नेपालमा पनि देखियो ओमिक्राेन भेरियन्ट
काठमाडौं । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमा २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराएको हो । संक्रमण देखिनेमा ६६ वर्षिय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्को ७१ वर्षिय व्यक्ति रहेका छन् । मन्त्रालयका अनुसार ६६ वर्षिय विदेशी नागरिक मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै नेपाल प्रवेश गरेका थिए । उनी नेपाल आउँदा पिसिआर रिपोर्ट नेगेटिभ र खोपको मात्रा पुरा गरेको पाइएको थियो । उनीसँग सम्पर्कमा आएका ७१ वर्षिय व्यक्ति र उनलाई मंसिर ७ गते कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड-१९ को नतिजा पोजेटिभ देखिएको थियो । त्यसपछि उनीहरुमा जिन सिक्वेन्सिङ गर्दा मंसिर १९ गते आइतबार पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो । हाल उनीहरु दुवैको स्वास्थ्यस्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसका साथै उनीहरुसँग सम्पर्कमा आएका ६६ जनामा परीक्षण गर्दा सबैको पिसिआर नेगेटिभ रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । गत नोभेम्बर २४ तारिखको दिन दक्षिणी अफ्रिक मुलुकमा पहिलोपटक यो नयाँ भेरियन्ट पुष्टि भएको थियो । त्यसपछि यो भेरियन्टको हालसम्म ५७४ केसहरु देखिएको छ ।
स्वास्थ्यमन्त्री खतिवडालाई प्रश्न– फेरि लकडाउन हुन लागेको हो ?
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सन्त्रासले फेरि आतंकित पारेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरसको संक्रमण युरोप अमेरिका हुँदै एसियाली देशसम्म फेला परिसकेको छ । नयाँ भेरियन्टको भाइरस कति जोखिमपूर्ण छ, यसको संक्रमणपछि गम्भीर असर पर्छ कि पर्दैन, कोभिड विरुद्धको खोप लगाएकाहरुलाई यो भाइरस संक्रमण भएपनि कस्तो असर देखिन्छ भन्ने जस्ता प्रश्नको जवाफ बैज्ञानिकहरुले अझै दिन सकिरहेका छैनन् । नेपालमा पनि ओमिक्रोन संक्रमण फैलन सक्ने भन्दै सरकारले विभिन्न १० देशबाट नेपाल आउँन प्रतिबन्ध लगाएको छ । यस्तै, सीमाना जोडिएका जिल्लाहरुमा छिमेकी देश भारतबाट नेपाल आउनेलाई ७ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाउन थालिसकिएको छ । यद्यपि, छिमेकी देश भारतमा पनि ओमिक्रोन संक्रमित फेला परेका छन् । यसैकारण कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि भित्रन सक्ने भन्दै सर्वसाधारणमा समेत त्रास फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न १० देशको यात्रा प्रतिबन्ध गरेसँगै नेपालमा फेरि लकडाउन हुने हो कि भन्ने शंसय सर्वसाधारणमा फैलिएको छ । ओमिक्रोन संक्रम फैलनबाट रोक्नका लागि सरकारले फेरि लकडाउन गर्दैछ ? हामीले यो प्रश्न स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग गरेका थियौं । मन्त्री खतिवडाले अहिलेसम्म यसबारेमा कुनै छलफल नभएको बताए । ‘स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने, कोभिड संक्रमणबाट जोगिन पहिलादेखि नै अपनाउँदै आएका कार्यहरु निरन्तर गर्नुपर्छ भनेर हामी (स्वास्थ्य मन्त्रालय) ले भनिरहेका छौं, लकडाउन वा सटडाउनै गर्ने भनेर हामीले आन्तरिक रुपमा पनि छलफल गरेका छैनौं, प्रधानमन्त्रीज्यूसँग पनि लकडाउन वा सटडाउन गर्ने बारेमा मेरो कुनै छलफल भएको छैन,’ मन्त्री खतिवडाले विकासन्युजसँग भने । गृहमन्त्रालयले आन्तरिक रुपमा केही तयारी गरेको छ कि भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलसँग पनि यो प्रश्न गरेका छौं । ‘स्वास्थ्यसँग सम्बन्धित विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना, कार्यक्रम र रणनीति तय गर्ने हो, अन्य मन्त्रालय र निकायहरुले त्यसलाई सहयोग र सहजीकरण गरिदिने हो, स्वास्थ्य मन्त्रालयको सिफारिस अनुसार मन्त्रिपरिषदले नै विभिन्न १० देशमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ तर, नेपालमा लकडाउन गर्ने वा सर्वसाधारणको आन्तरिक आवागमन रोक्ने भन्ने बारेमा स्वास्थ्य मन्त्रालयले केही भनेको छैन, स्वास्थ्यले नै नभनी हामी (गृहमन्त्रालय) ले त्यस्तो कुनै निर्णय गर्ने भन्ने पनि भएन,’ प्रवक्ता पोखरेलले विकासन्युजसँग भने । ओमिक्रोन संक्रमण फैलन नदिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले के कस्तो योजना र तयारी गरिरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसादल रिजालसँग पनि प्रश्न गरेका छौं । ‘लकडाउन वा सटडाउन गर्ने भन्ने वारेमा स्थानीय तहहरुसँग कुनै छलफल भएको छैन, राजनीतिक दलहरुका महाधिवेशन लगायतका कार्यक्रमहरु अहिले भइरहेका छन्, जसजसले धेरै जना सहभागी हुने कार्यक्रमहरु गर्नुभएको छ वा गर्दै हुनुहुन्छ, उहाँहरुले स्वास्थ्य मापदण्ड अपनाउने र कोभिड संक्रमण नफैलिओस् भनेर सतर्क हुनुपर्छ, हुनुहुन्छ होला, थप केही भएको छैन,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले विकासन्युजसँग भने । सर्वसाधारणमा फेरि लकडाउन वा सटडाउन हुन लाग्यो भनेर व्यापक चर्चा र हल्ला चले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडा, गृह मन्त्रालयका प्रवक्ता पोखरेल र प्रमुख जिल्ला अधिकारी रिजालले अहिले त्यस्तो कुनै तयारी र छलफल नभएको जानकारी दिए ।
भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने
बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ । उनले भने, ‘भारतबाट फर्किनेको सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनेका छौं ।’ झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी रहेको हो । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ । यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ । कोरोनाविरुद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ । पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ । दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतले जनाएको छ । रासस