चीनद्वारा थप १६ लाख डोज कोभिड खोप हस्तान्तरण

काठमाडाैं । चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदुत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिईसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको पनि जानकारी दिए । उता, चिनियाँ राजदुत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले २ दिन पछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिए । नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत् १ करोड कोभिडविरुद्धको खोप ल्याईसकेकाे छ ।

मंगलबार ४६९ सङ्क्रमित थपिए, तीन जिल्लामा शून्य सङ्क्रमण

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन् । सोमबार ५३३ जनामा सङ्क्रमण देखिएको थियो । देशभर सक्रिय सङ्क्रमित नौ हजार १७४ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । तीन जिल्लामा शून्य सङ्क्रमण यसैगरी सङ्क्रमति शून्य रहेका जिल्लामा मनाङ, हुम्ला र मुगु छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार ८३२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४२७ को निधन भएको छ । मङ्गलबार ८० हजार ८१८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८६ लाख ७९ हजार १९८ ले पहिलो मात्रा र ७३ लाख २४ हजार ९२९ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

मधुमेह दिवसमा नर्भिककाे हेल्थ प्याकेजमा विशेष छुट

काठमाडौं । वर्ल्ड डाइबिटिज डे (विश्व मधुमेह दिवस)को अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ । विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका संभावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको अस्पतालले जानकारी दिएको छ । मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने अस्पतालले जनाएको छ । विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । सो दिन नर्भिकमा आएर वल्र्ड डायबिटिज डे प्याकेज लिन चाहनेले ६००० तिरे पुग्छ । यो शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी, जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसी जस्ता परीक्षणहरु हुनेछन् । सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ । मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई ६ हजारमा सीमित गरी प्याकेज तयार गरिएको अस्पतालले जनाएको छ । नर्भिकले विश्व मधुमेह दिवसको दिन मधुमेह रोग विशेषज्ञ डा। डिना श्रेष्ठको निःशुल्क कन्सलट्यान्ट सेवा समेत संचालन गर्ने जनाएको छ । कुनै पनि व्यक्तिको रिपोर्ट असामान्य आएको खण्डमा मात्र डा। श्रेष्ठको कन्सलट्यान्ट सेवा निःशुल्क हुने शर्त राखिएको छ । यसैगरी, नर्भिक अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर हाईब्लड सुगरको संभावित समस्या पत्ता लगाउने उद्देश्यले एचबीए वान सी परीक्षणमा समेत छुटको व्यवस्था गरेको छ । एचबीए वानसी तीन महिनाको सुगर लेभल जाँच गर्ने परीक्षण विधि हो । यो परीक्षण गर्दा लाग्ने शुल्कमा पनि नर्भिकले २५ प्रतिशत छुटको घोषणा गरेको छ ।