७३ जिल्लामा डेंगु पुष्टि, ६० हजारभन्दा बढी संक्रमित हुने अनुमान

काठमाडौं । यस वर्ष ६० हजारभन्दा बढीमा डेंगु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगुु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु सङ्क्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे । उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेंगु सङ्क्रमण बढ्ने उच्च जोखिम छ । उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेंगु सङ्क्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेंगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेंगु सङ्क्रमणको तथ्यांक कम देखिएको बताए ।  उनले डेंगु संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले डेंगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भुमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरुसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए । 

झापामा कोभिडका ८ जना सङ्क्रमित फेला

बनियानी । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।  'झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,' उनले भने, 'अब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्छ ।' नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसङ्ख्यालाई लक्षित गरिएको छ । रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताए । यसैगरी, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथि उमेरका अन्य व्यक्ति र पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको छ । जिल्लामा आठजना कोभिड सङ्क्रमित फेला परेका छन् । तीमध्ये पाँचजना झापाका छन्भने मोरङ, इलाम र दोलखाका एक/एकजना रहेको बाराकोटीले जानकारी दिए । झापामा कोभिडको सङ्क्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शङ्कास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । 'काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीनजना खटिएका छन्,' उनले भजे, 'जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।'  

साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने, नागरिकले सहजै सुविधा लिनसक्ने

काठमाडौं । साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो ।   स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको थियो । बोर्डकाअनुसार  प्रथम सेवा विन्दुको रुपमा नराख्ने निर्णय भएकाले २०८२ श्रावण १ गतेबाट रिफरको सिस्टम हटाइएको छ ।  बोर्डले सबै स्वास्थ्य संस्थालाई गरेको परिपत्रमा भनिएको छ– 'उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (५) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ ।' प्रदिप पौडेल स्वास्थ्य मन्त्री भएर आएदेखि नै स्वास्थ्य बिमा सुधारका लागि उनले पहल गर्दै आएका छन् । खासगरी उनकै अग्रसरतामा एक उच्चस्तरीय संयन्त्र बनाइएको थियो । सोही संयन्त्रले दिएको सुझावका आधारमा स्वास्थ्य बीमामा रिर्फरको सिस्टम हटाइएको छ ।  पौडेलले स्वास्थ्य बीमा संकटमा रहेको औल्याउँदै बुढिगण्डकीमा लिएजस्तै पेट्रोल, डिजेल, ग्यास तथा रिचार्ज कार्डमा लाग्ने करबाट थोरै लिएर बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् । उनकाअनुसार मालपोतदेखि अन्य लगाइएका करबाट थोरै प्रतिशत कोषमा जाने व्यवस्था गर्नुपर्छ ।