एप्पलविरुद्ध कानुनी लडाइँ लड्दै मस्क, एप स्टोरमा ‘शक्ति प्रदर्शन’ को आरोप

काठमाडौं । अर्बपति एलन मस्कले सोमबार आफ्नो कृत्रिम बौद्धिकता (एआई)  स्टार्टअप एक्सएआईले  एप्पलविरुद्ध एपस्टोर र्‍याङ्किङसम्बन्धी विषयमा एन्टिट्रस्ट (प्रतिस्पर्धा विरोधी) नियम उल्लंघन गरेको आरोप लगाउँदै कानुनी कारबाही गर्ने बताएका छन् । ‘एप्पल यस्तो ढंगले व्यवहार गर्दैछ जसले ओपनएआई बाहेक कुनै पनि एआई कम्पनीलाई एप स्टोरमा #1 स्थानमा पुग्न असम्भव बनाइदिन्छ, जुन स्पष्ट रूपमा एन्टिट्रस्ट उल्लंघन हो । एक्सएआईले तत्काल कानुनी कारबाही गर्नेछ,’ मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् । मस्कले आफ्नो दाबीको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेका छैनन् । एप्पल, ओपनएआई र एक्सएआईले रोयटर्सको टिप्पणीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिएका छैनन् । हाल अमेरिकामा आइफोनका लागि एप स्टोरको ‘टप फ्री एप्स’ सूचीमा च्याटजीपीटी पहिलो स्थानमा छ भने एक्सएआईको ग्रोक पाँचाैं र गुगलको जेमिनी च्याटबट ५७ औं स्थानमा छ । सेन्सर टावरका तथ्याङ्कअनुसार गुगल प्ले स्टोरमा पनि च्याटजीपीटी नै शीर्ष स्थानमा छ । एप्पलको ओपनएआईसँग साझेदारी छ, जसअन्तर्गत च्याटजीपीटीलाई आइफोन, आइप्याड र म्याकमा एकीकृत गरिएको छ । ‘एप्पल एप स्टोर जब एक्स विश्वकै #1 समाचार एप हो र ग्रोक सबै एपहरूमा #5 छ, तब तपाईं किन एक्स वा ग्रोकलाई ‘मस्ट ह्याभ’ सेक्सनमा राख्न अस्वीकार गर्नुहुन्छ ? के तपाईं राजनीति खेल्दै हुनुहुन्छ ?,’ मस्कले सोमबारको अर्को पोस्टमा लेखेका छन् । मस्कको टिप्पणी त्यतिबेला आएको हो जब नियामक निकाय र प्रतिस्पर्धीहरूले एप्पलको एप स्टोर नियन्त्रणमाथि कडा निगरानी बढाएका छन् । गत अप्रिलमा अमेरिकी न्यायाधीशले एप्पलले आफ्नो एप स्टोरमा बढी प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने अदालतको आदेश उल्लङ्घन गरेको ठहर गर्दै कम्पनीलाई आपराधिक अवहेलना अनुसन्धानका लागि संघीय अभियोजकलाई पठाएका थिए । यो मुद्दा फोर्टनाइट निर्माता एपिक गेम्सले दायर गरेको हो । युरोपेली संघको एन्टिट्रस्ट निकायले गत अप्रिलमा एप्पललाई ५० करोड युरो (५८ करोड ७० लाख डलर) जरिवाना लगाएको थियो, जसमा उसले प्रविधिक र व्यावसायिक प्रतिबन्ध लगाई विकासकर्ताहरूलाई एप स्टोरबाहिर सस्तो डिलहरूमा प्रयोगकर्तालाई लैजान नदिएको, डिजिटल मार्केट्स एक्टको उल्लङ्घन गरेको निष्कर्ष निकालेको थियो । अलिबाबाबाट अर्बौं कमाएका सोन ३०० वर्ष टिक्ने एआई साम्राज्य बनाउँदै ४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास  

भुक्तानी सेवा प्रदायकलाई कडाइ, नियम नमान्नेलाई २० लाखसम्मको जरिवानादेखि खारेजीको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुका लागि सम्पत्ति शुद्धिकरणसम्बन्धी निर्देशिका जारी गर्दै कडाइ गरेको छ । राष्ट्र बैंकले सोमबार लक्षित वित्तीय प्रतिबन्ध निर्देशिका जारी गर्दै केही कडाइ गरेको हो । राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण ( मनि लाउन्डरिङ्ग) नियमावली २०८१ को परिच्छेद-६ को नियम ६९ को उपनियम (३) मा भए व्यवस्थाअनुसार सो निर्देशिका जारी गरेको उल्लेख गरेको छ ।  निर्देशिका अनुसार अब भुक्तानी सेवा प्रदायकले संयुक्त राष्ट्र संघको सूचीको अटोमेटेड ईमेल सूचना प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ भने गृह मन्त्रालयद्वारा सञ्चालित टीएफएस पोर्टलमा दर्ता गर्ने वा नियमित रूपमा वेबसाइट हेरेर तोकिएका व्यक्तिहरूको सूचीकरण र सूचीबाट हटाउने सम्बन्धी जानकारी प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ ।  राष्ट्र बैंकले लक्षित वित्तीय प्रतिबन्ध व्यक्ति तथा समूहको परिभाषा पनि स्पष्ट गरेको छ । तोकिएको व्यक्ति र प्रतिबन्धित सूची भन्नाले भन्नाले संयुक्त राष्ट्र संघको सूची (यूएन लिस्ट) र गृह मन्त्रालयद्वारा प्रकाशित घरेलु आतंककारी सूचीमा समावेश भएका व्यक्ति, समूह र निकायलाई वित्तीय प्रतिबन्ध व्यक्तिका रूपमा व्याख्या गरेको छ ।  यस्तै, भुक्तानी सेवा प्रदायकहरूले आफ्ना ग्राहकहरू (नयाँ र पुरानो दुवै), कारोबारका पक्षहरू, वास्तविक धनी, निर्देशकहरू र एजेन्टहरूका नामहरू प्रतिबन्धित सूचीसँग मेल खान्छन् कि भनेर दैनिक र निरन्तर जाँच मानव वा स्वचालित प्रणालीबाट गर्नुपर्ने व्यवस्था पनि गरेको छ । ग्राहक अनबोर्डिङ गर्नुअघि र आकस्मिक कारोबार सहजीकरण गर्नुअघि प्रारम्भिक स्क्रिनिङ अनिवार्य गरिएको छ ।  यदि प्रतिबन्धित सूचीमा रहेका व्यक्ति, संस्था वा समूहसँग पूर्ण मिलान भुक्तानी सेवा प्रदायकले तत्काल र पूर्वसूचना बिना ती व्यक्तिको स्वामित्वमा रहेका वा नियन्त्रणमा रहेका सबै रकम तथा सम्पत्ति रोक्का गर्नुपर्ने व्यवस्था गरेको छ । साथै तोकिएका व्यक्तिलाई कुनै पनि प्रकारको रकम उपलब्ध गराउन वा वित्तीय सेवा वा अन्य सम्बन्धित चेवाहरू प्रदान गर्न पूर्ण निषेध गरिएको छ ।  तोकिएको व्यक्ति र सूचीमा नभएको पक्ष दुवैको स्वामित्वमा सम्पत्ति छ र तोकिएको व्यक्तिको हिस्सा छुट्याउन सकिन्छ भने सो व्यक्तिको हिस्सा मात्र रोक्का गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।  कुनै पनि सम्पत्ति रोक्काको उपाय वा तोकिएका व्यक्तिसँगको कारोबारको प्रयास भएमा भुक्तानी सेवा प्रदायकले ३ दिनभित्र नेपाल राष्ट्र बैंकलाई रिपोर्ट गर्नुपर्ने निर्देशिकमा उल्लेख छ ।  राष्ट्र बैंकले यो निर्देशिकाको पालना नगर्ने भुक्तानी सेवा प्रदायकलाई चेतावनी दिनेदेखि लाइसेन्स खारेजीसँगै १० लाखदेखि २० लाख रुपैयाँसम्मको जरिवाना गर्न सक्ने व्यवस्था पनि गरेको छ ।  यस्तै, सम्पत्ति रोक्का गरिएका व्यक्तिले आफ्नो र परिवारका लागि आधारभूत मानवीय आवश्यकता (दैनिक खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा खर्च, कानुनी शुल्क) पूरा गर्न गृह मन्त्रालयमा निवेदन दिन सक्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ । यद्यपि, संयुक्त राष्ट्र संघको सूचीमा रहेका व्यक्तिको हकमा भने सम्बन्धित युनएससी प्रतिबन्ध समितिले गरेको निर्णयअनुसार रकम फुकुवा हुने उल्लेख छ । 

बैंकको बिजनेसमा उल्लेख्य सुधार, नाफासँगै लाभांश पनि बढ्ने अपेक्षा

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । वित्तीय विवरणलाई लगानीकर्ता तथा सेयरधनीहरूले निकै चासोको रूपमा लिइरहेका छन् । आफूले लगानी गरिरहेको कम्पनी र लगानी गर्ने योजना बनाएका व्यक्ति तथा संस्थाका लागि वित्तीय विवरणहरू मुख्य आधार हुन् । पछिल्लो तथ्याङ्कअनुसार एभरेष्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक र माछापुच्छ्रे बैंकसहित ७ वटा वाणिज्य बैंकले गत वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका हुन् । सार्वजनिक तथ्याङ्कका आधारमा ७ वटा बैंकले गत वर्ष २० अर्ब ४६ करोड १ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकि अघिल्लो वर्ष तीनै ७ वटा बैंकले १४ अर्ब ४४ करोड ८७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष ४१.६० प्रतिशत बढी नाफा गरेका हुन् । गत वर्ष बैंकहरूले ५७ अर्ब ४२ करोड २९ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । अघिल्लो वर्ष ५३ अर्ब ८२ करोड ८२ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । यस्तै, गत वर्ष बैंकहरूको वितरणयोग्य नाफा १६ अर्ब ४४ करोड ७ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ती बैंकहरुको ७ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको थियो । तथ्याङ्कअनुसार गत वर्ष ७ बैंकको औसत खराब कर्जा ३.४९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ३.२ प्रतिशत औसत खराब कर्जा रहेको थियो । यी ७ बैंकले गत वर्षसम्म १८ खर्ब ५६ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी १३ खर्ब ८९ अर्ब २९ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षसम्म १५ खर्ब ९५ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी १२ खर्ब ८५ अर्ब २४ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।  एभरेष्ट बैंक  एभरेष्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्ष बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.३८ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ, खुद शुल्क तथा कमिशन आम्दानी १३.८३ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८९ लाख ४३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १७.४७ प्रतिशत बढेर ११ अर्ब १६ करोड ६४ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.६३ प्रतिशत बढेर ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँ गरेको छ ।                                                                     गत वर्ष बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेर ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३० करोड २३ लाख ६९ हजार रुपैयाँ थियो भने लाभांश क्षमता २८.०६ प्रतिशत थियो ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ, सेयर प्रिमियम २३ करोड ८४ लाख ७० हजार रुपैयाँ र जगेडामा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन ३८.६२ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख ४५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड ६६ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब २१ करोड ५३ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । सानिमा बैंक सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेर २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७३ लाख ३७ हजार रुपैयाँ थियो भने लाभांश क्षमता १०.६६ प्रतिशत थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी २.८१ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ करोड १६ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ र जगेडामा ६ अर्ब ५६ करोड ७१ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन १३.५६ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ र कर्जा लगानी १०.६८ प्रतिशत बढेर १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ११.७३ प्रतिशत छ । कृषि विकास बैंक कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ३.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.२६ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५५ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकको सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड ६० लाख ८७ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता १३.०६ प्रतिशत थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी २.१३ प्रतिशत बढेर १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ र जगेडा कोष १२.३७ प्रतिशत बढेर १६ अर्ब ९९ करोड २६ हजार रुपैयाँ पुगेको छ ।  निक्षेप संकलन २०.५० प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार रुपैयाँ र कर्जा लगानी ४.६७ प्रतिशत बढेर २ खर्ब १३ अर्ब १४ करोड २८ लाख ९ हजार रुपैयाँ गरेको छ ।  सिटिजन्स बैंक सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप संकलन ११.७६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ८९ अर्ब २३ करोड ६६ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।  गत वर्ष बैंकको कर्जा लगानी १०.१८ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५३ अर्ब ३४ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७२ करोड ३८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस्तै, बैंकको सेवाशुल्क तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ३४ करोड ७० लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.१२ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २.३२ प्रतिशत घटेर २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढेर ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ५.२५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता ४.३२ प्रतिशत थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ९.६० प्रतिशत बढेर ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।  गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ४.१० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.९४ प्रतिशत पुगेको छ । सिद्धार्थ बैंक  सिद्धार्थ  बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशत बढेर ८ अर्ब ४३ करोड रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी १५.०८ प्रतिशत बढेर १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ, सञ्चालन आम्दानी ११.८२ प्रतिशत बढेर ११ अर्ब १६ करोड रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश वितरण क्षमता १३.२२ प्रतिशत रहेको छ । गत वर्ष बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ र जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन १६.१६ प्रतिशत बढेर २ खर्ब ८० अर्ब रुपैयाँ र कर्जा लगानी ९.७६ प्रतिशत बढेर २ खर्ब १४ अर्ब रुपैयाँ गरेको छ ।  कुमारी बैंक कुमारी बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशत वृद्धि गरी ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत बढेर १५ अर्ब १३ करोड ३० लाख ५२ हजार रुपैयाँ, सञ्चालन नाफा ५२९.८७ प्रतिशत बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ३८ लाख १९ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३६ करोड ७४ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो ।  बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको निक्षेप संकलन ९.४६ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ र कर्जा लगानी २.७८ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ । अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ६.४२ प्रतिशत पुगेको छ ।    माछापुच्छ्रे बैंक  माछापुच्छ्रे  बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १५.४० प्रतिशत ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ६ लाख ७४ हजार रुपैयाँ, सञ्चालन नाफा ९९.९१ प्रतिशत बढेर ३ अर्ब ३३ करोड २ लाख ३८ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी १८.१६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५१ लाख ७६ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ९.२३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सेयर प्रिमियम ३ करोड ८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोष ६ अर्ब ३१ करोड १० हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको निक्षेप संकलन १६.०९ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ११.७४ प्रतिशत १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.८३ प्रतिशतमा झरेको छ।