कन्सल्टेन्सीको प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही चिकित्सकहरू कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसारमा संलग्न रहेको भन्दै ध्यानाकर्षण गराएको छ । काउन्सिलले जारी गरेको विज्ञप्ति अनुसार चिकित्सकहरूले कन्सल्टेन्सीको प्रवर्द्धनका लागि आफ्नै नाम, तस्बिर तथा शैक्षिक उपाधि साइनबोर्ड, ब्यानर, पम्पलेट जस्ता प्रचार सामग्रीमा प्रयोग गरिएको भन्ने उजुरी परेको छ, जसले चिकित्सकीय मर्यादा र परम्परा विपरीत जाने उल्लेख गरिएको छ । काउन्सिलका रजिस्ट्रार डा. सन्तोष कुमार देवका अनुसार व्यवसायिक आचारसंहिताविपरीत गतिविधि नगर्न चिकित्सकहरूलाई सचेत गराइएको छ । यस्ता क्रियाकलाप पुनः दोहोरिए कारबाही अघि बढाइने चेतावनी समेत काउन्सिलले दिएको छ ।

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ, कम्पनीलाई ३५ लाख दिन बाँकी

गोदावरी । बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । पालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाउँदा भवन अधुरो छ । निर्माण कम्पनीलाई ३५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको छ ।  पालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार उक्त भवन निर्माण प्रारम्भ भएको हो ।  यसैगरी, जिल्लाको लम्कीचुहा नगरपालिका–१० चुहामा निर्माणाधीन ५० श्ययाको सामुदायिक अस्पताल भवन पनि अलपत्र छ । निर्माण कम्पनीले भुक्तानी नपाएपछि काम रोकिएको हो । दुई वर्षदेखि रोकिएको काम पुनः प्रारम्भ गर्न सम्बन्धित निकाय अग्रसर नहुँदा स्थानीय चिन्तित छन् । 

देशभरी गुड्ने एम्बुलेन्स र शववाहनको विवरण संकलन गर्दै मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरी गुड्ने एम्बुलेन्स र शववाहनको विवरण संकलन थालेको छ । अहिलेसम्म नेपालमा कति एम्बुलेन्स र शववाहनको एकिन विवरण स्वास्थ्य मन्त्रालयसँग छैन । पालिका, स्थानीयतह र रेडक्रस लगायत विभिन्न संस्थाले एम्बुलेन्स सञ्चालन गरिरहेकाले एकिन तथ्यांक मन्त्रालयसँग छैन । अहिले मन्त्रालयले एक सूचना जारी गर्दै यही मङ्सिर २१ गतेभित्र अनिवार्य रूपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन भनेको छ । आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहेकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शववाहनहरुको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरूले पठाउनुपर्ने मन्त्रालयले जनाएको छ ।