अब मिदासबाट सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने
काठमाडौं । मिदास टेक्नोलोजी र सिभिल सर्भिस अस्पतालबीच अनलाइन अपोइन्टमेन्ट सम्बन्धी सम्झौता भएको छ । यो सम्झौतासँगैं मिदास टेक्नोलोजीको मोबाइल एप्लिकेसनमार्फत सर्भिस अस्पतालसँग दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि अनलाइन अपोइन्टमेन्ट लिन सकिने छ । बानेश्वरमा रहेको सिभिल अस्पतलसँग गरिएको यस सम्झौताले अस्पतालको ओपीडी सेवालाई सहज बनाउनुको साथै अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने मिदासले जनाएको छ । मिदास टेक्नोलोजीले विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्दै आएको छ । यस कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर० को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ । हाल मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दे आइरहेको छ । यो सेवा लिन इच्छुक बिरामीहरुका लागि कम्पनीले २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु मार्फत ५० प्रतिशत छुटका साथै अनलाइन टेली कन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ । यति मात्र नभई कम्पनीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीलाई दैनिक रुपमा बिहान ७ बजेबाट राती ९ बजेसम्मको समयमा निः शुल्क परामर्श सेवा दिँदै आएको छ ।
कात्तिक २८ गतेदेखि फाइजर खोपको पहिलो मात्रा लगाइने, १२ वर्ष माथिकाले पाउने
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ गते देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिए । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो । मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइने जनाएको छ । खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पूर्जा लिएर जान भनिएको छ । खोप मन्त्रालयले देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाउने भएको छ । यी दीर्घरोगीले खोप लगाउन पाउँछन् मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ । यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिकका रक्तनली सम्बन्धी रोग भएकालाई पनि फाइजर खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । उनका अनुसार फाइजर खोप सुरक्षित र प्रभावकारी रहेको तथा खोपको दुवै मात्रा लगाएमा ९५ प्रतिशतसम्म प्रभाकारी हुने अध्ययनले देखाएको छ । फाइजर खोप २१ देखि २८ दिनको बीचमा दुई मात्रा लगाइसक्नुपर्ने हुन्छ । फाइजर खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । रासस
६ हजार ८१४ जनामा परीक्षण हुँदा ४४० संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् भने ४७४ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको भएका छन् भने ११ हजार ४६० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ । जसमध्ये ७ हजार ५ जना होम आइसोलेसनमा रहेका छन् भने ५१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत् छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ ।