के कोभिड-१९ को खोप बालबालिकाका लागि सुरक्षित छ ?
फाइल फाेटाे संयुक्त राज्य अमेरिका । लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ । यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताएअनुसार १२ देखि १७ वर्षका लाखौं बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिता बारे थप अनुसन्धान गरिरहेका छन् । ती मध्ये ५ देखि ११ वर्षका बालबालिका र वयस्कहरूलाई दिइने खुराकको एक तिहाइ मात्रा दिइने गरेको छ । खाद्य र औषधि प्रशासनले शुक्रबार बच्चाहरूलाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ । यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका बेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा म्याथ्यू ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चाहरूमा पनि विभिन्न खालका असरहरू देखिन सक्ने हुन्छ जसलाई कोरोनाभाइरस संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिन्छ भनेर औल्याएका छन् । केही बालबालिका र वयस्यहरूमा मुटु सुन्निने लगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन् । तर खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफै निको हुने पनि विज्ञले बताएका छन् । रासस-एपी
‘विश्वमा वर्षनि एक करोड ३० लाखलाई पक्षाघात’
काठमाडाैं । विश्वमा वर्षनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको पाइएको छ । विश्व पक्षाघात दिवसका अवसरमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा राजु पौडेलले विश्वमा वर्षनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताए। ‘पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ’, उनले भने । विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेण्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको डा पौडेलको भनाइ थियो । उनले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गरे । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । डा पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निस्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन हुनुपर्दछ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुरो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उनले बतांए । पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने समेत डा पौडेलको भनाइ थियो । आज २९ अक्टोबरअर्थात् विश्व पक्षघात दिवसका अवसरमा काठमाडौंको महाराजगञ्जदेखि सामाखुशी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको थियो । उक्त अस्पताल, नेशनल न्यूरो सेन्टर र नेपाल पक्षघात सङ्घको आयोजनामा गरिएको उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, सङ्घका पदाधिकारी एवं न्यूरो सेन्टरका कर्मचारीको सहभागीता थियो । रासस
ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप
काठमाडौं । ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो । चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताए । उनले भने, “यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु ।” पहिलो दिन सो खोप सात वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने थापाले जानकारी गराए । यसैगरी सोमबार ललितपुरको आठवटा वडा अर्थात् ६ देखि १३ का ज्येष्ठ नागरिकलाई दिनाका साथै मङ्गलबार सात वडा अर्थात् १४ देखि २० र अन्तिम दिन बुधबार सात वडा अर्थात् २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । ललितपुरका २९ वडामा चार दिन सो खोप चल्ने भएको छ ।