तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, ‘नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योगको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले हामीले ‘निरोगीताका लागि योग’ भन्ने भाव सबैमा पु¥याउन जरुरी छ ।’ उनले अन्तर्राष्ट्रिय योग दिवस, जुन २१ को अवसरमा सम्पूर्ण मानव जगत्मा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित रहेको योगले विश्वव्यापी सम्मान प्राप्त गरेको बताए । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन मित्रराष्ट्र भारतले संयुक्त राष्ट्रसङ्घमा राखेको प्रस्तावमा नेपालले समर्थन गरेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले यस वर्ष ‘मावनीयताका लागि योग’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ ८औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै गरेको उल्लेख गरे । योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवन पद्धति हो । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग र भक्तियोगले मानिसको जीवनलाई सार्थक बनाउँदछ भनी गरेकाे मार्गदर्शन दिव्योपदेशको रूपमा रहेको छ । हिमालय पर्वत शृङ्खला ऋषिमुनिको पवित्र तपोभूमिको रूपमा रहेकोले यस क्षेत्रलाई आदिमकालदेखि नै योगको जननीको रूपमा चिनिने बताउँदै उहाँले हाम्रो वैदिक सभ्यतासँग समेत प्रत्यक्ष सम्बन्ध रहेको योगले नेपाल–भारत बीचको सम्बन्ध, भाइचारा र सहिष्णुता थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । महर्षि पतञ्जलीले सुदृढ आधार दिनुभएको अष्टाङ्ग योगाभ्यास, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलगायत योगका विभिन्न अभ्यास आज विश्वभर फैलिँदो क्रममा छन् । प्रधानमन्त्री देउवाले शारीरिक अभ्यास, योग चिकित्सा र उपचार शारीरिकरुपमा मात्र नभई आध्यात्मिक दृष्टिकोणले पनि हाम्रो लागि लाभदायी एवं उपयोगी हुने बताए । उनले ‘योग गरौँ स्वस्थ बनौँ’ भन्ने सन्दर्भ र योगाभ्यासको महत्वपूर्ण पक्ष विश्वव्यापी बनेको बताउँदै अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकारात्मक ऊर्जा प्रवाह गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।

बैतडी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सो घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ । उक्त उमेर समूहका यहाँ चार हजार २६८ बालबालिका रहेका छन् । जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि यहाँका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गर्ने गर्दछ । १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो । प्रत्येक स्थानीय तहका तीन÷तीन वडामा घर धुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो । यी सबै कार्य पूरा भइसकेकाले सोमबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, यी लक्षण देखिए अस्पताल जानुहोस्

काठमाडौं । पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दो छ । विशेष गरी ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ । तर, धेरैलाई थाहा नहुनसक्छ, महिलामा मात्र होइन, पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्कीले पछिल्लो समय पुरुषहरुमा समेत ब्रेस्ट क्यान्सरको समस्या देखिन थालेको उल्लेख गर्दै सचेत हुन आग्रह गरेकी छिन् । ‘विशेष गरी ६० देखि ६५ वर्ष र त्यसभन्दा माथि उमेरसमूहका पुरुषहरुमा ब्रेस्ट क्यान्सरको समस्या देखिने गरेको छ ।’ उनले भनिन्–‘पछिल्लो समय १०० ब्रेस्ट क्यान्सरबाट पीडित महिला भेटिँदा १ जना सोही समस्याबाट पीडित पुरुष बिरामी समेत भेटिन थालेको छ ।’ डा. कार्कीका अनुसार पुरुषहरुको स्तन छेउछाउ सानोतिनो घाउ आउँदा, निप्पलबाट पानीमिश्रित रगत वा पिप बग्न थाल्दा, रातो रातो गिर्खा निस्किँदा पुरुषहरुले सचेत हुनुपर्छ । ब्रेस्ट क्यान्सरबाट पीडित पुरुषहरुको निप्पल पनि महिलाको जस्तै भित्रतिर तानिन थाल्छ । गाँठागुठी आउँदा दुख्दैन । ‘धेरैजसो पुरुषहरु स्तन वरपर बिबिराजस्तो आयो, रातो भयो भने छालाको एलर्जी भनेर छालारोग विशेषज्ञसम्म पुगिरहनुभएको हुन्छ । तर त्यस्तो लक्षण क्यान्सरको पनि हुनसक्छ ।’ डा. कार्कीले थपिन्–‘स्तन वरपर हुने इन्फेक्सनलाई साधारण ठानेर बस्नु भएन । क्यान्सर विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।’ डा. कार्की कतिपय पुरुषहरुमा स्तन छेउछाउ काखीतिर, घाँटीको भाग र केही तल गाँठागुठी आयो र त्यो बढ्दै गयो भने त्यसलाई समेत ब्रेस्ट क्यान्सरको लक्षण मान्न सकिन्छ । डा. कार्कीकाअनुसार धेरै मोटो व्यक्ति, जंकफूड बढी मन पराउने, अनहेल्दी फूड प्रयोगमा जोड दिने, धुम्रपान गर्ने, बढी मदिरा सेवन गर्ने पुरुषहरुमा ब्रेस्ट क्यान्सर हुनसक्छ । तसर्थ, यस्ता फूडहरुबाट टाढै बसी स्वस्थकर जीवनशैली र खानपान अपनाउनुपर्छ । डा. कार्कीले महिलाहरुमा हुने स्तन क्यान्सरभन्दा पुरुषमा हुने स्तनक्यान्सर छिटो शरीरका अन्य अंगतिर फैलिनसक्ने जोखिम रहेको बताइन् । ‘केटी मान्छेको स्तनको भाग ठूलो र धेरै हुन्छ । तर केटाको सानो हुन्छ ।’ उनले भनिन्–‘त्यसले गर्दा केटा मान्छेमा ब्रेस्ट क्यान्सर भयो भने छातितर्फ चाँडै फैलिने जोखिम हुन्छ । त्यसकारण बेलैमा देखाइएन भने अवस्था निकै नै गम्भीर भइसकेकेको हुनसक्छ ।’ उनले मिल्दोजुल्दो कुनै पनि लक्षण देखियो भने साधारण गिर्खा, गाँठो वा इन्फेक्सन हो भनेर नबस्न समेत पुरुषहरुलाई आह्वान गरेकी छिन् ।