नर्भिकमा जेठ २८ गते यूरोलोजीको निःशुल्क ओपिडी सेवा
काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार(जेठ २८ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिम विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको जनाएकाे छ । अस्पतालकाे अनुसार यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछन् । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट फाइदा लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
महिलाहरुलाई ९८ दिन तलबी सुत्केरी विदा उपलब्ध गराउन मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरुलाई ९८ दिन सुत्केरी विदा उपलब्ध गराउन अनुरोध गरेको छ । विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुले सुत्केरी विदा नपाएको गुनासो आउने गरेको भन्दै मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै अनुराेध गरेकाे हाे । मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरुलाई सुत्केरी हुनु अघि वा पछि ९८ दिनको तलब सहित विदाको व्यवस्था रहेकोले सबैलाई कार्यान्वयन गर्न अनुरोध गरेको हो ।
नेपालगञ्जकाे एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने
काठमाडौं । नेपालगन्जकाे चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । एचसीआरसी अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । योसँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । अनलाइन अपोइन्टमेन्ट प्लेटफर्मको साथ दर्ता र डाक्टरसँग भेट्न सजिलो बनाइएको छ । इसेवा मोबाइल वालेट एप भित्रबाटै डाक्टरको अपोइन्टमेन्ट मिती बुक गर्न र डिजिटल रmपमा तत्काल भुक्तानी गर्न सजिलो छ । अपोइन्टमेन्ट प्रणालीले कर्मचारी र बिरामीहरुको लागी समयको राम्रो संगठन, नियमित बिरामीहरुको राम्रो फलोअप , कम लाइन र कम पर्खाइको समय हुने कम्पनीले जनाएकाे छ । कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।