प्रिमियममा युनियनलाई उछिन्दै सूर्यज्योति, आइएमई लाइफ आक्रामक
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा ८३ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेका छन् । सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीले साउनदेखि माघ महिनासम्ममा सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५७ प्रतिशतल बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा ८१ अर्ब ३० करोड रुपैयाँ बराबरको जीवन बीमा प्रिमियम संकलन गरेका थिए । १८ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सको अग्रता कायमै रहेको छ । इन्स्योरेन्सले ७ महिनामा २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको तुलनामा २.६६ प्रतिशतले बढी हो । त्यस्तै, दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, तेश्रोमा नेशनल लाइफ र चौथोमा राष्ट्रिय बीमा संस्थान रहेका छन् । यी तीन वटै कम्पनीको बीमाशुल्क क्रमशः ४.८४, १३.७५, ०.८६ र १.२४ प्रतिशतले बढेको हो । त्यसैगरी, हालै दुई कम्पनी मर्ज भइ बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स पाँचौं स्थानमा पर्न सफल भएको छ । कम्पनीले कूल ४ अर्ब ८६ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन साविकका सूर्य लाइफ र ज्योति लाइफले गत वर्ष संकलन गरेको बीमाशुल्कको तुलनामा १.२४ प्रतिशतले बढी हो । साविकका दुई कम्पनीले २०७८ माघसम्ममा कूल ४ अबए ८० करोड रुपैयाँ प्रिमियम उठाएका थिए । बिजनेश ग्रोथको आधारमा हेर्ने हो भने आइएमई लाइफ इन्स्योरेन्स आक्रामक देखिएको छ । एक वर्षको अवधिमा कम्पनीले २२.०७ प्रतिशतले आफ्नो व्यवसाय बढाउन सफल भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । कम्पनीले चालु आवको ७ महिनामा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । गत वर्षको तुलनामा व्यवसाय घटाउनेको सूचीमा ६ कम्पनी छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार युनियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र गुराँस लाइफ रहेका छन् । यीमध्ये पनि प्राइम लाइफको सबैभन्दा बढी प्रतिशत अर्थात ११.२५ प्रतिशतले बीमाशुल्क आर्जन घटेको छ । गत माघमा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राइम लाइफले चालु आवको माघमा २ अर्ब ६३ करोड रुपैयाँ संकलन गरेको छ । यता सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेको सूचीमा सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले ७ महिनामा ८९ करोड ५१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन गत आवको तुलनामा भने ९.२५ प्र्रतिशतले बढी हो ।
राष्ट्र बैंकले वर्षमा एक कर्मचारीबाट कमाउँछ १० करोड बढी, संख्या घटाएर नाफा बढाइँदै
काठमाडौं । नेपाल राष्ट्र बैंक बैंकहरुको पनि बैंक हो । राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई सही ट्रयाकमा राख्ने काम गरिरहेको हुन्छ भने अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्छ । बैंक तथा वित्तीय संस्थाको नियामक राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई स्वचालित गर्नका लागि काम गर्दै आइरहेको छ । सरकारको आर्थिक सल्लाहकार समेत रहेको स्वायत्त निकाय नेपाल राष्ट्र बैंक आफ्नै आम्दानीमा वार्षिक कार्यक्रमहरु पनि गर्छ । सरकार सञ्चालन गर्ने नेतृत्वले पनि आर्थिक सुशासन र आर्थिक वृद्धिदर कायम गर्नका लागि राष्ट्र बैंकमा पहिलो नजर लगाउँछ । राष्ट्र बैंकले वित्तीय प्रणालीलाई चुस्त बनाउनुका साथै वर्षेनी अर्बौं नाफा गर्ने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा राम्रो सेवा सुविधा भएकै कारण अधिकांश मानिसको रोजाइ बैंकिङ क्षेत्र पर्छ । बैंकिङ क्षेत्रमा पनि नेपाल राष्ट्र बैंकमा काम गर्न चाहने धेरैको सपना नै हुन्छ । हाल नेपाल राष्ट्र बैंकमा १ हजार बढी कर्मचारीहरु कार्यरत छन् । अर्बौं नाफा आर्जन गर्ने राष्ट्र बैंकमा काम गर्ने कर्मचारीहरुले ठूलो मेहेनत पनि गरेको देखिन्छ । राष्ट्र बैंकले दिने विभिन्न सेवा सुविधाकै कारण पनि धेरैको रोजाइ राष्ट्र बैंक पर्छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेल कर्मचारीको क्षमता अनुसार काम गर्ने वातावरण रहेको हुँदा रोजगारीका लागि आकर्षणको केन्द्र बिन्दु राष्ट्र बैंक रहेको बताउँछन् । राष्ट्र बैंकले व्यक्तिको क्षमता अनुसारको कामको भारी बोकाउने गरेको उनको भनाइ छ । राष्ट्र बैंकको भन्दा अन्य क्षेत्रमा सेवा सुविधा राम्रो नभएकाले जोकोही पनि राष्ट्र बैंकमा रोजगारी गर्न रुचाउने गरेको उनले बताए । ‘राष्ट्र बैंकको काम गर्ने तौरतरिका सिस्टममा हुन्छ, पेमेन्टमा विज्ञ व्यक्ति पेमेन्ट विभाग, सुपर भाइजरमा एक्सपर्ट सुपरभिजनमा, अनुसन्धानमा विज्ञ व्यक्ति अनुसन्धान विभागमा कार्यरत हुन्छन्, राष्ट्र बैंकमा क्षमता र कामको हिसावले मान्छेलाई व्यवस्थापन गरिन्छ, कामको ढंग अनुसार कर्मचारी व्यवस्थापन गरिने भएकाले रोजगारीका लागि आकर्षणको केन्द्र विन्दु राष्ट्र बैंक बनेको छ,’ उनले भने । एक कर्मचारीको कमाइ १० करोडसम्म अन्य क्षेत्रको तुलनामा नेपाल राष्ट्र बैंकमा काम गर्ने कर्मचारीहरुको उत्पादकत्व बढी देखिन्छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारी र संस्थाले गर्ने नाफालाई हिसाब गर्दा राष्ट्र बैंकको नाफामा एक कर्मचारीले वर्षको साढे १० करोड रुपैयाँसम्म योगदान गरेको देखिन्छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारीले एक वर्षको अवधिमा संस्थाका लागि १० करोड ३४ लाख ९६ हजार रुपैयाँसम्म नाफा कमाएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्र बैंकले १ खर्ब ७ अर्ब ९४ करोड ६१ लाख २४ हजार रुपैयाँआम्दानी गरेको थियो । उक्त वर्ष बैंकमा १ हजार ४३ जना कर्मचारी कार्यरत थिए । बैंकमा कार्यरत कर्मचारीहरुले उक्त वर्ष औषतमा प्रतिकर्मचारी १० करोड ३४ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । तर, आर्थिक वर्ष २०७३/७४ मा भने राष्ट्र बैंकको नाफा ७ अर्ब ९१ करोड ७२ लाख ६२ हजार रुपैयाँ नोक्सानीमा थियो । उक्त वर्ष बाहेक अन्य वर्ष भने प्रतिकर्मचारी औषत आम्दानी ३ करोड ६० लाख ७१ हजार रुपैयाँ रहेकोदेखिन्छ । आर्थिक वर्ष २०६९/७० मा प्रतिकर्मचारी औषत आम्दानी १ करोड ६६ लाख रुपैयाँ, आर्थिक वर्ष २०७०/७१ मा प्रतिकर्मचारी औषत आम्दानी ९९ लाख ३४ हजार रुपैयाँ, आर्थिक वर्ष २०७१/७२ मा प्रतिकर्मचारी औषत आम्दानी ९० लाख ८० हजार रुपैयँ र आर्थिक वर्ष २०७२/७३ मा प्रतिकर्मचारी औषत आम्दानी ३ करोड ७ लाख २३ हजार रुपैयाँ रहेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा प्रतिकर्मचारी औषत आम्दानी ७ करोड ३३ लाख ७५ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा प्रतिकर्मचारी औषत आम्दानी ३ करोड १४ लाख ८ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा प्रतिकर्मचारी औषत आम्दानी २ करोड ८७ लाख २३ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा प्रतिकर्मचारी औषत आम्दानी ५ करोड ७२ लाख ८३ हजार रुपैयाँ रहेको थियो । बैंकको नाफा अस्थीर राष्ट्र बैंकले आर्जन गर्ने नाफा भने अस्थीर देखिन्छ । कुनै वर्ष १ खर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ भने कुनै वर्ष नोक्सानीमा छ । तर, १० वर्षको अवधिमा राष्ट्र बैंकले १६७ प्रतिशत नाफा वृद्धि गरेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७८/७९ सम्मको तथ्याङ्क अनुसार १६७ प्रतिशत नाफा बढाएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६९/७० मा २३ अर्ब १७ करोड २७ लाख रुपैयाँ, आर्थिक वर्ष २०७०/७१ मा १३ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ, आर्थिक वर्ष २०७१/७२ मा १२ अर्ब ६ करोड ७३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा ३७ अर्ब ७५ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, आर्थिक वर्ष २०७३/७४ मा भने ७ अर्ब ९१ करोड ७२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको थियो । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ६९ अर्ब ७८ करोड ३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब १६ करोड २५ लाख रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ७ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ३० अर्ब ४७करोड ५३ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ६१ अर्ब ९८ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कर्मचारी संख्या घटाइँदै राष्ट्र बैंकले प्रत्येक वर्ष कर्मचारीको संख्या घटाउँदै लगेको देखिन्छ । आर्थिक वर्ष २०६९/७० मा राष्ट्र बैंकमा १ हजार ३८८ जना कर्मचारी कार्यरत थिए । तर, १० वर्ष पछि अर्थात् आर्थिक वर्ष २०७८/७९ सम्म १ हजा ८२ जना मात्रै कर्मचारी कार्यरत रहेका छन् । राष्ट्र बैंकले १० वर्षको अवधिमा २२ प्रतिशत अर्थात् ३०६ जना कर्मचारी घटाएको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार १० वर्षमा १९८ जना प्रशासनतर्फ र १०८ जना प्राविधिक तर्फ कर्मचारी संख्या घटाएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०६९/७० मा १ हजार ३८८ जना, आर्थिक वर्ष २०७०/७१ मा१ हजार ३८६ जना, आर्थिक वर्ष २०७१/७२ मा१ हजार ३२९जना र आर्थिक वर्ष २०७२/७३ मा१ हजार २२९ जना कर्मचारी कार्यरत थिए । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा१ हजार १२५ जना,आर्थिक वर्ष २०७४/७५ मा ९५१ जना, आर्थिक वर्ष २०७५/७६ मा १ हजार २४ जना, आर्थिक वर्ष २०७६/७७ मा १ हजार ४३ जना, आर्थिक वर्ष २०७७/७८ मा १ हजार ६१ जना र आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८२ जना कर्मचारी कार्यरत रहेका थिए । राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल राष्ट्र बैंक अन्य क्षेत्रको भन्दा उत्कृष्ट ठाउँ भएकाले कर्मचारी पनि सबै सन्तुष्ट रहेको बताउँछन् । उनका अनुसार राष्ट्र बैंक भन्दा राम्रो अवसर भएको क्षेत्र अन्य क्षेत्रमा खासै देखिँदैन । राष्ट्र बैंकमा काम गर्ने कर्मचारीको सामाजिक प्रतिष्ठा पनि उच्च हुने गरेको उनले बताए । ‘राष्ट्र बैंकमा जस्तो सेवा सुविधा अन्य क्षेत्रमा छैन, योभन्दा राम्रो अवसर पाएपछि मात्रै छाड्ने हुन्, पछिल्लो समय अन्य क्षेत्रमा पनि त्यति धेरै राम्रो काम गर्ने संस्था छैन,’ उनले भने, ‘राष्ट्र बैंकमा काम गर्ने सन्तुष्ट हुन्छन् ।’ पूर्व गभर्नर तिलक रावल पनि राष्ट्र बैंक रोजगारी गर्नेका लागि पहिलो केन्द्र बन्ने गरेको बताउँछन् । राष्ट्र बैंक विगतदेखि नै रोजगारीको आकर्षणको थलो रहेको उनले बताए । राष्ट्र बैंकका काम गर्ने कर्मचारी अन्य क्षेत्रतिर पलायन हुने अवस्था न्यून हुने उनको भनाइ छ । ‘राष्ट्र बैंक पहिलादेखि नै रोजगारीका लागि आकर्षणको केन्द्रबिन्दु थियो, अहिले यो झनै बढेको छ, रोजगारी खोज्ने व्यक्तिहरुले अवसर पाउनका लागि तल्लो तहमा रहेका कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्दै लैजानु पर्छ,’ उनले भने, ‘राष्ट्र बैंकमा काम गरेका व्यक्तिहरु जागिर छाडेर निजी बैंकमा आउन चाँहदैनन्, एकाध व्यक्तिहरु उच्च तहमा पुगेपछि आएको हुन सक्छन् तर, अन्तर बैंकको जस्तो हुँदैन ।’ कर्मचारीका लागि खर्च कति हुन्छ ? करोडमा नाफा कमाउने राष्ट्र बैंकका कर्मचारीले लाखमा खर्च गर्ने गरेका छन् । विगत वर्षको अवधिमा राष्ट्र बैंकका एक कर्मचारीको खर्च ३० लाख रुपैयाँ बराबर मात्रै रहेको छ । आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब २९ करोड ८५ लाख रुपैयाँ खर्च भएकोमा प्रतिकर्मचारी औषत खर्च ३४ लाख ६८ हजार रुपैयाँ मात्रै रहेको छ । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा प्रतिकर्मचारी औषत खर्च २६ लाख ४ हजार रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा २८ लाख ८५ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा २५ लाख ६० हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ३१ लाख २६ हजार रुपैयाँ प्रतिकर्मचारी औषत खर्च रहेको छ ।
२ लाखसम्मको बीमा दाबीलाई सानो दाबी मानिने, कम्पनीहरुले १५ दिनभित्रै भुक्तानी गर्नुपर्ने
काठमाडौं । निर्जीवन बीमातर्फको दुई लाख रुपैयाँसम्मको बीमा दाबीलाई सानो दाबी मानिने भएको छ । नेपाल बीमा प्राधिकरणले दोश्रो पटक संशोधन गरेको बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७९ अन्तर्गत अब २ लाख रुपैयाँसम्मको दाबीलाई सानो दाबीको रुपमा लिइने भएको हो । उक्त संशोधित मार्गदर्शनअनुसार निर्जीवन बीमातर्फ २ लाख रुपैयाँसम्म र बाली, पशुपन्छी, कृषि तथा लघुबीमातर्फ ५० हजार रुपैयाँसम्मको दाबीलाई सानो दावी मानिने थप व्यवस्था गरिएको छ । यसअघिको मार्गदर्शनमा भने सानो दाबीको रकमलाई खुलाइएको थिएन । प्राधिकरणले क्षति सम्बन्धी विशेष व्यवस्था अन्तर्गत केही व्यवस्थाहरु थप गरि सानो दाबीको रकम खुलाई छिटोभन्दा छिटो भुक्तानी गर्नुपर्ने स्पष्ट रुपमा खुलाएको हो । संशोधित निर्देशिका अनुसार उक्त रकमसम्मको सानो दाबी भुक्तानीको लागि न्यूनतम प्रमाणहरु प्राप्त भएको मितिले १५ (पन्ध्र) दिनभित्र फर्छ्यौट गरि सक्नुपर्ने छ । साथै, बीमा कम्पनीहरुले बीमितको प्रमाणहरु संकलन गर्न वा बीमितलाई सम्पर्क गर्न गरेको पत्राचारको प्रमाण संलग्न राख्नु पर्ने संशोधित निर्देशिकामै उल्लेख छ । यसअघि क्षति सम्बन्धी विशेष व्यवस्थाअन्तर्गत कम्पनीले आफ्नो बीमा दाबी कार्यविधिमा स्पष्ट क्षति सम्बन्धी व्यवस्था गर्नुपर्ने र उक्त कार्यविधिमा स साना दाबी रकम भुक्तानी सम्बन्धी व्यवस्था गर्नुपर्ने भन्ने मात्रै थियो । यतिसम्मको दाबीलाई स-साना दाबी मानिने भनेर रकम नै तोकेको भने थिएन । त्यसैगरी, यसअघि संशोधित निर्देशिकामा भएको प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्थालाई पनि थप संशोधन गरिएको छ । संशोधित नयाँ निर्देशिकाअनुसार बीमकले दाबी भुक्तानीको त्रैमासिक विवरण प्रत्येक तीन महिना समाप्त भएको मितिले १५ दिन भित्र तोकिए बमोजिमको ढाँचामा प्राधिकरण समक्ष प्रतिवेदन बुझाउनु पर्नेछ । यसअघिको व्यवस्थाअनुसार प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र र प्रत्येक आर्थिक वर्ष सकिएके ३० दिनभित्र बीमा दाबी भुक्तानी हुन नसकेका बीमा दाबीहरुको विवरण साविकको बीमा समिति समक्ष बुझाउनु पर्ने थियो । अब भने मासिक र वार्षिक मात्रै नभई त्रैमासिक रुपमा पनि उक्त विवरण बुझाउनु पर्ने भएको छ । त्यस्तै, कम्पनीहरुले दाबी भुक्तानी हुन नसकेको बीमा दाबीको वार्षिक विवरणमा विस्तृत खुलाउनु पर्ने हुन्छ । जसमा हालसम्मको जम्मा दाबी, पछिल्लो तीन महिनाको दावी, एक वर्ष अघिको दाबी, दुई र तीन वर्ष अगाडि दाबी भुक्तानी गर्न बाँकी भएको अवस्थामा पनि भुक्तानी गर्न बाँकी संख्या र बाँकी रकम दुबै खुलाउनु पर्ने व्यवस्था छ ।