बिहीबार ८०५ सङ्क्रमित थपिए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६७२ जनामा कोरोना परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार ९४२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । सङ्क्रमण दर १८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ९११ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७३ हजार १४० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा आठ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २०० जनाको निधन भइसकेको छ । हाल देशभर ३२९ जना सघन उपचार कक्ष (आइसियु), ११२ जना भेन्टिलेटर, १४ हजार ७२८ जना होम आइसोलेसन, एक हजार २१४ जना संस्थागत आइसोलेसन र २४२ जना क्वारेन्टिनमा रहेका छन् । आज ५७ हजार १५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८० लाख आठ हजार ८५४ पहिलो मात्रा र ६४ लाख ३० हजार ४३१ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि बढाइएको हो । बौद्ध विश्वविद्यालयले प्राज्ञिक उन्नयनका साथै परोपकारी लक्ष्यसहितका कार्यमा जोड दिँदै आएको छ । धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो । जनरल अस्पतालबाट स्वास्थ्य सेवा सुरु गर्ने योजना विश्वविद्यालयले बनाएको छ । ‘हामीले पहिलेदेखि नै बनाएको एउटा योजनालाई मूर्तरुप दिन खोजिरहेका छौँ”, विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले भने, ‘अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुच पुग्नेछ ।’ अस्पताल सञ्चालनपछि स्थानीय समुदाय विश्वविद्यालयसँग जोडिने र शैक्षिक क्रियाकलापमा समेत सघाउ पुग्ने उनको भनाइ छ । विश्वविद्यालयले शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना बनाएको छ । यो जग्गा बाहेक अन्य फराकिलो क्षेत्रको समेत खोजि भइरहेको रजिष्ट्रार आचार्यले बताए । अस्पताल निर्माणपछि लुम्बिनी क्षेत्रवासीले उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता हट्नेछ । अहिले सामान्य उपचारका लागि पनि भैरहवा, बुटवल आउनुपर्ने बाध्यता छ । अस्पतालमा विशेषज्ञ डाक्टरसहित आठ जनासम्म स्वास्थ्यकर्मी रहने परिकल्पना गरिएको छ । यसलाई विस्तार गर्दै ५० शय्यासम्मको अस्पताल सञ्चालन गर्ने योजना रहेको छ । विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माणस्थलको अध्ययन गरेको छ । धुलिखेल अस्पतालका डा प्रवीन कर्माचार्य र दिनेश थापाको टोली तथा विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो । धुलिखेल अस्पतालले विभिन्न क्षेत्रमा सहकार्यमा आउटरिच सेन्टर चलाउँदै आएको छ । बौद्ध विश्वविद्यालयले सहकार्यका लागि प्रस्ताव गरेको हो । अस्पतालका डा कर्माचार्यले लुम्बिनीमा स्वास्थ्य सेवाका लागि सहकार्य गर्न आफूहरू तयार रहेको बताए । ‘हामी बौद्ध विश्वविद्यालयसँग जोडिन पाउदा खुसी छौँ, अस्पतालको योजना पूरा हुनेछ’, उनले भने । अस्पतालको प्राविधिक टोलीले विश्वविद्यालयका पदाधिकारीसँग छलफलसमेत गरेको छ । सो अवसरमा उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बुद्धले भनेजस्तै बिरामीको उपचार गर्नु परोपकारको काम रहेको बताए । विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक सञ्जीव हुमागाईंले आउटरिच स्थापनाले लुम्बिनीको स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सकिने सुनाए । स्वास्थ्य जनचेतनादेखि उपचारसम्मको जिम्मेवारी विश्वविद्यालयले लिएर अघि बढ्न सक्ने उनको भनाइ छ । टोलीमा सहभागि लुम्बिनी प्रादेशिक अस्पतालका डा सागर न्यौपानेले लुम्बिनीमा जनरल सेवासहितको अस्पताल आवश्यक रहेको बताए । विश्वविद्यालयले विभिन्न दातासँग सहकार्य गरी अस्पतालको स्रोत जुटाइने जनाएको छ । धुलिखेल अस्पतालले प्राविधक सहयोगसहित आर्थिक स्रोतको पहिचानमा समेत सहयोग गर्नेछ । तत्काल सानो स्वरुपमा अस्पताल सुरु गर्ने र त्यसको स्तरवृद्धि गर्दै लगिने योजना रहेको छ । रासस

बुधबार एक हजार ४३ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४ हजार ३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८९१ जना कोरोनाभाइरस संक्रमणमक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।