नयाँ वर्षमा नर्भिककाे हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा हेल्थ प्याकेजहरुमा विशेष छुटको दिने भएकाे छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साविकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो । यस्तो छुट पाउनका लागि विभिन्न अनलाइन तथा अन्य मिडियाहरुमा प्रकाशित नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा आउनुपर्ने अस्पतालले जनाएकाे छ । यस्तै अस्पतालले पुस महिनाभरि मूत्रथैलीको पत्थरीको शल्यक्रिया गर्दा साबिकको शुल्कमा २० प्रतिशत छुट दिने स्किम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

एभरेष्ट अस्पतालको नयाँ वर्ष अफर: होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाईने

काठमाडौं । एभरेष्ट अस्पताल प्रालीले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अबस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ बर्ष २०२२ को अबसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो । एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए । बरालले भने, ‘एभरेष्ट अस्पतालले प्रत्येक बर्ष केही न केही नयाँ अफरहरु दिदै आएको छ । यस बर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरु लिएर आएको छ ।’ उनको अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् । पुस १६ गतेबाट पुस २५ गतेसम्ममा होलबडि चेकअप गर्ने विरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै बिहानको ६.३० बजे भन्दा अगाडी सुगरका बिरामीले सुगर जाँच गराउदा १०० प्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।

कानून नबन्दा कैलालीकाे गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ, अझै २ वर्ष लाग्ने

फाइल फाेटाे सुदूरपश्चिम । ऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ । ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा सञ्चालन भन्नेमा टुङ्गो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । ‘कसैबाट पनि ऐन कानून बनाउन ‘लबिङ’ भएको नदेखिँदा जनताले अपेक्षा गरेको समयभित्रै कलेज सञ्चालन हुने अवस्था देखिँदैन’, उनले भने, ‘ऐन ल्याउने कुरा सरकार र संसद्सँग जोडिएकाले त्यसका लागि अहिलेसम्म पहल भएको देखिएको छैन ।’ गत वर्ष दुईपटक विघटन भई पुनःस्थापित प्रतिनिधिसभाले हाल पनि निर्वाधरुपमा काम गर्न नसकिरहेका अवस्थामा कलेज सञ्चालनका लागि चाहिने कानून निर्माणको विषय ओझेलमा परेको जनाइएको छ । उनले अहिलेसम्म कलेज सञ्चालनसम्बन्धी विधेयकको मस्यौदासम्म पनि तयार हुन नसकेको अवस्थामा कलेज सञ्चालन हुन अझै डेढ दुई वर्ष पर्खिनुपर्ने देखिएको बताउँछन् । कलेजलाई एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान, मेडिकल कलेज वा विश्वविद्यालयमध्ये कुनै एक प्रारुपमा सञ्चालन गर्न सकिने बताइएको छ । ऐन कानून बनिसकेपछि पनि कलेजमा स्वास्थ्यसम्बन्धी उपकरण र प्राविधिक जनशक्ति लगायतको व्यवस्थापन जस्ता काम गर्न समय लाग्ने देखिएको छ । सरकारको प्राथमिकता प्राप्त आयोजना गेटा मेडिकल कलेज निर्माणस्थलमा निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ वटाको निर्माण पूरा भइसकेको छ । थप केही संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पताल, कलेज, छात्राबास, आवास भवनका अलावा अक्सिजन प्लान्ट, कुरुवा घर, लास घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको छ । भवनमा फर्निचर, पानी, विद्युतीकरण र फोहर व्यवस्थापनको काम भइरहेको छ । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले सुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो । कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । मुक्तकमैयालाई अन्यत्र पुनःस्थापना गरी उक्त जग्गामा मेडिकल कलेजको ट्रमा सेन्टर बनाउने योजना छ । तर उनीहरुलाई अन्यत्र पुनःस्थापना गराउनसमेत पहल नहुँदा ट्रमा सेन्टरको योजना अलपत्र परेको छ । कलेजका संरचनाको निर्माण पूरा भएसँगै आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने आशा भने स्थानीयवासीमा जागेको छ । स्थानीय तीर्थराज ओझा कलेज सञ्चालन हुन सकेमा आफ्नै ठाउँमा मेडिकल शिक्षा पढ्न चाहने स्थानीयवासीको सपना पूरा हुने भई मेडिकल शिक्षामै ठूलो फड्को मार्ने बताउँछन् । ‘यसले मेडिकल पढ्नेमात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा समेत योगदान पु¥याउने आशा छ’, ओझाले भने, ‘कलेज सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक गतिविधि र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्नेछ ।’ नेपालमा छात्रवृत्ति पाउने सीमित व्यक्तिले मात्र मेडिकल शिक्षा पढ्न पाउने गरेका छन् । कतिपय व्यक्ति आफ्नै खर्चमा मेडिकल पढ्न विदेश जानुपर्ने बाध्यता छ । मेडिकल कलेज निर्माण सुरु गरिँदा आठ अर्ब ३४ करोड लागत अनुमान रहेको थियो । यो आयोजनाको गुरुयोजना अध्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा चार अर्ब ५० करोड खर्च भइसकेको छ । सुरुका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र देखिएको झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योल देखिएको पनि थियो । सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । भौतिक संरचना निर्माणको काम भने विसं २०७४ देखि मात्र सुरु भएको थियो । यो कलेज ६०० श्ययाको निर्माण गर्ने लक्ष्य छ । कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्राली संलग्न छन् । रासस