महिनावारीसँग जोडिएको स्वास्थ्य

किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा महिला स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिन्छ ।      महिनावारी सुक्नु रोग होइन तर जसरी महिनावारी हुुँदा कसैकसैलाई साधारण समस्या हुुन सक्छ, महिनावारी सुुक्दा पनि साधारण समस्या देखापर्नुु स्वाभाविक हो भनेर बुुझ्नसके महिलालाई सजिलो हुुने थियो । 'मेरो महिनावारी ४५ वर्षमा सुकेको थियो । पहिले त मलाई केही तातो हुने, खलखली पसिना पनि आउँथ्यो । मलाई मेरो साथीले हर्मोन औषधि दिइन् तर त्यसले मलाई झन् समस्या गरायो । मैले औषधि पनि छोडेँ र मैले त यस अवस्थालाई सामान्य रुपमा लिएको छु । अहिलेसम्म रजोनिवृत्तिका समस्या भएको छैन,' ७५ वर्षीया एक जनस्वास्थ्य विज्ञले केही दिनअघि मलाई इमेलमा लेखेकी थिइन् ।      'मेरो महिनावारी सुकेको चार वर्ष भयो । पहिलेपहिले त कहिले दुई/तीन महिनामा हुन्थ्यो । त्यतिबेला केही बढी रगत जान्थ्यो । फापर, ढिँडो, सिस्नो खाएँ । मलाई ढुक्क पो भएको थियो ।  मलाई कुनै समस्या नै भएन,' गाउँकी एक महिलासँगको भेटमा भनेकी थिइन् ।      नेपाली महिलाको महिनावारी सामान्यतया ४५–५२ वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ ।अन्तरराष्ट्रियस्तरमा अमेरिकी तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ । नेपालमा भने ‘मेनोपोज सिमटम इन नेपाल’की डा कान्ति गिरीले सन् २००१ मा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका १५० महिलामा गरिएको एउटा अध्ययन पाइन्छ । रजोनिवृत्ति वा महिनावारी सुकेपछि कतिपय महिलालाई केही समस्याहरू पर्न सक्छन् । यद्यपि, धेरै महिलालाई केही समस्या पर्दैन । यो कुनै रोग होइन भनेर मानिसहरूले बुझ्न गाह्रो भएकाले र महिनावारी सुकेपछि के औषधि गर्ने भन्ने प्रश्न पनि नेपाली महिलाहरूले गर्छन् ।      परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छन् । गाउँघरमा त ५० वर्षसम्म पनि यसरी कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । अनि महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन नै गाह्रो पर्छ । लगातार यस्तो साधन प्रयोग गर्दा हड्डी ‘फुसफुसे’ भएर भाँचिने समस्या हुन्छ । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ । तर यो विषयमा कतै छलफल नै हुँदैन ।      रजोनिवृत्तिको बेला कसैलाई समस्या हुन्छ, कसैलाई हुन्न भनेर जाँच्ने यन्त्र त छैन । तर भोजन, आराम, सकारात्मक विचारले समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि स्वास्थ राम्रो हुन्छ । तर युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौंला भनेर भनियो भने रजोनिवृतिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होस पुर्याए राम्रो हुन्छ ।      मेरी आमाको ४५ वर्षमा नै रजोनिवृत्ति भयो मेरो १० वर्षअघि ५० वर्षमा नै भयो, केही समस्या नै भएन । तर कसै कसैलाई राति निन्द्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसै कसैलाई जिउ चिलाउने र स्तनको आकार सानो हुँदै जान सक्छ । यसको कारण शरीरमा एस्ट्रोजेन नामक हर्मोन कम हुँदै जानु हो । चुरोट र सूर्ती प्रयोग गर्ने महिलाहरूलाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ । त्यसैले स्वस्थ रहने हो भने गाउँघरका महिलालाई चुरोट र तमाखु छोड भन्नै पर्छ । तर नेपालको गाउँघरमा महिलाहरुलाई धु्रमपान र स्वास्थ्यमा पर्ने असरको बारेमा प्राय थाहा हुँदैन ।      प्रायः कति जनालाई त थाहा पनि हुँदैन कि महिनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन । सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यो महिनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन् । अनि लौ पाठेघरको क्यान्सर भयो भनेर तर्सिन्छन् ।      रजोनिवृत्तिको विषयमा भएका अनुसन्धानहरुले के देखाएका छन् भने यस्ता समस्याहरुलाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवन प्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । साथै युवावस्थाको स्वस्थ खानपिनले पनि धेरै भूमिका खेल्छ । जीवनमा पछि पैसा चाहिन्छ भनेर बैंकमा पैसा राख्ने महिलाहरूले रजोनिवृत्ति पनि स्वस्थ रहोस् भनेर युवावस्थादेखि नै स्वास्थ्यमा लगानी गर्नुपर्छ । अर्थात स्वस्थ खाना, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । कतिपय महिलाले पनि यसलाई उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठान्दछन् भने कतिपयले धर्म–कर्मतर्फ लाग्ने समयको रुपमा पनि लिएको पाइन्छ । अहिले त रजोनिवृत्ति भइसकेका महिलाहरू अफिसमा काम पनि गरिरहेका हुन्छन् ।      रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नु पर्ने चाहीँ हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृति भएपछि या झन बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ । विभिन्न अध्ययनले देखाएका छन् तातो हुने धेरै पसिना आउने आदि रजोनिवृत्ति हुँदा हुने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्छ । प्रोटिन र लौहतत्व पाइने र भटमासको  विशेष तत्वले मुटुको रोगबाट बचाउन मद्दत पनि गर्छ । शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जानसक्छ । यस्तो बेलामा छाला र गुप्ताङ्मा चिलाउने समस्या हुनसक्छ । यस्तो बेलामा तोरी, नरिवल, तिल, बदामको तेल प्रयोग गर्न उचित हुन्छ ।      केही महिलाहरूलाई रजोनिवृत्ति अवस्थामा मन दिक्क हुने, मन छिनछिनमा परिवर्तन हुने हुन्छन् । यस्ता परिवर्तन कतिले सजिलै आत्मसाथ गर्न सक्छन् त कतिलाई यस्ता परिवर्तनले चिन्तित बनाउँछ । यस्ता परिवर्तनले कस्तो असर गर्छ भन्ने कुरा महिलाको शारिरीक अवस्था र सम्पूर्ण स्वास्थ्य स्थितिले पनि निश्चित गर्छ । यससँगै ती महिलाको आर्थिक स्थिति, कामकाज, पारिवारिक जीवन, सामाजिक जीवन, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने क्षमता तथा रीतिरिवाजले पनि निश्चित गर्छ । यो मानसिक रोग होइन तर यस्तो समस्याले धेरै दुःख दिए मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ ।      व्यायाम गर्ने महिलाहरुलाई रजोनिवृत्ति भएपछि शरिर एकैछिनमा तातो हुने, एकैछिनमा चिसो हुुने समस्या पनि केही कम गर्छ । '५० वर्ष पुगेपछि मेरो घुँडा दुख्ने समस्या भएको थियो, महिनावारी पनि सुक्यो । तर विस्तारै व्यायाम गरेपछि दुखाई कम हुन्छ । अहिले मैले नियमित रुपमा योग गर्न थालेको छु । मलाई  रमाइलो लाग्छ', ६० वर्षीय निलिमाले भनेको कुरा मलाई साह्रै घत लागेको थियो । व्यायामलाई बोझको रुपमा नलिएर आफूलाई फाइदा पुर्याउँछ भन्ने विश्वास गरेपछि अलिअलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ, स्वस्थ भइन्छ । रजोनिवृत्ति समस्या बन्दैन ।      रजोनिवृत्ति भएकी महिलालाई मानसिक तनावले पनि समस्या पर्न सक्छ । जस्तो कामको धेरै बोझ भए, धेरै थकाई, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बुढो भए भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ । यसरी महिनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्दछ । तनाव कम गर्ने धेरै उपायहरु छन् । कतिपय उपायहरु हामी हाम्रो जीवनमा उपयोग गर्छौ । कतिपय महिलाहरुले तनाव परेका बेला प्राथना गर्ने, योग गर्ने, ध्यान गर्ने, नाच्ने आदि गर्छन् । यस्ता क्रियाकलापले भावना व्यक्त गर्ने र आनन्दको भएर तनाव कम गर्न पनि मद्दत गर्छन् । महिनावारी सुक्ने बेलामा समस्याहरु कम होस् र शरिर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिँडाइबाट मानसिक तनाव, अनिन्द्रा, मोटोपन इत्यादि त घटाउँछ नै र आत्मविश्वास पनि बढाउँछ । रासस  

निजी अस्पताल र सरकारसँग वार्ता गरेको एक दिनमै फेरि आन्दोलनमा फर्कियो नर्सिङ संघ

काठमाडौं । निजी अस्पताल र सरकारसँग वार्ता गरेको एक दिनमै नर्सिङ संघ फेरि आन्दोलनमा आएको छ । निजी अस्पतालमा कार्यरत नर्सहरूलाई सरकारी पाँचौ तहका नर्स सरह सुविधा उपलब्ध गराउन सर्तमा सरकारसँग सहमती भए पनि  आन्दोलनरत नर्सको दबाबमा फेरि आन्दोलनमा फर्केको हो ।   नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १५ गते शनिबार निजी अस्पताल, कलेजका सञ्चालक र सरकारसँग वार्ता गरेर सहमती गरेको थियो ।  सहमति अनुसार निजी ठूला निजी मेडिकल कलेज र अस्पतालले कार्तिक महिनादेखि ३४ हजार ७ सय ३० रुपैयाँ दिने र अन्य निजी अस्पतालले २७ हजार ४ सय ८४ रुपैयाँ दिने र बिस्तारै अस्पतालको वर्गीकरण गर्दै सरकारी सरह सुविधा दिने सहमति भएको थियो ।  आन्दोलनरत नर्सले पिसिएल नर्सिङ र बिएस्सी नर्सिङलाई एउटै डालोमा राखेर सुविधा दिन नहुने र बाँकी थप समय काम गरेको पैसा पनि पाउनुपर्ने भन्दै असहमति जनाएको थियो । आन्दोलनरत नर्सको असहमति हुँदा पनि नर्सिङ संघले सहमति जनाएपछि आन्दोलनरत नर्सहरू थप आक्रोशित भएका थिए । उनीहरूले आइतबार नर्सिङ संघको कार्यालय नै घेराउ गरेपछि संघ सहमतिबाट पछि हट्दै आन्दोलनमा आएको हो । आन्दोलनरत नर्सले नर्सिङ संघले अभिभावकिए भूमिका नखेलेको बरु संघबाटै धोका दिएको भन्दै कार्यालय घेराउ गरेका थिए । नर्सहरूको दबाब पश्चात संघ फेरि आन्दोलनमा फर्किएको संघका महासचिव देवका आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन । बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७ जना २० वर्ष मुनिका रहेका बताइएको छ । आव २०८०/८१ मा एक हजार १५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । अर्कोतर्फ अझै पनि ‘लाज र डर’का कारण औषधि मार्फत् ज्यान जोखिममा पारेर असुरक्षित गर्भपतन गराउने कायम रहेको छ । यस्ता सेवा लिनेमा किशोरी र सम्बन्धविच्छेद गरेका महिला समेत छन् । जिल्लाका १० स्थानीय तहका २६ स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने गर्दछन् । ती मध्ये बागलुङमा ३ , गलकोटमा चार , जैमिनीमा दुई , ढोरपाटनमा तीन , काठेखोलामा ७ , निसीखोलाा दुई , तमानखोलामा एक , ताराखोलामा दुई , बडिगाडामा एक र बरेङको एउटा स्वास्थ्य संस्था छन् । असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण सेवाग्राहीले सूचिकृत स्वास्थ्य सस्थाबाट गर्भपतन सेवा लिने जनाइएको छ । कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले चालु आर्थिक वर्षको तीन महिनामा १७२ जनाले सूचिकृत स्वास्थ्य सस्था मार्फत् गर्भपतन सेवा लिएको जानकारी दिए । उनका अनुसार जसमा २० वर्ष मुनिका छ जना रहेका छन् । सूचिकृत स्वास्थ्य संस्थामा भन्दा अन्यत्र गर्भपतन सेवा लिने जिल्लामा कायमै रहेको जनाइएको छ । सूचना घिमिरेले भने, 'कतिपयले आफ्नो स्वास्थ्य नै जोखिममा पर्ने गरी असुरक्षित गर्भपतन गराउने गरेको छन् । धेरै समस्या भएपछि सूचिकृत स्वास्थ्य सस्थामा आउने सेवाग्राही समेत हुन्छन् ।' बुर्तिबाङ अस्पतालकी नर्सिङ अधिकृत निरीक्षक पार्वती अर्यालले सूचिकृत स्वास्थ्य सस्थामा दोहोरिएर गर्भपतन सेवा लिन आउनेको पनि सङ्ख्यामा बृद्धि भइरहेको जानकारी दिए । उनका अनुसार पछिल्ला समय परिवार व्यवस्थापनका लागि स्थायी तथा अस्थायी साधन प्रयोग नगर्दा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या मा बृद्धि भएको हो । अस्पतालमा अविवाहित किशोरी पनि गर्भपतन सेवाका लागि अस्पतालमा आउने गरेको जनाइएको छ । 'उमेर पुगेका महिलादेखि अविवाहित किशोरी र अन्य महिला पनि गर्भपतन सेवा लिन आउनुहुन्छ, अशिक्षा र असाबधानीका कारण गर्भपतन गराउनुपर्ने बाध्यतामा उनीहरु हुन्छन्' उनले भने 'असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्यामा अहिले केही कमी आएको छ, तर अस्पताल बाहिर असुरक्षित रुपमा गर्भपतन गराउनेहरु पनि हुन्छन्, लाज र डरले गर्दा उनीहरु अस्पताल आउँदैनन्, औषधि खाएर गर्भपतन गराउँदछन् ।' औषधि पसलमा जथाभावि पाइने गर्भपतनका अनाधिकृत औषधि उपयोग गर्दा महिलाको ज्यान समेत जोखिममा पर्ने गरेको छ । औषधि व्यवस्था विभागले सूचीकृत गरेका औषधि पसलमा मात्र गर्भपतनका औषधि बिक्री गर्न पाइन्छ । तर अनाधिकृत औषधि पसलमा यस्ता औषधि बिक्री वितरण नरोकिएको बताइएको छ । पटक पटक गर्भपतन गराउँदा स्वास्थ्यमा समस्या बजारमा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि प्रयोग गर्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा असर पार्ने धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख डा किरण तिवारीले जानकारी दिए । कतिपय महिलाले पटक–पटक गर्भपतन गराउने जनाउँदै यसले स्वास्थ्यमा गम्भीर असर पु¥याउने उनको भनाइ छ । असुरक्षित गर्भपतन गराउँदा अधिक रक्तस्राब भएर ज्यानसमेत जान सक्ने चिकित्सक बताउँदछन् । पटक पटक गर्भपतन हुँदा महिलाको शरीरमा रगतको कमी हुने र विभिन्न सङ्क्रमण हुनसक्ने जनाउँदै उनी पछि चाँहदा चाँहदै पनि गर्भ नरहे समस्या आउने उनस् बताउँछन् । प्रमुख डा तिवारी गर्भपतन गराउनुभन्दा परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको प्रयोग गर्नु उत्तम विकल्प रहेको सुझाव दिन्छन् । 'गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपत्कालीन अवस्थामा मात्रै गर्नुपर्छ, परिवार व्यवस्थापनको साधन प्रयोग गर्नुनै राम्रो हुन्छ, यत्ति सजकता अपनाइयो भने समस्या हुँदैन' प्रमुख डा तिवारीले भने 'धेरै पटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने सम्भवना हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ ।' उनले पछिल्लो समय बजारमा जथाभावी रुपमा गर्भपतन गराउने विभिन्न औषधि पाइने र महिलाले आफूखुसी खाने गर्ने गरेको बताए । आफूखुसी गर्भपतनको औषधि खान नहुने जनाउँदै गर्भपतन गराउनै परे सूचिकृत स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको सुझाव लिएर मात्रै गर्नुपर्ने प्रमुख डा तिवारी बताउँछन् । रासस