काठमाडौं । चितवन मेडिकल कलेज (सिएमसी) ले संघीय राजधानी काठमाडौंको तीनकुने र बागमती प्रदेश राजधानी मकवानपुरको हेटौंडामा अति विशिष्टिकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ ।
यसका लागि काठमाडौंमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौंडामा भने भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौंको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने जानकारी दिए । १७ रोपनी जमिनमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुआतमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने उनले बताए ।
अस्पतालमा क्यान्सरसहित अति विशिष्टिकृत सेवा हुने छ । प्रा.डा. न्यौपानेले भने, ‘विश्वका सुविधा सम्पन्न अस्पतालले दिन सक्ने सेवा दिने गरी ठूलो लगानीमा अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालन गर्दैछौँ ।’
३ सय शय्याको यस अस्पतालले प्रमुख रुपमा क्यान्सरको उपचार गर्ने छ भने यससँगै सबै खालका विशेषज्ञ सेवा अस्पतालले दिने छ । अनुभवी विशेषज्ञ चिकित्सकहरूले अस्पतालबाट सेवा दिने छन् ।
नेपाली लगानीको निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल हुने उनले दावि समेत गरे । यस अस्पताल सञ्चालनमा आएसँगै भारत लगायतका देशहरू जाने बिरामीले सोही अनुरुपको सेवा स्वदेशमा पाउने प्रा.डा न्यौपानेले बताए ।
उनका अनुसार सिएमसी हेटौंडा अस्पतालको निर्माण थालिएको छ । हेटौंडा उपमहानगरपालिका-४ मा अवस्थित, राजमार्गसँगै १९ कट्ठा जमिनमा निर्माण थालिएको हो ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रताप देवकोटाले वि.सं २०८४ को दशैँबाट सेवा सुरु गर्ने गरी १ सय शय्या अति विशिष्टिकृत अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिए । २ अर्ब ५० करोड रुपैयाँ हाराहारी लगानी हुने अनुमान गरिएको छ ।
सिएमसीको नेतृत्वमा स्थानीय समेत साझेदार रहेको यस अस्पताल सुरु भएसँगै मकवानपुर र आसपासका जिल्लाका बासिन्दा लाभान्वित हुने उनको भनाइ छ । सँगै स्थानीयले रोजगारीको अवसर पाउने भएका छन् । हाल ती क्षेत्रका बिरामी विशिष्टिकृत सेवाका लागि भरतपुर, काठमाडौं र भारतसमेत जानुपर्ने बाध्यता रहेको छ ।
२० वर्षअघि भरतपुर महानगरपालिका-१० मा स्थापना भएको चितवन मेडिकल कलेजले ७ सय शय्याबाट सेवा दिँदै आएको छ । नेपालका मेडिकल कलेजहरूमा धेरै बिरामी हुनेमध्येको यस अस्पतालले त्रिभुवन विश्वविद्यालयका स्वास्थ्यका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।