नेपालको पहिलो आँखा अस्पताललाई बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई यस वर्षको बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको छ । केन्द्रीय मानन्धर सङ्घ नेपालको ७३औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रा. जगदिश नारायण मानन्धरले आँखा अस्पताल त्रिपुरेश्वरका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंलाई उक्त पुरस्कार हस्तान्तरण गरे । ५२ वर्षअघि नेपालमा पहिलो आँखा अस्पतालको रूपमा स्थापित उक्त अस्पतालले स्थापनाकालदेखि समुदायलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको योगदानस्वरूप सम्मान गरिएको हो । अस्पतालमा हाल १६ जना पूर्णकालीन नेत्र विशेषज्ञ र ४ जना ‘फेलो नेत्र विशेषज्ञ’ समेत गरी १५० जना कार्यरत छन् । अस्पतालले दिएको जानकारी अनुसार बहिरङ्ग सेवामा वार्षिक करिब २ लाख बिरामीको उपचार र १५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिन्छ । अस्पतालले सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत वर्षैभरी निःशुल्क आँखा परीक्षण, निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविर, विद्यालयस्तरीय दृष्टि परीक्षण तथा चस्मा वितरण र डायबेटिक रेटिनोपेथी परीक्षण तथा छनौट शिविर सञ्चालन गर्दै आइरहेको छ ।
हृदय रोग सम्बन्धी रोकथाममा सिंगापुरको नयाँ प्रविधि
काठमाडौं । सिङ्गापुरले सन् २०२७ को सुरुमा हृदय रोग सम्बन्धीको उच्च जोखिममा रहेका व्यक्तिहरू पहिचान गर्न नयाँ उपकरण लागू गर्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार यो योजना सार्वजनिक गर्दै यो कदम रोकथाममुखी स्वास्थ्य सेवामा महत्वपूर्ण परिवर्तन ल्याउने भनेको छ । स्वास्थ्य प्रविधि एजेन्सीले विकास गरेको सहायक दीर्घकालीन रोग उपकरणले व्यक्तिको उमेर, स्वास्थ्य इतिहास, जीवनशैली, खानपान र अन्य व्यक्तिगत तथ्याङ्कको विश्लेषण गरी मधुमेह र उच्च रक्तकोष्ठ लाग्ने सम्भावना निर्धारण गर्छ । यसले हरेक व्यक्तिको जोखिम स्तर पहिचान गरेर स्वास्थ्य केन्द्रहरूमा लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउँछ । यो उपकरण लागू भएपछि, उच्च जोखिममा रहेका व्यक्तिहरूलाई हरेक वर्ष हृदय–सम्बन्धी रोगको जाँच गरिनेछ, जुन पहिले हरेक तीन वर्षमा गरिन्थ्यो । यसरी जाँचको आवृत्ति बढाएपछि प्रारम्भिक चरणमै रोगको पहिचान गर्न र समयमै रोकथामका कदम चाल्न सजिलो हुनेछ । जाँचका लागि आवश्यक पर्ने खर्च सरकारले व्यहोर्नेछ, जसले सबै नागरिकले सहज रूपमा यो सेवा पाउने सुनिश्चित गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार, उपकरणले उच्च जोखिममा रहेका व्यक्तिहरूलाई चिन्हित गरेमा ती व्यक्तिहरूमा आगामी तीन वर्षभित्र मधुमेह, उच्च रक्तकोष्ठ, वा दुवै रोग लाग्ने सम्भावना ७५ प्रतिशतभन्दा बढी हुन्छ । यसको अर्थ, समयमै जाँच र उपचार सुरु गर्न सके स्वास्थ्य जोखिम कम गर्न सकिन्छ । मन्त्रालयले यो पहललाई प्रविधिमा आधारित रोकथाममुखी स्वास्थ्य सेवातर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ । यसले व्यक्तिगत जोखिमअनुसार लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउनेछ र दीर्घकालीन रूपमा स्वास्थ्य सुधारमा योगदान पु¥याउने विश्वास गरिएको छ । रासस
नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीहरुको उपचार
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ । शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरुले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौंको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट बिरामीहरु उपचारका लागि आएका थिए । लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका तथा विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले शिविरमा निःशुल्क उपचार पाएका थिए । शिविरमा आएकी दुर्गा पाण्डेले शिविरमार्फत आफूले राम्रो सेवा पाएको बताइन् । उनले शिविरमा पाँच वर्षकी छोरीको घाँटीको शल्यक्रिया गराइन् । दुई वर्षअघि तेलले पोलेर घाँटीमा समस्या भएको थियो । ‘विशेषज्ञ डाक्टरद्वारा तेलले जलेको घाउको सफलतापूर्वक शल्यक्रिया भयो । यस्तो सुविधा पाउँदा म आयोजकलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् । सुषमा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनीको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए । ‘जटिल किसिमका बिरामीहरु जसलाई सघन उपचारको जरुरी थियो हामीले उहाँहरुलाई काठमाडौंस्थित हाम्रो अस्पतालमा रिफर गरेका छौं,’ प्रा. डा. लोहनीले जानकारी दिए । नेपालमा जलनका घटनासम्बन्धी समस्या ठूलो भएको उल्लेख गर्दै प्रा.डा. लोहनीले पीडितले समयमा उपचार नपाउने, धामी झांक्री कहाँ देखाउने आदिले गर्दा घाउहरु अझै बढ्ने र थप समस्या आउने बताए । शिविरले मानिसहरुलाई उचित उपचारबारेमा सचेत गरेको र भविष्यमा यस्ता कार्यक्रमले विपन्न वर्गका मानिसहरुलाई अझ लाभान्वित गर्ने उनको भनाइ थियो । आगो ताप्ने क्रममा दुवै हात जलेका ४२ वर्षिया भरत लुहारलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । जलन घाउको समयमै उचित उपचार नपाएर घाउमा किरा लागेपछि चिन्तित भएका उनले मद्दत माग्दै शिविरमा आइपुगेका थिए । ‘शिविरमा वरिष्ठ चिकित्सकबाट मेरो घाउको उपचार भयो र अब म थप उपचारका लागि काठमाडौं जाँदैछु,’ उनले भनिन् । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको शिविरमा ३५ पुरुष तथा ३० महिला गरी ६५ जना सहभागी थिए । ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलो चरणमा सुदुरपश्चिम प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो । शिविरमार्फत पीडितहरुले उपचार पाएका छन्,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने । काठमाडौंदेखि गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार गराएकाले शिविर सफल तथा एकदम प्रभावकारी भएको ज्ञवालीले बताए । उनले आगामी दिनमा अन्य प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए । धेरै मानिसहरु अझै पनि उचित उपचार नपाएर बसिरहेको र यस्ता जलन शिविरले जनताहरुलाई जलनको अत्यावश्यक उपचार उपलब्ध भइ राहत पाइने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । जलनको उपचार सम्वेदनशील र जरुरी रहेको बताउँदै डा. पाण्डेले शिविर सञ्चालनका लागि सहयोग गरेकोमा नबिल बैंकलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताए । जलन शिविरका साथसाथै सेती प्रादेशिक अस्पतालमा आधारभुत जलन उपचार तालिम पनि सञ्चालन गरिएको थियो । सुषमा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. राजु भण्डारीद्वारा अस्पतालका डाक्टर, नर्स, प्रशासनिक प्रमुख, सर्जनलगायत करिब ५० जनालाई तालिम प्रदान गरिएको थियो । डा. भण्डारीका अनुसार जलनको शल्यक्रिया गरिसकेपछि फलोअपमा आउने बिरामीहरुको उपचार गर्नका लागि अस्पतालका डाक्टर तथा नर्सको सिप विकासका लागि सो तालिम सञ्चालन गरिएको हो । 'यस तालिमले जलनसम्बन्धी कुनै बिरामी आएमा, डाक्टरले जाँच गरी उचित उपचार तथा सल्लाह दिन सक्नेमा हामी विश्वस्त छौं,’ उनले बताए ।