नेशनल लाइफ इन्स्योरेन्सको सहयोगमा सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल बन्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक सहयोगमा सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल बन्ने भएको छ । इन्स्योरेन्सले सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गर्न वार्षिक २० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । सो सम्बन्धमा इन्स्योरेन्स र एक एक पाईला फाउण्डेशनबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ भने अस्पतालको संचालनको लागि इन्स्योरेन्सले तीन वर्षको अवधिको लागि प्रत्येक वर्ष २० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ । यससँगै १५ शैय्याको सामूदायिक अस्पतालको सञ्चालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने कम्पनीको विश्वास छ । समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद दिएका छन् । कम्पनीको तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरुदेखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो । नेपाली स्वयं सेवकहरु कार्यरत रहेको उक्त फाउण्डेशनले स्थानिय सरकार र स्थानिय साझेदारहरुको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पुर्याई आएको छ ।

नर्भिकमा जेठ ७ गते यूरोलोजीको निःशुल्क ओपिडी हुने

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार(जेठ ७ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको हो । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ ।

चौधरी फाउन्डेसनले हस्तान्तरण गर्यो साढे २ करोडको कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड

काठमाडौं । चौधरी फाउण्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसनमार्फत् उक्त अस्पतालको आकस्मिक कक्षको स्तरोन्नती र विस्तार कार्यमा सारिकादेवी चौधरीको विशेष योगदान रहेको छ । बुधबार अस्पतालमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरेका छन् । उक्त अवसरमा बोल्दै राज्य मन्त्री श्रेष्ठले देशको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले सर्वसाधरण नागरिकका सन्ततीले उपचार सेवा पाउने अस्पताललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा आफुले राखेको बताए । फाउण्डेसनद्वारा १४ शैयाको इमरजेन्सी वार्ड विस्तार गरि २५ शैयाको निर्माण गरिएको छ । चौधरी फाउण्डेसन नेपालका एकमात्र डलर अर्बपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कामकालागि स्थापना गरेका हुन् । राजनीतिमा समेत सक्रिय रहेका चौधरी हाल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका सदस्य रहेका छन् । आकस्मिक कक्ष हस्तान्तरण समारोहमा बोल्दै फाउण्डेसनका महासचिव सारिकादेवी चौधरीले आफु आमा रहेको र आफ्ना सन्तान बिरामी पर्दा आमाहरुको मन कति पोल्छ भन्ने बारेमा आफुलाई गहिरो अनुभूति रहेको बताउदै सर्वसाधारण नेपाली नागरिकका बालबच्चाले उपचार पाउने कान्ति बाल अस्पताललाई आफुले रोज्नुको कारण यहि रहेको बताईन् । आम नेपाली बालबालिकाको उपचारमा अहिले विस्तार गरिएको आकस्मिक कक्षले महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरिन् । उक्त अवसरमा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा. युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफुलाई सन्तोष लागेको बताए । चौधरीले आउँदा दिनहरुमा अस्पतालको सेवा विस्तारमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । ‘बालबालिका देशको भविष्य निर्माता हुन्’ उपाध्यक्ष चौधरीले भने, ‘त्यसैले उनीहरुलाई गुणस्तरिय स्वास्थ्य र शिक्षा उपलब्ध गराउन हामी सबैले विशेष ध्यान दिनुपर्छ ।’ उपाध्यक्ष्य चौधरीले दुर-दराजसम्मका सर्वसाधरण र निम्न आर्थिकस्तर भएका नागरिकका सन्ततीले पनि सर्वसुभल र गुणस्तरीय उपचार सेवा पाउन भन्ने ध्येयले आफुहरुले कान्ती बाल अस्पताललाई सहयोग गरेको बताए । देशको विकासका लागि बालबालिकामाथिको लगानी अत्यावस्यक रहेकोमा जोड दिँदै उपाध्यक्ष चौधरीले गुणस्तरीय शिक्षा र स्वास्थ्यमार्फत् बालबालिकाहरूलाई बलियो बनाउन आवश्यक रहेको बताए । कान्ती अस्पताल देशकै मुख्य बाल अस्पताल हो । हरेक वर्ष करिव एक लाख पचास हजार विरामी वालबालिकालाई चिकित्सकीय सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पताल ३७२ शैयाको छ । चौधरी फाउण्डेसनले आज हस्तान्तरण गरेको आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेको छ । फाउण्डेसनले इमरजेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि उपलब्ध गराएको छ । फाउण्डेसनले इमरजेन्सी वार्डलाई नि:शुल्क वाईफाई जोन पनि बनाएको छ । यसकोलागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चौधरी फाउण्डेसनले देशका विभिन्न अस्पतालहरुमा गरिरहेको सहयोगको सह्राना गर्दै कान्ति अस्पतालको आकस्मिक कक्ष विस्तारमा पुर्याएको योगदान अतुलनीय भएको बताए । अस्पतालका निर्देशक डा.युवनिधि बस्यौलाले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए । चौधरी फाउण्डेसनले स्वास्थ्य क्षेत्रमा देशैभरि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कोभिड महामारीकावीच गत बर्षको जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा १८ शैयाको सिजी आइसियु वार्ड तथा धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण गरेको थियो । फाउण्डेसनले आफ्नो स्वास्थ्य सहयोग अन्तर्गत हाल सरकारी अस्पतालका पूर्वधार निर्माणमा सहयोग केन्द्रित गरिरहेको छ ।