गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा

तम्घास । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो ।  जिल्लाका ५१.६५ प्रतिशत नागरिकमा स्वास्थ्य बिमा पहुँचमा पुगेको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लामा कूल दुई लाख ४६ हजार आठ सय ३६ जनसङ्ख्या रहेकोमा एक लाख २७ हजार तीन सय ५५ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला ६५ हजार छ सय ६६ र पुरुष ६१ हजार छ सय ८९ जना रहेका छन् ।  सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २४ हजार पाँच सय ४१ जनाले स्वास्थ्य बिमा गराएका छन् । त्यसैगरी चन्द्रकोटका छ हजार चार सय, छत्रकोटका १२ हजार दुई सय ६३, धुर्कोटका १० हजार तीन सय पाँच, गुल्मी दरबारका १० हजार दुई सय १०, इस्माका सात हजार तीन सय ५० नागरिकले स्वास्थ्य बीमा गराएका छन् ।  त्यसैगरी, कालीगण्डकीका छ हजार सात सय तीन, मदानेका तीन हजार छ सय ७६, मालिकाका आठ हजार एक सय ९९, मुसीकोटका सात हजार आठ सय ४१, रुरुक्षेत्रका १४ हजार ८५ तथा सत्यवतीका १५ हजार सात सय ८२ नागरिकले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए ।  जिल्लामा हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार पाँच सय २४ परिवार र ५० प्रतिशत छुटमा आठ सय ८३ महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका चार हजार छ सय दुई जनाले स्वास्थ्य बीमा गराएका छन्।  सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग एवं विभिन्न रोग लागेकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा पनि गराइदिएको छ । जसमा १७ हजार सात सय १२ ज्येष्ठ नागरिक निःशुल्क बीमाको पहुँचमा आएका छन् ।  ‘क’ वर्गका अपाङ्गतर्फ सात सय ९३ परिवारका तीन हजार नौ सय ९९ जना, एचआइभी एड्स सङ्क्रमित एक सय ६६ परिवारका चार सय ८२ जना, कुष्ठरोगीका तीन परिवारका १२ जना तथा एमडीआर टिबीका छ परिवारका २५ जनाको पनि निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख घिमिरेले बताए। गुल्मीमा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । सरकारले तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यसम्मको बीमा गर्दछ । जसमा एक लाख बराबरको औषधि–उपचार निःशुल्क प्राप्त गर्दछन् ।  त्यसैगरी, परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सयका दरले प्रथम बीमा शुल्कमा थपिँदै जाने र सो रकमले २० हजार उपचार खर्च प्राप्त हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । 

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव, भुइँमै बिरामी राखेर उपचार गर्न बाध्य

पर्वत । जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । चाप बढ्दै गएपछि बिरामीलाई शय्या अभाव भएको छ ।  बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिए । उपचारका लागि आउने अधिकांश बिरामी भर्ना नै गर्नुपर्ने किसिमका रहेका उनको भनाइ छ ।  पछिल्ला केही दिनयता ‘जनरल वार्ड’का शय्या बिरामीले भरिएपछि भर्ना गरेर राख्नुपनेलाई समेत आकस्मिक उपचारका लागि छुट्याइएका शय्यामा भर्ना गरेर राखिएको छ । डा. बाँस्तोलाका अनुसार दैनिक तीन सय ५० जनाभन्दा बढी बिरामीको ‘ओपिडी’ र ‘इमर्जेन्सी’ कक्षमा उपचार गरिएको छ । एकै दिनमा तीन सय ९६ जनासम्मको उपचार गरिएको उनले बताए ।  पन्ध्र शय्याको अनुमतिप्राप्त प्रदेश अस्पतालमा अहिले ६४ शय्या सञ्चालन गरेर सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा रहेको कम जनशक्तिलाई परिचालन गरेर बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म नै बहिरङ्ग सेवा प्रदान गरेर सेवा प्रवाह जारी छ ।  डा बाँस्तोलाले भने, 'भर्ना गरेर राख्नेगरी ओपिडीमा रहेका २६ वटै शय्या भरिएका छन् । गर्मी समय सकिएर चिसो सुरु भइसकेको छ, यो बेलामा बिरामीको सङ्ख्या हरेक वर्ष बढ्छ ।'  बहिरङ्ग विभागका बिरामीले नै आकस्मिक उपचारका शय्या भरिएपछि आकस्मिक उपचारका बिरामी आएको अवस्थामा बहिरङ्गका बिरामीलाई शय्या अभाव भएको हो । त्यस्तो अवस्थामा आकस्मिक कक्षमा बसेर उपचार सेवा लिइरहेका बिरामीलाई भुइँमा नै राखेर भए पनि आकस्मिक अवस्थाका बिरामीलाई सेवा दिनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।  सिजनल फ्लुका कारण एकै दिनमा १८ जनासम्म बालबालिकालाई भर्ना गरेर उपचार गरिएको डा. एनिस श्रेष्ठले बताए । उनीहरूमा मुख्यगरी ज्वरो, रुघाखोकी, बान्तालगायत समस्या देखिएको छ । यस्तै ज्येष्ठ नागरिकमा दम तथा श्वासप्रश्वासको समस्या छ । अस्पतालको आकस्मिक उपचारकक्षमा मात्र दैनिक करिब ४० जनाले सेवा लिइरहेका छन् । आकस्मिक कक्षमा आउनेहरूमा ज्वरो, दमसहितका श्वासप्रश्वास, झाडापखाला, बान्ता र केही सवारी दुर्घटनाका घाइते छन् । रासस

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ ।      बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका उपसचिव पुण्यमाया गुरागाईंले एकपटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर आवश्यक नभएको बताइन् । उनका अनुसार बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई पत्रचार गरी सो विषयमा जानकारी गराइसकिएको छ ।      बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एकपटक रिफर गरिसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्न जाँदा पुनः रिफर आवश्यक नपर्ने जनाएको हो ।      त्यसैगरी अति गरिबीको परिचयपत्र प्राप्त परिवार, अति अशक्त, अपागङ्ता, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोग र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको हकमा पनि एकपटक रिफर भई सोही अस्पतालमा फलोअप गराउँदा पुनः रिफर आवश्यक नपर्ने निर्णय गरिएको उपसचिव गुरागाईंले जानकारी दिइन् ।      आँखा स्वास्थ्यसम्बन्धीको जटिल समस्या, गर्भवती तथा सुत्केरी, दम, कडा किसिमका मानसिक रोग हकमा पनि रिफर आवश्यक नपर्ने जनाइएको छ । देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा छन् । बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रुपमा राखेको छ । बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् ।