नेपालमा पहिलोपटक बाथरोगको ‘जेनेटिक’ परीक्षण सुरु
काठमाडौं । नेपालमा पहिलोपटक बाथ रोगको अनुवाङ्शिक ‘जेनेटिक’ कारण पत्ता लगाउन नयाँ तीनवटा परीक्षणको सुरु गरिएको छ । नेक्स जेन ल्याब सोलुसनले तीन किसिमका बाथरोग पत्ता लगाउन तीन किसिमका जेनेटिक परीक्षणको सुरुवात गरेको हो । सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेले नेपालमा पहिलोपटक नेपालमा बाथ रोग पहिचानका लागि नयाँ तीन परीक्षण सुरु गरिएको जानकारी दिए । उनका अनुसार बाथरोथ पहिचानका लागि ‘एचएलए–डिआरफोर’, ‘एचएलए–बी५१’, ‘एचएलए–बी २७ तीन प्रकारका परीक्षण भित्र्याएको हो । उनले उक्त विधिबाट बाथरोगको सुरुआती अवस्थामा नै रोग पत्ता लगाउन सकिने भएकाले बिरामीलाई उपचार गर्न सजिलो हुने बताए । ती परीक्षणबाट बाथ रोगको पहिचान चाँडै गरेपछि बिरामीले लामो समयसम्म औषधि सेवन गर्न नपर्ने प्रबन्ध निर्देशक पाण्डेले बताए । यसअघि बाथ रोग पत्ता लगाउन ती तीन प्रकारका परीक्षण गर्न विदेश नमूना विदेश पठाउनु पर्दथ्यो । ‘एचएलए–डिआरफोर’ अमेरिका र ‘एचएलए–बी५१’ तथा ‘एचएलए–बी२७ को परीक्षण भारत पठाउनु पर्दथ्यो । बाथ रोग सेन्टरका बाथरोग विशेषज्ञ डा सुधिर कर्माचार्यले बाथरोग पहिचान गर्न तीन प्रकारका परीक्षण नेपालमा हुने भएपछि बिरामीको उपचारमा पनि सहज हुने बताए । अब परीक्षण नेपालमा हुने भएपछि बिरामीको परीक्षण गर्न विदेश पठाउनुपर्ने झन्झट हटेको छ । विशेषज्ञ डा कर्माचार्यका अनुुसार नेपालमा कुल जनसङ्ख्याको २८ प्रतिशतलाई कुनै न कुनै बाथरोग लाग्ने गरेको छ । धेरैजसोलाई गठिया र युरिक एसिड जस्ता बाथरोग लाग्ने गरेको उनको भनाइ छ । बाथरोग लागेकामध्ये १० प्रतिशतको मात्र समयमा नै उपचार हुने गरेको छ । विशेषज्ञ डा कर्मचार्यले बाथरोग लाग्ने बित्तिकै थाहा पाएमा केही महिनाको औषधि सेवन गरेपछि निको हुने बताए । उनले बाथरोग फैलिँदै गयो भने बिरामीले जीवनभर औषधि खाएर बाथरोगलाई नियन्त्रण गर्नुपर्ने बताए ।
नसर्ने रोगले आँखाको समस्या बढाउँदै : एक अध्ययन
काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अध्ययनले हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या रहेकामा उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७.३ प्रतिशतमा ‘डायबेटिक रेटिनोप्याथी’ पाइएको छ । रेटिनोप्याथी भन्नाले आँखाको रेटिनामा देखिने समस्या हो जसले अन्धोपना पनि निम्त्याउन सक्छ । अध्ययनले सन् २०२२ देखि २०२४ सम्म काठमाडौं जिल्लामा ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा देखिने आँखाका रोगहरू, जोखिम कारकहरू, सेवासुविधामा रहेको पहुँच, जनचेतना तथा आँखादानप्रति जनमानसको धारणा जस्ता विषयहरूमा महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको हो । ‘एन एपेडिमियोलोजिकल स्टडी अफ ओकुलर डिजिज इन काठमाडौं डिस्ट्रिक्ट अफ नेपालः काठमाडौं आइ स्टडी’ नामक अध्ययनमा चार हजार ९९० जना सहभागी थिए । सहभागीहरूमध्ये ९७.७ प्रतिशत कुनै न कुनै प्रकारको आँखा रोगबाट पीडित रहेको पाइएको थियो । अध्ययनले मोतियाविन्दु र दृष्टि दोष दृष्टिविहीनता र अन्धोपनका प्रमुख कारणहरू रहेको देखाएको छ जसमा ४१.७ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण थियो र लगभग ८० प्रतिशत दृष्टिविहीनता दृष्टिदोषका कारण थियो । अध्ययनले आँखा दानबारे जानकारी भए तापनि दानमा रुचि कम भएको देखाएको छ । २५२ उत्तरदातामध्ये ५६ प्रतिशत आँखा दानबारे सचेत देखिएका छन् भने ४५ (१७.९ प्रतिशत) उत्तरदाताहरूले मात्र आँखा दानमा रुचि देखाएका छन् । सहभागीहरूको चार हजार ४६७ अर्थात् ९१ प्रतिशतले आँखा स्वास्थ्य परामर्श लिएका थिए जसमध्ये अधिकांश तीन हजार २१४ (७१.१९ प्रतिशत) आँखा अस्पताल गएका थिए । परामर्श नलिनेहरूमध्ये धेरैले आवश्यकता महसुस नहुनु, समयको अभाव, वैकल्पिक औषधिमा निर्भरता, साथीको अनुपस्थिति र सहभागीहरूको आर्थिक बाध्यताहरू रहेको बताएका थिए । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यो अध्ययनले आँखा स्वास्थ्यमा अझै पनि सचेतना पुग्न नसकेको बताए । उनले यो अध्ययन आँखा स्वास्थ्य सेवाका लागि नीति तथा कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्ने बताए । उनले भने, 'काठमाडौं केन्द्रित महत्वपूर्ण आँखा अध्ययन सार्वजनिक भएको छ । अध्ययनले प्रारम्भिक जाँचले कतिपय आँखाको समस्याहरु हल भएर जाने हुनाले जनचेतनाको आवश्यकता रहेको देखाएको छ ।' तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत तथा अध्ययनकी प्रमुख अनसुन्धानकर्ता डा रीता गुरुङले काठमाडौंमा आँखा स्वास्थ्यलाई सुदृढ गर्न व्यापक स्वास्थ्य प्रणालीभित्र आँखा हेरचाहलाई एकीकृत गर्न आवश्यक रहेको बताइन् । उनले नसर्ने रोगको जोखिमजस्तै मोटोपना, उच्च रक्तचाप, मधुमेहलाई सम्बोधन गर्न ध्यान दिनुपर्ने धारणा राख्दै प्रमुख आँखा रोगहरूबारे जागरूकता बढाउन, प्रारम्भिक हेरचाह खोज्न प्रोत्साहन गर्न, र आँखा दानप्रतिको बुझाइ र इच्छा सुधार गर्न सामुदायिक संलग्नता बढाउनुपर्ने बताइन् ।
जाडो मौसममा जोर्नीको दुखाई किन हुन्छ ?
मानिसलाई जाडो मौसममा विभिन्न रोगले सताउने गरेको पाइन्छ । जाडो मौसममा बढी चिसो हुने हुँदा दम, छालाको समस्या, जोर्नी दुख्ने, रुघाखोकी लाग्ने, मुटुसम्बन्धी समस्या र निमोनिया, हृदयघातलगायतका समस्या हुने गरेको पाइन्छ । जाडो महिनामा दमका रोगहरु बल्झिने हुन्छ । दमको विरामीहरूलाई जाडो र चिसोले गर्दाखेरी स्वासप्रश्वास नलीहरु साँघुरो भएर दमहरु बल्झिने गरेको हो । जाडोमा रुघाखोकीको प्रकोपहरु भाइरस, टन्सिलाइटिस समेत हुने गरेको छ । साना बालबालिका र इम्युनिटी पावर कम भएका विरामीहरूलाई जाडो महिनामा भाइरल डायरिया पनि हुने गरेको पाइन्छ । हड्डीहरु खिइएका, घुँडाहरु खिइएका, ढाड दुखेका र वाथ भएका बुढाबुढीहरुलाई गर्मी महिनाको तुलनामा जाडो महिनामा चिसोका कारण जोर्नीहरु बढी मात्रामा दुख्ने गरेको पाइन्छ । जाडो वा चिसो मौसममा शरिरमा हुने रक्तसञ्चार कम हुँदा बढी मात्रामा जोर्नी दुखेको महसुस हुन्छ । जोर्नी दुख्ने विरामीहरु गर्मीमा नहुने भन्ने हुँदैन । हड्डीहरु खिइएका, घुँडाहरु खिइएका, ढाड दुखेकाका विरामीलाई जाडो समयमा तातो वा न्यानो बनाउँदा सहज महसुस हुन्छ । सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपिनमा सुधार ल्याएरपनि ठिक गर्न सकिन्छ । यद्यपि, कतिपय जोर्नी दुखाईमा भने डाक्टरसँग उपचार नै गराउनुपर्छ । जाडो मौसममा प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ । त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ । हामी व्यायाम पनि कम गर्छौँ । त्यसैले जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ । चिसो मौसममा हाम्रो शरिरमा गतको तापमान कायम गर्नु आवश्यक हुन्छ । तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ । जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ । (डा. रेग्मी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वाथरोग विशेषज्ञ हुन्)