिलो खोपका रूपमा लिइएको परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलले जानकारी दिए । शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्न एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ । त्यसले शिशुलाई सङ्क्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपका रूपमा लिइन्छ । ‘आमाको पोषिलो दूधले रोगविरुद्ध लड्ने क्षमता विकास गरेको हुन्छ’, उनले भने, ‘त्यसैले कुनै रोगसँग लड्नका लागि पहिलो खोप नै आमाको दूध हो ।’ यस्तै जनस्वास्थ्यविद् दीपेन्द्ररमण सिंहले पनि आमाको दूधमा जस्तो पौष्टिक पदार्थ अन्य कुनै पदार्थ नपाइने भएकाले आमाको दूधलाई पहिलो खोपका रूपमा लिइएको बताए । ‘आमाको शरीरले रोगसँग लड्न क्षमता बनाएको हुन्छ’, उनले भने, ‘आमाको दूध बच्चाले खाँदा त्यही रोगसँग लड्न सक्ने क्षमता प्राप्त हुन्छ ।’ यस्तै मन्त्रालयका प्रवक्ता डा पौडेलले आमाको दूधले बच्चालाई अन्य रोगसँग लड्ने क्षमता विकास गर्ने बताए । शिशु जन्मेपछि जतिसक्दो चाँडो एक घण्टाभित्रमा उसलाई आमाको बिगौती दूध अनिवार्य खुवाउनुपर्ने उनी बताउँछन् । ‘आमाको बिगौती दूधले भविष्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्दछ’, उनले भने । आमाको दूधले बाल मृत्युदर घटाउनाका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ । मन्त्रालयले आमाको दूधको सट्टा बट्टा र गाई भैँसीको दूध पनि नखुवाउन आग्रह गरेको छ । बट्टाको दूध सेवन गर्ने शिशुमा रोगसँग लड्ने क्षमताको कमी हुँदै भविष्यमा कुपोषण मात्र नभएर मोटोपना, मधुमेहलगायतका रोग लाग्न सक्ने अध्ययनले देखाएको पोषण शाखा प्रमुख पराजुलीले जानकारी दिए । बट्टाको दूध सेवन गर्नेभन्दा स्तनपान गर्ने शिशुको बौद्धिक शक्तिको विकास राम्रो भएको पाइन्छ । छ महिनासम्म आमाको दूधमात्र खवाउँदा बाल मृत्युदर १३ प्रतिशतले कमी ल्याउन सकिने अध्ययनले देखाएको छ । ‘ह्युमन मिल्क बैंक’ मन्त्रालयले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा यस वर्ष ‘ह्युमन मिल्क बैक’ स्थापना गर्ने भएको छ । आमाको दूध सङ्कलन गरी शिशुलाई खुवाउनका लागि बैंक स्थापना गर्न थालिएको हो । पोषण शाखा प्रमुख पराजुलीले बढी दूध आउने आमाबाट सङ्कलन गरेर शिशुलाई खुवाइने बताए । ‘आमाले आफ्नो बच्चाभन्दा बढी दूध आउने इच्छुक आमाले बैंकमा गएर दूध दिनेछन्’, उनले भने, ‘यसरी सङ्कलन भएको दूध आमाको दूध नआउने बच्चालाई दिइने छ ।’ उनले बैंकका लागि विभागले रु एक करोड विनियोजन गरिएको जानकारी दिए । विश्वमा स्तनपानको अभ्यास सुधार गरिएमा वार्षिक विश्वभर आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिने र ३०० अर्ब बचाउन सकिने अध्ययनले देखाएको छ । सङ्क्रमित आमाले पनि दूध खुवाउन सक्ने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक रोशन तुईतुईले कोभिड–१९ को सङ्क्रमण देखिएमा जनस्वास्थ्यका मापदण्ड अपनाएर स्तनपान गराउनुपर्ने बताए । उनले शिशुलाई स्तनपान गराउनुअघि साबुनपानी वा स्यानिटाइजरले हात धुनुपर्ने र मास्क लगाउनुपर्ने जानकारी दिए । उनले आमाको अवस्था गम्भीर भए दूध निचोरेर सफा भाँडामा राखेर चम्चाबाट खुवाउन आग्रह गरे । उनले आमाको दूध राम्रो आउनका लागि गर्भावस्थादेखि नै तयारी थाल्नुपर्ने बताए । उनका अनुसार शारीरिक, मानसिक, परिवारको साथ सहयोग ठूलो आधार हुन्छ । प्रोल्याक्टिन र अक्सिटोसिन हर्मोनको दूध बनाउने मुख्म भूमिका रहेकाले गर्भावस्थादेखि नै दूध बनाउने तयारी आमाले गर्नुपर्ने उनको भनाइ छ । रासस