मृतकका आफन्त र अस्पताल प्रशासनबीच कुरो मिल्यो

काठमाडौं । सुत्केरी महिलाको मृत्युका कारण अशान्त बनेको किष्ट मेडिकल कलेज मंगलबार शान्त बनेको छ । मंगलबार ओपीडी  इमर्जेन्सी लगायतका सबै सेवा सुचारु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार मंगलबार शान्तिपूर्णरूपमा काम भइरहेको छ । उनले अस्पताल प्रशासन र मृतकका आफन्तबीच सम्झौता भएसकेको तर कस्तो सम्झौता भयो भन्नेबारे जानकारी नभएको बताए । उनी भन्छन्, ‘सोमबार राती वार्ता भएको थियो, कुरा मिलेपछि आज अस्पतालको वातावरण शान्त बनेको छ, हामी पहिलेकै अवस्थामा काममा फर्केका छौं ।’ मेडिकल  कलेज प्रशासन र मृतकका आफन्तबीच गोप्य सम्झौता भएको छ ।  प्रशासनका एक कर्मचारी भन्छन्, 'अस्पतालले जानाजान लापरबाही गरेको होइन कहिलेकाँही प्रयास गर्दागर्दै यस्तो घटना हुन जान्छ, जुन अस्ति भयो ।' उनका अनुसार सोमबार राती भएको सम्झौता अनुसार मृतक महिलाको बच्चाको स्वास्थ्यको जिम्मा अस्पतालले लिएको छ । मृतक मीनाश्रीका एउटा नौ वर्षको छोरा र भर्खरै जन्मिएको बच्चाको कक्षा १२ सम्म पढाउनेदेखि सम्पूर्ण स्वास्थ्य खर्च अस्पतालले व्यहोर्ने सम्झौता भएको बताइएको छ ।  यस्तै  प्रदर्शनमा घाइते भएका व्यक्तिको उपचार पनि किष्ट मेडिकल कलेजले गर्ने र मृतक महिलाको उपचार खर्च अस्पतालले मिनाहा गर्ने सम्झौता भएको छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो । सुत्केरी भइसकेपछि रक्तस्राव मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए । चिकित्सकको लापरबाहीले सामान्य सुत्केरी गराउनुभएकी राइको मृत्युपछि बिरामीका आफन्त प्रदर्शन तथा तोडफोडमा उत्रिएका थिए भने अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

जेनजी आन्दोलनमा जलेकी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनमा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको अहिले भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ । खनालका स्वकिय सचिव कृष्ण भट्टराईका अनुसार चित्रकारको स्वास्थ्य अवस्था पहिलेभन्दा निकै राम्रो भएको छ । 'निकै सुधार भएको छ, तर अझै पनि चिकित्सकहरूको निगरानीमा राख्नुपर्ने भएकाले उहाँ अस्पतालमै हुनुहुन्छ' भट्टराइले भने । उनका अनुसार चिकित्सकहरूले चित्रकारलाई क्रमिक रूपमा सामान्य जीवनतर्फ फर्काउने तयारी गरिरहेका छन्।  भदौ २४ गतेको बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा आगलागी भएको थियो । घटनामा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको र देब्रे हातमा गम्भीर चोट लागेको बताइएको छ । सुरुमा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, संक्रमण बढ्ने जोखिम देखिएपछि थप उपचारका लागि  भारतको अपोलो अस्पताल लगिएको हो ।  अपोलो अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको बर्न र रिकन्स्ट्रक्टिभ सर्जरीका विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको उपचार गरिरहेको जनाइएको छ । अस्पतालका अनुसार, उपचारको पहिलो चरण सफल भएको छ र अहिले उनको शरीरमा संक्रमण नियन्त्रणमा छ ।  अपोलो अस्पतालले जारी गरेको चिकित्सकीय बुलेटिनमा चित्रकारको अवस्था स्थिर र सुधारोन्मुख रहेको उल्लेख छ । परिवारले केही दिनभित्र उनलाई सामान्य वार्डमा सार्ने योजना रहेको बताएको छ ।  पत्निको उपचारकालागी दिल्लीमा रहेका नेकपा एसका नेता खनाल पार्टीको केन्द्रीय कमिटी बैठककालागी सोमबार काठमाडौं आएका छन् ।  

अस्पताल तोडफोड र चिकित्सकमाथि  भएको कुटपिट घटनामा चिकित्सक संघको आपत्ती

काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि भएको कुटपिट र अस्पताल तोडफोड घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्तिक ८ गते उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको आपराधिक कार्यको भत्सर्ना गरेको छ । संघले उपचारको क्रममा मृत्यु भएको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार र नवजात शिशुको शिघ्र स्वास्थ्यको कामना गर्दै आफन्तहरूले अस्पतालमा गरेको क्रियाकलापप्रति खेद प्रकट गरेको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘यदि उपचारको क्रममा लापरबाही भएको संका लागेमा कानूनी प्रकृयामा जान सकिने प्रावधान हुँदाहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्नुका साथै स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा नै असर पुग्ने छ ।’   समग्र स्वास्थ्य क्षेत्रलाई आतङ्कित तथा भयभीत पार्ने गरी घटाइएको यस्तो अस्वभाविक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६  (पहिलो संशोधन २०७९) बमोजिम कडा भन्दा कडा कारबाही गर्न तथा सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।