लिफ्ट र चीनको बाइडुले युरोपमा रोबोट्याक्सी सेवा सुरु गर्ने

काठमाडौं । अमेरिकी राइड-हेलिङ कम्पनी लिफ्टले सोमबार चीनको बाइडुसँग साझेदारी गर्दै अर्को वर्षदेखि युरोपभर रोबोट्याक्सी सञ्चालन गर्ने जानकारी दिएको छ । यो साझेदारीमार्फत चिनियाँ सर्च इञ्जिन कम्पनी बाइडु पहिलोपटक युरोपको स्वचालित ट्याक्सी बजारमा प्रवेश गर्नेछ । सुरुआतमा यो सेवा जर्मनी र बेलायतमा सुरु गरिनेछ, जहाँ बाइडुको विद्युतीय आरटी सिक्स रोबोट्याक्सीहरू लिफ्टको प्लेटफर्ममा सञ्चालन हुनेछन् । यद्यपि नियामक स्वीकृति पर्खिरहेकै अवस्थामा छन् । यो योजनाअनुसार आउँदा वर्षहरूमा हजारौं सवारीसाधन युरोपभर विस्तार गरिनेछ । लिफ्टले हालै युरोपेली मोबिलिटी एप ‘फ्रीनाओ’ लाई २० करोड डलरमा खरिद गरेको छ, जसको प्रक्रिया बिहीबार मात्र पूरा भएको थियो । यो सम्झौताले लिफ्टलाई ९ देश र १८० भन्दा बढी सहरमा सेवा विस्तार गर्ने अवसर दिएको छ, जुन उत्तर अमेरिकाबाहिर लिफ्टको पहिलो ठूलो विस्तार हुनेछ । साझेदारीअन्तर्गत लिफ्टले प्लेटफर्म सञ्चालन, ग्राहक सेवा र सवारी व्यवस्थापन गर्नेछ भने बाइडुले आत्मचालित सवारीसाधन र प्राविधिक ज्ञान उपलब्ध गराउनेछ । ‘हामीलाई ‘फ्रीनाओ’ सँगको सहकार्यमा उत्साहित बनाउने कुरा यो हो कि तिनीहरूसँग नियामकहरूसँग बलियो सम्बन्ध छ र हामी पनि त्यस्ता संवाद गर्न चाहन्छौं,’  लिफ्टका कार्यकारी उपाध्यक्ष जेरेमी बर्डले रोयटर्ससँग भने । बेलायत सरकारले रोबोट्याक्सी सेवा २०२६ को स्प्रिङसम्म भुक्तानीसहितका यात्रुहरूसँग सुरू गर्ने योजना अघि सारेको छ । उबर र वेभी जस्ता कम्पनीहरू पनि नियामक स्वीकृति पाएपछि सेवा सुरू गर्न तयार छन् । यो सहकार्य त्यस्तो बेला भएको हो जब लिफ्टको प्रतिस्पर्धी उबरले विश्वव्यापी रोबोट्याक्सी विस्तार गरिरहेको छ( जसमा वेमो, पोनी एआई, वीराइड र मोमेन्टासँग सहकार्य गर्दै युरोपमा पनि २०२६ मा सेवा सुरू गर्ने योजना छ । बाइडुको अपोलो गो सेवा हाल विश्वभरका १५ सहरमा १ हजारभन्दा बढी गाडीमार्फत सञ्चालनमा छ र ११ लाखभन्दा बढी राइड सम्पन्न गरिसकेको छ, तर लिफ्टसँगको यो सहकार्यमार्फत बाइडुले युरोपमा पहिलोपटक व्यावसायिक सेवा सुरू गर्न लागेको हो । मस्कलाई टेस्लाको २९ अर्ब डलरको सेयर बोनस, नेतृत्व जोगाउन बोर्डको नयाँ चाल भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने,  २ अर्ब डलरको लगानी योजना

ऋणले थिचिएका प्रसाईंमाथि फेरि २८ लाखको बोझ, अब शान्त बन्लान् कि आन्दोलन चर्काउलान् ?

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ । बैंकिङ कसुर र राजावादी आन्दोलनको प्रर्दशनका मुखय आरोपित प्रसाईंसँग २८ लाख रुपैयाँ लिएर धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।  गत चैत १५ गते राजावादी आन्दोलन भन्दै तिनकुनेमा हिंसात्मक प्रर्दशन भएको थियो । सो प्रर्दशनका मुख्य आरोपी भन्दै उनीसँग दुई वटा मुद्दा लागेको थियाे ।  उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले सो आदेश दिएको हो ।  यस्तै, राज्यविरुद्धको कसुरमा उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिइएको हाे । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले सो कसुरमा उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।  उनी २८ लाख रुपैयाँ धरौटी बुझाएर घर फर्किसकेका छन् । विवादित व्यवसायीको रुपमा परिचित प्रसाईंले व्यवसाय गर्दा लिएको ५ अर्ब बढी कर्जा तिर्न सकेका छैनन् । उनले विभिन्न बैंकबाट लिएको कर्जा नियमित नरहेको बैंकहरुले बताएका छन् । बैंकको सावाँ ब्याज नियमित तिर्न नसकेका उनलाई फेरि धरौटीले थप आर्थिक बोझ दिएको छ । उनले राजा फर्काउने भन्दै प्रर्दशन गर्दै आएका थिए । गत चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रर्दशन गरेर दुई जनाको निधन भएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए । प्रदर्शनकारीले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरेका थिए । केही समय फरार भएका उनलाई पछि प्रहरीले भारतबाट पक्राउ गरेको थियो ।  सोमबार प्रसाईंले सामाजिक सञ्जालमा स्टाटस लेख्दै देश निर्माणको भावी योजनाका साथ लाग्ने बताएका छन् । रिहाइ हुँदा उनको स्वागतका लागि कारागार पुगेका उनका समर्थकहरुले भने अब फेरि आन्दोलन चर्किने प्रतिक्रिया दिएका छन् । तर, प्रसाईको अबकाे रणनीति के हुन्छ भन्ने कुरा भने हेर्न बाँकी छ ।   

मस्कलाई टेस्लाको २९ अर्ब डलरको सेयर बोनस, नेतृत्व जोगाउन बोर्डको नयाँ चाल

काठमाडौं । टेस्लाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई करिब २९ अर्ब अमेरिकी डलर बराबरको ९६ मिलियन नयाँ सेयर प्रदान गर्ने निर्णय गरेको छ । मस्कलाई टेस्लामा राखिराख्न र सेयरधनीहरूप्रति अन्यायपूर्ण ठहरिएको अघिल्लो पारिश्रमिक योजनालाई अदालतले खारेज गरेपछि यो कदम चालिएको हो । सन् २०२४ मा डेलावेयरको अदालतले मस्कको २०१८ को ५० अर्ब डलरभन्दा बढी मूल्यको पारिश्रमिक योजना खारेज गरेको थियो । अदालतले टेस्ला बोर्डको स्वीकृति प्रक्रिया त्रुटिपूर्ण र सेयरधनीहरूप्रति अन्यायपूर्ण रहेको ठहर गरेको थियो । मार्च महिनामा मस्कले उक्त निर्णयविरुद्ध अपील दायर गरेका थिए । उनले तल्लो अदालतका न्यायाधीशले कानुनी त्रुटिहरू गरेको दाबी गर्दै रेकर्ड पारिश्रमिक खारेज गर्न नहुने तर्क गरेका थिए । यसै वर्ष टेस्लाले मस्कसँग सम्बन्धित केही पारिश्रमिक विषयहरू मूल्याङ्कन गर्न विशेष समिति गठन गरिएको जानकारी दिएको थियो, तर विस्तृत विवरण खुलाइएको थिएन । टेस्ला अहिले निर्णायक मोडमा पुगेको छ । मस्कसँग कम्पनीको १३ प्रतिशत सेयर स्वामित्व रहेको छ । तर अब उनी सस्तो विद्युतीय गाडीको प्लेटफर्मबाट ध्यान हटाउँदै रोबोट्याक्सी र ह्युमनाइड रोबोटतर्फ केन्द्रित हुँदैछन्, जसले टेस्लालाई अब एक अटोमोबाइल कम्पनीभन्दा बढी एआई र रोबोटिक्स कम्पनीको रूपमा स्थापित गर्दैछ। विशेष समितिका अनुसार नयाँ सेयर पुरस्कारले क्रमशः मस्कको भोटिङ अधिकार बढाउने लक्ष्य लिएको छ । मस्क र सेयरधनीहरूले लगातार मस्कलाई टेस्लामा केन्द्रित राख्न भोटिङ शक्ति आवश्यक रहेको भन्दै आएका थिए । ‘हामीलाई थाहा छ कि एलनको व्यावसायिक चासो, रुचि र समयप्रतिको माग अत्यधिक र विविध छन् तर हामी विश्वस्त छौं कि यस पुरस्कारले एलनलाई टेस्लामा टिकाइराख्न उत्प्रेरित गर्नेछ,’ समितिले सोमबारको नियामक दस्तावेजमा उल्लेख गरेको छ । यदि डेलावेयरको अदालतले २०१८ को सीईओ पर्फमेन्स अवार्ड पूर्ण रूपमा पुनःस्थापित गर्‍यो भने यो नयाँ अस्थायी पुरस्कार स्वतः खारेज हुने वा समायोजन गरिनेछ, जसले ‘दोहोरो लाभ’ नहुने सुनिश्चित गर्नेछ । यो अस्थायी पुरस्कार प्राप्त गर्न मस्कले सन् २०२७ सम्म कुनै कार्यकारी भूमिकामा निरन्तर रहनु पर्नेछ । यी सेयरहरू पाँच वर्षसम्म बिक्री गर्न पाइनेछैन । मस्कले प्रत्येक सेयरको लागि टेस्लालाई २३.३४ डलर तिर्नुपर्नेछ, जुन २०१८ को सीईओ पुरस्कार अन्तर्गतको सेयर मूल्य बराबर हो । उक्त विषय टेस्लाले सोमबारको फाइलिङमा उल्लेख गरेको छ । प्रिमार्केट ट्रेडिङमा टेस्लाको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । बिक्री घट्दो क्रममा यो वर्ष टेस्लाको सेयर मूल्य करिब २५ प्रतिशतले घटिसकेको छ । पुरानो गाडी मोडेल, तीव्र प्रतिस्पर्धा र मस्कका राजनीतिक अभिव्यक्तिहरूका कारण सम्भावित ग्राहकहरू टाढा भएको देखिएको छ । यस समस्यालाई अमेरिकी सरकारले विद्युतीय गाडीका लागि दिँदै आएको अनुदान कटौतीले झनै गम्भीर बनाएको छ । मस्कले अघिल्लो महिना आम्दानी विवरण पेश गर्दा अनुदानको कमीका कारण कम्पनीका लागि केही चुनौतीपूर्ण त्रैमासहरू आउन सक्ने बताएका थिए, जबसम्म सेल्फ ड्राइभिङ सफ्टवेयर र सेवाबाट आम्दानी आउन सुरु हुँदैन । गाडी उद्योगसम्बन्धी अनुसन्धान संस्था एसएन्डपी ग्लोबल मोबिलिटीका अनुसार मस्कले सन् २०२४ को गर्मीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेपछि टेस्लाप्रतिको ब्रान्ड निष्ठा उल्लेखनीय रूपमा घटेको देखिएको छ । टेस्लाका पुराना मोडेलहरूले अहिले जनरल मोटर्स, हुन्डाई, बीएमडब्ल्यू जस्ता परम्परागत कम्पनीहरूबाट निर्माण भएका नयाँ विद्युतीय गाडीहरूबाट कडा प्रतिस्पर्धा खेपिरहेका छन् ।