नेपाल बैंकका कर्मचारी र ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता भएका ग्राहकहरूले उक्त सेन्टरबाट प्रदान गरिने प्याथोलोजी ल्याब सेवा र औषधी खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । साथै ल्याब सेवा अन्तर्गत निःशुल्क होम डेलिभरी सुविधा समेत उपलब्ध गराइनेछ । उक्त सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयरका ल्याब निर्देशक डा. आभाष कोइरालाले साउन १९ गते हस्ताक्षर गरेका हुन् । यस सहकार्यबाट बैंकका कर्मचारी र ग्राहकहरू सहुलियतपूर्ण, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्न सक्षम हुने विश्वास गरिएको छ ।

मुक्तिनाथ बैंकका ग्राहकलाई एमएन अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा-सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, बसुन्धरास्थित एमएन अस्पतालसँग छुटसम्बन्धी व्यवसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले एमएन अस्पतालमा उपलब्ध विभिन्न सेवाहरू जस्तै अपरेसन, प्रयोगशाला परीक्षण, एक्स-रे, औषधी आदिमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस्तो सहकार्यबाट ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा प्राप्त गर्ने विश्वास लिएको जनाएको छ । बैंकले ग्राहक हितमा केन्द्रित यस्ता सेवामूलक साझेदारीहरू आगामी दिनहरूमा अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यससँगै बैंकले मोबाइल एप ‘मुक्तिनाथ फाइदा’ सार्वजनिक गरी एकै एपबाट बहुउपयोगी सुविधाहरू उपलब्ध गराएको छ । साथै, अन्तरदेशीय क्यूआर भुक्तानी सेवा, मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, खाता खोल्ने सुविधा, इन्टरनेट बैंकिङ, रेमिट्यान्स खाता मै जम्मा जस्ता सेवाहरू ग्राहकले घरबाटै प्रयोग गर्न सक्ने सुविधा पनि सञ्चालनमा ल्याइएको छ ।

एपोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी  निर्वाचित भएका छन् । अध्यक्षका अर्का दाबेदार  दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत निवार्चित भएका हुन् ।  आइतबारदेखि काठमाडौंमा जारी एपोनको वार्षिक साधारणसभाले १३ सदस्यीय समिती गठन गर्ने छ । अध्यक्षमा सर्वसम्मत भएपनि  सदस्यमा पनि सहमतिको प्रयास भइरहेको छ । सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन् ।