डेढ अर्ब लगानीमा नेशनल सिटीको स्तरोन्नती, २ सय जना सेयरधनी
काठमाडाैं । मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । दुई सय जना शेयरधनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । उनले भने, “जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुने छ ।” अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उनका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ । अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उनको भनाइ छ । अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिए । कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उनकाे भनाइ छ । रासस
नवलपरासीमा कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने
नवलपुर । कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो । स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाउनेको तथ्याङ्कसमेत मागेको छ । कार्यालय प्रमुख केशव चापागाईका अनुसार पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले सूचना जारी गरिएको बताए । ‘नवलपुरभित्र स्थायी वासिन्दा भएका व्यक्ति जुनसुकै अस्पतालमा उपचार गर्दा कोरोनाका कारण मृत्यु भए उनीहरुको परिवारलाई आर्थिक सहयोग गरिनेछ’, उनले भने, ‘कोरोनाबाट घरमा न्यान गुमाएका व्यक्तिको परिवारले आर्थिक सहयोग पाउने छैनन् ।’ रकम निकासा भइसकेकाले आगामी हप्तादेखि नै राहत उपलब्ध गराइने चापागाईले बताए । जिल्लामा हालसम्म कोरोनाबाट १७० जनाको मृत्यु भइसकेको छ । प्रकृया पूरा गरेर कागजात बुझाएको दुई हप्ताभित्र रकम भुक्तानी गरिने छ । मृतकको कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि तथा आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ । हालसम्म २० मृतकका परिवारले प्रक्रिया पूरा गरेर निवेदन दिएको कार्यालयले जनाएको छ । व्यक्तिले सिधै स्वास्थ्य कार्यालयमा पुगेर निवेदन दिनसक्ने छन् ।
अब टेकु अस्पतालको इमर्जेन्सी सेवामा टिकटदेखि औषधिसम्म सबै निःशुल्क
काठमाडाैं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो । नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो । कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मङ्सिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो । यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ । अस्पतालका तर्फबाट निर्देशक डा मनिषा रावलले मङ्सिर १५ गते पत्र लेखेर आवश्यक सहयोग र सो सेवाबारे जानकारी गराइसकेकी छिन् । सो अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यवस्था गरिएको हो । निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसिजी, टिकटलगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा तथा त्यसमा लाग्ने औषधिसमेत रहेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ । सिविसी, आरबीएस, युरिया क्रियटिभ, सोडियम, पोटासियम, युरिन आरएमइ, स्टुल आरएमइ, एक्सरे चेस्ट, इसिजी, ब्लड ग्रुपिङ, सिटी स्क्यानलगायत रहेका छन् । ‘यो व्यवस्थासँगै नागरिकले जनमुखी सरकारको प्रत्याभूति प्राप्त गर्ने र नेपाल सरकारको स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम पनि कार्यान्वयनमा आउने’, मन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । उनले आगामी दिनमा अन्य सरकारी अस्पतालमा पनि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइने विषयमा पहल भइरहेको बताए । रासस