गण्डकीमा ११ लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण डोज खोप
कास्की । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मका तथ्याङ्कानुसार १४ लाख ७२ हजार ३८७ जनाले पहिलो मात्रा र सो सङ्ख्यामा पूरा डोज खोप लिएका छन् । सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने भएपछि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ । कास्कीमा कोरोना खोपको पहिलो मात्राभन्दा पूरा डोज लिनेको सङ्ख्या बढी छ । तीन लाख ७४ हजार ५५४ जनाले पहिलो मात्रा र तीन लाख ८६ हजार ४१४ जनाले पूरा मात्रा खोप लगाएका छन् । तनहुँमा एक लाख सात हजार ९४३, नवलपरासीमा एक लाख दुई हजार ५८ र स्याङ्जामा एक लाख २४ हजार ५८६ जनाले पूरा मात्रा खोप लिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यसैगरी गोर्खामा ९८ हजार ९३१, म्याग्दीमा ५१ हजार ४७१, लमजुङमा ८७ हजार ८०२, पर्वतमा ६० हजार ७४६, बाग्लुङमा ७४ हजार ५८, मुस्ताङ १३ हजार ५८७ र मनाङमा चार हजार ६१२ जनाले पूरा मात्रा खोप लिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका कास्की र बागलुङबाहेकका नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि पुस गतेसम्म १४ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा खोप अभियान सञ्चालन गरिएको छ । तोकिएका सामुदायिक र संस्थागत विद्यालयमा लगाउन सुरु गरिएको निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । यस अभियानमा पहिलो मात्र लगाएकालाई आगामी माघ २ देखि १२ गतेसम्म दोस्रो मात्र दिने कार्यक्रम छ । मोर्डना खोप अभियानमा लक्षित सङ्ख्या एक लाख ८५ हजार २९८ रहेकामा एक लाख ९४ हजार ४५० डोज खोप प्राप्त भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म तीन लाख ५४ हजार ८४० जनाको कोरोना परीक्षण गरिएकामा ८८ हजार २८३ जनाको सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म ८६ हजार ७०९ जना निको भएका छन् । सङ्क्रमणबाट एक हजार ४२५ को निधन भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ छ । रासस
सबैलाई खोप दिन घरदैलो अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् । सोमवार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्दै लक्षित समुहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका हुन् । सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए । मन्त्री खतिवडाले पुष महिनाभित्रमै खोप लगाउनेहरुको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गरे । ‘हाम्रो आव्हान भनेको सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार छ । खोप हामीसँग छ । खोपको अभाव छैन, लगाइदिनुस् । घरदैलो अभियान चालेर भएपनि हामीले लक्षित समूह सबैलाई खोप लगाउने अभियानको रुपबाट सञ्चालन गर्नुपर्छ भनेर प्रधानमन्त्रीले आव्हान गरे । पुष महिना भित्रमा अहिले जुन प्रतिशतको जनसंख्याले खोप लगाएका छन्, त्यो भन्दा धेरै नै माथिल्लो प्रतिशतले खोप लगाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने । खोप केन्द्रहरुलाई वृद्धि गर्नुपर्ने र तिनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न संघसंस्था, क्लवहरुको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए । उनले हाल १२ वर्षदेखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरुलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरुले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी दिए ।
डाबरले वीर अस्पताललाई दियो २५ लाख बराबरको चिकित्सा उपकरण
काठमाडौं । डाबर नेपालले वीर अस्पताल एनएएमएसलाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यसहित कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत उक्त उपकरण हस्तान्तरण गरेको हो । उक्त उपकरण डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना र वीर अस्पतालका एच.एस. बेदी, व्यापार प्रमुख-नेपाल तथा म्यानमारले हस्तान्तरण गरेका हुन् । डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पताल-एनएएमएसका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने, ‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।’