जग्गाको विवरण पठाउन २२ वटा स्वास्थ्य संस्थालाई मन्त्रालयले पठायो पत्र
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जग्गाको विवरण पठाउन मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । अस्पतालको नाममा रहेको जग्गा अतिक्रमण भएको गुनासो आएपछि २२ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर जग्गाको विवरण पठाउन भनेको हो । मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, औषधी व्यवस्था विभाग, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलाई पत्र पठाएर संस्थाको नाममा कति जग्गा दर्ता छ र सबै प्रयोगमा छ वा छैन भन्ने विवरण मागेको छ । यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र , भेरी अस्पताल नेपालगञ्ज,भरतपुर अस्पताल चितवन नारायणी अस्पताल वीरगञ्ज, लगायत विभिन्न २२ संस्थालाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशन दिएपछि मन्त्रालयले मातहतका विभाग केन्द्र, अस्पताललाई विवरण मागेको हो । मन्त्रालयले सात दिनभित्र जग्गा प्रयोग भए, नभएको सबै विवरण मन्त्रालयमा पठाउन भनेको छ ।
घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या
चितवन । भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौंको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए । अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्रा डा सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१/८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिनुभयो । यसमध्ये चार हजार ३८३ (५२ दशमलव ४५ प्रतिशत)को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५ दशमलव २८ प्रतिशत)को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ (२ दशमलव २६ प्रतिशत)को जटिल प्रसूति भएको थियो । अघिल्लो आव २०८०/८१ मा नौ हजार ३५५ र त्यसअघि आव २०७९/८० मा ११ हजार ८९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए । डा पोखरेलले भने, 'केही वर्षअघि वार्षिक १६ हजारसम्मले यहाँ सेवा लिएका थिए । अहिले क्रमशः घट्ने क्रममा गएको छ ।' देशभरकै तथ्याङ्कमा ३० प्रतिशत हाराहारी घटेको भन्दै उनले बच्चा जन्माउने उमेरका युवायुवती विदेशिएको बताए । विगतमा गाउँगाउँ र छिमेकी जिल्लाबाट प्रसूति सेवा लिन आउनेको सङ्ख्या धेरै हुने गरेको भन्दै डा. पोखरेले पछिल्लो समय जिल्ला र नगरहरुमा प्रसूति सेवा विस्तार भएसँगै भरतपुर अस्पतालको चाप घटेको बताए । उनले भने, 'नगर अस्पताल र बर्थिङ सेन्टरमा प्रसूति सेवाको विस्तार भएपछि भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या घट्दै छ ।' निजी अस्पतालमा सङ्ख्या बढेर सरकारी अस्पतालमा घटेको नभई स्थानीयस्तरमा नै सेवा पाएकाले यहाँ घटेको उनको भनाइ छ ।
सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न मन्त्री पौडेलको सक्रियता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् । हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइए पछि मन्त्री पौडेलले त्यस्ता केन्द्रहरूको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरूलाई भनेका थिए । त्यस आधारमा मन्त्रालयले यस अघि विवरण प्राप्त नभएका अस्पताल, प्रयोगशाला तथा केन्द्रहरूका नाममा सात दिनभित्र विवरण पठाउन परिपत्र गरेको छ । प्राप्त विवरणका आधारमा अतिक्रमण भएको पाइएमा आवश्यक कदम चाल्ने मन्त्रालयको तयारी छ । मन्त्री पौडेलले यस अघि अतिक्रमणमा परेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नाममा रहेको अतिक्रमित जग्गा संरक्षणमा समेत पहल गरेका थिए । अब केन्द्रकै सेवा विस्तारका लागि जग्गा उपयोग गर्ने तयारी अघि बढाइएको छ । देशैभर सरकारी अस्पतालका जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि कतिपय स्थानको जग्गाको यकिन विवरण नै प्राप्त नभएकाले मन्त्री पौडेलले यसको यकिन गरेर दुरुपयोग भएकाको हकमा रोक्नका लागि कडाइ थालेका हुन् । कतिपयको जग्गा लिजमा दिइएको छ भने केहीको दर्ता हुन समेत बाँकी रहेको मन्त्रालयको आन्तरिक विश्लेषण छ । यसले केही स्थानको सेवा प्रवाहमा नै समस्या देखिएको छ भने बाँकीमा भावी दिनमा सेवा विस्तारमा प्रभाव पर्ने देखिएकाले यकिन विवरण संकलन गरेर संरक्षणमा सक्रियता देखाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय अस्पतालहरूका जग्गा संरक्षणमा थालिएको प्रयासले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे ।