‘नाइमा मोबिलिटी एक्स्पो अहिलेसम्मकै ‘लार्जेस्ट’ प्रदर्शनी हो, अरू शोसँग तुलना हुँदैन’ {अन्तर्वार्ता}

काठमाडौं । नेपालमा अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक ‘नाइमा मोबिलिटी एक्स्पो’ आयोजना गर्दैछ । उक्त एक्स्पो आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । यो एक्स्पोले नेपाली अटो बजारको विकासमा नयाँ गति थप्ने र भविष्यको दिशानिर्देशन प्रदान गर्ने अपेक्षा नाइमाको छ । मोबिलिटी एक्स्पोको तयारी र योजनाबारे नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँग विकासन्युजका लागि नरेन्द्र विष्टले कुराकानी गरेका छन् ।  पहिलो पटक नाइमा मोबिलिटी एक्स्पो आयोजना हुँदैछ, तयारी कस्तो छ ? हामीले हाम्रोतर्फबाट उत्कृष्ट ढंगले तयारी गरिरहेका छौं ।  तयारी अन्तिम चरणमा छ । स्टल निर्माण बिहीबारदेखि खुल्दैछ । त्योभन्दा अगाडिका जति पनि कामहरू हुनुपर्ने हो, त्यो सबै हामीले गरिसकेका छौं । हामी पूर्ण विश्वस्त छौं, यहाँहरू सबैको सहयोगले एक्स्पो सफल हुनेछ ।  एक्स्पोमा सहभागीहरूले नयाँ अनुभव के पाउँछन् त ? नाइमा मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो । जहाँ ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी हुँदैछन् । स्टलहरूको साइजदेखि ग्राहक तथा अवलोकनकर्ताहरूको सेवा सुविधाहरूको हिसाबले यो उत्कृष्ट र ठूलो अटो एक्स्पोको रूपमा हामीले लिएका छौं । यसमा सहभागीहरूले आफ्नो इच्छा अनुसारका ब्रान्डहरूलाई अवलोकन गर्न पाउनुहुनेछ भने सहज ढंगले बस्न सक्ने व्यवस्था तथा फुड स्टलहरू राखेका छौं । एक्स्पोमा कनेक्टिभिटी पार्टनर वर्ल्डलिङ्कले इन्टरनेट सेवा प्रदान गर्नेछ ।  यस्तै, टेलिकम्युनिकेसन पार्टनर एनसेलले टेलिकम्युनिकेसनको सुविधा दिनेछ । एक्स्पोमा ग्राहक तथा अवलोकनकर्ताहरूका लागि नेपाल पुलिस क्लबमा प्यारालल सेसन्स, लर्निङ सेसन सञ्चालन गरिरहेका छौं, जहाँ प्रवेश गर्नलाई पैसा लाग्ने छैन । त्यो पनि उनीहरूले अनुभव गर्न पाउनुहुनेछ र पाँचौं दिनसम्म यी सत्रहरू सञ्चालन हुनेछन् । भृकुटीमण्डपसम्म आउने र त्यहाँबाट जाने ग्राहकहरूलाई राइड पार्टनर पठाओले २० देखि ३० प्रतिशतसम्म छुट दिएको छ । यी अनुभवहरूले अवलोकनकर्ताहरूलाई आनन्द र प्रिमियम महसुस गर्ने अपेक्षा नाइमाको छ ।  एक्स्पोका मुख्य चुनौतीहरू के-के देख्नु भएको छ, त्यसलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?  नाइमाले पहिलो पटक एक्स्पो आयोजना गर्न लागेको हो । यसमा हामी सबै उत्साहित छौं । यो मोबिलिटी एक्स्पोलाई हामीले अवसरकै रूपमा लिएका छौं । समग्र मोबिलिटी क्षेत्रमा इन्फर्म डिसिजन लिन अथवा सबैले सुसूचित भएर निर्णय गर्न सक्नेका लागि उपभोक्ता केन्द्रित मोडल अपनाएका छौं । जहाँ उपभोक्ताले एउटै छानामुनि धेरै ब्रान्डहरूको अवलोकन गर्न पाउने छन् । एक्स्पोमा ३५ भन्दा बढी नयाँ ब्रान्डहरू लन्च हुँदैछन् । त्यसमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन रहनेछन् ।  यो एकदम ठूलो अवसर हो । यसका साथै प्यारालल सेसनहरूमार्फत मोबिलिटी सेक्टरको समग्र चित्रण गर्ने व्यवस्था मिलाएका छौं । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले बोल्नेछन् । एक्स्पोको पहिलो दिन हरिवंश आचार्य र अनिल केशरी शाह आउने छन् । शाहले करिब ६०० जना व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्नेछन् । अटोमोबाइल सेक्टरमा विद्यमान चुनौतीहरू छन् । यसका लागि नाइमाले सधैं बहस पैरवी गरिरहेको छ । एक्सपोभित्र हुने सानातिना चुनौतीहरूलाई सबैको सहकार्यले समाधान गर्ने तयारीमा नाइमा छ । हामीले यसलाई प्रिमियम र लार्जेस्ट अटो एक्स्पो अफ नेपाल भनेका छौं ।  भृकुटीमण्डपजस्तो सानो ठाउँमा यति ठूलो एक्स्पो हुँदैछ, अवलोकनकर्ताको सवारी पार्किङको व्यवस्था के छ ? हामीले यसपालि गरेको सबैभन्दा राम्रो व्यवस्थापन पार्किङ हो । नेपाल पुलिस क्लबभित्र भएको ब्लु प्याभिलियन हलको अन्डरग्राउन्ड दुई तला र भृकुटीमण्डपको उत्तर क्षेत्रमा भएको क्षेत्र पार्किङको लागि लिएका छौं । जहाँ २०० भन्दा बढी चारपाङ्ग्रे र अझ त्योभन्दा बढी दुईपाङ्ग्रे सवारी साधनका लागि पार्किङको व्यवस्था छ । पठाओको राइडिङ पार्टनरको एग्रिमेन्टले पनि पार्किङलाई व्यवस्थापन गर्नेछ । यदि कसैले म सवारीसाधन नलिइकन जान्छु भन्ने अवस्थामा पनि पठाओले सुविधा दिनेछ । हामी ढुक्क छौं । विगतका नाडा अटो शोमा पार्किङले दिने दुःख यसपालि हुँदैन । स्टलहरू उत्कृष्ट ढंगले निर्माण गरेका छौं । पानी पर्दा हिलो हुने छैन । अर्को कुरा अपाङ्गता भएका व्यक्तिका लागि हिँड्ने बाटोदेखि स्टलहरूसम्म अपाङ्गतामैत्री बनाएका छौं । यसमा हाम्रा भोलेन्टियरहरुले पनि पूर्णरूपमा सहयोग सहयोग गर्नेछन् ।  यस्ता किसिमका प्रदर्शनीहरू बिक्रीकेन्द्रित हुने गरेका छन्, यो एक्स्पोको उद्देश्य पनि त्यही हो ? यसपालिको एक्स्पोमा अहिलेसम्म जति विस्तृतमा यहाँलाई भने अब हामी बिक्रीकेन्द्रित मात्रै छौं भन्न मिल्दैन । यो उपभोक्ताको अधिकार हो । यसमा अवलोकनकर्ताले धेरै सवारीसाधनहरू हेरेर आफूलाई उपयुक्त छान्न पाउने अवसर एकदम ठूलो हो । यदि हामी बिक्रीकेन्द्रित हुने भएको भए हामीले ब्लु प्याभिलियन हलमा पाँचौं दिनसम्म सत्रहरू गर्ने थिएनौं । लर्निङ सेसनको लागि टिकट राखेका छैनौं । एक्स्पोमा जानका लागि समेत थोरै पैसा मात्रै राखेका छौं । जुन विद्यार्थीको लागि १०० रुपैयाँ तथा अन्य सर्वसाधारणको लागि २०० रुपैयाँ टिकट रहेको छ । त्यसकारण बिक्री गर्ने प्रदर्शनी गर्ने एक ठाउँमा छ । त्यो पनि उपभोक्ता केन्द्रित छ । जसमा लर्निङ सेसन गरेर इन्डस्ट्रीलाई योगदान दिन कोसिस हामीले गरेका छौं । एक्सपोमा सहभागीहरूको संख्या ८० हजारभन्दा बढी हुने अपेक्षा नाइमाको छ, यो सम्भव छ ?  सम्भव छ, किनभने सकेसम्म धेरैभन्दा धेरै उपभोक्ताहरूमाझ यो सूचना पुर्‍याउनेगरी काम गरिरहेका छौं । एक्स्पोमा जाँदा गाडीहरू हेर्ने, किन्ने, बुक गर्ने अवसर सँगसँगै सिक्ने अवसर पाइनेछ । आशा छ धेरै उपभोक्ता तथा भ्रमणकर्ताहरू आउनेछन्  ।  यो एक्स्पोमा कारोबार कति हुन्छ होला ?  हामीले यति कारोबार हुन्छ भनेर तोकेर लक्ष्य राखेका छैनौं । एकातिर सिकाइका सत्रहरू छन् जसमार्फत एउटा सन्देश दिन खोजिरहेका छौं । सवारीसाधन अब विलासिताको वस्तु होइन, यो एउटा आवश्यकताको वस्तु हो । यसलाई कुनै बेला लायबिलिटिजको रूपमा लिइन्थ्यो भने हाल एसेटको रूपमा लिन खोजिरहेको म्यासेज दिइरहेका छौं । त्यसकारणले कारोबारको टार्गेट हामीले राखेका छैनौं । एक्स्पोमा गुणस्तरीय सवारीसाधनहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू राखेका छौं जुन अवलोकनकर्ताले सजिलै किन्न, बुक गर्न तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । अटो सेक्टरले देशको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ । जसलाई हामीले महत्त्व दिएका छौं । यति नै कारोबार हुन्छ भनेर टार्गेट राखेका छैनौं । तर कारोबार ठूलै मात्रामा हुनेछ भन्ने आशा छ । यति ठूलो एक्स्पो आयोजना गर्न लगानी त धेरै चाहियो होला नि ?  एक्स्पोको टिकट बिक्रीबाट आउने पैसा र स्टल वितरणबाट आउने पैसा पूर्ण रूपमा त्यहीं खर्च गर्ने भनेका छौं । ताकि त्यहाँ हिँड्ने ठाउँमा हिलो जमेको, पानी पर्दा भिज्ने, भित्र राम्रो खाने ठाउँ नहुने, बस्ने ठाउँ नहुने भन्ने नहोस् भन्ने हिसाबले हामीले तयारी गरिरहेका छौं । टिकट बिक्रीबाट आएको ५ प्रतिशत पैसा हाम्रो सम्बन्धित क्षेत्रमा अनुसन्धान गर्ने व्यक्तिहरूलाई या कुनै संस्थाहरूलाई योगदान गर्नेछौं । जसका लागि शिक्षा मन्त्रालय र सीटीईभीटीसँग सहकार्य गरेर उनीहरूलाई सहयोग गर्ने भनेका छौं । लगानी कति हुन्छ भन्ने भन्नुभन्दा पनि जति आम्दानी छ त्योभन्दा बढी त्यहाँ आउने महानुभावहरूलाई एकदमै उत्कृष्टताको महसुस गराउने कोसिस छ ।  एक्स्पोमा छुट र अफरहरू के-कस्ता हुन्छन् ?  हामीले दशैंको सुरुवात नाइमाबाट भनेका छौं । यसले के संकेत गर्छ भने हाम्रा ब्रान्डहरूले उपभोक्ताहरूलाई दिने उत्कृष्ट सुविधाहरू अहिलेदेखि नै उनीहरुले दिन सुरु गर्नेछन् । त्यो सन्देश हामीले उनीहरुबाट पनि पाइरहेका छौं । विशेष अफरहरू हुनेछन् । उपभोक्ताहरूले समग्र मोबिलिटी सेक्टर र आफूलाई मन परेको ब्रान्डको बारेमा विस्तृतमा बुझ्न पाउनेछन् । उपभोक्ताहरुलाई फराकिलो स्टलमा घुमीघुमी हेरेर आफूलाई मन परेको गाडीहरू लिन सक्नेछन् । हामीले उपभोक्ताहरूको अधिकार केन्द्रित ढंगले यो एक्स्पोलाई हेरेका छौं । अफरहरू तपाईंले हाम्रो सोसल मिडियामा हेर्नुभयो भने त्यहाँ पाउनुहुनेछ । जुन ब्रान्डपिच्छे फरक-फरक छ । एक्स्पोमा दशैंमा दिइने अफरभन्दा कम हुने छैनन् ।  विगतका नाडा अटो शोभन्दा मोबिलिटी एक्स्पो कति फरक हुन्छ ?  नाइमा मोबिलिटी एक्स्पो अथवा लार्जेस्ट अटो एक्स्पो अफ नेपाल भनेर भन्दै गर्दा जति कुराहरू यहाँलाई भनें, त्यो अहिलेसम्म नेपालमा भएका एक्स्पोहरूभन्दा उत्कृष्ट छ भन्ने धेरै आधारहरू छन् । स्टलहरूमा टु ह्विलर, थ्री ह्विलर र फोर ह्विलर मात्रै हुने भएकाले उपभोक्ताहरूले आफ्नो चाहेअनुसारको बढीभन्दा बढी ब्रान्डहरू हेरेर आफ्नो रोजाइ अनुसारको ब्रान्ड छान्न सक्नेछन् । समग्रतामा हाम्रो लार्जेस्ट अटो एक्स्पो हो, जुन उत्कृष्ट एक्स्पो हुनेछ । जो एक्स्पोमा आउँछन्, उनीहरूले उत्कृष्ट अनुभव गर्नेछन् ।  नाडा अटो शोमा सहभागी हुने व्यवसायीहरू नाइमामा आउछन् कि आउँदैनन्  ? एक्सपोमा सहभागी हुने ब्रान्डहरूको बारेमा हामीले सुरुमै एकदमै क्लियर गाइडलाइन, एकदम स्पष्टसँगले दिइसकेपछि टाइमलाइन तोकेका थियौं । त्यो अनुसारले जो-जो हामीसँग आउनुभएको छ, उहाँहरूलाई हामीले स्टल उपलब्ध गराएका छौं । कतिपयले चाहेर पनि हाम्रोमा स्टल पाउन सक्नु भएन । हामीले ४४ वटा स्टलको योजना गरेका थियौं तर हामीसँग असाध्यै धेरै अनुरोध आएको हुनाले हामीले ४८ वटा स्टल बनायौं । नाइमालाई यति धेरै मन पराइदिनुभएको छ । जुन नाइमामा स्टल चाहियो भनेर धेरै ब्रान्डहरू आइरहेका छन् । अर्को साल योभन्दा धेरै ब्रान्डहरूको लागि स्पेस कसरी बन्दोबस्त गर्ने होला ? बरु एउटा छलफलको विषय नेपाल सरकारसँग र सम्बन्धित सरोकारवालाहरूसँग यो हुन सक्छ कि एउटै छानाभित्र अहिले हामीले ५० वटा ब्रान्ड राख्दैछौं भने त्योभन्दा बढी ब्रान्ड राख्नुपर्ने आवश्यकता देखियो । किनकि नाइमाले निरन्तर त्यो अनुरोध पाइरहेको छ ।  एक्स्पोमा आईसी सवारीको आयात अब घट्दो क्रममा छ । नेपालमा आईसीई (डिजेल/पेट्रोलबाट चल्ने) गाडीहरूको भविष्य छैन भन्ने संकेत हो ?  नाइमाको कार्यकारी निर्देशकको हिसाबले समग्र मोबिलिटी सेक्टरलाई कसरी एउटा सहज वातावरण बनाउन सकिन्छ, मोबिलिटी सेक्टरमा कसरी अझै धेरै बहस पैरवीहरू गर्न सकिन्छ ताकि दिगो र स्मार्ट मोबिलिटी सबैले अनुभूत गर्न पाऊन् भन्नेबारेमा हामी सतर्क छाैं । नाइमाले इम्पावरिङ ग्रोथ थ्रु मोबिलिटी भिजनसँगै मोबिलिटी फर अल भन्ने मिसन राखेको छ । यो हासिल गर्नका लागि नेपालमा चाहिने कुरा के हो ? नेपालमा कसरी सुरक्षित र दिगो मोबिलिटी हुन सक्छ भन्ने बारेमा नाइमाका पाँचवटा पिलरमा रहेर हामीले काम गरिरहेका छौं ।  ती पाँचवटा पिलर के हुन् ?  पाँचवटा पिलर्समा सर्वप्रथम नीति नियमहरू जुन छन्, त्यसमा चाहिँ अलिकति छलफल र केही परिमार्जनको आवश्यकता महसुस गरेका छौं । पहिलो कुरा त लाग्ने करदेखि मौद्रिक नीतिमा समावेशीकरण गर्ने विषयहरूमा अटोमोबाइल सेक्टरलाई अलिकति मैत्रीवत भएनन् कि भनेर हामीले त्यो काम गरिरहेका छौं । दोस्रो- उपभोक्तालाई सचेतना फैलाउने विषय । जुन हामीले अझै पनि गाउँ–गाउँसम्म पुगेर अथवा सहरकै पनि विविध ठाउँमा चेतनाका कुरा फैलाइरहेका छौं । तेस्रो- मोबिलिटी सेक्टरमा दिइने क्षमता अभिवृद्धि तालिमहरू, विशेषगरी सीपसँग सम्बन्धित तालिमहरू दिने रहेको छ । चौथो- सडक सुरक्षा र पूर्वाधारसँग सम्बन्धित छ । पाँचौं- मिडिया त्यसपछि अध्ययन अनुसन्धान गरेर अन्तर्राष्ट्रिय असल अभ्यासहरू के छन् र यसलाई कसरी दिगो र इनोभेटिभ ढंगले काम गर्न सकिन्छ भन्ने छ । यी सेक्टरहरूले अटोमोबाइल सेक्टरको समग्रलाई समेट्न कोसिस गरेको छ ।  यो एक्स्पो ईभीमय बन्छ भन्ने धेरैको बुझाइ छ, यो बुझाइ ठीक हो ?  नाइमाको संरचना, समग्र संरचना हेर्नुहुन्छ भने हामीले जे गाइडलाइन बनाएका छौं । त्यहीअनुसार अगाडि बढ्छौं । जुन बेला हामीले स्टल खुला गर्यौं, त्यसमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे आए । ती सवारीसाधनलाई लोकेसन गरेका छौं । मूलतः तीनपाङ्ग्रे हाम्रो एउटा मात्रै ब्रान्ड छ भने चारपाङ्ग्रे र दुईपाङ्ग्रेको वर्चस्व बढी छ । सबै क्याटेगोरीजका गाडीहरू एक्स्पोमा हुनेछन् । हाम्रा ब्रान्डहरूको आफ्नो मार्केटिङ रणनीति हुन्छ । प्रत्येक टेक्नोलोजीका आफ्नै विशेषता छन् । जुन उपभोक्ताले कसरी प्रयोग गर्ने भन्ने कुराहरू आफैले निर्धारण गर्नेछन् ।  नेपालको अटोमोबाइल बजारको अवस्था कस्तो देख्नुभएको छ ?  सुरुसुरुमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनहरूलाई लक्जरी अथवा विलासिताको वस्तुको रूपमा हेरिन्थ्यो । तर, अहिले मोबिलिटीको सेक्टरले देशमा धेरै रोजगारीहरू सिर्जना गरेको छ । देशभरिका ७५३ वटै स्थानीय तहमा सडक सञ्जाल पुगिसकेको छ भने देशको अर्थतन्त्रलाई चलायमान बनाएको छ । देशमा सचेतना बढेको छ । सवारीसाधन आवश्यकताको वस्तु हुँदै गएकाे छ । हिजो विदेशमा एउटा कार हुनु सामान्य हो भन्ने हामी अहिले हाम्रै देशमा पनि त्यो सामान्य अवस्थामा पुगेको देखिन्छ । यदि तपाईंसँग थोरै पैसा छ भने थोरै पैसाको सवारी साधन किन्ने विकल्प छ । धेरै पैसा छ भने धेरै पैसाको सवारीसाधन किन्ने विकल्प छ । यो सचेतना नाइमा जस्तो संस्थाले दिन्छ । यसकारण बढीभन्दा बढी व्यक्तिहरूले मोबिलिटी सेक्टरको बारेमा बुझ्नु जरुरी छ।  यो एक्सपोले नेपाली अटोमोबाइल उद्योगमा प्रविधि, लगानी र रोजगारीको क्षेत्रमा कस्तो योगदान पुर्‍याउने अपेक्षा गर्नुभएको छ ? अटोमोबाइल सेक्टरले धेरै ठूलो मात्रामा रोजगारी दिएको छ । यसले जीडीपीमा पनि राम्रै योगदान गरेको छ । जति रोजगारी दिनुपर्ने हो त्यति रोजगारी अझै सकिरहेका छैनौं । तर, पनि हामीले प्यारालल लर्निङ सेसनहरूमार्फत एउटा सेसन, डेडिकेटेड सेसन वर्कफोर्स डेभलपमेन्टमा राखेका छौं । किनभने एउटा सवारीसाधनको इन्जिन मर्मत गर्नु पर्यो भने युवाहरू सफल र सक्षम हुनसक्छन् । हालसम्म यो सीप हामीले हाम्रा युवाहरूलाई दिन सकेका छैनाैं । युवाहरू कतिपय विदेशमा गएर गरिरहेको गइरहेका छन् । समग्रमा रोजगारी दिएको कुरा लुकेको छैन तर एक्स्पो आफैले त्यो माहोल बनाउने हो । सामान्य एउटा फुड स्टलदेखि प्याराललसेसनसम्म तथा अन्य जति पनि गतिविधिहरू हुन्छन् । त्यसमा रोजगारी जोडिएकै छ । जुन सर्ट टाइम होस् कि लङ टाइम । मोबिलिटी क्षेत्रले दिएको रोजगारी देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण छ । यस्तै, नाइमाले नेपाल सरकारले ल्याएका नीतिहरूमा पनि समन्वय र छलफल पनि गरिरहेको छ । सरकारले गरेका राम्रा कामलाई स्वागत गछौं । कतिपय नीतिगत परिवर्तनहरू अथवा नीति लागू गर्दै गर्दा व्यवसायीमैत्री छ कि छैन भनेर पनि काम गर्छौं ।   

गाउँपालिकाका अध्यक्षले सबै विद्यालयको भित्तामा आफ्नो फोटो राख्न निर्देशन दिएपछि...

काठमाडौं । केही सताअघि अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले आफ्नो पालिकाभित्र पर्ने सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई गाउँपालिकामा बोलाए । अध्यक्षले निमन्त्रणा पठाएपछि ४३ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक बैठकमा सहभागी भए । बैठकमा उपस्थित हुन नसक्नेले प्रतिनिधि पठाए ।  निकै महत्वपूर्ण भनिएको बैठकमा अध्यक्ष साउँदले एउटा निर्देशन दिएपछि सबै आश्चर्यमा परे । ४३ वटै सामुदायिक विद्यालयलाई साउँदको निर्देशन थियो, ‘सबै विद्यालयको अफिसको भित्तामा गाउँपालिकाका अध्यक्षको तस्बिर राख्नु पर्ने ।’ केही विद्यालयले उनको त्यो निर्देशन सहजै स्वीकार गरे । केही बैठकमै आलोचना गरे । तर, उनी पछि हटेनन् । आफू जननिर्वाचित अध्यक्ष भएकोले सबैले आफूलाई मान्नुपर्ने र शिक्षक तथा विद्यार्थीले पनि चिन्न आवश्यक रहेकोले आफ्नो तस्बिर विद्यालयको भित्तामा राख्नैपर्ने निर्देशन उनले बैठकमा सुनाए । उनले बैठकमा सामुदायिक विद्यालयलाई आफ्नो तस्बिर बाँडे । चाहना हुनेले फोटो लगेर हिँडे । केहीले आलोचना गर्दै तस्बिर नलिएरै घर फर्किए । अहिले मेल्लेख गाउँपालिकाकाभित्र पर्ने अधिकांश सामुदायिक विद्यालयको कार्यालयको भित्तामा उनको तस्बिर झुण्डिएको छ ।  केहीले भने उनको आलोचना गरिनै रहेका छन् । सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ । उनलाई आलोचना गर्नेहरुले उत्तर कोरियाका नेता किमजोङको संज्ञा दिइरहेका छन् । किमजोङको mmोटो त्यहाँका हरेक नागरिकको घरमा छ । उत्तर कोरियाका नागरिक हरेक दिन बिहान उठेर उनको फोटो ढोग्छन् र कामको सुरुवात गर्छन् । आलोचना गर्नेहरुले अध्यक्ष साउँदलाई यसरी आलोचना गरिरहेका छन् ।  अध्यक्ष साउँदले ४३ वटा विद्यालयका लागि १ लाख ५० हजार पाँच सय रुपैयाँ खर्च गरेर तस्बिर बनाएको बुझिएको छ । प्रतिफोटो ३ हजार ५ सयका दरले १ लाख ५० हजार पाँच सय रुपैयाँ फोटो बनाउनमा खर्च भएको गाउँपालिका स्रोतले बतायो ।  त्यहाँका स्थानीय र शिक्षकले पनि अध्यक्ष आफ्नो प्रचारको मोह देखाएको धारणा राखिरहेका छन् । एक सामुदायिक विद्यालयका शिक्षकले उनको आलोचना गर्दै भने, ‘सरकार प्रमुख छिटो–छिटो फेरिन्छन् । सरकार प्रमुखको समेत फोटो राख्न समेत नसकिएको बेला अब पालिका अध्यक्षको फोटो पो राख्न निर्देशन दिइयो, हामीले उनको फोटो नराखेर चार सहिदको फोटो भित्तामा राखेका छौं ।’ यस विषयमा अध्यक्ष साउँदसँग बुझ्न खोज्दा उनले जवाफ दिन चाहेनन् । तर, यस विषयमा उनले एक स्थानीयसँग गरेको कुराकानी भने बाहिरिएको छ । उनले ती स्थानीयसँग भनेका छन्, ‘नयाँ अभ्यास बसाल्न यस्तो निर्णय गरेका हौं, यसलाई अनौठो मान्नु पर्दैन ।’ स्थानीय सरकार पनि कार्यकारी सरकार भएकाले नयाँ थिति बसाल्न यस्तो निर्णय गरेको उनको तर्क छ । ‘सरकारी कार्यालयमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न मिल्छ, स्थानीय तह पनि सरकार हो, उनले भनेका छन्, हामीलाई पनि जनताले मत दिएर निर्वाचित भएका हौं, हाम्रो पनि रेकर्ड रहन्छ भन्ने लागेर नयाँ अभ्यास गरेका हौं ।’ अध्यक्ष साउँदले आफ्नो कार्यकाल अब थोरै बाँकी रहेकोले इतिहास रहन्छ भनेर यस्तो निर्देशन दिएको पनि अडियोमा सुन्न सकिन्छ । उनको यो निर्णयप्रति पालिकाभित्रकै कर्मचारी समेत असन्तुष्ट रहेको बुझिएको छ ।  शिक्षकलाई तलब पाउन सकस  फोटोको लागि डेढ लाख  बढी खर्च गर्ने मेल्लेख गाउँपालिकाले अनुदानमा राखेका शिक्षकलाई भने तलब खुवाउन सकेको छैन । दुई महिनादेखि तलब नपाउँदा शिक्षकलाई समस्या भएको गुनासो गरेका छन् ।  पालिकाले ४३ वटा सामुदायिक विद्यालयमा ८८ जना शिक्षक अनुदान कोटामा राखेको छ । उनीहरूले दुई महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।  पालिकाले प्रावि शिक्षकलाई १८ हजार, ८ कक्षासम्मका शिक्षकलाई २० हजार र माविका शिक्षकहरूलाई २२ हजार रुपैयाँका दरले तलब दिएर राखेको छ । सोही पालिकामा पर्ने एक सामुदायिक विद्यालयका शिक्षक भन्छन्, ‘सामुदायिक विद्यालयमा समस्या कति छन कति, सुधारमा ध्यान दिन सकेको छैन, कतिपय विद्यालयमा शिक्षक छैनन्, अनुदानमा राखेका शिक्षकलाई तलब पनि पर्याप्त छैन, समस्या एकातिर अध्यक्षको ध्यान चर्चित हुनेतर्फ भयो ।’  

अंग दान गर्ने बढ्दै, मस्तिष्क पाउन सकस

काठमाडौं । तीन वर्ष पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गरे । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो मृत्यु पश्चात् शरीरका सबै अङ्ग दान गर्ने घोषणामात्र गरेनन् कागजमा हस्ताक्षर गरेर अस्पतालका निर्देशक पुकार श्रेष्ठलाई बुझाए । ७१ वर्षका प्रचण्डले हरेक व्यक्तिले आफ्नो अङ्ग मरणपछि दान गर्न सक्ने भन्दै अन्य व्यक्तिलाई पनि दान गर्न आग्रह गरेका थिए ।   कांग्रेस महामन्त्री गगन थापा २०७३ सालमा स्वास्थ्य मन्त्री हुँदा आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गरेका थिए । स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफ्नो मृत्यु पश्चात् आफ्ना सबै अङ्ग दान गर्ने घोषणा मात्र गरेनन् उनले पनि लिखित दस्तखत गरेका छन् । मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज र मिर्गौला लगायतका अङ्ग दान गर्ने सम्झौता गरेका छन् । अहिले उनी ४९ वर्षका छन् ।  २०७९ सालमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेका जीवनराम श्रेष्ठले पनि शरीरका सबै अङ्ग दान गर्ने भन्दै मन्जुरीनामा बनाइ हस्ताक्षर गरिसकेका छन् । ‘मेरो मृत्युपश्चात् शरीरका सबै अङ्ग झिकी आवश्यक भएका जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्न मेरो मन्जुरी छ,’  अङ्गदान गरिसकेका हरेक व्यक्तिले मन्जुरीमा पत्रमा यस्तै कुरा लेखेरै हस्ताक्षर गरेका छन् ।  कोशी प्रदेश सभाका पूर्वसभामुख बाबुराम गौतम, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले पनि २०७९ सालमै अङ्गदान गर्ने घोषणा गरिसकेका छन् ।   राजनीतिज्ञले मात्र होइन अन्य सर्वसाधारणदेखि विशेषज्ञहरू पछिल्लो समय  आफ्नो मृत्यु पश्चात् आफ्नो शरीर दान गर्न राजी भएको मन्जुरीनामा पत्रमा हस्ताक्षर गरिरहेका छन् ।   मरेपछि माटोमा मिसिएर जाने शरीरले जीवित व्यक्तिको शरीरलाई राहत पुग्ने थाहा भएपछि अहिले नेपाली जीवितै भएको बेला लिखित हस्ताक्षर गरेरै अङ्ग दान गर्न थालेका छन् । अङ्गदानको कुरा बुझिसकेका धेरै व्यक्तिले आफू जीवितै रहँदा कुनै कारण आफ्नो मष्तिष्क मृत्यु भयो भने शरीरमा काम लाग्ने अङ्ग अर्को व्यक्तिलाई दान गर्ने क्रम बढेको छ । स्वास्थ्यका कुनै कार्यक्रममा पुगेर होस् या गोप्य रुपमा मानिसहरू आफ्नो मरणपछि  अङ्ग दान गर्ने भन्दै घोषणा गरिरहेका छन् ।  २८ सय हाराहारीको मन्जुरीमा हस्ताक्षर उल्लेखित व्यक्ति सार्वजनिक कार्यक्रममा अङ्गदान गरेका व्यक्ति हुन् । हल्ला नगरी अस्पतालमा गएर सुटुक्क दान गर्नेको संख्या अझ धेरै छ । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अहिलेसम्म २ हजार ८ सय हाराहारीले मरणपरान्त अङ्गदान गर्ने घोषणा गरिसकेको अस्पतालले जनाएको छ ।  अस्पतालका सूचना अधिकारी हरीहर पोख्रेलले मर्नुअघि अङ्गदान गर्नुपर्छ भन्ने विषयमा मानव चेतना बढ्दैै जाँदा अङ्गदानको घोषणा गर्ने संख्या बढेको बताउँछन् । उनी भन्छन्, ‘अस्पतालको विभिन्न प्रयासपछि व्यक्तिमा धारणा परिवर्तन आएको छ । अस्पतालमा आउने सेवाग्राहीदेखि विभिन्न ठाउँमा मरेपछि खेर जाने अंगले अन्य धेरै व्यक्तिलाई नयाँ जीवन दिन्छ भन्नेबारे कार्यक्रम गरेपछि घोषणा गर्ने क्रम बढेको छ ।’ अहिले पत्रकार, राजनीतिज्ञ, समाजसेवी सबैले मरणपछि आफ्नो अङ्ग दान गर्ने भन्दै घोषणा गर्नेक्रम बढेको उनी बताउँछन् । ‘कोही यो विषयमा आफै जानकार हुनुहुन्छ, कतिपयलाई हामीले नै बुझाएका छौं,’ उनी भन्छन्, ‘कतिपय अस्पतालमा आएर आफै आफ्नो रुचि देखाउँछन्, कतिपयले फोन गर्नुहुन्छ, अहिले हामीले एउटा फाराम बनाएर वेबसाइटमा पनि राखेका छौं । इच्छुक व्यक्तिले त्यो फाराम भरेर पठाउनुहुन्छ ।’ मस्तिष्क मृत्युको अवस्था उस्तै जीवित व्यक्तिले अङ्ग दान गर्नेक्रम बढे पनि मस्तिष्क मृत्यु भएकाहरूबाट पाइने अङ्ग भने अझै पाउन मुस्किल परेको छ । दिनहुँ धेरै व्यक्तिको मष्तिष्क मृत्यु हुँदा पनि अङ्ग दिन आफन्तहरू नै तयार हुँदैनन् । सयौं व्यक्तिको मस्तिष्क मृत्यु हुँदा पनि उनीहरूको परिवारले नै अङ्ग दिन नमान्दा समस्या भएको चिकित्सकहरू बताउँछन् ।  अहिले अङ्ग आवश्यक पर्ने बिरामी मध्ये करिब १० प्रतिशतले मात्र अङ्ग पाउने सकेका छन् । ९० प्रतिशत बिरामी अझै अंगको पर्खाइमा छटपटाइ रहेका छन् । कयौँ व्यक्तिले दिनहुँ अङ्ग नपाएर ज्यान गुमाउनु परिरहेको यो अवस्थामा तत्काल जीवित व्यक्तिले अङ्ग दानको घोषणा गर्नुभन्दा तत्काल मष्तिष्क मृत्यु भइसकेका व्यक्तिको अङ्ग दानमा सचेतना फैलाउनु निकै आवश्यक भएको विज्ञहरू बताउँछन् ।  नेपालमा अहिले मृर्गौला रोग लागेका देशभरका ८ हजार बढी बिरामी अंगदाताको पर्खाइमा छन् । तर, उनीहरूले अङ्ग पाउन सकेका छैनन् । अङ्ग नपाउँदा बिरामीहरू हप्तैपिच्छे डायलासिस गराउन बाध्य भएका छन् । महिनामा तीन/चार पटक हुने डायलासिसमा खर्च पनि धेरै हुने चिकित्सकहरू बताउँछन् ।     अङ्ग पनि बुढो हुँदै जान्छ  मान्छेको मृत्यु अनिश्चत हुन्छ । सबै मान्छे बुढो भएर अर्थात् ९० वर्ष वा सय वर्षको उमेरमै मृत्यु हुन्छ भन्ने हुँदैन । अनिश्चत मृत्यु हुँदा जीवित व्यक्तिले अङ्गदान घोषणा गर्दा उसको अङ्ग जतिबेला पनि काम लाग्न सक्छ । तर, उमेर बढ्दै जाँदा मान्छेको अङ्ग पनि बुढो हुँदै जान्छ । कतिपय अङ्ग दान गरिसकेका व्यक्ति ६० वर्ष कटिसकेका पनि छन् ।  उदाहरणको लागि माओवादी अध्यक्ष प्रचण्डकै कुरा गर्ने हो भने अब उनको अङ्ग दानको रुपमा उपयुक्त हुँदैन । किनकि उनको उमेर ७१ भइसकेको छ । उनीमात्र होइनन् ६० वर्ष कटिसकेका अङ्ग दान गर्ने घोषणा गरिसकेका व्यक्तिको अङ्ग प्रायः दान गर्न मिल्दैन ।  नेफ्रोलोजिष्ट डा. सुरेश महर्जन मानिसको उमेरसँगै अङ्ग पनि बुढो हुने भएकाले ८०/९० वर्ष पुगिसकेका व्यक्तिको अङ्ग प्रायः काम नलाग्ने बताउँछन् । ‘८०/९० वर्षको उमेरमा केही समस्या छैन भन्दा पनि मृगौलामा अलि समस्या भइहाल्छ । त्यो उमेरका व्यक्तिको अङ्ग खासै काम लाग्दैन,’ उनी भन्छन, ‘अङ्ग प्रत्यारोपण गरिसक्दा हामी कम्तीमा १०÷१२ वर्ष  केही नहोस् भन्ने हिसाबले प्रत्यारोपण गरिन्छ । ६० वर्ष ननाघेको व्यक्तिको अङ्ग प्रत्यारोपणका लागि राम्रो मानिन्छ ।’  ७०÷८० वर्ष नाघेका व्यक्तिको मृर्गौला लिँदा ६ महिना वा १ वर्षसम्ममात्र टिक्छ त्यो फेरि खराब भइहाल्छ, यस्तो बुढो अङ्ग लिएर दान गर्नुभन्दा प्रत्यारोपण नगरेकै बेश हुन्छ, उनले भने ।  मष्तिष्क मृत्यु कार्यक्रम अलपत्र  नेपालमा जीवित व्यक्तिबाट अङ्गदान गर्न निकै झञ्जटिलो व्यवस्था थियो । मानव अङ्ग प्रत्यारोपण ऐन २०५५ ले सुरुमा जीवित व्यक्तिबाट मृगाैला लामात्र दान गर्न सकिने व्यवस्था गरेको थियो । परिवार भित्रको कुनै व्यक्ति बिरामी पर्दा परिवार भित्रैको व्यक्तिलेमात्र अङ्ग दिन पाउने प्रावधान थियो । बिस्तारै कानुन फराकिलो भयो । मानव अङ्ग प्रत्यारोपण (पहिलो संसोधन) ऐन २०६५ केही हेरफेर गरियो । जसमा मष्तिष्क मृत्यु भएकाहरूबाट पनि अङ्ग लिन सकिने कुरा ऐनमा राखियो ।  मष्तिष्क मृत्यु भइसकेको बिरामी जसको मुटु चलेको भए पनि मष्तिष्क पूर्णरुपमा मृत छ भने त्यस्तो व्यक्तिबाट मुटु, फोक्सो कलेजो, आँखा, छाला लिन सकिने तर यो दक्ष चिकित्सकले मष्तिष्क मृत्यु भएको घोषणा गरिसकेको हुनुपर्ने नियम आयो । तर, कार्यान्वयन हुन सकेन । २०६८ सालमा सहिद धर्मभक्त राष्ट्रिय प्त्यारोपण केन्द्र स्थापना भएपछि अङ्ग संकलन र प्रत्यारोपण प्रक्रिया व्यवहारिक रुपमा लागू गर्न थालियो । तर त्यो बेला पनि मष्तिष्क मृत्यु भएकाहरूबाट अङ्ग पाउन गाह्रो भयो ।  शरीरको कुनै अंगमा खराबी आएर कामै नलाग्ने बिरामीको संख्या बढेपछि कानुन फेरि फराकिलो बन्यो । सरकारले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी  नियमावली २०७३ ल्याएर मष्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग लिन सक्ने प्रावधान ल्यायो ।  यसका लागि सचेतना फैलाउने जिम्मा पनि सहिद धर्मभक्त राष्ट्रिय प्त्यारोपण केन्द्रलाई दिइयो ।  तर, नागरिक स्तरमा सचेतना फैलाउन नसक्दा अहिले पनि यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । नेपालमा हरेक वर्ष दुई हजार भन्दा व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ । उनीहरू मध्ये झण्डै आधाको मष्तिष्क मृत्यु हुन्छ भनिन्छ । मष्तिष्क मृत्यु व्यक्तिको अङ्ग पाउन निकै गाह्रो छ । कार्यक्रम सुरु भएको १० वर्षमा अहिलेसम्म ६ जना मान्छेबाट १२ वटा मिर्गौला र तीन वटा कलेजो मात्र प्रत्यारोपण भएको छ । जनचतेना बढाउन सकिएन धेरै मान्छेलाई अहिले पनि मष्तिष्क मृत्यु भनेको के हो भन्ने नै थाहा छैन । थाहा भएकाहरूलाई पनि मृत्यु भएका व्यक्तिबाट अङ्ग दिँदा अर्को व्यक्तिको ज्यान जोगिन्छ  भन्ने थाहा हुँदैन । विज्ञहरू चेतनाको अभावका कारण नै यो कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँछन् । चिकित्सकका अनुसार नेपालमा सबैभन्दा धेरै अंगको पखाईमा मिर्गौलाका बिरामीहरू रहेका छन् ।  उनीहरूको डायलासिसमै धेरै खर्च भइरहेको छ । विर अस्पतालको न्युरो सर्जरी विभागका कन्सल्टेन्ट न्युरो सर्जन डा.शुसील मोहन भट्टराई मष्तिष्क मृत्यु भएकाहरूबाट अङ्ग पाउने कुरामा जनचेतनाको अभाव रहेको बताउँछन् । डा. भट्टराई हरेक गाउँ समाज टोलमा मानव अङ्ग दानको विषयमा चेतना फैलाउन आवश्यक रहेको बताउँछन् ।  सामाजिक चेतना अभावकै कारण यो कार्यक्रम अगाडि बढ्न नसकेको उनको भनाइ छ । नेफ्रोलोजिष्ट डा. सुरेस महर्जन नागरिकलाई मात्र नभई अङ्गदानको विषयमा धेरै जस्तो चिकित्सकलाई नै थााह नभएको दाबी गर्छन् । मस्तिष्क मृत्युपछि अङ्गदान गरेर अङ्ग प्रत्यारोपण गर्न मिल्छ भन्ने नेपालमा हुन्छ भन्ने कुरा धेरैलाई थाह छैन । उनी भन्छन्, ‘चिकित्सकमै चेतना कम छ, सामाजिक चेतना पनि कम छ, म कार्यरत अस्पतालमा सडक दुर्घटना भएका बिरामी धेरै आउनुहुन्छ, यसमा धेरैजनाको मृत्यु भइरहेको हुन्छ, हामीले यस्तो यस्तो गर्न सक्नुहुन्छ भन्दा आफन्त दिन तयार हुनुहुन्न ।’  स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि  जनजनमा चेतनाको अभाव रहेको बताउँछन् । आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा पत्रकारले सोधेको प्रश्नमा उनले मान्छेको विश्वासलाई टुटाउन निकै गाह्रो भएको बताए । ‘धार्मिक विश्वास यति गहिरो हुँदो रहेछ कि हामीले सम्झाउँदा, बुझाउँदा पनि  टुट्दैन, मरिसकेको व्यक्तिको अंग दिँदा अर्को जुनीमा असर पर्ने भ्रम जनजनमा छ, यो टुटाउन अझै मिहिनेत गर्नुपर्ने रहेछ,’ उनले भने ।  नेपाली समाजमा धेरै ठूलो विश्वास छ । यही सामाजमा हुर्केका जो कोही विश्वासबाट टाढा रहन सक्दैनन् । एउटा अङ्ग निकाल्यो भने अर्को जन्ममा आँखा नभएको, मृर्गौला नभएको व्यक्ति भएर जन्मन्छ भन्ने अन्ध विश्वासले पनि व्यक्ति यो विषयमा तयार हुन सक्दैन । मर्दा राम्रोसँग कित गाढ्नुपर्ने नभए जलाउनुपर्ने विश्वासमा हुर्केकालाई सम्झाउन गाह्रो हुन्छ ।  डा. महर्जन यो कुरा सबैमा चेतना पुर्याउन आवश्यक रहेको बताउँछन् । विदेशमा कोही बिरामीमा मृर्गौला फेल भएको थाहा भइसकेपछि सरकारले उसको अनलाइन रजिष्टर गर्छ  । त्यही अनुसार उनीहरू पर्खन्छन् । पछि दान गर्छन् । तर, नेपालमा यस्तो छैन । अहिलेसम्म एक अस्पताललाई अधिकार दिएको छ भने यसका लागि छुट्टै जनशक्ति पनि राखेको छैन ।  छुट्टै जनशक्तिको आवश्यकता मष्तिष्क मृत्यु कार्यक्रम चलाइरहेको शहीद धर्मभक्त अस्पतालले यो कार्यक्रमलाई प्रभावकारी बनाउन सकेको छैन । अस्पताल भित्रको प्रत्यारोपण गर्ने कामदेखि कार्यक्रम प्रचारप्रसार एकै अस्पतालले गर्नुपर्दा समस्या भएको अस्पतालको भनाइ छ । यो कार्यक्रमका संयोजकका रुपमा काम गरिरहेकी चिकित्सक कल्पना श्रेष्ठले दिनभरी अस्पतालको काम गर्नुपर्छ । उनलाई संयोजक बनाइए पनि कार्यक्रमको लागि समय छुट्याउन गाह्रो हुन्छ ।   चिकित्सकहरू अब यो कार्यक्रम प्रभावकारी बनाउन सरकारले छुट्टै जनशक्ती बनाउनुपर्ने बताउँछन् ।  शहिद धर्मभक्त भन्दा अन्य अस्पताललाई पनि यो अधिकार दिनुपर्ने र सरकारले तलबको व्यवस्था गरेर यसमा छुट्ै जनशक्ती तयार नपारुञ्जेल अवस्था यस्तै रहने उनीहरूको भनाइ छ ।   ‘कल्पना म्यामलाई संयोजक बनाइएको छ उहाँले आफ्नो काम छोडेर यो विषमा चेतना दिदै हिँड्ने कुरा भएन,’ डा. महर्जन भन्छन्, ‘न यसका लागि सरकारले कुनै सुविधा दिन्छ न केही, आफ्नो मनले एक्स्ट्रा समय दियो भने हुन्छ । यस्तै अवस्थाले सरकारको लक्ष्य अगाडि बढ्न निकै गाह्रो छ ।  मृगाैलाका रोगी बढी  नेपालमा अहिले सबैभन्दा अङ्ग आवश्यक भएका बिरामी मृर्गौला फेल भएकाहरू छन् । उनीहरू अङ्ग नपाउँदा डायलासिस गराउन बाध्य छन् । केएमसी अस्पताल सिनामंगलमा अहिले तीन सय भन्दा बढी मृर्गौलाका बिरामी डायलासिस गरिरहेका छन् ।  कोही नजिकैका आफन्त नातेदारबाट प्त्यारोपण गर्ने तयारीमा छन् भने दिनेमान्छे नभएर डायलासिस गर्नुपर्ने बाध्यतामा रहेका बिरामी पनि धेरै छन् ।  नेपालको हकमा सबैभन्दा बढी प्रत्यारोपणका लागि आवश्यक पर्ने अङ्ग कुन हो भन्ने एकिन तथ््यांक छैन । तर, विश्वका धेरै देशलाई आधार मान्ने हो भने सबैभन्दा बढी प्रत्यारोपण गर्नुपर्ने भनेको मृर्गौला हो । नेपालमा पनि मृगौर्ला नै सबैभन्दा धेरैमा पर्ने सक्ने अनुमान गरिन्छ । कलेजो, मुटु फोक्सो पनि उत्तिकै आवश्यक पर्छ ।  ८ वटा अङ्ग झिक्न सकिन्छ   मष्तिष्क मृत्यु भएका एक व्यक्तिले अङ्ग दान गर्न सक्यो भने ८ जना बिरामीलाई बचाउन सकिन्छ, कलेजो, मुटु, फोक्सो, मृर्गौला, आँखा, छाला लगायतका ८ अङ्ग एउटा व्यक्तिबाट  स्वस्थ व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर नेपालको हकमा मृर्गौला र कलेजो मात्र प्रत्यारोपण गर्न सम्भव छ ।  अन्य अंगको प्रत्यारोपण तत्काल सम्भव छैन । नेपालमा अन्य अङ्ग प्रत्यारोपण गर्न सक्ने जनशक्ती नहुँदा दुइटा अंगमात्र प्रत्यारोपण गरिन्छ । मुटु प्रत्यारोपणका लागि लाइसेन्स ल्याएका व्यक्ति भएपनि धेरै कुराको अभावले सञ्चालन गर्न सकेका छैन । उनी बिस्तारै सबै अङ्ग नेपालमै, नेपाली जनशक्तिलेनै प्रत्यारोपण गर्न सक्ने बताउँछन् ।  नेपालमा मृर्गौला प्म्रत्यारोपण २००८ देखि सुरु भएको थियो । अहिले प्रायः अस्पतालमा मृगौला प्रत्यारोपण गरिन्छ, कलेजोको प्रत्यारोपण पनि धेरै अस्पतालले गरिरहेका छन् ।  स्वास्थ्य क्षेत्रमा बिस्तारै नेपालले फड्को मार्दै गइरहेको अवस्थामा सबै अङ्ग नेपालमै प्रत्यारोपण हुने सम्भनावना छिट्टै आउने आसामा कतिपय चिकित्सकहरू छन् ।