आइएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स र अस्पतालबीच बिहीबार एक कार्यक्रमबीच सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ ।
भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई खोप दिइने
काठमाडाैं । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो । कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म काठमाडौं जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए । देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ । उनका अनुसार बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो । कार्यालयले काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ । उनले विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खापको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरे । खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ । कार्यालय प्रमुख अधिकारीले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिने छ । खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् । असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ । पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिनेछ । खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिनेछ ।
डाक्टरको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेच्ने पक्राउ
काठमाडौं । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडाैं तारकेश्वर–५ गोलढुगा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् । गङ्गाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधि बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५०० क्याप्सुल प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।