हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

वाग्मती । वाग्मती प्रदेश सरकारको रु आठ करोड तीन लाख ७१ हजारको लागतमा हेटौँडा उपमहानगरपालिका–१७ हटियामा ३० शय्याको सुविधासम्पन्न प्रहरी अस्पताल भवन निर्माण सुरु भएको छ । पहिलो चरणमा १५ शय्याको भवन निर्माणमा गरिने छ । भवन निर्माणको मङ्गलबार आयोजित एक कार्यक्रममा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने शिलान्यास गरे ।   हेटौँडास्थित वाग्मती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने अस्पताल भवनमा सबै किसिमका भौतिक पूर्वाधार एवं संरचना निर्माण गरिने मन्त्री लामिछानेले बताएका छन् । उक्त भवन आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न लक्ष्य छ ।

छात्रवृत्तिमा साढे ५ अर्ब खर्च हुन्छ, चिकित्सक युरोपका गल्लीमा नभइ नेपालकै अस्पतालमा भेटिनुपर्छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चिकित्सा क्षेत्रमा उत्पादन भएका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशभित्रै खपत हुने वातावरण बनाउन आवश्यक रहेकामा जोड दिएका छन् । त्रिवि शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवमा अवसरमा उनले चिकित्सा शिक्षामा सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि शिक्षा मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार रहेको जानकारी दिए ।  मन्त्री पन्तले भने, ‘यहाँ उत्पादित चिकित्सक युरोपका गल्ली र अस्पतालमा भन्दा नेपालकै अस्पतालमा भेटिनुपर्ने वातावरण सृजना गर्न सबैले सहयोग गर्नुपर्ने जरुरी छ ।’ छात्रवृत्तिका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘साढे पाँच अर्ब रुपैयाँ जति छात्रवृत्तिमा खर्च हुन्छ । करिब ७५ प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढ्छन् । सतप्रतिशत नभए पनि कम्तीमा ७५ प्रतिशतले स्वदेशमा सेवा गर्नुपर्छ । देशले लगानी गरेपछि त्यसको प्रतिफल पनि यहीँ फर्किनुपर्छ ।’  मन्त्री पन्तले नेपाली चिकित्सक र नर्सको योग्यता माथि प्रश्न उठाउन जरुरी नरहेको स्पष्ट पारे ।  ‘हाम्रो उत्पादन कमजोर छन् भन्ने मलाई लाग्दैन । यदि उहाँहरू अयोग्य छन् भने विदेशमा काम कसरी पाइरहेका छन् ? यसबारे गम्भीर छलफल गरिनुपर्छ,’ उनले भने ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पताललाई चिकित्सा जनशक्ति उत्पादनको प्रमुख केन्द्रका रूपमा रहेको बताए । ‘यो अस्पताल केबल बिरामीको उपचारका लागि मात्र नभई, उपचार गर्ने जनशक्ति उत्पादन गर्ने अभ्यास केन्द्र हो,’ उनले भने ।  स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा काम गर्ने वातावरण बनाइ दिनुपर्नेमा उनको जोड छ । बिरामी निको नभए चिकित्सक र नर्सलाई दोष दिने चलन रहेकाे उनकाे भनाइ छ । ‘समाजले स्वास्थ्यकर्मीमाथि अविश्वास राख्नु हुँदैन । कम जनशक्तिमा बढी सेवा गर्नुपर्ने हुन्छ, त्यसैले उहाँहरूलाई सुरक्षित वातावरणमा काम गर्न दिने, विशिष्ट क्षमता भएको जनशक्तिका रूपमा पहिचान दिने काम गर्नुपर्छ,’ उनले भने ।  स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको जानकारी दिँदै मन्त्री पन्तले थपे, ‘स्वास्थ्यकर्मीलाई सुरक्षित, दबाब रहित वातावरणमा काम गर्नसक्ने र सम्मानका साथ बाँच्नसक्ने व्यवस्था आवश्यक छ । तलब पनि समान र प्रोत्साहन योग्य हुनुपर्छ ।’ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दीपक अर्यालले त्रिवि शिक्षण अस्पताल गुणस्तरीय जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको बताए ।  अनुसन्धानको क्षेत्रलाई बलियो बनाउनुपर्ने भन्दै विद्यार्थी सङ्ख्या वृद्धि गर्ने र विदेशबाट विद्यार्थी भर्ना बढाउने किसिमका कदम चाल्नुपर्ने उनको धारणा छ । प्रत्येक क्षेत्रमा अनुसन्धान हुनुपर्छ, अनुसन्धान केन्द्र खोल्न आवश्यक रहेको उनले बताए । 

शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सव सम्पन्न, नयाँ भवन र अत्याधुनिक एमआरआई सेवा सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले एक विशेष समारोहबीच आफ्नो ४३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकै अवसरमा विस्तारित सेवा भवनको उद्घाटन गर्नुका साथै १५ शय्याको ’इमर्जेन्सी ग्रिन एरिया वार्ड’ र अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवा पनि सञ्चालनमा ल्याइएको छ । समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यले आगामी वर्षभित्र ’रेडियोथेरापी’, ’बोनम्यारो प्रत्यारोपण’ र फार्मेसी सेवा विस्तारजस्ता महत्त्वपूर्ण सेवाहरू सुरु गर्ने लक्ष्य रहेको बताए ।  डा. आचार्यले गत आर्थिक वर्ष वि.सं. २०८० वैशाखदेखि चैतसम्म) को तथ्याङ्क प्रस्तुत गर्दै उक्त अवधिमा ५ लाख ३२ हजार ४२० जनाले ओपिडी सेवा र ४६ हजार ७६१ जनाले आकस्मिक सेवा लिएको जानकारी दिनुभयो। सोही अवधिमा २१ हजार १०६ वटा सफल शल्यक्रिया सम्पन्न भएका छन् । उनका अनुसार अस्पतालमा दैनिक २ हजार २ सय देखि २ हजार ५ सय बिरामी ओपिडीमा र १ सय ४० देखि १ सय ५० जना आकस्मिक कक्षमा आउने गरेका छन् । हालसम्म ९ सय  मिर्गौला र १९ वटा कलेजो प्रत्यारोपण भइसकेको छ । अस्पतालमा हाल ५८ आईसीयू, ९७ एचडियुसहित कुल १,०५० शय्या सञ्चालनमा छन् । विपन्न तथा असहाय नागरिकका लागि ६३ शय्या निःशुल्क छुट्याइएको छ भने वार्षिक करिब २० हजार बिरामीले डायलासिस सेवा लिइरहेका छन् ।  वि.सं. २०३८ मा स्थापित त्रिवि शिक्षण अस्पतालले २०४० असार ३० गतेदेखि ओपिडी सेवा सुरु गरेको थियो ।