अष्ट्रेलियामा कोभिडबाट एकैदिनमा ७४ जनाको मृत्यु, अहिलेसम्मकै धेरै

सिडनी । अष्ट्रेलियामा कोभिड-१९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो संख्या यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो । मंगलबार त्यसअघिको २४ घन्टामा ती नागरिकको ज्यान गएको बताइएको छ । त्यसैगरी यहाँका अधिकारीहरुले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको संख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन् । यहाँका सबैभन्दा धेरै कोरोना सङ्क्रमित नागरिक न्यु साउथ वेल्सका रहेका छन् । न्यु साउथ वेल्समा गएको २४ घन्टामा ३६ जनाको ज्यान गएको छ । त्यसैगरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरुमा पछिल्लो २४ घन्टामा सङ्क्रमित हुनेको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ सङ्क्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।रासस/सिन्ह्वा

चितवनमा जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

चितवन । जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा कार्यरत ३७ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । तीमध्ये सातजना चिकित्सक २० जना स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी रहेका छन् । चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना देखिएसँगै अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा सङक्रमण बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई आएको पौडेलले बताए । उनले भने, ‘अत्यावश्यक नपरी अस्पताल नआउनुहोला । कर्मचारी कम हुँदा सेवामा दुरुस्तता नआउन सक्छ ।’ यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ४० जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार तीन जना चिकित्सक २२ जना नर्स, सातजना प्राविधिक र अन्य प्रशासनिक कर्मचारीमा सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमण देखिएसँगै केही सेवामा असहजता आए पनि सेवा रोक्नुपर्ने अवस्था भने अझैसम्म नरहेको उनले बताए । चितवन मेडिकल कलेजमा कार्यरत ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार १२ जना चिकित्सक, १४ जना नर्स र ४ जना अन्य कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएका सबै होम आइसोलेशनमा रहेका छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा १० जना चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार ७ जना चिकित्सिक र तीन जना अन्य कर्मचारीमा कोरोना देखिएको हो । सङ्क्रमित चिकित्सव एवं स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित भए पनि स्वास्थ्य अवस्था भने सामान्य देखिएको छ । अधिकांश होम आईसोलेसनमा रहेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । रासस

कोरोनाको लक्षण देखिए ५ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न ललितपुर जिप्रकाकाे निर्देशन

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएकाे छ । प्रशासन कार्यालयले मंगलबार आदेश जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे । प्रशासन कार्यालयले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य पाँच दिन क्वारेन्टाइनमा बस्न र ५ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा आउन निर्देशन दिएको छ ।