महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षालाई गम्भीर ढङ्गबाट हेरिएको बताएका छन् । मंगलबार औषधि व्यवस्था विभागमा औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदन बुझ्दै उनले नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षा र राज्यको दायित्वलाई पनि गम्भीर रूपले हेरिएको बताए । उनले गुणस्तरीय औषधि प्राप्त हुने परिस्थिति बनाउनको लागि निर्माण गर्न लागिपरेको बताए । उनले महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेतर्फ ध्यान दिइएको दाबी गरे । औषधिको मूल्यको बारेमा उपभोक्ता सुसूचित हुने अवस्था निर्माण गर्न खोजिरहेको बताए । उनले औषधिको मूल्य निर्धारण गर्ने सन्दर्भलगायतका क्षेत्रलाई व्यवस्थित गर्न समितिको प्रतिवेदन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिका संयोजक तथा अर्थविद् डा. पोषराज पाण्डेले नेपालमा प्रयोग हुने औषधिहरूको विशेषता, प्रकृति र महत्वको आधारमा सुझाव प्रस्तुत गरिएको बताए । नेपालमा औषधिको घरेलु उत्पादनको अवस्थालाई समेत प्रस्तुत गरिएको उनको भनाइ थियो ।
नेपालमा दन्त चिकित्सकहरूको आवश्यकता, महत्व र माग निकै ठूलो छ : मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएका छन् । मंगलबार पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२ औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकहरुको भूमिका अझ महत्वपूर्ण हुँदै गइरहेको बताए । उनले भने, 'नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकहरुको माग अत्यन्तै उच्च छ । सरकारले यस दिशामा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ ।' दिवंगत तीर्थरत्न बज्राचार्यको योगदानको उच्च मूल्याङ्कन गर्नु हुँदै मन्त्री यादवले स्व बज्राचार्यले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने कार्य गरेको र उनको योगदान आज पनि स्मरणीय रहेको उल्लेख गरे । उनले भने, 'दन्त स्वास्थ्य सेवाका लागि तीर्थरत्न बज्राचार्यको योगदान ठूलो छ । उहाँको सपना साकार पार्न र नेपाली नागरिकलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने कार्यमा यस अस्पतल र यहाँका बिद्यार्थीहरुको महत्वपूर्ण भुमीका रहन्छ ।' कार्यक्रमका विशिष्ठ अतिथि एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्रप्रशाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार, र दन्त चिकित्सक शिक्षामा गुणस्तर वृद्धिका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको कुरमा जोड दिए । पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा एमबिबिएसको पढाई सुचारु गर्नका लागि भैतिक लगायतका अन्य प्रक्रिया अघि सारिएपनि अहिले सम्म अध्यापनका लागि अनुमति नपाएको भन्दै गुनासो व्यक्त गरे । कार्यक्रममा बागमति प्रदेश सभा सदस्य सैलेन्द्र बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ, पिपल्स डेन्टल कलेजका अध्यक्ष बिद्याभुषण बज्राचार्य, सेयर होल्डर शहनशीला बज्राचार्य, प्रवन्ध निर्देशक रोशन लुईटेल, प्राचार्य प्रा डा सुरेन्द्रमान श्रेष्ठ, विद्यार्थी र विभिन्न स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उपस्थित वक्ताहरूले दिवंगत बज्राचार्यको योगदान र नेपालमा दन्त स्वास्थ्यको अवस्थाबारे धारणा राखेका थिए ।
धौलागिरि अस्पताल १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति
काठमाडौं । बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पतालका रूपमा ५० शय्यामा सञ्चालित उक्त अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति गरेको हो । जिल्ला अस्पतालबाट अञ्चल अस्पताल भएपछि विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले स्तरोन्नतिसँगै विशिष्टिकृत सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए । ५० श्ययाको अस्पतालबाट स्तरोन्नति नहुँदा अहिलेसम्म दरबन्दी थपिन नसकेको उनको भनाइ छ । गत वर्ष नर्सिङ पढाउने गण्डकी प्रदेश सरकारको घोषणा भए पनि अस्पताल स्तरोन्नति नहुँदा पठनपाठनमा समस्या भएको बताउँदै स्तरोन्नत्तिपश्चात् नर्सिङ पढाउन बाटो खुलेको डा तिवारीले जानकारी दिए । ‘अहिले पनि एक सय २६ शय्यामा बिरामीको उपचार गरिरहेका छौँ, तर नीतिगत रूपमा ५० शय्याको मात्रै हुँदा समस्या थियो, दरबन्दी बढ्दा सेवामा सहजता आउँछ,’ उनले भने, ‘एक सय शय्यामा स्तरवृद्धि गरेपछि अस्पतालमा दरबन्दी थपिनेछ भने स्वास्थ्य क्षेत्रमा गुणस्तर थपिनेछ, नर्सिङ पढाउन सहज हुनेछ ।’ तिवारीका अनुसार अहिले अस्पतालमा २२ विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत छन् । विसं २०१५ मा धौलागिरि अस्पताल डिस्पेन्सरीका रूपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालका रूपमा सेवा सञ्चालन गरेको थियो । अस्पतालको स्तरवृद्धि गरेपछि नर्सिङ कक्षा चलाउन आगामी वर्षमा बजेट व्यवस्थापन गरिने गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले नौ अस्पतालको एकमुस्ट स्तरोन्नति गर्ने निर्णयअनुसार धौलागिरि अस्पताल स्तरोन्नति गरिएको हो । गण्डकी प्रदेशको यही जेठ १२ गते बसेको बैठकले नौ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । सरकारले अस्पतालको कर्मचारी संरचना र शय्या सङ्ख्या निर्धारण गरेको छ । धौलागिरि अस्पतालमा कर्मचारी दरबन्दी ९९ पुगेको छ । यसअघि बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ शय्यामा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ । धौलागिरि आयुर्वेद अस्पताल स्तरोन्नतिपछिको सेवा दिने तयारीमा रहेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए ।