थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४३७ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ४६२ जना कोरोना संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ४१६ जना निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।  

८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि

काठमाडौं । टेकु अस्पतालमा गरिएको परीक्षणमा अधिकांशमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्त डा. समिरकुमार अधिकारीको अनुसार टेकु अस्पतालमा गरिएको ३२ परीक्षणमा २८ जनामा ओमिक्रोन भेरियन्टमा र बाँकी ४ जनामा डेल्टा भेरियन्ट पाइएको हो । यसको अर्थ नेपालमा पुष्टि भएको अधिकांश संक्रमणमा ८८ प्रतिशत ओमिक्रोन रहेको अधिकारीले बताए । उनले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि टेकु अस्पतालले रोक्यो खोप अभियान

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले एक साताका लागि कोरोना विरुद्धको खोप अभियान स्थगित गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य ५० जनाभन्दा बढी कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि अभियान रोकिएको जनाएको हो । ‘यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरु ५० जनाभन्दा बढी कोभिड–१९ बाट संक्रमित हुनुभएकोले यस अस्पतालमा सञ्चालित खोप अभियान माघ १० गतेदेखि १६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा अनुरोध छ’, अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।