नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्रचार गरिएको जानकारी दिए । मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिइएको उनले बताए । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् । उनका अनुसार तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइनेसमेत निर्देशन दिएको उनले बताए । यस्तै मन्त्रालयले नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।
बाढी-पहिरोको बितण्डापछि स्वास्थ्य विपदको जोखिम
काठमाडौं । असोज १८ र १९ गते परेको बाढी-पहिरोले काठमाडौं उपत्यका लगायत देशको पूर्वी क्षेत्र बढी प्रभावित भयो । विभिन्न ठाउँ डुबानमा परे भने इलाम लगायतका केही ठाउँमा ठूलो मानवीय क्षति भयो । काठमाडौं उपत्यकाबाट देशभर जोडिने मुख्य नाका बिपी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्ड बन्द भए। मौसममा आएको सुधारसँगै अवरुद्ध सडक खुले । अवस्था सामान्य हुँदैछ तर, स्वास्थ्य विपद्को सम्भावना भने अब उच्च हुँदै गएको विज्ञहरू बताउँछन् । पानीमा मिसिएको फोहोर मृत जनावर र दूषित खानेपानीका कारण रोग फैलिने जोखिम उच्च हुन्छ । यस्तो बेलामा पानीजन्य रोगसँगै किट र हावा जन्य रोगको जोखिम हुने विज्ञहरूको चेतावनी छ । अहिले मौसम परिवर्तन हुनेबेला त्यसै पनि स्वास्थ्य समस्या हुन सक्ने बताउँदै प्रभावित क्षेत्रमा अझ बढी जोखिम हुनसक्ने विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन प्रभावित क्षेत्रमा झाडापखाला, हैजा, टाइफाइड, कमलपित्त, इकोलाइ, लेप्टोस्पाइरोसिसँगै डेंगु र स्क्रबटाइफस जस्ता रोगको संक्रमण बढी हुने बताउँछन् । उनी भन्छन्, ‘अहिले कीटजन्य रोगहरू बढी रहेका छन्, अब बाढी पहिरोपछि यस्ता रोगहरू फैलन सक्ने सम्भावना बढी हुन्छ ।’ प्रभावित क्षेत्रका नागरिक अहिले घरवासविहीन छन्, घरबार भएकाहरूको पनि घरमा भएको सबैकुरा नष्ट भएको छ । कतिपय आफन्तको घरमा अझै शरणमा बसिरहेका छन् । यस्तो बेलामा मानसिक स्वास्थ्य समस्याको अवस्था पनि भइरहेको हुन्छ । यस्तो संकटमा प्रभावित नागरिकमात्र आफ्नो स्वास्थ्यको ख्याल गर्न नसक्ने भन्दै स्थानीय सरकार र प्रभावित नभएको ठाउँका स्थानीयहरूले पनि सहयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । पानीजन्य रोग बाढी प्रभावित क्षेत्रमा सबै किसिमका सरुवा रोगको संक्रमण हुने सम्भावना निकै हुन्छ । तुरुन्त यस्ता रोगहरू देखा नपरेपनि बिस्तारै रुघाखोकी, झाडापखाला जस्ता रोग फैलनसक्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा सबैभन्दा पहिले पानीजन्य रोगहरू फैलन सक्छन् । दूषित पानी वा पानीसँग सम्बन्धित खानेकुरा खाँदा पानीजन्य रोगहरू लाग्छ । यी रोगहरू प्राय ब्याक्टेरिया भाइरस प्रोटोजोवा वा परजीवीबाट फैलिन्छ । बाढी प्रभावित क्षेत्रमा खानेपानीका मुहानमा फोहोर अथवा ढल, खोलको फोहोर पानी मिसिने सम्भावना धेरै रहन्छ । ढल मिसिएको खानेपानी नागरिकले पिउँदा झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस लगायतका विभिन्न रोगहरू लाग्ने सम्भावना बढी हुने डा. पुन बताउँछन् । दूषित पानी पिउँदा पानी जन्य रोगको संक्रमण फैलन सक्छ । ढल मिसिएको फोहोर पानी पिउँदा हैजा फैलने सम्भावना धेरै हुँदा यसले एक्कासि भयावह रूप लिन सक्ने उनको भनाइ छ । केही महिना अगाडि बारा र पर्साका विभिन्न पालिकामा हैजा फैलिएको थियो । समयमै ध्यान दिइएन भने यस्ता महामारीले ज्यानै समेत जान सक्ने भन्दै विज्ञहरू सतर्कता अपनाउनुपर्ने बताउँछन् । कीटजन्य रोग चिकित्सकका अनुसार पानीजन्य रोगसँगै कीटजन्य रोगको जोखिम पनि यतिबेला उच्च हुन्छ । कीरा, लामखुट्टे, मख्खीले किटाणु बोकेर मानिस वा जीवजन्तुमा लाग्ने रोगलाई कीटजन्य रोग भनिन्छ । यि रोगहरू मानिससँग प्रत्यक्ष सम्पर्क नभइ कीटमार्फत फैलने गर्छ । यसरी फैलने रोगमा डेंगी, मलेरिया, चिकुनगुनिया, जापानिज एन्सफलाइटिस लगायतका रोगहरू पर्दछन् । यो रोग विशेषगरी मच्छरको टोकाइबाट मानिसमा लाग्ने गर्छ । बाढीपछि प्रभावित क्षेत्रमा यस्ता कीटजन्य रोगहरू फैलन सक्ने सम्भावना भएकाले नागरिक आफै सचेत रहनुपर्ने चिकित्सकहरूको भनाइ छ । डा. पुन भन्छन्,‘झरी रोकिएपछि ठाउँठाउँमा पानी जमेको हुन्छ । यस्तो ठाउँमा जमेका पानीमा डेंगी सार्ने लामखुट्टेको वृद्धिविकास हुने सम्भावना हुन्छ, लामखुट्टेको वृद्धिसँगै डेंगी फेलनसक्ने सम्भावना अझ बढ्छ ।’ उनी यसबाट बच्न नागरिकले वरिपरी पानी जमेका ठाउँ पुर्ने, हातखुट्टा पुरै छोपिने गरी लुगा लगाउने र झुलको प्रयोग गर्नुपर्छ । यसका लागि स्थानीय सरकारले प्रभावित क्षेत्रमा अभियान नै सुरु गर्नुपर्ने पुनको भनाइ छ । डेंगीलाई सामान्य रूपमा लिँदा ज्यानै जाने सम्भावना हुने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई सावधानी अपनाएर बस्न पुनको आग्रह छ । हावाजन्य रोग हावामा रहेका विभिन्न सुक्ष्मजीवीहरू जस्तै ब्याक्टेरिया, भाइरस फंगस मान्छेको श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । प्रभावित क्षेत्रमा हावा जन्य रोगको माध्यामबाट सर्ने रोगको जाखिम पनि उच्च रहन्छ । चिकित्सकका अनुसार हावामार्फत ब्याक्टेरिया मान्छेको शरीरमा प्रवेश गरिसकेपछि शरीरसँग आक्रमण गर्न खोज्छन् । यस्ता रोगमा ट्युबरकुलोसिस (टीबी), एन्फुलुएन्जा, निमोनिया, मिजल्स लगायतका रोगहरू लाग्ने गर्छन् । मान्छेसँग बोल्दा, खोक्दा, हाच्य गर्दा हावामा फैलिएका कणहरू मानिसको शरीरमा प्रवेश गर्ने गर्छन् । पुन भन्छन्, ‘घरवारबिहीन हुँदा सबै धेरैजनासँग व्यक्तिले एउटै भवनमा बस्नुपर्ने अवस्था आउनसक्छ, धेरै व्यक्तिसँगै हुँदा यस्ता रोगहरू पनि प्रभावित क्षेत्रमा देखिने गर्छन् ।’ यसरी विभिन्न माध्यमबाट रोग फैलन सक्ने सम्भावना हुँदा समयमै उपचार हुन सकेन भने अवस्था गम्भीर आउन सक्ने उनको भनाइ छ । लेप्टोस्पाइरोसिस बाढी प्रभावित क्षेत्रमा लेप्टोस्पाइरोसिसको जोखिम उच्च रहन्छ । लेप्टोस्पाइरोसिस एउटा पानीजन्य र जनावर–सङ्क्रमित रोग हो । जुन नामक लेप्टोस्पाइरा नामक ब्याक्टेरियाबाट हुन्छ । यो ब्याक्टेरिया जनावरको मुत्र (पिसाब) विशेषगरी मुसा, गाई, सुँगुर, कुकुर आदि) मार्फत पानी, माटो वा खाना दूषित भएपछि मानिसमा सर्छ । बाढी, फोहर पानी, पोखरी वा हिलो माटोमा भएको दूषित पानीसँग छाला वा खुला घाउ सम्पर्क हुँदा मानिसमा सर्छ । यस्तै जनावरको मुत्र (पिसाब) वा त्यसबाट दूषित पानी र माटोसँग सम्पर्क हुँदा, दूषित पानी वा खाना पिउँदा, संक्रमित जनावर वा पशुजन्य वस्तु (जस्तै गोठालो, पशुपालन गर्नेहरू) सिधा सम्पर्कमा आउँदा यो रोग लाग्ने गर्छ । डा. पुन बाढी र पहिरोपछि यस्तो रोगको जोखिम निकै बढ्ने सम्भावना रहने बताउँछन् । उनी भन्छन्,‘ विभिन्न देशमा गरिएको अध्ययनले बाढी-पहिरो पश्चात यो रोग देखिएको देखाएकाले प्रभावित क्षेत्रमा यसको जोखिम उच्च रहन्छ ।’ उनका अनुसार नेपालमा वर्षायाममा यो संक्रमण भएका बिरामीहरू भने उपचारका लागि अस्पताल आउने गर्छन् । स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै काम गरिरहेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढथोकीले बाढी गएकै दिन सूचना निकाल्दै जोखिमको चेतावनीसहित सूचना निकालेर सजग रहन आग्रह गरेको बताउँछन् । ‘हामीले प्रभावित क्षेत्रका स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यक निर्देशन पनि दिइसकेका छौं,’ डा बुढाथोकी भन्छन्, ‘समयमै सजग रहँदा यस्ता जोखिमबाट बच्न सक्छौं पटकपटक विज्ञप्तिमार्फत स्थानीय स्तरका स्वास्थ्यकर्मीमार्फत हुनसक्ने स्वास्थ्य विपदबारे सजग गराइरहेका छौं ।’ ‘प्रकोपका समयमा व्यक्तिको घरबार नष्ट भएको हुन्छ । कतिपयले आफन्त गुमाइरहेका हुन्छन् । यस्तो अवस्थामा थप स्वास्थ्य समस्या हुनसक्ने जोखिम हुन्छ, बाढीको बेला हैजा, झाडपाखालाजस्ता संक्रमणजन्य जोखिम बढी हुने भएकाले निकै सजग रहनुपर्ने हुन्छ,’ उनले भने । उनी यस्तो बेलामा स्वच्छ खाना पानी र बासस्थानको अभावले शारीरिकसँगै मानसिक रूपमा समेत असर पर्ने बताउँछन् । मन्त्रालयले स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिलाई यस्ता जोखिमबाट बच्न सचेतना जगाउन निर्देशन दिइसकेको छ भने कुनै पनि रोगको लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउन आग्रह गरेको छ ।
वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो
काठमाडौं । वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोग) को जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा छवटा एनोरिज्म एकैपटक नौ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो । उनले बिरामीको मस्तिष्कमा रहेका छवटा ‘एनोरिज्म’को एकैपटकमा पहिलो शल्यक्रिया गरेर सफल उपचार गरेको बताए । यस्तो शल्यक्रिया अत्यन्त जटिल मानेर र कम मात्र देशमा यसको उपचार हुने उनले बताए । ‘एनोरिज्म’ मा नसा बेलुनजस्तै फुलेर फुट्ने गर्दछ । त्यसपछि मान्छेको ब्रेन ह्यामरेज भएर मृत्यु पनि हुनसक्दछ । शल्यक्रिया असोजको दोस्रो हप्ता गरिएको थियो। ‘ती बिरामीको एउटा ‘एनोरिज्म’ फुटेको थियो र अन्य पाँच वटा फुट्ने तयारीमा रहेका थिए,’ उनले भने, ‘तर हाम्रो टिमले नौ घण्टा लगाएर उक्त एनोरिज्मलाई शल्यक्रियामार्फत उपचार गर्न सफल भयौं ।’ उनका अनुसार फुटेको एउटा ‘एनोरिज्म’लाई बेलुनजस्तै बाँधेर राखिएको छ र अरु फुट्न तयारी रहेकालाई क्लिप लगाएर फुट्नबाट जोगाएर राखिएको छ । उनले एकैव्यक्तिको मस्तिष्कमा छवटा एनोरिज्म कमैमात्रामा हुने गरेको बताए । बिरामीको एनोरिज्य एकदेखि चार वटासम्म सामान्य हुने र त्यसपछि पाँच तथा छ वटा कमैमात्रामा हुने गर्दछ । उनले एनोरिज्म फुटेका ५० प्रतिशत बिरामी मात्र अस्पताल आउने र तीमध्ये ५० प्रतिशत मात्र उपचार पाएर बाँच्ने बताए । एनोरिज्मका कारणले बिरामीमा ब्रेन ह्यारेज हुने र तत्काल मृत्युसमेत हुने गर्दछ । न्युरो सर्जरी विभाग प्रमुख डा झाका अनुसार चुरोट र मादक पदार्थ सेवन गर्ने, उच्चरक्तचाप, मधुमेह भएकालाई एनोरिज्म हुने गर्दछ । उनले अहिलेसम्म ११ वटा यस्ता एनोरिज्मका बिरामीको सफल उपचार गरेका छन् । ‘अहिलेसम्म मैले चार वटा ‘एनोरिज्म’ मस्तिष्कमा भएका बिरामीको सफलतापूर्वक उपचार गरेको छु,’ उनले भने, ‘तर अहिलेको बिरामीमा छ वटा एनोरिज्म रहेको थियो, तैपनि हामीले छवटैको जटिल शल्यक्रिया सफलतापूर्व गर्यौं ।’ अस्पतालमा बर्सेनि सयभन्दा धेरै जना एनोरिज्म फुटेर आउने गर्दछन् । उनले अहिले बिरामीको अवस्था ठीक भइसकेको जनाए ।