सुक्खा आँखाको समस्या बढ्दो, ‘ब्रेक’ लिएर ल्यापटपको प्रयोग गर्न सुझाव
काठमाडौं । तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको बताएकी छन् । आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या भोग्नुभएको छभने सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन उनको सुझाव छ । उनका अनुसार सुक्खा आँखा भन्नाले आँखामा आँसुको मात्रा पर्याप्त नहुनु वा भएको आँसु छिटो वाष्प भएर हराउनु भन्ने बुझिन्छ । यस्तो अवस्थामा आँखामा पोल्ने, बालुवा परेको जस्तो बिझाउने, चिलाउने, रातो हुने र धमिलो देखिने लक्षण देखा पर्न सक्छन् । ‘धुवाँ, धुलो, प्रदूषण, एसी र फ्यानमा लामो समय बस्दा पनि सुक्खा आँखाको सम्भावना बढ्छ । यसैगरी, धुम्रपान गर्नेलाई पनि यो समस्याले सताउन सक्छ । मोबाइल, कम्प्युटर, ल्यापटपजस्ता प्रविधिको अत्यधिक प्रयोग गर्दा आँखा झिम्क्याउने दर कम हुन्छ, जसले आँसु छिटो सुकाउँछ’, डा खनालले भनिन् । उनले मोबाइल, कम्प्युटर, ल्यापटपको प्रयोग गर्दा हरेक २०–२५ मिनेटमा रोकिएर (‘ब्रेक’ लिएर), केहीबेर टाढा हेर्ने र कम्तीमा २०–२५ पटक आँखा झिम्क्याउने बानी बसाल्न सुझाव दिइन् । उनले भनिन्, ‘मोबाइलमा गेम खेल्दा एकदमै ध्यान एकत्रित हुँदा आँखा झिम्क्याउन बिर्सिरहेका हुन्छौँ । आँखामा बढी तनाब पर्ने काम गर्यौं र लामो समयसम्म आँखा झिम्क्याउन बिर्सियौँ भने हाम्रो आँखा सुक्खा हुन्छ । त्यसैले ब्रेक लिनुपर्छ ।’ समस्या देखिएमा ‘लुब्रिकेटिङ’ आँखा ‘ड्रप्स’को प्रयोग गर्न सकिन्छ । यो समस्या लिएर आउने अधिकांश बिरामी सामान्यदेखि मध्यम लक्षणसहित आउने डा खनालको भनाइ छ । कहिलेकाहीँ सुक्खा आँखा शरीरका अन्य रोगजस्तै बाथरोग, थाइराइड समस्या वा केही प्रकारका ‘हर्मोन सप्लिमेन्ट’का कारण पनि हुन सक्ने भएकाले यस्तो अवस्थामा केवल ड्रप्स प्रयोग पर्याप्त नहुने बताउँदै उनले विशेषज्ञ चिकित्सकसँग परामर्श लिन आवश्यक हुने डा खनालले उल्लेख गरिन् । ‘सुक्खा आँखा देखिएपछि आत्तिनु पर्दैन तर लापरबाही गर्नु हुँदैन । समस्या बढेमा लुब्रिकेटिङ ड्रप्स प्रयोग गर्नुपर्छ, अनि सुधार नआएमा आँखाको विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ’, उनको सुझाव छ ।
बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह
नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह गरेका छ । पश्चिम नवलपरासीको सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको ५० शय्याको नवनिर्मित भवन उद्घाटन गर्दै उनले नागरिकलाई सहज र सर्वसुल्भ सेवाका लागि जटिल तथा हुनै नसक्ने उपचारबाहेक सबै सेवा अस्पतालबाटै प्रवाह गर्न आग्रह गरे । उनले भने, 'यहाँका सेवाग्राहीको आर्थिक अवस्था कमजोर छ । जो बाहिर गएर उपचार गराउन आर्थिक रुपमा असमर्थ हुनुहुन्छ । त्यो कुरालाई प्रदेश सरकारले राम्रैसँग मनन गर्दै अस्पताललाई सेवा प्रवाहमा आत्मनिर्भर बनाउनका निम्ति हरेक क्षेत्रका विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्याउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धेरै पहलकदमी लिएको छ ।' जिल्ला अस्पतालका रुपमा रहेको पृथ्वी चन्द्र अस्पताललाई विकास तथा सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट कुनै पनि कमी नहुने उनको भनाइ थियो ।
जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् । फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रूपान्तरण गर्ने रणनीति अन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताए । यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै उनले एसियाली देशहरूसँग सहकार्यका लागि तयार रहेको बताए । आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा शुद्धता सुधार गर्न सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्यको पहुँच बाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको बताए । मन्त्री पौडेलले फोरम अन्तर्गत जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे । जलवायु उत्पन्न स्वास्थ्य सङ्कटको सामना गर्न तयारीका लागि नेपालको प्रयासबारे जानकारी गराउँदै यसलाई साझा मुद्दा बनाउन नेपालले पहल गरिरहने दृढता व्यक्त गरे । चीन भ्रमणका क्रममा मन्त्री पौडेलले त्यहाँको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक शेन होङबिनसँग भेट गर्दै स्वास्थ्य सहकार्यका लागि आग्रह गरेका थिए । नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीसमेत सहभागी द्विपक्षीय भेटमा हेटौँडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालहरूमा न्युरो उपचार केन्द्र लगायतका विषयमा छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ । मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट गर्दै चीनमा प्राप्त ज्ञान र सीपबाट राष्ट्रको लागि योगदान पुर्याउन आग्रह गरे ।