सबै नागरिकका लागि छ करोड खोप आउँदैछः मन्त्री खतिवडा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड-१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताएका छन् । मंसिर ३ गते मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनले सरकारले छ करोड खोपको सुनिश्चितता गरेको बताएका हुन् । ‘करिब एक करोड डोज खोप जनतालाई लगाइसकेका छौं, विश्वस्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरु खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ, केही सम्झौताको चरणमा छ, जनताका लागि छ करोड खोप सुनिश्चित गरिसकेका छौं, अब खोपको अभाव हुँदैन,’ उनले भने । उनले १२ वर्षदेखि १८ वर्षका नागरिकका लागि एक करोड खोप सम्झौता भइसकेको जानकारी दिए । अमेरिकामा पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाएको र भारत तथा चीन पनि त्यस्ता खोपको परीक्षण भइरहेकाले त्यो सफल हुनेबित्तिकै १२ वर्षभन्दा तल पाँच वर्षसम्मका बालबालिकाका लागि पनि खोप ल्याउने उनको भनाइ छ । उनले दुई डोज खोप दिएर नपुग्ने भन्दै तेस्रो डोज खोज बुस्टर लगाउनुपर्ने चर्चा चलिरहेकाले त्यसबारेमा पनि सरकारले छलफल चलाएको र आवश्यकता परे तेस्रो डोज दिनका लागि बुस्टर खोप पनि ल्याइने बताए । अहिले केन्द्र र स्थानीय सरकार भए पुग्छ, प्रदेश सरकार चाहिँदैन भनेर बहस चलेको बताउँदै मन्त्री खतिवडाले भने, ‘प्रदेश चाहिँदैन भनेर निर्णयमा पुग्ने बेला आइसकेको छैन, अहिले यो प्रयोगात्मक परीक्षणमै छ, अझै कार्यकाल प्रयोगात्मक अवस्थामा प्रदेश सञ्चालन भएपछि मात्रै त्यस बहसका बारेमा छलफल गर्ने बेला आउँछ ।’ स्वास्थ्य बीमा भुक्तानीको व्यवस्थापनमा आएको चुनौतीलाई पन्छाउँदै सरकारले बीमाको बाँकी भुक्तानी छिटै गर्ने बताउँदै उनले प्रत्येक नागरिकलाई अहिले तिरेको तीन हजार ५०० रुपैयाँ पनि नतिर्ने गरी निःशुल्क स्वास्थ्य बीमा गराउन कति बजेट लाग्छ भनेर अध्ययन भइरहेको जानकारी दिए । एमालेका अध्यक्ष केपी ओलीको गुटका रूपमा पार्टी चलेपछि विद्रोह गरेको भन्दै मन्त्री खतिवडाले भने, ‘नीति नभई नेता प्रधान भएको र ओलीको टाङमुनि बस्नुपर्ने भएपछि पार्टीबाट विद्रोह गरेका हौं, ७० करोड, ओम्नी र मनोहरा कटाउँछौँ भन्ने गुण्डालाई लिएर पार्टी फुटाउने योजनामा रहेको थाहा पायौँ, त्यसैले विद्रोह गर्यौं ।’ केपी ओलीलाई केन्द्रदेखि सातवटै प्रदेशबाट सत्ताच्यूत गरेर देखाइदिएको भन्दै उनले भने, ‘बालुवाटारबाट बालकोट पुर्यायौं, बालकोटको पनि बार्दलीमा छन्, अबको चुनावबाट ओलीलाई बार्दलीबाट बगरमा पुर्याइदिन्छौं ।’ अबको तीन तहकै चुनावमा नेकपा समाजवादी एमालेभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै मन्त्री खतिवडाले भने, ‘अब एमाले राप्रपाको वैशाखी टेकेर चुनावमा जाँदैछ, हामी प्रजातान्त्रिक बाम गठबन्धन बनाएर चुनावमा जाँदैछौं, ओली अबको चुनावमा एउटा काँधमा हलो, अर्को काँधमा सूर्य र अगाडि गाई लगाएर हिँड्ने छन्, त्यसपछि देखिने छ, पार्टीको हैसियत ।’ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङले यो सरकारमा जति बसिन्छ, त्यतिञ्जेल नराम्रो काम नगर्ने प्रतिबद्धताका साथ अगाडि बढेको बताए । उनले संविधानमाथि आक्रमण गरेपछि आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई सत्ताबाट हटाएर प्रतिद्वन्द्वीलाई सरकारमा लगेको बताउँदै नेकपा समाजवादीको सफलता यो पनि रहेको चर्चा गरे ।
अल्का आइभिएफ सेन्टर थप सुविधासहित विस्तार, शुलभ दरमा सेवा दिने
काठमाडौं । जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको हो छ । अत्याधुनिक ल्याबसहित अल्का अस्पतालले अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएको हो । ‘हामीले, विशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भने, ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौं ।’ विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौं,‘’ अध्यक्ष थापाले भने । थापाले अल्का अस्पतालले सेवाग्राहीहरुलाई आइभिएफ सेवा अन्य अस्पतालहरुको तुलनामा शुलभ दरमा दिने पनि बताए । मंसिर १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ । अल्का आइभिएफ सेन्टरबाट टेष्ट ट्युब बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ । के हो त आइभिएफ ? कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाईजेशन आइभिएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो । यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ। यस प्रक्रियामा कुनै महिलाको अण्डाशयबाट अण्डालाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ । यसपछि निषेचित अन्डा महिलाको गर्भाशयमा राखिन्छ । विश्वमा पहिलो पल्ट यस प्रक्रिया को प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डसले गरेका थिए । उनीहरूको यस प्रक्रियाले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा म्यानचेस्टरमा भएको थियो । आज यो प्रविधि निसन्तान दम्पत्तीहरूको लागि एक नयाँ आश को किरण भएको छ। नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि २०६० सालतिर भित्रिएको हो । नेपालको पहिलो टेष्ट ट्युब बेबी चाहीँ ओममणी तामाङ हुन् । उनको २०६१ साल फागुन २० गते जन्म भएको थियो ।
अब देशभरको ९ अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन नि:शुल्क पाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरको ९ अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन नि:शुल्क पाइने व्यवस्था गरेको छ । मन्त्रालयले विराटनगरको कोशी अस्पताल, धनुषाको जनकपुर अस्पताल, हेटौडाको मदनभण्डारी अस्पताल, विरगंजको नारायणी अस्पताल, चितवनको भरतपुर अस्पताल, गण्डकीको पोखरा स्वा बि प्रतिस्ठ, बुटवलको लुम्बिनी अस्पताल, सुर्खेत अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन निस्शुल्क पाइने व्यवस्था गरेको स्वास्थ्यमन्त्री विराेध खतिवडाले जानकरी दिए । एकपटक लगाएपछि जिन्दगीभर पुग्ने यस भ्याक्सिन यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र पाइन्थियो । रेबिज इम्युनो ग्लोबुलिन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरि सुइको माध्यम्ले लगाइन्छ । सामान्यता एन्टिरेबिजको भ्याक्सिन लगाएको ७ दखि १० दिनभित्र मात्र शरिरले एन्टिबडी बनाउन थाल्दछ । एक वा एकभन्दा बढी घाउ हुने गरी टोकेको, ठुलो घाउ हुने गरी टोकेको अवस्थामा निम्तने जोखिमलाई तत्काल कम गर्न रेबिज इम्युनो ग्लोबुलिन लगाइन्छ । टेकुको मात्र विगत ७ वर्षको तथ्याङ्क हेर्ने हो भने रेबिजको कारण वार्षिक १५ दखेि ३६ जनासम्मको मृत्यु भएको देखिन्छ ।