जुम्लामा ४१ हजारलाई कोरोनाविरुद्धको खोप
जुम्ला । जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो । यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक र युवालाई परिचालन गरिएको र आठवटै स्थानीय तहमा दुई चरणमा खोप लगाउनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीसहित जिल्लाभर ५४७ स्वयंसेविका परिचालन गरिएको उहाँको भनाइ थियो । कार्यालयका अनुसार जिल्लाभरका ३० स्वास्थ्य चौकी, ३२ खोप केन्द्र र कर्णाली प्रतिष्ठानबाट खोप दिन हाल ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको छ । जिल्लाभर २४ हजार ६४८ जनाले खोप लगाएकामा १९ हजार ८४७ ले दोस्रो मात्रा लगाइसकेका छन् । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले सबै नागरिकलाई खोपको पहुँच पु¥याउने सरकारको लक्ष्य सफल पार्न सबैको सहयोग आवश्यक भएको बताए ।
२४ घण्टामा एक हजार ४७६ जना काेराेना सङ्क्रमित थपिए
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा एक हजार ४७६ जनामा सङ्क्रमण पाइएको हो । देशभर सक्रिय सङ्क्रमित २० हजार २८७ रहेका छन् । सङ्क्रमण दर १९ प्रतिशत रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५५० जनाले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने कूल सङ्ख्या सात लाख ५८ हजार ५०४ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.०३ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८१ जनाको निधन भइसकेको छ । हाल देशभर ३४७ सघन उपचार कक्ष (आइसीयू), १०५ भेन्टिलेटर, १८ हजार ९६९ होम आइसोलेसन, एक हजार ३१८ संस्थागत आइसोलेसन र २४४ जना क्वारेन्टिनमा रहेका छन् । आज कोरोना भाइरस विरुद्धको खोप एक लाख ७२ हजार ५९० जनाले लगाएका छन् । अहिलेसम्म ६३ लाख ८० हजार ५८६ जनाले पहिलो मात्रा र ५९ लाख ४६ हजार २२ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
चितवनकाे पुरानो मेडिकल कलेजमा एकीकृत बहिरङ्ग सेवा सुरु
चितवन । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (सिएमसी) (पुरानो मेडिकल कलेज) मा एकीकृत बहिरङ्ग सेवा शुरु गरिएको छ । बहिरङ्ग सेवामा जाने बिरामीले अब एकै ठाउँबाट सबै सेवा पाउने भएका हुन् । कलेजका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरङ्ग विभागमा पुगेपछि सबै सेवा त्यहीँबाट पाउने छन् । उनले भने, ‘सेवाग्राहीले बिमा वा सःशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरिद गर्नेलगायत सबै सेवा एकै ठाउँबाट पाउँछन् ।’ वातानुकूलित कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाइ छ । अस्पतालको सबै विभागमा बीचमा खुला ठूलो कक्ष रहेको छ । त्यहाँ बिरामी पालोका लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाइएको छ । त्यही कक्षबाट भिडियो एक्स–रे, एमआरआइ, सिटी, एक्स–रे जस्ता सेवा लिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए । बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाइएको छ । निर्देशक प्रधानले भने, ‘नेपालमा पहिलो पटक हामीले यो व्यवस्थापन गरेका हौँ ।’ उनका अनुसार भारतका ठूला अस्पतालमा यो सुविधा रहेको छ । हालसम्म नेपालमा अन्य अस्पतालले गर्न नसकेको काम आफूहरुले गरेको उनको दाबी छ । अस्पतालमा ११ विभागका १९ वटा कक्ष तयार गरिएको छ । अस्पतालमा मेडिकलअन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलरलगायत सेवा रहेका छन् । यसैगरी स्त्री तथा प्रसूति, बाल रोग, नाक–कान–घाँटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् । हाल अस्पतालको बहिरङ्ग सेवामा दैनिक ६५० भन्दाबढी सेवाग्राहीले सेवा लिइरहेका छन् । अस्पतालले वार्षिक तीन लाखभन्दा बढीलाई सेवा दिँदै आएको उनको भनाइ छ । २५ वर्षअघि यहाँ स्थापना गरिएको यस मेडिकल कलेजबाट दुई हजार २०० भन्दाबढी चिकित्सक उत्पादन भइसकेका छन् ।