‘माग पूरा गर्न नसके सरकारले मलाई यहीँबाट तानेर आर्यघाट लगोस्’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले विभिन्न सातबुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् । आइतबारदेखि काठमाडौंको माइतीघरमा सत्याग्रह सुरु गरेको प्रमुख भट्टराई माग पूरा नहुञ्जेलसम्म निरन्तर लागिरहने बताएका छन् । नीति निर्माणमा संघीय सरकारको उपेक्षा, वातावरणीय प्रदूषणको बेवास्ता र बाँदर आतंक जस्ता मुद्दा उठाउँदै उनी सडकमा उत्रिएका हुन् । उनै प्रमुख भट्टराईसँग यी नै विषयमा केन्द्रित भएर विकासन्युजका लागि बबिता तामाङले कुराकानी गरेकी छन् । तपाईं खोटाङदेखि आएर आइतबारदेखि सत्याग्रह मा बस्नुभएको छ । सत्याग्रहमा बस्न बाध्य कसरी हुनु भयो ? हामी स्थानीय तह, देशका विभिन्न क्षेत्रमा पाइने कच्चा पदार्थहरूलाई प्रयोग गरेर विकास गर्न चाहन्छौं । स्थानीय स्रोत र सामग्रीहरू प्रयोग गरेर त्यहाँका स्थानीय जनतालाई स्वरोजगार बनाउन चाहन्छौं, आयआर्जनको बाटो बनाउन चाहन्छौं । तर, नीति नभएको कारणले हामीले त्यो गर्न पाएनौँ । नीति बनाउने काम क्षेत्राधिकारभित्र पर्दैन । प्रदेश सरकारले पनि बनाउन पाउँदैन । त्यो नीति संघीय सरकारले बनाउँछ । यो विषयमा संघीय सरकारलाई हामीले गत वर्षको साउन १९ गतेदेखि पटक-पटक अनुरोध ग¥यौँ । तर, सरकारले हाम्रा मागलाई सुनेन । एक पटक मात्र होइन, पटक–पटक हामीले पत्राचार ग¥यौँ । पटक-पटक औपचारिक, अनौपचारिक भेट्यौँ । तर मागको कुनै सुनुवाइ भएन । यसको कारण एउटै छ, सरकारले हाम्रो उद्देश्य बुझ्नु भएन । त्यसपछि असार मसान्तसम्म हामीले भनेका मागहरु सम्बोधन नभए हामी बाध्य भएर जुनसुकै समय सत्याग्रहमा उत्रिन्छौं भनेर सरकारलाई भन्यौँ । त्यसो भन्दा पनि कुनै सम्बोधन भएन । त्यसपछि हामीले अरु संघसंस्थालाई पनि तपाईंहरू गएर सरकारलाई भनिदिनुहोस् है भन्यौ, किनकि हाम्रो पत्र कतै हरायो कि भन्ने भयो । त्यसको पनि कुनै जवाफ आएन । स्थानीय तहको प्रमुखले आफ्नो हस्ताक्षर गरेर ८-१० दोहो¥याएर पत्र किन पठाइरहेको छ ? कारण के हो, त्यसमा उठेका मागहरु के के हुन् ? त्यसको अध्ययन गरेर हुन सक्ने भए तपाईंले उठाएका मुद्दाहरू यो–यो हुन सक्छ, यो हुन सक्दैन भनेर भन्दिनु पर्थ्यो । अथवा तपाईंहरूले चाहिँ यो कानुनी विपरीत कुरा नउठाउनुहोस्, तपाईंहरूले गर्न नसक्ने काम नउठाउनुहोस् भनेर हामीलाई त्यसको जवाफ दिएको भए हुन्थ्यो । तर सरकारको गैरजिम्मेवारीपन देखियो । उहाँहरूले दोहोरो सम्वाद गर्न चाहनुभएन । हामीले उठाएका मुद्दा हेर्नुपर्छ भन्ने महसुस सरकारलाई भएन । हामीलाई पनि सरकारले स्थानीय सरकारको अस्तित्व नै नस्वीकारेको हो कि भन्ने अनुभूति भयो । त्यसपछि बाध्य भएर म सत्याग्रह मा बस्न आइपुगेको हुँ । यसरी पालिका प्रमुखले सरकारसँग माग राख्दै सत्याग्रह बसेको उदाहरण छ ? छैन । अहिलेसम्म जनप्रतिनिधिहरू यसरी माग सम्बोधन गर्नुपर्यो भनेर सत्याग्रह बसेको इतिहासमै पहिलो पटक हो । तपाईंको सत्याग्रहले अन्य पालिकाहरुमा कस्तो सन्देश जान्छ ? एकदमै सकारात्मक सन्देश जान्छ । हामीले बाँदरको समस्या उठाइरहेका छौँ । बाँदरको समस्या हाम्रो नगरपालिकामा मात्रै छैन । त्यो समस्या त बर्दियामा पनि होला, स्याङ्जा, मेची–महाकालीमा होला । माग दिक्तेलले उठायो, यो प्रक्रिया सायद सबैलाई चित्त नबुझ्ला पनि । यो विषयमा मेयर आफैँ धर्नामा जानु हुँदैनथ्यो अर्को तरिकाले उठाउनुपर्छ भन्ने मत पनि हुन सक्छ । तर हामीले उठाएको मुद्दा नगरपालिका केन्द्रित मात्रै छैन । व्यक्तिगत त हुँदै होइन । यो देशभरकै सम्पूर्ण कृषकको समस्या हो । यस्तै हामीले संघीय सरकारले स्थानीय सरकारहरूलाई गरिरहेको, हेपिरहेका समस्याहरू पनि उठान गरेका छौँ । जसको प्रतिनिधित्व हामीले गरेका छौं । यसरी सत्याग्रह ममा बस्दा कतिले मेयर बौलाएछ पनि भन्छन् । मेयर आफै सडकमा किन आउनुपर्यो भन्नेहरू पनि छन् । कसैले मेयर आफ्नो काम छोडेर पागल भएर बसेछ पनि भन्छन् । एउटा न एउटाले नबौलाई, पागल नभइकन सरकारले नसुन्ने रहेछ । हामी नागरिकको लागि काम गर्ने मान्छे । नागरिकको आवाजलाई पहिलो सम्बोधन गर्ने निकाय हामी नै हो । तर हामीले आफ्नो तर्फबाट नसकिनेपछि माथिल्लो निकायमा आवाज पु¥यायौँ । यो भुई मान्छेको आवश्यकता छैन, सुन्नुपर्दैन भन्ने महसुस सरकारले गरे जस्तो लाग्छ । त्यसकारण बाध्य भएर हामी यहाँ आयौं । तपाईंहरुले राख्नुभएको मागहरु के के हुन्, ती मागहरु पूरा भए स्थानीय जनतालाई कस्तो फाइदा पुग्छ ? हाम्रोमा बाँस पाइन्छ, कतै बेत पाइएला, कतै चाहिँ अरु काठहरू पाइएला । काठको त सरकारले नै मूल्यांकन गरेर प्रयोग गरिन्छ । जसले नयाँ बहस ने छेडेको छ । अहिलेको अवस्थामा हामीले बाँसको फर्निचर बनाउँछौँ तर सरकारी पैसा तिर्न पाउँदैनौँ । अहिले बाँसको स्कुल बनाउँछु भनेर सरकारी पैसा खर्च गर्न पाइँदैन । तर यो नीति बन्यो भने हामी यी सबै कच्चा पदार्थको प्रयोग गर्न पाउँछौँ । जसले स्थानीयलाई रोजगारी पाउनुका साथै आयस्रोतको बाटो पनि बन्छ । यसले हाम्रो गाउँघरमा खेर गएर बसेका सबै कच्चा पदार्थहरूको समुचित प्रयोग हुन्छ । त्यसैले हाम्रो माग भनेको बाँसलाई बिल्डिङ कोठमा समावेश गरी तत्काल नर्मस बनाई सस्तो र सुलभ ढंगबाट स्थानीयलाई रोजगारी दिन सक्ने गरी सरकारी भवन, फर्निचर आदि निर्माण गर्ने कानुन बन्नुपर्यो भन्ने माग हो । हामीले उठान गरेको अर्को माग सिसा, प्लास्टिकका बोतल, झोला र विभिन्न प्रकारका प्लास्टिक उत्पादन गर्ने उद्योगको कारण वातावरण प्रदुषण भइरहेको छ । त्यस्ता सामग्रीको उचित ठाउँमा व्यवस्थापन हुनुपर्छ भन्ने रहेको छ । त्यस्ता सामग्री खरिद बिक्री गरेबापत बिक्री मूल्यको १० प्रतिशत सम्बन्धित कम्पनीले पालिकामा अनिवार्य प्रदूषण कर बुझाउनुपर्ने व्यवस्था गर्नुपर्यो भन्ने हो । हाम्रो अर्को माग जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर, उद्योग लगायतलाई कडाइका साथ रोकी कानुन बनाई कारबाही गरिनुपर्ने भन्ने छ । यस्तै काठमाडौंबाट खोटाङ जाँदा बाटोमा अलपत्र परेका पुल, सडक र संरचना बनाउन अलपत्र पार्नेहरूलाई कानुनी कारबाही तत्काल गर्नुपर्ने हाम्रो माग छ । पहाडी भूभागमा बाँदर आतंकबाट बसाइँसराईदर अत्यधिक बढेको हुँदा तत्काल नीतिगत निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गर्नुपर्यो भन्ने हाम्रो माग हो । हामीले राखेका यी मागहरु सम्बोधन भएको खण्डमा स्थानीय जनतालाई फाइदा पुग्छ नै साथै यसले देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पुग्छ । तपाईं सत्याग्रहमा बस्नुभएको आज चौथो दिन हुँदैछ, प्रतिक्रियाहरू कस्तो पाइरहनुभएको छ ? विभिन्न निकायबाट औपचारिक, अनौपचारिक प्रतिक्रियाहरू आइरहेको छ । उहाँहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु । सरकारको तर्फबाट पनि प्रतिनिधिहरूबाट केही प्रतिक्रिया पाइरहेको छु तर सरकारी पक्षको जिम्मेवार मान्छेबाट कुनै त्यस्तो कुनै प्रतिक्रिया आएको छैन । तपाईं प्रमुख जस्तो मान्छे, पालिकाको सबै कामकाज छाडेर सत्याग्रहमा हुनुहुन्छ । अहिले पालिकाको दैनिक गतिविधि कसरी चलिरहेको छ ? मैले सम्पूर्ण जिम्मेवारी उपप्रमुखलाई दिएको छु । उहाँले सबै सम्हालिरहनुभएको छ । मैले नगरी नहुने काम छ भने अनलाइनबाट कागजात मगाएर यहाँबाट गरिरहेको छु । कतिपय अवस्थामा डिजिटल हस्ताक्षर गरेर पठाएको छु । म यहाँ भएपनि कतिपय नगरी नहुने काम भ्याइरहेको छु । म यहाँ भएपनि पालिकामा नागरिकको कुनै काम रोकिएको छैन । नगरपालिकाले दिने सेवा सबै दिइरहेको छ । अहिले यहाँ पनि म जनताकै काम गर्नको लागि आएको हुँ । हामीले यहाँ आउनुभन्दा अगाडि पनि आन्दोलनमा जाँदैछौँ, तपाईंहरुको सुझाव दिनुस् भनेका थियौँ । कतिले दिनुभयो, कतिले फोनबाटै दिनुभयो । उहाँहरूले पनि मलाई हौसला दिनुभएको छ । उहाँहरुमध्ये कतिपयले हाम्रो काम अलि ढिला भएपनि हुन्छ तर हाम्रा कुरा माथि पु¥याएर आउनुस् बीचमा खुट्टा कमाएर नआउनुस् है’ भनेर भनिरहनुभएको छ । अहिले चालु आवको पहिलो महिना पनि हो । त्यसकारण नेपालमा त्यति धेरै काम हुँदैन पनि । असार मसान्तसम्म धेरै काम हुन्छ, त्यो काम सबै सकिएको छ । अहिले नागरिकलाई धेरै अप्ठ्यारो नपर्ने समय भएको कारणले सत्याग्रह को लागि साउन महिना नै रोजेका हौँ । तपाईंको अभियानमा अरु क-कसले साथ दिइरहनुभएको छ ? हामी नगर कार्यपालिकाको बोर्डले पास गरेर मात्रै यहाँ आएका हौँ । यो अभियानमा विस्तारै व्यक्ति, संघ संस्थाहरुबाट सहयोगको आश्वासन आइरहेको छ । वन, वातावरण, पर्यावरणको क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधिहरूले सहयोग गरिरहनुभएको छ । उहाँहरू यहाँ आउने, समर्थन जनाउने, आफ्नो कुराहरू राख्ने, फोटो खिच्ने, फेसबुकमा राख्ने गरिरहनुभएको छ । त्यो पनि सहयोग हो । सबैभन्दा धेरै मैले पनि सोच्दै नसोचेको, कल्पना नै नगरेको राष्ट्रिय स्तरका मिडियाहरुले पनि यो विषलाई महत्वको साथ प्रकाशन, प्रसारण गरिदिनुभएको छ । यो देखिसकेपछि वास्तवमा अलि ढिलो भएको रहेछ कि, यो काम चाहिँ १५ वर्ष अगाडि गरिएको भएदेखि चाहिँ अहिलेसम्म चाहिँ हामी अर्थतन्त्रमा अलि मजबुत हुने रहेछौँ भन्ने महसुस भएको छ । अहिले स्थानीय स्तरमा गएर हेर्ने हो भने सखुवाको काठ कुहिन लागेको, ढलिसकेको, काट्न योग्य भएको सुकेर बसिरहेको छ । काट्न योग्य बाँस त्यस्तै खडा भएर बसेका छ । त्यसलाई कमसेकम काटेर घर बनाउनलाई प्रयोग गर्दा भयो नि । तर हामी आफ्नो ठाउँको काठ प्रयोग गर्दैनौँ । हामी मलेसियाबाट सखुवाको काठ ल्याएर प्रयोग गर्छौँ । हामी आफ्नो कुहाएर राखिदिने, प्रयोग नगर्ने, अनि विदेशबाट आयात गरेर प्रयोग गर्ने । रोप्दै जाने, चलाउँदै जाने नीति नीति बनाउनु प¥यो र प्रयोग बढाउनुपर्यो भन्ने हाम्रो माग हो । तपाईंको पालिकालाई अहिले के को बढी अभाव छ ? पालिकाले कस्तो समस्या भोग्नु परेको छ ? अहिले हाम्रोमा आम नागरिकहरूको समस्या भनेको बाँदर आतंक नै हो हामीले लगाएका बालीहरु बाँदले बाँकी राख्दैनन् । त्यहाँ महिला दिदी बहिनीहरू, साना बालबच्चाहरू, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू एक्लै हिँड्ने अवस्था छैन । बाँदरले धम्क्याएर टोक्ने समस्याहरू धेरै छन् । घरभित्र पकाएको खानाको भाँडै बोकेर लिएर जान्छ बाँदरले । हाम्रो उद्देश्य फेरि बाँदर मार्नुपर्छ, वन्यजन्तु मार्नुपर्छ भन्ने होइन । त्यसको व्यवस्थापन कसरी गर्ने? मान्छे बचाउने कि बाँदर बचाउने? मान्छे बचाउने कि वन्यजन्तु बचाउने ? त्यसलाई हामीले अब कसरी निराकरण गर्ने, त्यो ढंगबाट जानुपर्छ । तपाईँको यो अभियानमा अन्य पालिकाहरुको साथ कस्तो छ ? अन्य पालिकाहरुबाट अनौपचारिक ढंगले धेरैले फोन आएको छ । औपचारिक रुपमा विज्ञप्ति नै निकाल्नु भयो या भएन त्यो चाहिँ मलाई थाहा छन । मैले यहाँ पनि कसैलाई आउनुस् भनेर एक कल फोन गरेको छैन । कतिपय मिडियाका साथीहरूलाई चाहिँ आएर यथार्थ कुरा लेख्दिनुहोस् है भनेर मैले भनिरहेको छु । म नेपाली कांग्रेसको जिल्लाको उपसभापति हो तर मैले मेरै आफ्नै पार्टीका साथीहरू, पार्टीका नेताहरु, जिल्लाहरुलाई पनि आएर भीडभाड गर्दिनुस् भनेको छैन । किनभने सत्याग्रह भनेको एक जनाबाट सुरु गर्ने हो । यसमा जसलाई इच्छा लाग्छ उहाँ आउन सक्नुहुन्छ । इच्छा लाग्दैन, आउनुहुन्न । विदेशतिर गयो भनेदेखि एक जना मान्छेले प्लेकार्ड राखेर आफ्नो असहमति राख्यो भने त्यो चाहिँ सरकारले सम्बोधन गर्छ । तर हाम्रोमा हजारौँ भीड देखाएर, तोडफोड गरेर, आगजनी गरेपछि मात्रै सरकारले सुन्ने चलन छ । यो कुरालाई तोड्नुपर्छ भन्ने हो । म चाहिँ एक्लै लड्दैछु । मैले आफ्नो कुरा स्पष्ट गरिसकेको छु । मेरो शरीर त्याग्नुपरे पनि मलाई कुनै बिस्मात हुने छैन । माग पूरा नभएको खण्डमा आगामी रणनीति के हुन्छ ? हाम्रो पूर्वघोषित कार्यक्रम नै छ । आजसम्म सत्याग्रहमा जाने भन्ने छ । भोलि बिहान ९ बजेदेखि हड्तालमा जाने कार्यक्रम रहेको छ । जबसम्म माग पुरा हुँदैन केही अन्न नखाइकन बस्ने कार्यक्रम छ । यति गर्दा पनि सरकारले हाम्रो माग पूरा गरेन भने मलाई सरकारले यहीँबाट तानेर आर्यघाटमा लगेर दाहसंस्कार गरोस् । किनभने मैले यहाँ मृत्यु सँस्कारको लागि चाहिने सबै सामान लिएर आएको छु । यो कुरा बोलेर सार्वजनिक रुपमा बोलिसकेको छु । मैले ५० वर्ष बाँचिसकें । अब धेरै बाँचेर पनि मैले त्यस्तो धेरे तरक्की गर्न सक्दिनँ । अब कमसेकम देश र समाजको लागि मेरो देह त्याग भयो भने मलाई कुनै आपत्ति छैन । यो कुरा मैले परिवार, आफन्तलाई भनिसकेको छु । यो मेरो अन्तिम लडाइँ हो । आज जसरी मैले यहाँ सडकमा आएर यसरी आन्दोलन गर्नु परेको छ, यो अरु नगर प्रमुख, जनप्रतिनिधहरु गर्न नपरोस् । नगर प्रमुख भएर यसरी सडकमा आउँदा म आफैंलाई असहज लागिरहेको छ । मलाई पनि त घुम्ने कुर्सीमा बस्ने इच्छा होला, अगाडि-पछाडि दुई-चार जना चाहिँ नगर प्रहरीहरू लगाएर हिँड्ने इच्छा होला । तर मेरो व्यक्तिगत इच्छा र आकांक्षाभन्दा टाढा रहेर नागरिकको समस्यालाई सम्बोधन गर्नुपर्छ भनेर घामपानी सहेर संघर्ष गरिरहेको छु । यो मेरो अन्तिम लडाइँ हुनेछ । म कसैको पार्टीको दबाबमा, या कुनै पनि दवावमा यहाँ आएको होइन । म जीवन नै त्याग्न तयार भएर आएको छु । मैले मेरो मैले श्रीमती, छोराछोरीलाई पनि यो विषयमा भनिसकेँ । हुन त विगतमा पनि मैले परिवारलाई भन्दा बढी प्राथमिकता जनताकै लागि दिएँ । अब यो आन्दोलनकै कारण भौतिक शरीर गुमाउनुपर्यो भने मेरो परिवारले गर्व गर्नु भनेर भनेको छु । म मरें भनेर एक थोपा आँसु पनि नबगाउनुहोला भनेर मैले परिवारलाई पनि भनिसकेको छु ।
प्राधिकरणमा २० वर्ष काम गरेकालाई रित्तै घर पठाउने खेल, हितेन्द्रले लत्याए पूर्वसहमति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेश कार्यालय परिसरमा केही कर्मचारी शान्तिपूर्ण धर्नामा छन् । उनीहरूको अनुहारमा वर्षौंदेखिको थकान, अन्यायको पीडा र भविष्यको अनिश्चितता प्रस्टै देखिन्छ । जसले देशलाई उज्यालो बनाउन आफ्नो जीवनको ऊर्जाशील समय खर्चिए । तर आज उनीहरू आफ्नै भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिन बाध्य छन् । विगत २० वर्षदेखि प्राधिकरणमा ज्यालादारी कर्मचारीको रूपमा कार्यरत दीपा अधिकारी आफ्नो पीडा पोख्दै भन्छिन्, ‘जागिर खाएको २० वर्ष भयो । तर अहिलेसम्म मासिक नियुक्ति पाएका छैनौं । ३० दिन काम गर्दा २५ दिनको तलब आउँछ । शनिबार बोलाए पनि त्यसको पैसा पाइँदैन । हाम्रो पनि परिवार छ । बालबच्चा छन् । यो महँगीमा कसरी बाँच्ने ?’ दीपाको कथा यो आन्दोलनमा सहभागी २ हजार ८ सयभन्दा बढी ज्यालादारी कर्मचारीको साझा पीडा हो । उनीहरूको मुख्य माग प्राधिकरण सञ्चालक समितिले २०७९ सालमा गरेको निर्णयको कार्यान्वयन हो । जसमा उनीहरूलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा रूपान्तरण गर्ने र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भनिएको थियो । तर वर्षौं बित्दा पनि त्यो निर्णय केवल कागजमा सीमित रह्यो । ‘हुन्छ-हुन्छ भन्दाभन्दै २० वर्ष बित्यो,’ दीपा भन्छिन्, ‘अब त घर जाने बेला हुन लाग्यो । म ५८ वर्ष पुग्न लागें । अहिले जागिरबाट निकालिदियो भने रित्तो हात जानुपर्छ । यतिका वर्षको हाम्रो योगदानको केही मूल्य छैन ?’ उनलाई दशैंमा बालबालिकालाई पेस्की आउँछ भनेर पटक-पटक ढाँटेको यथार्थ सुनाउँदा उनको घाँटीमा खाना अड्किएजस्तै हुन्छ । उनी आफ्नो त्यो दुःखलाई भन्नै सक्दिनन् । यी कर्मचारीहरूको जिम्मेवारी सानो छैन । कोही कार्यालय सहयोगी छन्, कोही कम्प्युटर अपरेटर । कोही मिटर रिडिङ गर्छन् त कोही ज्यान जोखिममा राखेर बिजुलीको पोलमा चढ्छन् । कतिपय ठाउँमा त ज्यालादारी कर्मचारीले नै पूरै शाखा चलाएका छन् । तर, उनीहरूको परिचय र अधिकार भने सधैं अस्थायी रह्यो । प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संर्घष समितिका केन्द्रीय अध्यक्ष नरेन्द्र यादव भन्छन्, ‘उज्यालो नेपालको सपना साकार पार्न हाम्रा कयौं साथीहरूले दुर्घटनामा परेर अंगभंग भए, कतिले ज्यानै गुमाए । ‘पोलको टुप्पोबाट चरा खसे जसरी साथीहरू खसिरहेका छन्, तर हाम्रो कुनै मूल्यांकन भएन, ’उनले थपे । उनीहरूले आफूहरूलाई स्थायी गर्न नभई केवल मासिक नियुक्तिपत्र र सामाजिक सुरक्षा कोषको ग्यारेन्टी मात्र मागेको बताउँछन् । आन्दोलन गर्नुअघि व्यवस्थापनसँग पटक-पटक वार्ता र संवाद भए पनि हुन्छ, गर्छौं भन्ने आश्वासनबाहेक केही नपाएको उनीहरूको गुनासो छ । ‘विगतमा भएका सम्झौता र निर्णय कार्यान्वयन नभएपछि हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भयौं, ’ यादवले भने, ‘यदि प्राधिकरणलाई हामी आवश्यक छैन भने बिदा गरोस् । आवश्यक छ भने हाम्रो रोजगारको ग्यारेन्टी गरोस् ।’ यस्तै, नेपाल विद्युत प्राधिकरण दैनिक संघर्ष समिति बागमती प्रदेश समितिका अध्यक्ष रमेश पराजुलीले पनि आफूहरूको पीडा प्राधिकरणले नसुनेको गुनासो गरे । उनका अनुसार प्राधिकरणले ८ घण्टा काम गर्नैपर्छ भनेर तोकेको छ । उनी भन्छन्, ‘हामीले तोकेको भन्दा बढी समय काम गर्नुपर्छ । यदि बत्ती गयो वा कतै विद्युतको पोल ढल्यो भने ८ घण्टा काम गरेर आएपनि रातदिन जेसुकै होस् कुद्नुपर्छ । यो पीडा कसले बुझिदिन्छ खै ?’ उनका अनुसार उनीहरूले पोलमा चढ्ने, मिटर रिडिङ गर्ने, राजस्व संकलन गर्ने, कार्यालय सहयोगी र कम्प्युटर अपरेटरदेखि कतिपय स्थानमा पूरै शाखा चलाउनेसम्मको जिम्मेवारी सम्हालिरहेका छन् । तर, उनीहरूले जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला मात्र पाउने गरेका छन् । काठमाडौंमा ९ सय पाउने गरेकोमा र कैलाली कन्चनपुर जस्ता जिल्लामा ६ सय ८५ रुपैयाँ मात्र पाउने गरेको कर्मचारीहरू बताउँछन् । दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिका उपमहासचिव गणेश खतिवडाले आफूहरूलाई व्यवस्थापनले भन्दा ग्राहकले बढी बुझेको मार्मिक अनुभव सुनाउँछन् । उनले भने, ‘एक ग्राहकले फोन गरेर भने- सर, बत्ती छैन । हामी त एकछिन बत्तीबिना बस्न सक्दैनौं । रातदिन हामीलाई उज्यालो दिने तपाईंहरू यस्तो अन्यायमा हुनुहुँदो रहेछ । यदि व्यवस्थापनले सुन्दैन भने भन्नुहोस्, म ५ हजार ग्राहक लिएर तपाईंहरूको आन्दोलनमा समर्थन जनाउन आउँछु ।’ यो घटनाले कर्मचारीहरूलाई भावुक बनाएको छ । ‘हामीले प्राधिकरणको मात्र होइन, ग्राहकको काम गरेका रहेछौं भन्ने महसुस भयो,’ खतिवडा भन्छन्, ‘ग्राहकलाई हाम्रो यति धेरै माया रहेछ, तर हामीलाई जन्माउने संस्थाले नै हाम्रो पीडा बुझेन । ’ यस्तै, मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका दैनिक ज्यालादारी कर्मचारी मधेस प्रदेश संघर्ष समितिका अध्यक्ष शम्भु मिश्रले बताए । उनका अनुसार केन्द्रीय संघर्ष समितिको निर्देशनअनुसार मधेस प्रदेशमा कार्यरत कर्मचारीहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । अहिले उनीहरूले इकाईस्तरको आन्दोलन सकेर प्रदेशस्तरको धर्ना कार्यक्रम गरिरहेका छन् । प्राधिकरणको व्यवस्थापनसँग वार्ताको प्रयास भए पनि ठोस निकास ननिस्किएको उनीहरूको भनाइ छ । यदि अब यहाँबाट पनि माग सम्बोधन नभए मेची-महाकालीका सबै ज्यालादारी कर्मचारीलाई काठमाडौं उतारेर केन्द्रीय कार्यालय घेराउ गर्ने र ‘ ऐतिहासिक युद्ध’ लड्ने उनीहरूको चेतावनी छ । जसले जोखिम मोलेर लाइन मर्मत गर्छन् । उसले महसुल उठाउन जाँदा उपभोक्ताको आक्रोश सामना गर्छन् । जसले देशको हरेक कुनालाई उज्यालो बनाउन आफ्नो पसिना बगाउँछन्, तिनै कर्मचारीहरू आज आफ्नो जीवनको उत्तरार्द्धमा एउटा नियुक्तिपत्र र सामाजिक सुरक्षाको सामान्य अधिकारका लागि संघर्ष गरिरहेका छन् ।
‘अब यो टिमले आइएमई खल्तीलाई अर्कै लेभलमा पुर्याउँछ, सानो लगानी फिनटेकमा काम छैन’ {अन्तर्वार्ता}
काठमाडौं । खल्ती र आइएमई पेबीच मर्जर भएर आइएमई खल्ती लिमिटेड बनेको छ । अहिले खल्ती बाई आइएमई एपमार्फत् कम्पनीले सेवाग्राहीलाई सेवा दिइरहेको छ । फिनटेक क्षेत्रमै पहिलो मर्जर गरेर इतिहास रचेको खल्ती आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने अवसर विनय खड्काले पाएका छन् । खल्तीको पनि सीईओ भएर काम गरिसकेका उनले पछिल्लो समय कम्पनीको व्यवसायमात्रै होइन, फिनटेक उद्योगमै पृथक किसिमको पहिचान र परिचय बनाएका छन् । उनै सीईओ खड्कासँग आइएमई खल्तीको मर्जर, फिनटेक उद्योगको व्यवसाय र आगामी रणनीतिका विषयमा विकासन्युजका लागि सन्तोष रोकायाले विकास बहस गरेका छन् । आइएमई पे र खल्तीबीच मर्जर भएपछि नयाँ बनेको आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नु भएको छ, यो अवसरलाई कुन रुपमा बुझ्नु भएको छ ? नेपालमा डिजिटल वालेट अथवा फिनटेकको विकास भएको धेरै भएको छैन । आक्रामक रूपमा अगाडि बढेको भनेको पछिल्लो १० वर्षपछि मात्रै हो । त्योभन्दा अगाडि केही सुस्त गतिमा कामहरू र कामको प्रक्रियाहरू भइरहेका थिए । योसँगै आइएमई पे र खल्ती दुइटै संस्थाहरू आफ्नो स्थापनाको ९ वर्षमा चाहिँ रनिङ भइरहेका थिए । अब यी दुइटा संस्थालाई मर्जर गरेर अझ बृहत र अझ ठूलो संस्था बनाएका छौं । चुक्ता पुँजीको आधारमा र ग्राहकको आधारमा यो संस्था अब देशको नम्बर वान पेमेन्ट सर्भिस प्रोभाइडरको रूपमा स्थापित भएको छ । यो ठूलो संस्थाको नेतृत्व गर्न पाउनु आफैमा ठूलो अवसर हो । यससँगै चुनौती पनि छन् । पुँजीमा ठूलो कम्पनी भइसकेपछि सोही बराबर रिटर्न दिनुपर्ने चुनौती पनि छ । अहिले टिम पनि एकदम ठूलो छ । मर्जर प्रक्रिया थालेको एक वर्षपछि कम्पनीको मर्जर गरेर एकीकृत कारोबार गर्न हामी सफल भएका छौं । अब वित्तीय पहुँच र वित्तीय समावेशीलाई देशभर फैलाउँदै व्यवसायलाई विस्तार गर्नुपर्ने दायित्व पनि थपिएको छ । नेपालको फिनटेक उद्योगमा पहिलो मर्जर कसरी सफल भयो, तपाईंको भूमिका के कस्तो रह्यो ? यसमा दुइटा कुरा आउँछ, एउटा कुनै पनि मर्जर सफल हुनका लागि एकीकृत कारोबारसम्मको प्रक्रिया भयो । अर्को- एकीकृत कारोबारपछि कम्पनी कत्तिको सफल भयो, के कस्तो ग्रोथ भयो भन्ने कुरा हुन्छ । यो विषयलाई एक/दुई वर्षपछि समीक्षा गर्ने विषय रह्यो । एकीकृत कारोबार हुने अवस्थासम्म पुर्याउनका लागि प्रमोटर अथवा सेयर होल्डरहरूबाट ठूलो प्रयास भयो । अर्को- व्यवस्थापन पक्षबाट पनि प्रयास भयो । म यसअघि खल्तीको सीईओ हुँदैगर्दा पनि आफ्नो तहबाट हुने प्रयास गरें । मर्जर प्रक्रियामा पनि एउटा जिम्मेवारी थियो । सेयर होल्डरहरूलाई कन्फिडेन्स बढाउनका लागि पनि हामीले प्रयास गर्यौं । मर्जरको सम्भावना, त्यसको अवसर लगायत विषयमा पनि हेर्नुपर्ने हुन्छ । सानो केकको पाई लिनुभन्दा ठूलो केकको सर्टेन पाई त्योभन्दा ठूलो हुन सक्छ भन्ने हिसाबले हामीले कन्भिन्स गर्यौं जस्तो लाग्छ । यसमा सबैको समान सहभागिता र योगदान रह्यो । त्यस्तै, नियामक नेपाल राष्ट्र बैंकले पनि सपोर्ट गर्यो । हामी जेजति ठाउँमा ठोक्किन्छौं, त्यहाँबाट राम्रो साथ सहयोग रहेकोले यो मर्जर सफल भएको हो । मर्जरका लागि एक वर्ष अघिदेखि विभिन्न छलफल तथा होमवर्क भएको थियो भन्नुभयो । तर, मर्जर हुँदैछ भनेर अन्तिम घडीमा मात्रै सार्वजनिक गरियो, त्यसभित्रको अन्तर्य के थियो ? पहिला धेरै हल्ला भएर पछि मर्जर भएन भने राम्रो हुँदैन । दुइटा संस्था एक हुनु भनेको विवाहजस्तै हो । विवाह भन्ने कुरा त टुङ्गो लगाइसकेपछि मात्रै निमन्त्रणा दिने हो । विवाहको टुङ्गो नलाग्दै निमन्त्रणा त दिनु भएन नि । मर्जरमा विभिन्न विषयहरू आउँछन् । यसको स्वाप रेसियो, ‘गिभ एण्ड टेक’ को विषय, दुइटै संस्थाको आफ्नो लिगेसी, ग्राहक, संस्थाको ब्राण्ड, कसले कम्प्रमाइज गर्ने लगायत विषय आउँछन् । ब्राण्ड पनि दुइटैलाई अगाडि बढाउन सकिँदैन । आ-आफ्नो टेक्नोलोजी छ । यी सबै विषयमा छलफल गर्नुपर्ने हुन्छ । यी सबै विषयमा सहमति भइसकेपछि ल अगाडि बढ्ने भनेपछि मात्रै कुरा बाहिर आउने हो । यो सँगै नियामकको स्वीकृतिको विषय पनि महत्त्वपूर्ण छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत नलिँदासम्म हामी मर्जर गर्छौं भनेर हल्ला गर्नु पनि भएन । यी सबै कुराहरू क्रमबद्ध रूपमा सम्पन्न गरिसकेपछि ल अब चाहिँ मर्जर गर्ने भनेर निर्णय गरिसकेपछि धेरै समय लाग्दैन । त्यसका लागि हामीलाई एक वर्ष लागेको हो । यो यात्रा साँच्चिकै एकदम ‘एक्साइटिङ’ छ । म ‘डे वान’ देखि नै यो प्रक्रियामा सहभागी भएकोले पनि दुइटै संस्थाका प्रमोटर लगायत सबैलाई प्रशंसा गर्नैपर्छ । हामीले विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जरको अभ्यास र अनुभव पनि देखेका/सुनेका छौं, सबै विषयहरू अगाडि नै सहमतिसँगै सार्वजनिक नै गरेर एकीकृत कारोबार गर्छन् । तर, आइएमई पे र खल्तीका अधिकांश विषय अझै गुपचुप छन्, यो मर्जर हो कि प्राप्ति हो कि ? स्वाप रेसियो कति भयो भन्ने विषय सार्वजनिक भएको छैन, यो विषयमा पारदर्शिता अपनाउन किन आवश्यक लागेन ? यसको स्वाप रेसियो बुझाउन केही गाह्रो छ । खल्तीको चुक्ता पुँजी केही कम र आइएमई पेको बढी नै थियो । एउटा सम्मानित स्वाप रेसियोको कुरा गर्ने हो भने १ः१ आवश्यक हुन्छ भने त्योभन्दा माथि गए पनि १ः५ को आवश्यक पर्थ्यो होला । यसमा पनि कुनै धेरै माथि र कुनै धेरै कम भन्ने छैन । अहिले हाम्रो चुक्ता पुँजी साढे ५४ करोड रुपैयाँ छ । दुवै मर्जर इन्टीटीको होल्डिङ ५०/५० प्रतिशतको हाराहारीमै छ । यसमा केही तलमाथि होला । कम्पनी पब्लिक भइसकेको छ । भोलि लिष्टिङ हुने बेला अझ धेरै सूचना आउँछ । हामीले जति आवश्यक छ, त्यति डिस्क्लोज गर्छौं । त्यसैले जसको बढी पुँजी छ, उसले अलि बढी कित्ता र जसको कम पुँजी छ, उसले कम कित्ता त पाउने नै भयो । भोलिका दिनहरूमा आईपीओ पाइपलाइनमा जाँदा अन्य विषय बाहिरिन्छन् नै । यसलाई प्राप्ति भन्दा पनि गाभ्ने र गाभिनेका भनेका छौं । त्यो भनेको मर्जर नै हो । अधिकांश संस्थाको मर्जरपछि कर्मचारी समायोजन तथा व्यवस्थापनको विषय चुनौतीको रूपमा हेरिन्छ, यो समस्या आइएमई खल्तीमा छ कि छैन ? यो विषयमा म आफूलाई धेरै भाग्यमानी सम्झिन्छु । हामीले कुनै पनि ‘ले अफ’को योजना ल्याउनु परेन । हामी ग्रोथको चरणमा भएको हुनाले त्यस्तो अवस्थामा पुग्नु परेन । कम्पनीमा समस्या थियो भने खर्च कटौतीको अवस्था आउँथ्यो होला । तर, हामी सस्टेन अवस्थामा छौं । अहिले पनि कम्पनीमा सर्टेन भ्याकेन्सीहरू आवश्यक छ । कर्मचारी समायोजन गर्दैगर्दा दुई जना सीईओ हुन्छन् । यसमा पनि हामीले सीप र मेरिटोक्रेसीको आधारमा निर्णय लिइसकेका छौं । दुई कम्पनीका सबै कर्मचारी पनि अहिले छन् । त्यस्तो कुनै समस्या छैन । तपाईंले फिनटेक उद्योगमा जुन किसिमको प्रगति र पफर्मेन्स गरिरहनु भएको छ, यो सम्भव कसरी भइरहेको छ ? एउटा नेतृत्व सफल हुनका लागि दुइटा कुरा फोकस गर्नुपर्छ । एउटा ‘स्ट्राटेजिक ओरिएन्टेसन र अर्को ‘अपरेसनल इफिसिएन्सी’ । यो विषयलाई आत्मसात गर्दै अगाडि बढ्यो भने नेतृत्व सफल हुन्छ । ‘स्ट्राटेजिक ओरिएन्टेसन’को सबालमा मलाई प्रमोटर तथा बोर्डको तहबाट राम्रो साथ सपोर्ट छ । हिजोका दिनमा खल्तीको सीईओ होस् वा आजको दिनमा आइएमई खल्तीको सीईओ हुँदै गर्दा पनि त्यो साथ छ । आज आइएमई ग्रुप, वर्ल्डलिंक र त्रिवेणी ग्रुपजस्ता ठूल्ठूला कर्पोरेट हाउसहरू हुनुहुन्छ । उहाँहरू सबैको साथ छ । कम्पनीको अपरेशनल तहमा पनि हाम्रो टिम लिडर तथा कर्मचारी साथीहरू डाइनामिक हुनुहुन्छ । सबै युवा हुनुहुन्छ । इनर्जेटिक हुनुहुन्छ । अगाडि फेसमा विनय खड्का देखिए पनि संस्थाको सफलतामा पछाडि ठूलो टिम मेम्बरहरू हुनुहुन्छ । मैले प्रतिनिधित्व मात्रै गर्ने हो । मर्जपछि पनि व्यवस्थापन तहमा जुन टिम मेम्बरहरू हुनुहुन्छ, उहाँहरू सबै एक्सिलेन्ट हुनुहुन्छ । सबैमा केही गरौं भन्ने उत्साह र ऊर्जा छ । कोही वर्षौंदेखि यही फिल्डमा हुनुहुन्छ, कोही नयाँ फिल्डबाट आउनु भएको छ । कतिपय सीएहरू हुनुहुन्छ, एकदमै राम्रो टीम बनेको छ । अब यो टीमले आइएमई खल्ती लिमिटेडलाई अर्कै लेभलमा पुर्याउँछ । यो क्षेत्रमा धेरै कम्पनीहरू समस्यामा छन् । तर, तपाईंले नेतृत्व गरेको कम्पनीले राम्रो प्रगति गरेको देखिन्छ, आफूलाई क्षमतावान ठान्नु हुन्छ कि भाग्यमानी ? यो सबै मेरो टीमको योगदान हो । अर्को- राइट टाइममा राइट काम गर्नु पर्यो त्यसले एउटा नतिजा दिन्छ । यही काम हामीले १५ वर्ष अगाडि गरेको भए सफल हुँदैन थियाैं होला । १५ वर्ष अगाडि स्मार्टफोन पनि थिएनन् । इन्टरनेटको सुविधा त्यो किसिमको थिएन । त्यसैले राइट टाइममा राइट कामसँगै राइट इफोर्ट लगाएर काम गर्यो भने राइट रिजल्ट आउँछ । कुनै न कुनै ठाउँमा भाग्यको पनि योगदान हुन्छ । अर्को म मेरो मेन्टरहरूसँग सधैं नजिक भएर काम गरें । त्यसबाट धेरै कुराहरू सिक्न पाइयो । यो मात्रै सबै कुरा होइन, कुद्नु पर्ने धेरै छ । एउटा लेभलमा पुर्याएपछि रेष्ट भन्ने हुँदैन । आइएमई र खल्ती आफैमा बलियो कम्पनी मर्जर भए, अब आइएमई खल्ती लिमिटेडको प्रतिस्पर्धी को हो ? आजभन्दा १० वर्ष अगाडि पेमेन्ट उद्योग थिएन । अहिले यो उद्योग बन्यो । हजारौंले रोजगारी पाए । सरकारले राजस्व पाइरहेको छ । धेरै कम्पनी आएर यो वातावरण बन्यो । अहिले वार्षिक १७ अर्ब बढीको रेभिन्यू छ । यो सबै कम्पनीको प्रयासले भएको हो । हामी पनि मर्जर गरेर थप बलियो बन्ने नै हो । आजको दिनसम्म खल्ती अथवा आइएमई पे भन्दा तपाईंको दिमागमा वालेट भन्ने आउँथ्यो । पैसा पठाउनु पर्यो भने यी वालेटलाई सम्झिनु हुन्थ्यो । अब हामीले पैसा पठाउने र खर्च गर्नेमात्रै नभएर पैसा कमाउने र लगानीको ठाउँ पनि दिनुपर्छ भनेर काम गर्छौं । म अब यसलाई सुपर वालेट भन्छु । पैसा बचतसँगै लगानीको स्पेस पनि त्यो वालेटले दिन सकोस् । त्यसपछि अझ मर्जरको सार्थकता हुन्छ । हाम्रो वालेट-वालेटसँग प्रतिस्पर्धाभन्दा पनि नगदसँग प्रतिस्पर्धा हो । आजको दिनमा १५/१६ प्रतिशतमात्रै कारोबार डिजिटल हुँदा अझै पनि ठूलो रकम अर्थात् बढीमा ८० प्रतिशत डिजिटल कारोबार बाहिर नै छ । हामी डिजिटल कारोबार ५० प्रतिशत बढी पुर्याउन सक्यौं भने एउटा तहमा पुग्छौं । हिजोको दिनमा २७ वटा वालेट कम्पनीहरुलाई लाइसेन्स दिँदा सबैले अफरिङ गर्ने भनेको युटिलिटिज पेमेन्ट तथा टपअप र टिकेटिङ थियो । तर, आजको दिनमा धेरै सुविधा थप भइसकेको छ । बचतको सुविधा, बीमा पोलिसीको सुविधा, ऋणको सुविधा, एसआईपीको सुविधा लगायत ल्याइरहेका छन् । यो विस्तारै बढ्छन् । सबैको सहकार्यमै डिजिटल कारोबार बढाउनुपर्ने दायित्व छ । अगाडि फेसमा विनय खड्का देखिए पनि संस्थाको सफलतामा पछाडि ठूलो टिम मेम्बरहरू हुनुहुन्छ । उहाँहरू सबै एक्सिलेन्ट हुनुहुन्छ । सबैमा केही गरौं भन्ने उत्साह र उर्जा छ । यो टीमले आइएमई खल्ती लिमिटेडलाई अर्कै लेभलमा पुर्याउँछ । अब वालेट मार्केटमा आइएमई खल्तीको बजार हिस्सा कति हुन्छ ? पेमेन्टमात्रै भनेर लियो भने एउटा हुन्छ । ननपेमेन्ट गतिविधि अर्कै हुन्छ होला । तर, नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार भनेर तथ्यांक सार्वजनिक गर्छ त्यहाँ हाम्रो हिस्सा ४० प्रतिशत छ । तर, यो हिस्सा भन्ने विषय क्षेत्रमा आधारित हुन्छ । कुनै क्षेत्रमा कुनै कम्पनी टप वान हुन्छ भने कुनैमा अर्को कम्पनी हुन सक्छ । एपमा आउने सबैले कारोबार गर्छन् भन्ने छैन । अन्य उद्देश्यका लागि पनि आउँछन् । हाम्रो उद्देश्य भनेको सबैमा नम्बर वान बन्ने पनि होइन । हामी आफ्नो भिजन र उद्देश्य लिएको काममा नम्बर वान नै हुने हो । अरू धेरै क्षेत्रमा त अन्य जसले पनि काम गर्न सक्नुहुन्छ । तपाईंको नेतृत्वमा आइएमई खल्ती लिमिटेड कस्तो हुन्छ ? कम्पनीलाई कस्तो बनाउनुहुन्छ ? खल्ती बाई आइएमई खर्च गर्ने र पैसा पठाउने प्लेटफर्म भन्दा पनि यो बचत पनि गर्न सकिने बनाउँदैछौं । यसबाट लगानी पनि गर्न सकिन्छ । यो सुविधालाई हामीले स्थापित गर्नुपर्नेछ । विभिन्न दूरदराजमा वित्तीय पहुँच र समावेशिता पनि छैन । त्यहाँको मान्छेले ५ हजार ऋण लिन चाह्यो भने आजको संरचनाले सम्भव छैन । बैंकबाट ५ हजार ऋण लिन पनि सम्भव छैन । अब यो सुविधा हामी दिन्छौं । अबको केही वर्षपछि हामी पब्लिकमा जाँदैछौं । यो कम्पनीको मालिक पनि सर्वसाधारण नै हुन्छन् । २० प्रतिशतको हाराहारीमा पब्लिकका लागि सेयर जारी गर्न सकिन्छ । पछिल्लो समय अधिकांश वालेट कम्पनीहरू समस्यामा छन् भन्ने सुनिन्छ, वालेटको बजार र बिजनेस कस्तो छ ? केही कम्पनीहरू समस्यामा छन् । केही नयाँ पनि आइरहेका छन् । वालेट मार्केटकै लागि नयाँ न्यूजहरू पनि आइरहेका छन्, जुन यो क्षेत्रका लागि राम्रो हो । यो क्षेत्रका लागि लगानी ठूलो चाहिन्छ । कतिपय कम्पनीले लाइसेन्स पाए पनि लगानी ठूलो चाहिने भएको कारणले बजारमा आउन सकेका छैनन् । बजारमा आउने कि नआउने भन्नेमा ती कम्पनीहरू दोधारमा छन् । नियमनका हिसाबले पनि दैनिक राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने हुन्छ । आन्तरिक नियमन, विभिन्न नीति निर्देशन तथा मापदण्ड परिपालना, आन्तरिक अडिट, सेक्युरिटी निरन्तर रुपमा गर्नुपर्ने हुन्छ । यो नर्मल व्यवसाय होइन । आज लगानी गरेर भोलि प्रतिफल पाइने क्षेत्र पनि होइन । ब्राण्ड अर्थात् भ्यालू सिर्जना गर्नुपर्ने हुन्छ । डिजिटल वालेटमा विकृति पनि बढेको देखिन्छ, वालेटहरूले गैरकानुनी काम गर्ने स्थिति कसरी बन्यो ? सबै कम्पनीको बारेमा जानकारी हुने कुरा त भएन । तर, जसले राम्रो काम गरेर विभिन्न नीति नियमहरूको पालना गरेर काम गरेका छन्, जसले राम्रो नियत राखेर डिजिटल सेवा दिन्छु भनेर काम गरेका छन् ती कम्पनीहरू राम्रैसँग चलेका छन् । करोडौं लगानी गरेर आएका कम्पनीले क्षणिक लाभको लागि त्यस्तो काम गरेको देखिँदैन । जस्तै- हाम्रै संस्थाको कुरा गर्नुहुन्छ भने नौ वर्षदेखि हामी सञ्चालनमा छौं । ९ वर्षदेखि मलाई प्रतिफल दिनु भनेर सेयरधनीले दबाब दिएको अवस्था छैन । गलत काम गैरकानुनी काम गरेर पैसा कमाउन पाइन । हाम्रो कम्पनीमा चुक्ता पुँजी बाहेक पनि करोडौं लगानी भएको छ । जस्तै अहिले हाम्रो साढे ५४ करोड पुँजी छ, त्यो बाहेक पनि हामीले विभिन्न समयमा भित्र्याएको लगानी त्यसमा गणना भएको छैन । त्यो पैसा सेयर प्रिमियममा विभिन्न अकाउन्टमा छ । कमाएको पैसा पनि हामीले कम्पनीमै रिइन्भेष्ट गरिरहेका छौं । हामीलाई तत्कालै जथाभावी काम गरेर पैसा कमाउने दबाब पनि छैन, आवश्यक पनि छैन । अहिले हामी एउटा सस्टेनेबल लेभलमा आइसकेका छौं । एक करोड २७ लाख ग्राहक लिएर बस्दा पनि बदमासी गरेर बस्यो भने के हुन्छ पब्लिकको विश्वास । डिजिटल वालेटको प्रतिफलको अवस्था कस्तो छ ? प्रतिफल दुइटा कोणबाट हेर्न सकिन्छ । हामीले पहिले अर्थशास्त्र पढ्दा ‘वेल्थ म्याक्सिमाइजेसन’ र ‘प्रफिट म्याक्सिमाइजेसन’ भनेर पढ्थ्यौं । प्रफिट म्याक्सिमाइजेसन हेर्ने हो तत्काल नतिजा नआउन सक्छ । त्यसका लागि लामो समय लाग्छ । जब प्रफिट सुरु हुन्छ त्यसपछि अर्कै स्केलको हुन्छ । सुरुमा पूर्वाधार, प्रविधि र बजारमा ठूलो लगानी गर्नुपर्ने हुन्छ । एक समय पार गरिसकेपछि आफ्नो उद्देश्य क्लियर छ, सही नियतले काम गर्यो भने दीर्घकालमा यो क्षेत्रमा राम्रो प्रतिफल पाउन सकिन्छ । पछिल्लो समय फिनटेकमा ठूला व्यवसायी तथा कर्पोरेट हाउसको प्रवेश भएको देखिन्छ, उनीहरूको प्रवेशले यो क्षेत्रलाई पार्ने प्रभाव कस्तो हुन्छ ? यो क्षेत्रमा ठूलो लगानी चाहिन्छ । कुनैले स्टार्टअप सुरु गर्यो तर लगानी थप्दै गएन भने समस्या नै सिर्जना हुन्छ । पछि व्यवसाय नै छोड्नु पर्ने अवस्था आउँछ । यो ठूलो लगानी चाहिने क्षेत्र भएकोले ठूला कर्पोरेट हाउसहरु यो क्षेत्रमा प्रवेश गर्न आवश्यक छ । अर्को- यो उहाँहरूको लगानी विविधीकरण पनि हो । अहिले विश्वको टप टेन कम्पनी हेर्ने हो भने सातवटा टप कम्पनी टेकमा इनेवल छ । अहिले पनि आइएमई खल्तीले दैनिक चार/पाँच लाख कारोबार प्रोसेस गर्छ । प्रत्यक्ष लाखौं मानिस जोडिएका छन् । यसले हाम्रो ब्राण्ड पनि बढाउँछ । यसले कर्पोरेट हाउसलाई पनि हरेक पक्षबाट राम्रो भयो । यो क्षेत्र सधैं सानो स्टार्टअपभन्दा पनि ठूला लगानी गरेर एउटा उद्योगका रूपमा पनि स्थापित हुन सक्छ । त्यसैले पनि ठूला लगानीकर्ता यो क्षेत्रमा आउनु समग्र यो क्षेत्रका लागि राम्रो हो । अहिले धेरै नेपालीहरू विदेशमै गएर उतै टेकमा लगानी बढाइरहेको सुनिन्छ, यो अवस्था किन आयो ? यसलाई म सकारात्मक रूपमा लिन्छु । नेपालमा बनेका टेक्नोलोजी र सिस्टमहरू वर्ल्ड क्लास छन् । आजको दिनमा युरोपमा एउटा पेमेन्ट सेटल हुनलाई २४ घण्टा सम्म लाग्छ । हामी तीन सेकेन्डमा भएन भने प्यानिक हुन थाल्ने अवस्था आइसक्यो । त्यो खालको अपेक्षा भइसकेको छ । हामीले त्यो लेभलको टेक्नोलोजी डेलिभर गरेका छौं । सबै कुराहरू यहाँ डेभलप हुँदै गर्दा भोलिका दिनमा यहाँ डेभलप भको सिस्टम यहीँ मात्र प्रयोग हुनुपर्छ भन्ने पनि छैन । त्यो सिस्टमलाई बाहिर लिएर अझ एक्सपान्ड गर्न सक्यो भने त नेपाललाई टेक हबका रूपमा स्थापित गर्न सकिन्छ । नेपालीहरू विदेश गएर विभिन्न कम्पनीमा लगानी गरेको समाचार मैले पनि सुनेको छु । हाम्रै साथीहरू पनि हुनुहुन्छ । जुन राम्रो कुरा हो । अहिले नेपाल सरकारले पनि विदेशमा आइटी कम्पनीको शाखा खोल्न सक्ने व्यवस्था गरेको छ । यसले दीर्घकालमा ठूलो टेवा पुग्छ । नेपालमै बसेर विश्वका लागि काम गर्न सक्ने अवस्था सिर्जना हुनु र नेपालमै बनेको प्रविधि विदेशी बजारमा बिक्री गर्नु आफैमा राम्रो सन्देश पनि हो । उनीहरू विदेश गएर काम गरेको नेपालमा काम गर्ने वातावरण नभएर भन्दा पनि नेपालमा राम्रोसँग स्थापित भइसकेका कम्पनीहरू बाहिर गएर फराकिलो बजार बनाउन थालेका हुन सक्छन् । जुन नेपालको गौरवको विषय पनि हो । नेपालीहरू विदेश गएर विभिन्न कम्पनीमा लगानी गरेको समाचार मैले पनि सुनेको छु । हाम्रै साथीहरू पनि हुनुहुन्छ । जुन राम्रो कुरा हो । यसले दीर्घकालमा ठूलो टेवा पुग्छ । अन्तर्राष्ट्रिय फिनटेक उद्योग र नेपाली बजारलाई कसरी तुलना गर्नुहुन्छ ? नेपालले पनि कतिपय कुरामा राम्रो फड्को मारेको छ । कतिपय कुरामा पछाडि पनि छौं । नेपालमा क्युआर पेमेन्टमा राम्रो विकास भएको छ । फास्ट पेमेन्ट सिस्टममा राम्रो काम भएको छ । अन्य देशको तुलना गर्ने हो भने डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको खाँचो छ । अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । राज्य तहबाटै इन्टरभेन्सन हुन आवश्यक छ । जस्तै हामीले दैनिक साढे पाँच लाख कारोबार संख्या गर्छौं भने अन्य कम्पनीले पनि गर्छन् होला । सरकारले नीतिगत व्यवस्था सही गर्न आवश्यक छ । हामी पनि प्रतिस्पर्धा गर्न सक्छौं । पछिल्लो समय टेक कम्पनीमा कर्मचारीहरू हन्टिङको विषय एकदम ठूलो देखिन्छ । कतिपय विदेशका कम्पनीहरूले हन्टिङ गरेको हामी सुन्छौं, यो समस्या कस्तो छ ? यो विषय नौलो त होइन । यो समस्या पहिले बैंक तथा वित्तीय क्षेत्रमा थियो । एउटा विकास हुँदै गर्दा प्लेयरहरू सबै क्षेत्रमा हुन्छन् । प्रतिस्पर्धा हुन्छ नै । एउटाको स्टाफ अर्काले तान्ने प्रक्रिया सबै क्षेत्रमा हुन्छ । विदेशका कम्पनीले हन्टिङ गर्ने विषयलाई पनि म स्वाभाविक मान्छु । त्यहाँ आम्दानी पनि त्यही किसिमको हुन्छ । तर, कर्मचारीले पनि म कस्तो संस्थामा काम गर्दैछु, मेरो जिम्मेवारी र भूमिका के हो भन्ने कुरा पनि बुझ्नुपर्छ ।