बंगलादेशमा पनि भेटियो ओमिक्रोन
बंगलादेश । बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिएका हुन् । उनले दुई जनामा यो सङ्क्रमण पाइएको जानकरी दिए । उहाँका अनुसार यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा सो सङ्क्रमण भेटिएको जनाएको छ । स्वास्थ्यमन्त्री मलेकले ती दुई जना खेलाडी हालै जिम्बावेबाट आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको हो । यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो । भारतमा सुरुका भेटिएका सङ्क्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो । यो ओमिक्रोन भेरियन्ट विश्वका कैयौँ मुलुकमा फैलिएको छ ।
कालीकोटमा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु
मान्मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि स्टिम बाथ, र स्वास्थ्य परीक्षणलगायत आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख वीरेन्द्रबहादुर केसीले बताए । ‘जिल्लामा विद्युत्को सेवा नहुँदा हामीले भिडियो एक्स–रे सेवा सुरु गरेका थिएनौं’, उनले भने, ‘अहिले विद्युत् सेवा नियमित भएका कारणले भिडियो एक्स–रे सेवा पनि दिन थालेका हौं ।’ जिल्लाका नौ वटै स्थानीय तहमा पाइने जडीबुटीबाट औषधि उत्पादन गरी निःशुल्क सेवा दिँदै आएको वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए । ‘अहिले आयुर्वेद केन्द्रमा आमा कार्यक्रम, ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम, औषधि निर्माण सेवा, बिरामी भर्ना सेवा, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रमलगायत विभिन्न कार्यक्रम निःशुल्क सञ्चालन गरिएको छ”, उनले भने, ‘हामीले गाउँ–गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं ।’ बाहिरबाट महँङ्गो मूल्यमा किन्नुपर्ने अवस्था र आन्तरिक स्थानीय जडीबुटीको निर्यातलाई घटाउने मुख्य लक्ष्य रहेको कार्यालयका वरिष्ठ वैद्य पाण्डेले बताए । ‘स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेमा कम मूल्यमा जडीबुटी बिक्री गरी महँङ्गो मूल्यमा आयुर्वेदिक औषधि किन्न बाध्य कालीकोटवासीको आर्थिक विकास तथा समुन्नत स्वास्थ्यलाई टेवा पुग्ने देखिन्छ’, उनले भने, ‘हामीले स्थानीय जडीबुुटीको प्रयोग गरेर नै आयुर्वेदिक औषधि उत्पादन गरेका हौं ।” सङ्घीय सरकारले स्थानीय जडीबुटीबाट औषधि उत्पादन गर्नका लागि केही बजेट पठाएपछि औषधि उत्पादन हुन थालेको बैद्य पाण्डेले बताए । रासस
सिन्धुपाल्चोककाे चौतारा अस्पतालमा अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला सञ्चालनमा
सिन्धुपाल्चोक । चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको शय्यामै पाइपलाइनबाट अक्सिजन पु¥याइएको छ । प्लान्टले प्रतिघण्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा करुणा बज्राचाार्यले बताए । उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको कोभिड वार्ड, इर्मर्जेन्सी र अन्य वार्डमा रहेका शय्यामा पुर्याइएको छ । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिनका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘हामीले चौतारा अस्पतालबाट बिरामीहरुलाई सम्पूर्ण सेवा सुविधा दिने गरी काम गरिरहेका छौँ’, अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठले भने, ‘अस्पतालको भवन नहुँदासमेत नगरपालिकाले दिएको फिल्ड ट्रेनिङ सेन्टरलाई आइसोलेसन वार्ड र पिसिआर ल्याब स्थापना गरी बिरामीको उपचार गरेका थियौँ ।’ चीन सरकारको सहयोगमा तत्काल चौतारा अस्पतालको भवन निर्माण गरिने उनले बताए । त्यस्तै, जिल्ला अस्पताल चौताराबाट कोभिड–१९ को पिसिआर परीक्षण सुरु भएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुपाल्चोकमै कोरोना भाइरस परीक्षण सुरु भएको हो । चौतारा अस्पतालमा पिसिआर मेसिन जडान गरी पिसिआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइएको छ । बिहीबार वाग्मती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित तीनजनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमूना परीक्षण गरेका थिए । प्रयोगशालामा १० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिए । कोभिड– १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि पाँचजना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको चौतारा अस्पतालले जनाएको छ । यसअघि कोरोना आशङ्का गरिएका बिरामीको स्वाब धुलिखेल वा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । जिल्लामै पिसिआर मेसिन भएपछि अब पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ । रासस