रमेश हमालले ८० करोड ऋण लिएर होटल बनाउँदै, धुलिखेलमा बन्दैछ सुविधा सम्पन्न हिमालयन रिसोर्ट

काठमाडौं । ओमस्टोन एशिया प्राइभेट लिमिटेडले ८० करोड रुपैयाँ ऋण लिने भएको छ । आफ्नो विजनेस विस्तारका लागि कम्पनीले ऋण सुविधा लिने भएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको समेत सेयर स्वामित्व रहेको यस कम्पनीले धुलिखेलमा सुविधा सम्पन्न होटल बनाइरहेको छ । कम्पनीले होटल निर्माणका लागि नै ऋण लिन लागेको हो । कम्पनीले ऋण सुविधाका लागि इक्रा नेपालबाट एलबी प्लसको रेटिङ पाएको छ । कम्पनीले थाइल्याण्डको हस्पिटालिटी ग्रुप दुषित थानी अन्तर्गत रहेर होटल निर्माण गरिरहेको छ । कम्पनीले दुषित थानी हिमालयन रिसोर्ट नाम राखेको छ । यस कम्पनीमा दुवईमा व्यवसाय गर्दै आएका भारतीय व्यवसायी विष्णु मोरको पनि लगानी छ । यो कम्पनीले दुषित थानी समूहसँग १० वर्षका लागि व्यवस्थापनको सम्झौता गरेको छ । अहिले निर्माणाधीन होटल सन् २०२३ भित्र सञ्चालनमा ल्याइसक्ने कम्पनीको योजना छ । कम्पनीले विदेशमा हाउजिङ तथा रियल स्टेट क्षेत्रमा काम गर्दै आएको छ ।धितोपत्र बोर्डका अध्यक्ष हमालसँग पनि सो क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव छ । उनले करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ । उनले संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेका थिए । हमाल पूर्व गैरआवासिय नेपाली पनि हुन् । उनले एनआरएन थाइल्याण्डका पूर्व अध्यक्षका रुपमा काम गरिसकेका छन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव छ । हमाल पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रुपमा पनि परिचित छन् । त्यसैले पनि उनले अहिले होटल क्षेत्रमा लगानी गरेका हुन् ।

लाभांशमा स्ट्याण्डर्ड चार्टर्ड बैंकका सेयरधनीलाई मालामाल, यस्तो छ २३ वर्षको इतिहास

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको कात्तिक १४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात् र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । नेपालको बैंकिङ्ग क्षेत्रमा स्टाण्डर्ड चार्टर्ड बैंकले ३५ वर्ष योगदान गरेको छ । वि.स. २०५३ सालामा स्थापना भएको स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २०६४ साल साउन ९ गते मात्रै सूचीकृत भएको थियो । संस्थापक समूहको ७५ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको यस बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५३ हजार रुपैयाँ रहेको छ । नेपालमा कर्पोरेट बैंकिङ अग्रणी बैंकमा रहेको यो बैंकले विगत २३ वर्षदेखि लाभांश वितरण गर्दै आएको छ । यस बैंकले हालसम्म्म न्यूनतम ११.४८ प्रतिशतदेखि अधिकतम् १४० प्रतिशतसम्म लाभांश वितरण गरेको छ । यस्तो छ बैंकको लाभांश इतिहास बैंकले आर्थिक वर्ष २०६५/६६ मा सेयरधनीहरूलाई ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल १०० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६६/६७ मा सेयरधनीहरूलाई ५५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/६८ मा बैंकलेसेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/६९ मा सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ४५ प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/७० मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ४० प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ४१.५ प्रतिशत नगद गरि कूल ५१.५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १९.२१ प्रतिशत नगद गरि कूल ४४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/७३ मा बैंकलेसेयरधनीहरूलाई ३३(३३ प्रतिशत बोनस र १.७५ प्रतिशत नगद गरि कूल ३५.०८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/७४ मा सेयरधनीहरूलाई १०० प्रतिशत बोनस र ५.२६ प्रतिशत नगद गरि कूल १०५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीहरूलाई १७.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरूलाई २२.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद गरि कूल ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि कूल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

विश्वकप २०२२ : लागत २२० अर्ब डलर, फिफाले साढे ६ अर्ब डलर कमाउने, दर्शकका लागि महँगो

काठमाडौं । फिफा विश्वकप २०२२ नोभेम्बर २० बाट सुरु हुँदैछ । हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो जुन एशियामा दोस्रो पटक आयोजना हुन लागेको हो । कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हो भने एसियामा विश्वकप दोस्रो पटक हुन लागेको हो । २९ दिनसम्म चल्ने यस प्रतियोगितामा ३२ राष्ट्रको सहभागितामा कुल ६४ खेल हुनेछन् । जसमध्ये ४८ लिग खेल हुनेछन् । यहाँ राम्रो प्रदर्शन गर्ने १६ टोलीले अर्को चरणमा प्रवेश गर्नेछन्, जुन डिसेम्बर ३ देखि ७ सम्म प्रतिस्पर्धा चल्नेछ । सबै टोलीलाई आठ समूहमा विभाजन गरिएको छ र लिग खेलपछि प्रत्येक समूहमा पहिलो दुई स्थानको शीर्ष १६ राउण्ड र त्यसपछि आठ टोलीबीच क्वाटरफाइनल खेल हुनेछ। सेमिफाइनल खेलहरू डिसेम्बर १४ र १५ मा हुनेछ। सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि डिसेम्बर १७ मा भिड्नेछन् भने प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । यस प्रतियोगितामा हुने ६४ खेल सातवटा रंगशालामा खेलाइनेछ । अहिलेसम्मकै महँगोविश्वकप आगामी नोभेम्बरबाट कतारमा हुन लागेको विश्वकप अहिले सम्मकै सर्वाधिक महँगो विश्व कपका रुपमा लिइएको छ । विश्वकपका लागि भैतिक संरचना निर्माणको काम सकिएको आयोजक राष्ट्रले जनाएको छ । यसभन्दा अगाडि रुसमा सम्पन्न विश्वकपको तुलनामा कतारमा हुन लागेको विश्वकपमा २० गुणा बढी खर्च भएको छ । रसियामा भएको विश्वकपमा १४.२ अर्ब डलर खर्च भएको थियो भने कतारमा हुन लागेको विश्वकपमा २२० बिलियन डलर खर्च हुने भएको छ । कतारले नयाँ स्टेडियम निर्माणका लागि मात्रै १० बिलियन डलर खर्च गरेको छ । यस्तै, सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ११.६ अर्ब डलर, सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपमा ३.६ अर्ब डलर, सन् २००६ मा जमर्नमा भएको खेलमा ४.६ अर्ब डलर र सन् २००२ मा दक्षिण कोरियामा भएको खेलमा कुल ७ अर्ब डलर खर्च भएको थियो । यस्तै, सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा २.३३ अर्ब डलर, सन् १९९४ मा अमेरिकामा भएको खेलमा ५० करोड डलर र सन् १९९० इटालीमा भएको विश्वकपमा ४ अर्ब डलर खर्च भएको थियो । सबै देशको भएको विश्वकपको तुलनामा २०२२ मा कतारमा हुने विश्वकप सबैभन्दा महँगो हुने देखिएको हो । एअर कन्डिसन युक्त रंगशाला विगतमा फिफाले प्रायःजसो जुन वा जुलाई महिनामा विश्वकपको आयोजना गर्ने गर्दथ्यो । कतारमा हुन लागेको विश्वकप भने नोभेम्बर २० बाट सुरु हुने भएको हो । विश्वकपका लागि ८ वटा रंगशाला निर्माण भएका छन् । मौसमलाई ख्याल गरेर विश्वकप खेलाउनका लागि निर्माण गरिएका रंगशालाहरुलाई एअर कन्डिसनयुक्त बनाइएको छ । यसरी पुरै रंगशालामा एअर कन्डिसन जडान गरिएको यो पहिलोपटक हो । फुटबलका फ्यानहरुलाई पनि महँगो कतारमा विश्कप हेर्न जान चाहने फ्यानहरुले टिकट, बसाई र जहाज भाडाको लागि झण्डै २० हजार डलर खर्च गर्नुपर्ने भएको छ । जसले गर्दा थोरै खर्च गरेर विश्वकप हेर्न जान चाहेका फ्यानहरुलाई निराश बनाएको छ । स्थानीय मानिसको लागि टिकटमा छुटको व्यवस्था गरिएको छ । तर, बाहिरी दशर्कहरुको लागि भने स्टेज टिकट कम्तिमा ७० देखि २२० डलर र नकआउट म्याचेच टिकट ६०० देखि १६०० डलर लाग्ने बताइएको छ । ८० प्रतिशत कोठा बुुक विश्वकपका दर्शकहरुका लागि कोठा उपलब्ध गराउनुु जुनसुकै विश्वककप आयोजक देशका लागि चुनौतीपूर्ण विषय हो । कतारमा रहेको कुल होटलमध्ये हालसम्म ८० प्रतिशत होटल बुक भइसकेको बुझिएको छ । कतारको अर्थतन्त्रमा सघाउ आयोजक राष्ट्रले विश्वकप स्वतः खेल्न पाउँछ । विश्वकप खेल्न आयोजक राष्ट्र स्वत छनोट त हुन्छ, तर त्यसका लागि पूर्वाधार तथा व्यवस्थापनका लागि ठूलो लगानी गरेको हुन्छ । जसका कारण आयोजक देशको राष्ट्रिय अर्थतन्त्र चलायमान हुने गरेको छ । कतारले विश्वकप आयोजनाबाट २० अर्ब बढी डलरको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्वकप आयोजनाका लागि देशहरूले फिफा समक्ष आवेदन दिनुपर्छ जसमा फिफाले कर छुटको सुविधा पनि अपेक्षा राख्छ । फिफाले साढे ६ अर्ब डलर कमाउने फिफाले २०२२ को विश्वकपबाट ६.५ अर्ब डलर कमाउने अनुमान गरेको छ । २०१८ को विश्वकपबाट फिफाले करिब ५.२ अर्ब डलर आम्दानी गरेको थियो भने सन् २०१४ मा ४.८ अर्ब डलर आम्दानी गरेको थियो । यस्तै, फिफाले २०१० मा ४.२ अर्ब डलर, सन् २००६ मा २.६ अर्ब डलर र सन् २००२ मा १.६ अर्ब डलर आम्दानी गरेको थियो ।