औषधि व्यवसायी चिन्तित, ऐनको स्वतः रद्द प्रावधानले जोखिम सिर्जना
काठमाडौं । नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौंले संशोधित औषधि ऐन सच्याउनुपर्ने माग गरेको छ । सङ्घले शनिबार विज्ञप्ति जारी गरी सङ्घीय संसद्बाट पारित भएसँगै गत साउन १४ गतेदेखि लागू भएको ऐनको दफा ११ का केही व्यवस्थाले औषधि व्यवसायीहरूलाई चिन्तित बनाएको जनाएको छ । सङ्घले ‘सरकारद्वारा संशोधित औषधि ऐन, २०३५ को दफा ११ का उपदफा (३) र (५) सच्याउनुपर्ने माग गरेको हो । संशोधित दफा ११ अनुसार तोकिएको मितिभित्र उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र नवीकरण नगरेमा ३० दिनभित्र दोब्बर दस्तुर तिरी नवीकरण गर्न सकिने, तर उक्त अवधि पनि कटेमा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था गरिएको छ । सङ्घको भनाइअनुसार त्यस्तो कठोर प्रावधानले एक दिनको ढिलाइमै पनि दशकौँदेखि सञ्चालनमा रहेका व्यवसाय बन्द हुने खतरा रहेको छ । सङ्घले आफ्ना माग पूरा नभएको भन्दै आइतबारदेखि विरोधका कार्यक्रम अगाडि बढाउनेसमेत जनाएको छ । सङ्घ काठमाडौंका महासचिव शुभमान श्रेष्ठले उक्त व्यवस्थाले हजारौँ व्यवसायीहरू विस्थापित हुने अवस्था आउने भन्दै सच्याउन आग्रह गरेका छन् । उनले भने, '२०५७ सालमा भएको दोस्रो संशोधनमा पनि यस्तै ‘स्वतः रद्द’ हुने व्यवस्था राखिएको थियो । तीव्र विरोधपछि विभागले औषधि दर्ता नियमावली २०३८ मा ‘द्रष्टव्य’ राखेर प्रावधान सच्याएको थियो । २०७२ मा सो द्रष्टव्य हटाइएपछि अब पुनः कठोर प्रावधान लागू भएको छ । यो व्यवसायीको हित विपरीत छ ।'
तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै
बागलुङ । एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ । अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । २०७९ साल माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । उनका अनुसार दुई पटक थपेको म्यादसमेत अहिले सकिएकाले भवन निर्माणमा अझै अन्योलता छाएको छ । 'एक वर्षमा सकिने भवन तीन वर्षमा सकिएको छैन, दुई पटकसम्म थपेको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ, भवनमा प्लाष्टरको काम अझै सकिएको छैन, तिहार यता कामदार भवनमा देखिएका छैनन्' घर्तीले भने, 'भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विषयमा छलफल भइरहेको छ, नगरपालिकाले निर्माण व्यवसायीलाई धरौटी जफत गरेर भएपनि सम्पन्न गर्ने योजनामा छ ।' भवन निर्माणका लागि दोस्रो पटक थप गरिएको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ । निर्माण व्यवसायी डिएनप्रसाद जेभीसँग एक करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले थोरै कामदार परिचालन गर्ने, सम्पर्क बिहिन हुने लगायतका कारण भवन समयमै बन्न नसकेको हो । नगरपालिकाकै नमुना स्वास्थ्य चौकीको रुपमा रहेको नारायणस्थान स्वास्थ्य चौकी अहिले साँघुरो भवनबाट सेवा प्रभाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिए । भवन सम्पन्न भए गुणस्तरीय सेवा प्रभाह गर्न सहज हुने उनको भनाइ छ । जनताले चन्दा उठाएर २१ लाख रुपैयाँ संकलन गरी स्वास्थ्य चौकीको नाममा जग्गा खरिद गरेर भवन निर्माणका लागि काम थालेपनि समयमा भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको शर्माले बताए । रासस
जाडोमा घुँडा, ढाड र काँध दुख्ने समस्या छ ? अपनाउनुहोस् यी पाँच उपाय
काठमाडौं । जाडोमा घुँडा, ढाड र काँध दुख्ने समस्या बढ्ने गर्छ । चिसो मौसमले मांसपेशीहरू साँघुरो बनाउँछ, जसले गर्दा शरीर कडा महसुस हुन्छ र जोर्नीहरूमा बढी दबाब पर्छ । जसकारण जोर्नी वरिपरि सुन्निने र दुखाइ बढ्ने हुन्छ । के तपाईंको पनि जोर्नीहरू जाडोमा कडा हुने र दुखाइ बढ्ने हुन्छ ? आउनूहोस जाडोमा चिसोबाट बच्न र दुखाइबाट राहत दिन सक्ने यी ५ सजिला उपायहरूको बारेमा जानौं । आफूलाई न्यानो राख्नूहोस् चिसो हावाले व्यक्तिकोे मांसपेशी र जोर्नीहरूलाई सिधै कडा बनाउँछ । घर भित्र होस् वा बाहिर आफ्नो शरीरलाई न्यानो राख्ने प्रयास गर्नुपर्छ । शरीरलाई न्यानो बनाउन न्यानो लुगा लगाउनुपर्छ । तातोपानीले नुहाउँदा मांसपेशीहरूले खुल्छन् र दुखाइ कम हुन्छ । तपाईंको शरीर जति न्यानो हुन्छ यो समस्याबाट पनि बच्न सकिन्छ । हरेक दिन थोरै हिँडिरहनूहोस् जाडोमा हामी कम हिँडडुल गर्छौं, जसले गर्दा जोर्नीहरू कडा हुन सक्छन् । हिँड्ने, तन्काउने वा हल्का व्यायाम गर्नाले जोर्नीहरू लचिलो राख्न मद्दत गर्न सक्छ । घरमा योग गर्दा, साधारण व्यायाम वा हल्का हिँडाइ पनि धेरै फाइदाजनक हुन सक्छ । व्यक्तिको शरीर जति धेरै चल्छ, त्यति नै कम कडा हुनुहुन्छ । आफ्नो तौल नियन्त्रणमा राख्नूहोस् जाडोमा व्यक्तिको तौल पनि बढ्छ । धेरै खानपान, कम गतिविधि हुँदा तौल बढ्ने गरेको हो । बढ्दो तौलले जोर्नीहरूमा प्रत्यक्ष दबाब दिन्छ । त्यसैले सन्तुलित आहार खाने प्रयास गर्नूहोस् । आफ्नो आहारमा सलाद, फलफूल, तरकारी, दाल र हल्का प्रोटिन समावेश गर्नूहोस् । यसका साथै जामुन, सुख्खा फलफूल, माछा, लसुन आदिले पनि सूजन कम गर्न मद्दत गर्छ । पानी पिइराख्नूहोस् चिसोमा तिर्खा कम लाग्छ, तर शरीरलाई अझै पनि पानी चाहिन्छ । पानीको कमीले जोर्नीको दुखाइ बढाउन सक्छ । पानी, हर्बल चिया, सुप वा ताजा जुसले शरीरलाई हाइड्रेटेड राख्छ र जोर्नीहरूमा लचिलोपन कायम राख्छ । यो समस्याबाट बच्न झोलिलो खानेकुरा र पर्याप्त पानी पिउनूहोस् । दुखाइ हुनेबित्तिकै तुरुन्तै उपचार गर्नूहोस् यदि दुखाइ सुरु भयो भने यसलाई बेवास्ता नगर्नूहोस् । तातो कम्प्रेस वा तताउने प्याडले राहत प्रदान गर्न सक्छ । यदि हल्का सुन्निएको छ भने डाक्टरले तोकेको औषधी पनि लिन सकिन्छ । यदि दुखाइ बारम्बार हुन्छ वा धेरै बढ्छ भने डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ । तपाईं चिसो मौसम रोक्न सक्नुहुन्न । तर जोर्नी दुखाइलाई निश्चित रूपमा नियन्त्रण गर्न सक्नुहुन्छ । थोरै सावधानी र केही साधारण बानीहरूले सम्पूर्ण जाडो मौसमलाई आरामदायी बनाउन सक्छ ।