क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र महँगा औषधी अब निःशुल्क

काठमाडौं । अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।  नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधी प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए । डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनत पछि सफलता प्राप्त गरेको बताए ।  डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरुप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए ।  ‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’ मन्त्री पौडेलले भने,‘राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’ हाल ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधी समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए ।  ‘सुची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको जानकारी समेत दिए ।   मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे ।  मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधी प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए ।  वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।  स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई  निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।  मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधी र स्वास्थ्य सामाग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।   

टिचिङमा १५ शैय्याको नयाँ इमर्जेन्सी वार्ड र थ्री टेस्ला एमआरआई सेवा सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको शुरुवात गरेका छन् । साथै मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत शुरु गरेका छन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो । सेवा शुरुवात गर्दै मन्त्री पौडेलले टिचिङ अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरुमा धेरै आउनुको कारण यही भएको बताए । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए ।   'टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,' मन्त्री पौडेलले भने । अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए । बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शैय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परे पछि अस्पतालले शैय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैय्या पुर्याएको हो । यसअघि आठ बेड मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शैय्या रहनेछ ।

प्रधानमन्त्री ओलीले गरे भागीरथा अस्पताल उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबिच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् ।   बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उनको छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले बताए ।   स्व. भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च थिए। उनकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो। अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छ न्। जसमध्ये पालिकाले आफ्नो स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ।   बाहिर र भित्र चिकित्सकीय सेवाअन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ।   आगामी साउन १ गतेदेखि अस्पतालमा २४ घण्टा उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईंले बताए। पालिकाले गत जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।   कार्यविधिअनुसार पालिकाको अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ। अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ ।   इलाम जिल्लासँग सिमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रूपमा रहेको यो भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसङ्ख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले उपचार पाउनेछन् ।