कालीकोटका १८ हजार बालबालिकालाई मोडर्ना खोप दिइने
फाइल फाेटाे मान्म । कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ । यहाँका १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १६७ बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये शुभकालिका गाउँपालिकामा एक हजार ७२२, महावैमा दुई हजार ७९, नरहरीनाथमा तीन हजार ६९६, पचालझरनामा दुई हजार ९१, पलाँतामा दुई हजार ७७७ र सान्नी त्रिवेणी गाउँपालिकामा दुई हजार ५०७ तथा खाँडाचक्र नगरपालिकामा तीन हजार ५४४, रास्कोटमा तीन हजार ३०३ र तिलागुफा नगरपालिकामा दुई हजार ८९२ गरी कूल २४ हजार ६११ जना ती समूहका बालबालिका रहेका छन् । तीमध्ये पहिलो मात्राको खोप १८ हजार १६७ जना बालबालिकालाई दिने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । ‘जिल्ला शिक्षा विकास समन्वय इकाइ कालीकोटको दिएको डाटाअनुसार २४ हजार ६११ जना बालबालिका रहेका छन्’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले १८ हजार १६७ बालबालिकालाई मोडर्ना खोप दिने लक्ष्य दिएको छ । यकीन तथ्याङ्क पालिकाबाट फेरि मागेका छौँ ।’ जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा हालसम्म सञ्चालित कोभिडविरुद्धको खोप अभियानको समीक्षा तथा आगामी पुस महिनाको १२–१४ गते सञ्चालन हुने १२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि मोडर्ना खोप अभियान सञ्चालन सम्बन्धमा छलफल भएको उनले जानकारी दिए । खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको र खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने निमित्त व्यवस्थापक महतले बताए । मोडर्ना खोप जिल्लाका नौ वटै स्थानीय तहका १२० भन्दा बढी खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ ।
जर्मनीले नेपाललाई दियाे ४१ लाख खोप
काठमाडाैं । जर्मनी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् । मन्त्री खतिवडालाई उनले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गरेका हुन् । तीमध्ये २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन र १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना रहेका छन् । हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । कोभिड–१९ को सुरुआती अवस्थादेखि नै रोकथाम र नियन्त्रणमा जर्मनी सरकारले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको भन्दै उनले आज उपलब्ध गराएको खोपले नेपाल र जर्मन सरकार बीचको द्विपक्षीय सम्बन्धमा आज अर्को इँट्टा थपेको बताए । ‘कोभिड–१९ को परीक्षणसम्बन्धी सूचना व्यवस्थापन, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा उपलब्ध गराइएको सहायतासमेत सराहनीय छ,’ मन्त्री खतिवडाले भने, ‘जर्मनी सरकारका तर्फबाट प्राप्त अन्य स्वास्थ्य उपकरण र सामग्री उपयोगी छ ।’ नेपालमा स्वास्थ्यबीमाको सुरुआत र संस्थागत गर्न, अस्पताल तथा स्वास्थ्य संस्था निर्माण गर्न, स्वास्थ्य सूचना प्रणाली संस्थागत गर्न तथा समग्र स्वास्थ्य प्रणाली सदृढीकरणका लागि जर्मन सरकारले पुर्याएको सहयोग स्वागतयोग्य रहेको उनले बताए । भूकम्प पश्चातको पुनःनिर्माणअन्तर्गत जर्मनी सरकारको सहयोगमा गोरखा, जिरी र रामेछापमा अस्पताल निर्माण सम्पन्न भई हस्तान्तरण गरिसकेको मन्त्री खतिवडाले जानकारी दिए । यस्तै जर्मनी सरकारले रिकभरी–२ कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर स्वास्थ्य चौकी, भक्तपुरको झौखेल स्वास्थ्य चौकी, साँखु प्राथमिक अस्पताल र बझाङ्को मेलबिसौनी स्वास्थ्य चौकी निर्माणका लागि प्रारम्भिक चरणको काम भइरहेको छ । यस्तै डडेल्धुरा अस्पतालको मातृ तथा बाल स्वास्थ्य भवन र स्टाफ भवन निर्माणको काम भइरहेको, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालअन्तर्गत तारकेश्वर र चन्द्रागिरि नगरपालिकामा सेटलाइट अस्पताल बनाउने काम अघि बढेको छ । जर्मनी सरकारले कोभिड–१९ को सुरुवातदेखि सरकारलाई १० मिलियन यूरो बराबरको अनुदान रकम उपलब्ध गराएको थियो । सो अवसरमा नेपालका लागि जर्मनीका कार्यवहाक राजदूत डा रसेकले जर्मन सरकारले नेपाललाई स्वास्थ्य र शिक्षामा सहयोग गर्दै आएको भन्दै खोपले नेपाली जनतालाई कोभिड–१९ को महामारीबाट जोगाउने बताए । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताए । उनका अनुसार सरकारले ५७ जिल्लामा विद्यालयमा गई उक्त उमेर समूहका बालबालिकालाई खोप प्रदान गर्ने छ । यस्तै जोन्सन एण्ड जोन्सन भने विदेश जाने र लक्षित अन्य व्यक्तिलाई लगाइने छ ।
भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान
चितवन । भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो । अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले दुई हजार सिलिण्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ । यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ । यसै हप्ता सम्पूर्ण जडान कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अक्सिनको माग उच्च रहेको समयमा यसबाट आपूर्ति गर्न सहज हुने खनालका भनाइ छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार यो उपकरण जडान गरेसँगै अक्सिजन उत्पादनको लागत घट्ने छ । ट्याङ्कीमा तरल अक्सिजन ल्याएर यहाँको ट्याङ्कीमा भरेपछि आवश्यकताअनुसार यसबाट आपूर्ति गर्न सकिने छ । युएसएडको अनुदानमा प्राप्त उपकरण स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई उपलब्ध गराएको पौडेलले जानकारी दिए । यसअघि अस्पतालमा ग्यास अक्सिजन प्लान्ट रहेको छ । उक्त प्लान्टबाट २४ घण्टामा ७५ सिलिण्डर बराबरको अक्सिजन उत्पादन हुँदै आएको छ । अस्पतालमा आवश्यकताअनुसार अन्यत्रबाट सिलिण्डर मगाएरसमेत माग पूर्ति गरिँदै आएको छ । कोभिड–१९ को महामारीको समयमा जिल्लामा अक्सिजनको आपूर्तिमा कमी आएको थियो । उक्त समयमा उच्च गति (हाइफ्लो) को अक्सिजन आवश्यकता हुँदा पूर्ति गर्न कठिन भएको थियो । सो समयमा भरतपुर अस्पतालमा दैनिक २०० सिलिण्डर अक्सिजन माग भएको थियो । तरल अक्सिजन उपकरण जडान गरेसँगै अक्सिजनको माग उच्च रहेको समयमा सहज हुने प्रा डा पौडेलले बताए । अस्पतालमा अर्काे अक्सिजन प्लान्टका लागि भवन निर्माणको कार्य भइरहेको छ । एनआरएनएको सहयोगमा उक्त प्लान्ट जडान गरिँदै छ । चीनबाट उपकरण खरिदको प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए । नयाँ प्लान्ट जडान र तरल अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन किन्नुपर्ने बाध्यता हट्ने छ । सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । सरकारी अस्पतालमा खर्च कम हुने भएकाले यस अस्पतालमा बिरामीको चाप बढ्दो छ । रासस