काेराेना संक्रमण बढेपटि झापाका दश पालिकामा सिलबन्दी

झापा । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलबन्दीको निर्णय गर्नसक्ने बताए । ‘जिल्ला कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिलबन्दी गर्न थालिएको हो’, प्रजिअ तिम्सिनाले भने, ‘सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सिलबन्दी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ ।’ सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताए । झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । बजार र सरकारी कार्यालयहरुमा सर्वसाधारणको घुइँचो बढेको थियो । हरेक पालिकाले सात दिनको अवधि तोकेर सिलबन्दीको घोषणा गरेका छन् । राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन् । कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्ति आफैँ सचेत हुनुपर्नेमा लापरवाही गरिरहेका कारण सङ्क्रमितको दर बढ्दै गएको पालिकाहरुको ठहर छ । सामान्य स्वास्थ्य मापदण्डसमेत पालना नगरी सर्वसाधारणहरु बिनाकाम घुम्ने गरेको पाइएपछि सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम र माइकिङ गरेर सचेतना अपनाउन आग्रह गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन् । जिल्लामा सबैभन्दा पहिले बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा सिलबन्दी घोषणा गरेको थियो । त्यसपछि आइतबार, सोमबार र बुधबारदेखि थप पालिकामा सिलबन्दी गरिएका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा झापामा २६६ कोरोना सङ्क्रमित थपिएका छन् । पालिकाहरु सिल गरिए पनि पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा भने रोक नलगाइएको प्रअिज तिम्सिनाले बताए । रासस

असोजभित्र सबै नेपालीलाई खोप लगाउन अर्थमन्त्री र स्वास्थ्य राज्यमन्त्रीबीच समझदारी

काठमाडौं । असोज महिनाभित्र सबै नेपालीका लागि कोभिड–१९ विरुद्धको खोप किनेर लगाउने विषयमा अर्थमन्त्री जर्नादन शर्मा र अर्थ राज्यमन्त्री उमेश श्रेष्ठबीच समझदारी भएको छ । बुधबार अर्थमन्त्रालमा अर्थमन्त्री शर्मा र स्वाथ्य राज्यमन्त्री श्रेष्ठबीच फागुनसम्म खोप आपूर्ति गर्ने पूर्ववर्ती सरकोकार समय तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्नमा सहमति भएको छ । छलफलमा अर्थमन्त्रीले बजेटको कमी हुन नदिने र स्वास्थ्य राज्यमन्त्रीले रातदिन खोप खरिदको कार्यमा खटिने सहमति भएको छ । अर्थमन्त्री शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका छन् । खोप खरिदको लागि पैंसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउनु पर्ने बताएको अर्थमन्त्रालयले जनाएको छ । छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तिव्रता दिइने बताएका छन् । उनले सम्भव भएसम्म चाडो खोप खरिद गर्ने काममा कुनै बिलम्ब नहुने बताएका छन् । प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले दिलाए । असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै अर्थमन्त्री शर्माले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताए । देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भएपनि खोप खरिदमा लगाइने प्रतिवद्धता व्यक्त गरे । मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार ३ हजार ८४० जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै ८५९

काठमाडौं । आज थप ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण गर्दा १ हजार २०६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै आज कुल ८५९ जनामा संक्रमण पुष्टि भएको छ जसमा भक्तपुरमा ९५, ललितपुरमा २०६ र काठमाडौं जिल्लामा ५५९ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार ९९३ जनाले कोरोना जितेका हुन । आज ३३ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।