मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग भएको पुष्टि
काठमाडौं । मंकीपक्स रोग लागेको आशंका गरिएका युवामा कुष्ठ रोग लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा मकीपक्सको आशंका गरिएको ती २६ युवकमा कुष्ट रोगको पुष्टि गरेको हो । शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो । बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो। उक्त व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा कुष्ठरोगको जिवाणु भेटिएको शुक्रराज ट्रफिकलकी प्रवक्ता डाक्टर संगिता कौशल मिश्राले विज्ञप्ति मार्फत जनाएकी छन् । हेर्नुहोस स्वास्थ्य मन्त्रालयको विज्ञप्ति :
अब बागमती प्रदेशका विपन्नले रगत निःशुल्क पाउने
काठमाडौं । बिरामीलाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउनका लागि सरकारको लगानी बढाउन नेपाल रेडक्रस सोसाइटीका निकाय, रक्तदाता सङ्घसंस्था र नागरिक समाजले गरिरहेको पहलले अर्को सफलता प्राप्त गरेको छ । काठमाडाैंस्थित कान्ति बाल अस्पताल महाराजगञ्ज र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचार गर्ने बागमती प्रदेशका विपन्न बासिन्दाले यही असार १ गतेदेखि निःशुल्क रगत सेवा पाउने भएको छन् । यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंबीच सम्झौता भएको छ । सो सम्झौतामा विभागका निर्देशक दिव्यराज पौडेल र कार्यालयका प्रमुख वसन्त अधिकारीले हालै हस्ताक्षर गरेका थिए । यसमा लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने जनाइएको छ । यसअघि काठमाडौंको वीरअस्पताल र टोखा चन्डेश्वरी अस्पतालमा उपचार गर्ने बागमती प्रदेशका विपन्न बासिन्दाले गत चैतदेखि निःशुल्क रगत सेवा पाउने गरी केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंबीच सम्झौता भएको थियो । काठमाडौंका अन्य सरकारी अस्पतालमा पनि यो सेवा विस्तार गर्न पहल भइरहेको छ । बागमती प्रदेशको अरू जिल्लामा पनि यस्तै खालको सम्झौता हुन लागेका विभागका निर्देशक पौडेलले जानकारी दिए । यसअघि कीर्तिपुर र टोखा नगरपालिकाका बासिन्दालाई निःशुल्क रक्तसेवा उपलब्ध गराउन पालिका र रेडक्रसबीच सम्झौता भइसकेको उनले बताए । गण्डकी प्रदेशमा प्रदेश सरकारको आर्थिक सहयोगमा गत फागुन १ गतेदेखि रेडक्रसका निकायले निःशुल्क रक्तसेवा सुरु गरिसकेका छन् । अन्य प्रदेशमा पनि विभिन्न पालिकाको आर्थिक सहयोगमा ती पालिका क्षेत्रमा निःशुल्क सेवा अभियान बढ्दै छ ।
सिकलसेल रोकथाम गर्न रगत जाँच गरेर मात्रै विवाह कुण्डली मिलाउन सुझाव
नेपालगञ्ज । थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् । सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको पम्प्लेट बाँकेका थारू गाउँहरूमा छ्याप्छ्याप्ती बाँडिएका छन् । सिकलसेल विशेषज्ञ डा राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने विषयलाई प्राथमिकता दिइएको छ । उनले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीबीच विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । पच्चीस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोचविचार गर्नुपर्ने भनिएको छ । बाहक–बाहक, ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन । उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । सामान्यता विवाह गर्दा चिना हेर्ने गरिन्छ । तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने अवस्था आएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनुपर्ने भएको छ । बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र बाहक पत्ता लगाएर उनीहरूलाई विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको जानकारी दिए । थारू समुदायमा स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलका ९०० बिरामीले भेरी अस्पतालबाट औषधि सेवन गरिरहेको डा पाण्डेले जानकारी दिए । पश्चिम नेपालका विभिन्न जिल्लामा तीन हजार ८०३ जनाले नियमित औषधि सेवन गरिरहेको उनले बताए । डा पाण्डेले सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगतजाँच गरेर कुण्डली मिलाइ विवाह गर्दा नियन्त्रण गर्न सकिने उल्लेख गरे । रासस