थप ६ हजार ७३४ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४६५ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ५४७ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

चितवनमा सक्रिय सङ्क्रमित ५०० नाघ्याे

चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय सङ्क्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ । जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या ८२८ जना पुगेको छ । २ गते जिल्लाका चार वटा प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १५० जना र एन्टिजोन परीक्षमा ९० जनाको गरिएकोमा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार सङ्क्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जाने थालेको ढकालले बताइन् । उनका अनुसार पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९, २७ गते १६२ जना, २८ गते २४० जना, २९ गते ३२७ जना सक्रिय सङ्क्रमित पुगेका थिए । अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र सङ्क्रमण दर बढ्दै गएको छ । पुस ३० गते शुक्रबार ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा सङ्क्रमण देखिएको ढकालले जानकारी दिइन् । ढकालका अनुसार ३६० जनाको परीक्षण गर्दा १३५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । माघ १ गते शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल) मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ जनाको परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो । जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने ८०२ जना होम आइसोलेशनमा रहेका छन् । यहाँ हालसम्म २८ हजार ६८ जना सङ्क्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोना सङ्क्रमितमध्ये ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सङ्कक्रमतमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका रहेका छन् । यस्तै खैरहनी नगरपालिकाको २७, माडी नगरपालिका १५, रत्ननगर नगरपालिका ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना सङ्क्रमित रहेका छन् । जिल्लाको एक मात्र गाउँपालिकामा १२ जना सक्रिय सङ्क्रमित रहेको उनको भनाइ छ । सक्रिय सङ्क्रमित बढेको भए पनि जिल्लामा सावधानी भने अपनाएको पाइदैन । माक्सकको प्रयोग बढेपनि भीडभाड कायमै रहेको छ । रासस

काठमाडौं मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने 

काठमाडाैं । काठमाडौं मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु भएको छ । काठमाडौं मोडल अस्पताल इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरु भएको हो । योसँगै अबदेखि यस अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने अस्पतालले जनाएकाे छ । कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।