‘प्रभु स्मार्ट फण्डले लगानीकर्तालाई २५५ प्रतिशत प्रतिफल दिन्छ’
प्रभु क्यापिटलले आजदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ । प्रभु क्यापिटलले बिक्री गरेको म्युचुअल फण्डका बारेमा चिफ इन्भेष्टमेन्ट अफिसर दुर्गानन्द झासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । झा प्रभु क्यापिटलमा साढे २ वर्षदेखि कार्यरत छन् । यसअघि उनले भारतको केपीएमजिमा ९ वर्षभन्दा बढी काम गरेका थिए । इन्भेष्टमेन्ट बैंकिङ्ग र मर्चेन्ट बैंकिङ्गमा अनुभवि झाले मर्कर र इनफोसिसमा समेत काम गरेका थिए । उनले एमबिए, सीएफए र एफआरएमको योग्यता पनि हासिल गरेका छन् । प्रभु म्युचुअल फण्ड अन्तर्गतको प्रभु स्मार्ट फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको फण्ड हो ? प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित सामुहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ । यसका लागि हामीले बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गर्नेछौं । हामीले बजारमा रहेका उत्कृष्ट स्टकहरुलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्छाैं । यस अघि नै हामीले प्रभु म्युचुअल फण्ड अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फण्ड ल्याएर सञ्चालन गरिरहेका छौं । उक्त योजनामा बढिमा ३० वटा स्टकमा लगानी गर्ने भनेर उत्कृष्ट ३० वटा स्टकहरुलाई छनोट गरेका छौं । तर, प्रभु स्मार्ट फण्डलाई भने हामीले थप लचकदार बनाएका छौं । यसमा लगानी आवश्यकता र बजारको उतारचढावलाई मध्यनजर गर्दै स्टकहरु छनोट गर्छाैं । साथै सूचिकृत कम्पनीहरुको प्रस्तुतिका आधारमा हाम्रो लगानी रणनीतिको अन्तरगत रहेर उच्चतम प्रतिफल हासिल हुने गरी लगानी रणनीतिलाई अवलम्बन गर्ने छौं । लगानी गर्नको लागि अहिले कस्तो समय हो ? बजारलाई कसरी हेरीरहनुभएको छ ? अहिले लगानी गर्नका लागि उचित समय हो । लगानीकर्ताहरु अहिले मार्केट भोलाटाइल भएका कारण लगानीका लागि दुविधामा रहेको अवस्था छ । बजारमा देखिएका्े अनिश्चित प्रकारको उतारचढावका कारण अधिकांश लगानीकर्ताले ठूलो जोखिम व्यहोर्नु परेको छ । नेप्से ३२ सय अंक हुँदा बजारमा थुप्रै नयाँ लगानीकर्ता प्रवेश गरेका थिए । तर यसबीचमा बजारमा गिरावट आएका कारण ती नयाँ लगानीकर्ताहरुले घाटा बेहोर्नुपरेको छ । राजनीतिक, आर्थिक तथा नियामकीय नीतिको कारणबाट सेयर बजारमा सिर्जित अनिश्चतता अझै पनि सकिएको छैन । यो अझै केही समय लामो हुने देखिन्छ । यस्तोमा दिर्घकालिन लगानी गर्न चाहने विभिन्न प्रकारका लगानीकर्ताहरुले कम जोखिम लिई उच्च प्रतिफलका लागि यस्तो म्युचुअल फण्डमार्फत लगानी गर्नु उपयुक्त हुन्छ । यसै परिप्रेक्ष्यमा लगानीकर्ताहरुको आवश्यकताको व्यवस्थापन गर्न सक्नेगरी प्रभु क्यापिटल अगाडि आएको छ र बजारमा दिर्घकालिन रुपमा लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो लगानीबाट कम जोखिममा उत्कृष्ट मुनाफाका लागि प्रभु स्मार्ट फण्ड योजनाको शुरुवात गरेको छ । यसमा हाम्रा आम सर्वसाधारण लगानीकर्ताहरुले थोरै जोखिम लिई दिर्घकालिन प्रतिफलको लागि लगानी गर्न सक्नुहुनेछ । प्रभु स्मार्ट फण्डका विशेषता क–के हुन् ? प्रभु स्मार्ट फण्डको आकार ८० करोडको छ । यो एउटा बन्दमुखी योजना हो । यस फण्डलाई नेप्सेमा सूचिकृत गरिने हुनाले लगानीकर्ताहरुले यसलाई प्राथमिक निष्काशन पश्चात पनि पुनः नेप्सेबाट कारोबार गर्न सक्नुहुनेछ । यस योजनामा प्रभु बैंकले १४ प्रतिशत अर्थात् ११ करोड २० लाख र प्रभु क्यापिटलले ८० लाख इकाई बीज पूँजी खरिद गर्न पाउँछ । बाँकी ८५ प्रतिशत लगानी हामीले बजारबाट उठाउनेछौंं । यो योजना इक्विटी ओरियन्टेड भएकाले यसले सूचिकृत कम्पनीहरुको सेयरमा ३५ प्रतिशतदेखि ९० प्रतिशतसम्म लगानी गर्नेछं । यस्तै, फिक्स्ड इन्स्ट्रुमेन्टमा न्यूनतम ५ प्रतिशतदेखि ३५ प्रतिशत लगानी गर्नेछ । लगानीकर्ताले फण्डमा न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नुहुनेछ । प्रभु स्मार्ट फण्डले वार्षिक औसत २५.५८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ । १० वर्षको अवधिमा यस योजना लगानी गर्ने युनिट होल्डरहरुलाई कूल २५५.७५ प्रतिशत प्रतिफल दिने लक्ष्य राखिएको छ । साथै, हामीले लाभांश दर पनि स्थीर राख्ने कोसिस गरिरहेका छौं । दोस्रो र तेस्रो वर्ष १०/१० प्रतिशत, चौंथो वर्षदेखि १० वर्षसम्म १२ प्रतिशत स्थिर लाभांश दिने प्रक्षेपण गरेका छौं । फण्डको सुपरभाइजर शुल्क न्याभको शुन्य दशमलव १ प्रतिशत, फण्ड म्यानेजमेन्ट शुल्क १.५ प्रतिशत, डिपोजिटरी शुल्क शुन्य दशमलव २ प्रतिशत रहनेछ । यदि माग गरेको भन्दा बढी आवेदन परेमा २० प्रतिशत वृद्धि गरेर फण्डको आकार १ अर्ब पुर्याउँछौं । सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ । यो बेला फण्ड बिक्री हुन सक्छ ? बजारमा तरलता अभाव भएको अवस्था छ र यो बेलामा लगानीकर्ताको मनोबल लगानीका लागि कम भएको अवस्था छ । तर, वास्तमा भन्नुपर्दा लगानीकर्ताहरुले यस्तै बजार घटेर तल्लो तहमा रहेको बेलामा नै दीर्घकालका लागि लगानी गर्न उचित हुन्छ । दिर्घकालिन रुपमा लगानी गर्नका लागि लगानीकर्ताहरुले विभिन्न प्रकारका लगानी औजारहरुमा लगानी गर्न सक्नुहुन्छ । धितोपत्रको दोश्रो बजारमा लगानी गर्दा अत्याधिक जोखिम हुने भएको हुँदा कम जोखिम लिन रुचाउनुहुने लगानीकर्ताहरुले दीर्घकालमा राम्रो प्रतिफल पाउनका लागि म्युचुअल फण्डमा लगानी गर्न सक्नुहुन्छ । लगानीकर्ताको म्युचुअल फण्डमा आकर्षण घटेको स्वभाविक हो । दोश्रो बजार जोखिमयुक्त रहेको र उतारचढाव पनि अत्याधिक रहेको हुँदा हिजोहाज लगानीकर्तामा ट्रेडिङ गर्ने मानसिकता बढि रहेको देखिन्छ । त्यसैले लगानीकर्ताहरुमा आजको भोलि रिटर्न खोज्ने प्रवृत्ति बढेको हुँदा म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण देखिँदैन । यसका साथै सरकारले पनि म्युचुअल फण्डमा सर्वसाधारणको लगानी अभिवृद्धिका लागि ट्याक्स छुट लगायतका नीति अवलम्बन गर्नुपर्नेमा त्यस्तो केही भएको देखिँदैन । यद्यपि दीर्घकालमा हेर्ने हो भने मुद्दती तथा कर्पोरेट डिबेन्चरको भन्दा धेरै प्रतिफल म्युचुअल फण्डले दिएका छन् । हालसम्म परिपक्क भएका म्युचुअल फण्डहरुको वार्षिक प्रतिफल औसत १९ प्रतिशतभन्दा बढी रहेको देखिन्छ । वाणिज्य बैंकहरुको मुद्दती खाताको औषत रिटर्न ९ प्रतिशतको हाराहारीमा छ । अहिलेको जस्तो बजार घटेको बेलामा म्युचुल फण्ड आउनुलाई लगानीकर्ताले दिर्घकालिन लगानीको अवसरका रुपमा लिनुपर्छ । किनभने यो बेलामा आएका फण्डहरुले युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सक्ने क्षमता राख्छन् । कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्ने भन्नुहुन्छ भने कसैले घटेको बेला । यसले लगानीकर्तामा दुविधा पार्दैन ? बजार माथि गएको बेलामा लगानीकर्ताको लगानी मनोबल उच्च रहने गर्दछ जसका कारण लगानीकर्ताहरुको सहभागिता उच्च हुन्छ भने घटेको बेलामा सहभागिता समेत कम भएको देखिन्छ । तर, ठूला ठूला लगानीकर्ताले बजार घटेकै बेलामा सेयर खरिद गरेका हुन्छन् । आम लगानीकर्ताले बुलिस सेन्टिमेन्ट राम्रो भएको बेलामा प्रवेश गर्छन् । जसले गर्दा उनीहरुको अत्याधिक जोखिम लिइराखेका हुन्छन् । यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो पोर्टफोलियोलाई विविधिकरण (डाइभर्सीफाइड) गर्नुपर्ने हुन्छ । म्युचुअल फण्डमा आकर्षण बढाउन लगानीकर्ताको सचेतना फैलाउन जरुरी छ । नियामक निकायले पनि म्युचुअल फण्डमा लगानी गर्नुपर्छ भनेर सचेतनामुलक कार्यक्रमको आयोजना गर्नुपर्ने हुन्छ । म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढाउनलाइ सरकारद्वारा करमा सुबिधा लगायतका विषयमा लचक हुने व्यवस्था गर्नुपर्छ । यस्तो हुन नसक्दा म्युचुअल फण्डको रोजाइ कम हुने गरेको छ । हाल सञ्चालनमा रहेका म्युचुअल फण्डको लाभांश दर घटेको छ । जसले आकर्षण पनि घट्दो छ । लगानीकर्तालाई आकर्षित गर्न के गर्नुहुन्छ ? अहिले अधिकांश म्युचुअल फण्डहरु इक्विटी ओरियन्टेड छन् । यस्ता फण्डहरुले इक्विटीमा मात्रै लगानी गरेका हुन्छन् । इक्विटीको रिटर्न मार्केट अनुसार लाभांश वितरण गरिन्छ । बजारको अवस्था बढेको छ भने रिजर्भ पनि राम्रो हुन्छ । त्यो बेलामा उनीहरुले धेरै लाभांश दिन सक्छन् । अहिले सबै क्षेत्रले बजारलाई प्रभाव पार्ने काम गरेको छ । विदेशमा पनि स्थिती गाह्रो छ । रसिया र यूक्रेन युद्धले मुद्रास्फिती बढेको छ । विश्वव्यापी रुपमा ब्याजदर बढेको छ । तरलता अभाव कायम छ । यसबाट नेपाल पनि प्रभावित हुन पुगेको छ । जसले गर्दा बजार घटेको हो । गत वर्षसम्म अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए । तर पछिल्लो समय विस्तारै सुधारोन्मुख छ । ब्याजदर पनि घट्दै गएको देखिन्छ । ब्याजदर घटेपछि र वाह्य पक्ष सकारात्मक भएपछि बजारले माथि जान्छ । बैंकको ब्याजदर घटेपछि मुद्दती भन्दा म्युचुअल फण्डमा आकर्षण बढ्छ । बजार उच्च हुँदा म्युचुअल फण्डले शतप्रतिसम्म लाभांश वितरण गरे । बजार घटेको बेला लाभांश नै वितरण गरेनन् । त्यसैले पनि बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता छ नि ? इक्विटी ओरियन्टेड फण्डहरुले बजार बढेको बेलामा नै बढी प्रतिफल दिन्छन् । बजार बढेको बेला लाभांश वितरण गर्ने क्षमता बढी हुन्छ । बजार घटेको बेला फण्डको न्याभ पनि घट्छ । न्याभ घटेको बेला प्रतिफल पनि कम हुन्छ । इक्विटी ओरियन्टेड स्किम भएकाले बजार बढेको बेलामा मार्केटलाई बिट गरेर राम्रो प्रतिफल दिएका हुन् । किनभने म्युचअल फण्ड म्यानेजरहरुमा लगानी व्यवस्थापन दक्षता राम्रो हुन्छ । जसका कारणबाट उनीहरुले व्यवस्थापन गर्ने म्युचुअल फण्डबाट बढि मात्रामा पूँजीगत लाभ प्राप्त गर्ने क्षमता राख्दछन् । हाम्रो उदाहरण हेर्नुहुन्छ भने पनि हामीले व्यवस्थापन गरेको पहिलो म्युचुअल फण्ड प्रभु सेलेक्ट फण्डको व्यवस्थापन उच्चतम रुपमा भएको देख्न सक्नुहुनेछ । हामीले बजार उच्च विन्दुमा रहेको बेलामा निष्काशन भएता पनि अहिले बजार सो विन्दुबाट घटेर झण्डै २६ प्रतिशतले तल रहेको अवस्थामा पनि यसको न्याभ अर्थात खुद सम्पत्ति मुल्यलाई ४.८० प्रतिशतले सकारात्मक बनाएर राखेका छौं । अर्थात यदि लगानीकर्ताहरुमध्ये कसैले त्यसबेला नेप्सेमा १०० रुपैयाँ लगानी गर्नुभएको थियो भने घटेर सो लगानी घटेर ७४ रुपैयाँमा आएको बेलामा पनि प्रभु सेलेक्ट फण्डमा १०० रुपैयाँ लगानी गर्नुभएको थियो भने सो लगानी अहिले पनि १०४ रुपैयाँ ८० पैशा भएको अवस्था हो । त्यसैले हाम्रो लगानी रणनीति अनुसार बजार बढेको बेलामा मात्रै होइन बजार घटेको बेलामा पनि हामीले लगानीकर्ताहरुको हामी प्रतिको विश्वासलाई टुट्न दिएका छैनौं । त्यसैले हामी के भन्छौं भने बजार उच्च भएका बेलामा यदि कसैले सूचीकृत सेयरमा लगानी गरेको छ भने बजार घटेर आउँदा ठूलो घाटा हुने सम्भावना बढी हुन्छ । त्यसैले लगानी व्यवस्थापन क्षमता र दक्षता भएका म्युचुअल फण्ड म्यानेजरले व्यवस्थापन गर्ने म्युचुअल फण्डहरुमा दीर्घकालमा उच्च प्रतिफल प्राप्त गर्ने उद्देश्य बोकेका लगानीकर्ताहरुले लगानी गर्नु उपयुक्त हुन्छ । प्रभु स्मार्ट फण्डले कुन–कुन क्षेत्रमा लगानी गर्छ ? फण्डबाट संकलन भएको रकमलाई रणनीति अनुसार लगानी गर्छाैं । धितोपत्र बोर्डका निर्देशिकाहरुले तोकेको क्षेत्रमा फण्डको लगानी गर्छाैं । फिक्स्ड इनकम इन्स्ट्रुमेन्ट, मुद्दती र ऋणपत्रमा कति राख्ने भनेर सीमा तोकिएको हुन्छ । इक्विटीमा पनि न्यूनतम यति गर्नुपर्छ भनेर सीमा तोकिएको हुन्छ । इक्विटी बढी चार्मिङ हुने भएकाले त्यसतर्फ धेरै लगानी गर्छाैं । इक्विटीमा ३५–९० प्रतिशत लगानी गर्ने योजना छ । यसमा लगानी गर्दा जोखिम उच्च हुन्छ । कम जोखिम भएका निश्चित प्रतिफल प्रदान गर्ने इन्स्ट्रुमेन्टमा ५–३५ प्रतिशत लगानी गर्छाैं । जसमध्ये १५ प्रतिशत मुद्दती, २० प्रतिशत ऋणपत्र र १–२५ प्रतिशत आईपीओ तथा अलपकालीन उपकरणमा लगानी गर्छाैं । प्रभु सेलेक्ट फण्ड चर्चा गर्नु भयो यसको अहिलेको अवस्था कस्तो छ ? प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । हामीले यो फण्ड बुलिस ट्रेण्डमा हुँदा बिक्री गरेका थियौं । त्यो बेला बजारमा चमक धेरै थियो । तर, फण्ड निष्काशन गरेको केही समय पछि बजार निकै तल झर्याे । फण्ड निष्काशनदेखि अहिलेसम्म बजार २६ प्रतिशत घटेको छ । तर, प्रभु क्यापिलटले फण्डको न्याभ सकारात्मक नै मेन्टेन गर्न सफल भएको छ । माघ महिनाको न्याभ १०.४८ प्रतिशत छ । फण्ड करिब ५ प्रतिशत सकारात्मक छ । बजार २६ प्रतिशत घट्दा पनि फण्डलाई जोगाएका छौं । हामीसँगै आएको अन्य फण्डको तुलना गर्ने हो भने प्रभु सेलेक्ट फण्ड एकदमै राम्रो अवस्थामा रहेको देखिन्छ । बजार घटेको हुँदा प्रभु सेलेक्ट फण्डले लाभांश वितरण गर्न सकेको छैन । अहिले फण्डको न्याभ जोगाउनु नै ठूलो कुरा हो । बजारले साथ दियो भने राम्रो रिजर्भ श्रृजना गरेर अगामी दिनमा राम्रो लाभांश दिन्छौं । अधिकांश म्युचुअल फण्डको न्याभ घटेको छ । तर, प्रभु सेलेक्ट फण्डले कसरी सकारात्मक राख्न सफल भयो ? प्रभु क्यापिटलको अनुसन्धान टिम रोबोस्ट छ । स्टक स्क्रिनिङ्गदेखि लिएर सेक्टर एलोकेसन, स्टक सेलेक्सन सबैलाई ब्यालेन्स राखिएको छ । फण्ड निष्काशन गर्दाखेरी नै बजारको अवस्था हेरेर लगानी गरिएको छ । त्यसैले फण्डलाई सकारात्मक राख्न सफल भएका छौं । लगानीकर्ताको सम्पत्ति जोगाउन सफल भएका छौं । जब बजारले उकालो यात्रा तय गर्छ तब राम्रो लाभांश वितरण गर्न सक्छ भन्ने हामीलाई विश्वास छ । प्रभु स्मार्ट फण्डले १० वर्षमा २५५ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यो कसरी सम्भव हुन्छ ? हामीले हाम्रो लगानी व्यवथापन कुशलता र बजारको चाल अनुसार हासिल हुन सक्ने किसिमको वास्तविक प्रक्षेपण गरेका हौं । अन्य म्युचुअल फण्डको प्रक्षेपणको तुलनामा हामीले बजार प्रति सकारात्मक हुँदै गर्दा पनि सन्तुलित ढंगले प्रतिफल प्रदान गर्ने लक्ष्य राखेका छौं । त्यसै अनुसार नै हामीले लाभांश दर वार्षिक १०/१२ प्रतिशतसम्म कायम राख्ने लक्ष्य राखेका छौं । अहिले बजार बियरिस मार्केट ट्रेण्डमा छ र अझै भन्नु पर्दा बजारको न्यूनतम तहको नजिक रहेको अनुमान हामीले गरेका छौं । यहाँबाट अबको एकदुई वर्षमा हामीले पुनः अर्को बुल मार्केट देख्न सक्ने अपेक्षा गरेका छौं । त्यसैले हामीले यस फण्डको १० वर्षको अवधिमा कम्तिमा २ वटा बुल मार्केटको सामना (फेस) गर्ने प्रक्षेपण लिएका छौं । यसैले हामीले १० वर्षको अवधिमा यो फण्डमा १० रुपैयाँ लगानी गर्ने युनिट होल्डरले लगानीको २.५ गुणा अर्थात २५ रुपैयाँ ५० पैशा सम्मको प्रतिफल प्रदान गर्ने लक्ष्य राखेका छौं । म्युचुअल फण्डको लाभांश किन स्थीर हुँदैन ? शेयर बजारमा आउने उतारचढावसँगै सामुहिक लगानी योजनाहरुले हासिल गर्ने पूँजीगत लाभ तथा लाभांशको अवस्थामा पनि फेरबदल भइरहेको हुन्छ । अझ हाम्रो बजारमा सामुहिक लगानी योजनाहरुले अधिकांश लगानी सूचिकृत कम्पनीहरुको सेयरमा गर्ने भएको हुँदा र शेयर बजारमा विभिन्न नियामक निकायहरुबाट लिइएको नीतिले बजारको गतिलाई जहिले पनि अस्थिर बनाइराख्ने भएको हुँदा त्यसको असर म्युचुअल फण्डको प्रतिफलमा समेत पर्ने गर्दछ । यसै कारण म्युचुअल फण्डको लाभांश पनि घटबढ भइरहन्छ । प्रभु क्यापिटलले अन्य कुनै फण्ड ल्याउने योजना बनाएको छ ? प्रभु स्मार्ट फण्ड एक बन्द मुखी योजना हो । यो योजनाको निष्काशन पश्चात् हामी खुलामुखी फण्ड निष्काशनको तयारी मा छौं । उक्त फण्ड निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छौं । धितोपत्र बोर्डले स्वीकृति दियो भने हामी यस पश्चात तुरुन्तै सो खुलामूखी फण्ड निष्काशन गर्नेर्छाैं । अहिलेको समयमा अधिकांश फण्ड व्यवस्थापकसँग ३/४ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् । हाम्रो यी दुई वटा फण्ड पश्चात हामी अर्काे फण्ड पनि निष्काशन गर्छाै । ग्राहकहरुसँग प्रभु क्यापिटलको छुट्टै लिगेसी छ । आगामी दिनमा पनि राम्रो प्रतिफल दिन सक्ने फण्ड ल्याउने योजना छ । खुलामुखी फण्डबाट हामी लगानीकर्ताको माझमा गएर व्यवस्थित लगानी रणनीति बनाउँछौं । म्युचुअल फण्डको भविष्य कस्तो देख्नु भएको छ ? म्युचुअल फण्डको भविष्य राम्रो छ । म्युचुअल फण्ड राम्रो प्रतिफल दिने क्षेत्र हो । यद्यपि हाम्रो बजारमा अल्पकालिन लाभको लागि मात्रै सोच्ने लगानीकर्ता हावी भएको हुँदा वर्तमान समयमा यसप्रति उत्ति चासो रहने गरेको पाइन्न । यसको एउटा प्रमुख कारण भनेको यसको बारेमा उचित जानकारी तथा ज्ञान विस्तार नहुनु हो । यसका साथै अहिलेसम्म बजारले थप लगानी औजारहरुको साथै बजार विकासका औजारहरुको विकास राम्रोसँग गर्न नसकेका कारण समेत त्यसको असर यसमा परेको देखिन्छ । यसका साथै सरकारले लगानीकर्ताहरुलाई म्युचुअल फण्डमा लगानीका लागि प्रोत्साहन गर्ने नीति लागू नगरेका कारण पनि म्युचुअल फण्डको शुरुवात गर्दा जुन उद्देश्य राखिएको हो त्यसको पूर्ण रुपमा प्राप्ति हुन सकेको देखिँदैन । यद्यपि हामीलाई के विश्वास छ भने यो सबै अवस्था क्षणिक हो । विस्तारै सबै कुराहरुको विकास हुँदै जानेछ र हामीले खोजेको जस्तै पूँजी बजारको अवस्था बन्नेछ । त्यसकारण आगामी दिनहरुमा म्युचुअल फण्डको भविष्य थप राम्रो हुने विश्वास हामीले लिएका छौं । म्युचुअल फण्डमा लगानीकर्ताहरुलाई आकर्षित गर्न नियामक निकायदेखि सरकारले अझै सहयोग गर्नुपर्छ । लगानीकर्तालाई म्युचुअल फण्डमा आकर्षित गर्न भूमिका निर्वाह गर्नुपर्छ । अहिले म्युचुअल फण्डको आकार ३०/३२ अर्बको पुगेको छ र ५/७ वर्षपछि यो आकार दोब्बर हुनेछ ।
बैंकहरु अझै तरलताको सकसमा, घट्न सकेन सीडी रेसियो
काठमाडौं । लामो समयदेखि बैंकहरु तरलताको समस्या भोगिरहेका छन् । बैंकमा निक्षेप बढ्न नसक्दा अझै पनि अधिकांश बैंकहरुलाई तरलताको समस नै परेको हो । बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) अझै पनि ९० प्रतिशतको हाराहारीमा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २२ वटा बैंकमध्ये १० वटा बैंकको सीडी रेसियो ८७ प्रतिशतमाथि छ । कुमारी, ग्लोबल आईएमई, नबिल, प्राइम कमर्शियल, लक्ष्मी, कृषि विकास, सिटिजन्स, सनराइज, एनएमबी र हिमालयन बैंक रहेका छन् । अन्य बैंकहरुको तुलनामा यी बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढी भएकाले यी बैंकलाई ऋण दिन अझै सकस पर्ने देखिन्छ । सबैभन्दा बढी एनसीसीसँग मर्ज भएको कुमारी बैंकको रहेको छ । पुस मसान्तसम्ममा कुमारीको सीडी रेसियो ९०.७ प्रतिशत रहेको छ । यससँगै अन्य बैंकको तुलनामा कुमारी बैंकलाई कर्जा प्रवाहमा सहज देखिँदैन । त्यस्तै, ग्लोबल आईएमईको ८९.४१ प्रतिशत, नबिलको ८९.३६ प्रतिशत, प्राइमको ८८.८८ प्रतिशत, लक्ष्मीको ८७.८७ प्रतिशत, कृषि विकासको ८७.५ प्रतिशत, सिटिजन्सको ८७.४७ प्रतिशत, सनराइजको ८७.२७ प्रतिशत, एनएमबीको ८७.२४ प्रतिशत र हिमालयनको ८७.११ प्रतिशत सीडी रेसियो रहेको छ । त्यस्तै, ८७ प्रतिशतभन्दा कम सीडी रेसियो हुनेमा बाँकी १२ बैंक रहेका छन् । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम सीडी रेसियो रहेको छ । पुस मसान्तसम्ममा बैंकको सीडी रेसियो ७८.७३ प्रतिशत छ । यससँगै अन्य बैंकहरुको तुलनामा स्ट्याण्डर्ड चार्टर्डलाई कर्जा प्रवाहमा निकै सहज देखिन्छ । कुन बैंकको कति ?
उपचारका लागि पहुँचवालालाई सरकारको डेढ अर्ब सहायता, सर्वसाधारण पालो कुर्दै गुमाउँछन् ज्यान
काठमाडौं । आर्थिक वर्ष २०७२/७३ पछि चालु आवको माघ मसान्तसम्म सत्ताको पहुँचमा भएकाहरुले राज्यकोषबाट उपचार र सहायताको नाममा एक अर्ब ३० करोड रुपैयाँ लिएका छन् । केन्द्रीय सत्ताको पहुँचमा भएका केही सिमित व्यक्तिहरुले राज्यकोषबाट रकम लिएर विदेशका आलिसान अस्पतालमा उपचार गर्ने गरेका छन् । महंगो शुल्कका कारण आर्थिक अवस्था कमजोर भएकाहरुले सामान्य उपचार गर्न पनि निजी अस्पतालमा पहुँच राख्दैनन् । तर, अति साधारण प्रकृतिको अप्रेसन गर्न पनि सरकारी अस्पतालमा महिनौं प्रतिक्षा गर्नुपर्ने र त्यसैका कारण मर्नुपर्ने अवस्था हजारौं नेपालीको बनेको छ । त्यति मात्रै नभएर आकस्मिक अवस्थामा अप्रेसन गर्नको लागि समेत नपाइएका कैंयन उदाहरण देखिएका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ५ करोड ४६ लाख ४३ हजार रुपैयाँ साहयता प्रदान गरेको छ भने आथिक वर्ष २०७८/७९ मा १६ करोड २६ लाख ९८ हजार र आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ९३ लाख ६७ हजार रुपैयाँ सहायत प्रदान गरेको छ काठमाडौंमा सरकारको व्यवस्थापनमा सञ्चालित त्रिभुवन शिक्षण, वीर, ट्रमा, कान्ति, पाटन लगायतका अस्पतालहरुमा दशौं हजार बिमारीहरु साधारण देखि मेजर अप्रेसनको लागि ६ महिना भन्दा लामो समयदेखि पालो पर्खिरहेका छन् । अस्पतालले पालो अनुसार उपचार गरिरहेको छ, तर कति बिमारीहरु पालो कुर्दाकुर्दै मरे वा अन्यत्रै गएर उपचार गरे भन्ने तथ्यांक कुनै अस्पतालसँग छैन । ३ हजार ५ सय भन्दा धेरै विमारी अप्रेसनको लागि नाम लेखाएर पर्खिरहेका त्रिभुवन शिक्षण अस्पतालका महाराजगञ्जका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले अप्रेसनको लागि पालोमा बस्ने बिमारीको तथ्यांक सम्बन्धित विभागहरुले राख्ने र कुनै बिमारी आफ्नो पालोमा नआएमा अर्कोले उपचार गर्ने गरेको बताए । पालो लिएका कति र को बिमारी अप्रेसनको लागि फर्केर आएन भन्ने रेकर्ड अस्पतालले तयार नगरेको उनको भनाइ छ । त्यस्तै तीन हजार भन्दा बढी अप्रेसनको लागि पालो पर्खिरहेका कान्ति बाल अस्पतालका सूचना अधिकारी रमेश नर्सिङ केसीले अस्पतालले अप्रेसनको लागि पालो पर्खेका तर फर्केर नआएका बिमारीहरुको तथ्यांक नराखेको बताए । कान्तिमा पनि सम्बन्धित अप्रेसनको विभागले बिमारीलाई पालो दिने र अप्रेसन गर्ने गरेको र अप्रेसनको तथ्यांक सम्बन्धित विभागसँगै हुने गरेको उनको भनाइ छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले वीर अस्पताल र प्रसुती गृहमा पुर्ननिर्माण कार्यक्रम अन्तर्गत २ अर्ब १० करोडको लागतमा १÷१ वटा आधुनिक भवन निर्माण गरिदिएको थियो । सो आधारमा हेर्दा सरकारले ०७२ सालदेखि हालसम्म पहुँचवालालाई सहायतको नाममा बाँडेको रकमले एउटा सुविधासम्पन्न अस्पताल बन्ने देखिन्छ । साथै त्यसो नगर्दा पनि दर्जनौ अस्पतालहरुको स्तरवृद्धि गरेर विमारीहरुले पालो कुर्दाकुर्दै नमर्ने अवस्था सिर्जना गर्न सकिन्थ्यो । तर, सिमित व्यक्तिको नाममा खर्च गर्ने र देशभित्रका अस्पताललाई सुधार गर्नेतर्फ ध्यान नदिने प्रवृत्ति राजनीतिक नेतृत्वमा थप मौलाउँदै गएको देखिन्छ । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टिकाराम पोख्रेलले अस्पतालमा अप्रेसनको लागि बिमारीहरुले नाम लेखाएर सेवा नपाउने विषय गम्भिर भएको बताए । ‘स्वास्थ्यसँग सम्बन्धित धेरै विषयहरु छन्, जसलाई हामीले उठाइरहेका छौं, बिमारीहरुले अस्पताल समेत देख्न नपाएको अवस्था छ, यो विषयमा हाम्रो ध्यान आकर्षण भएको छ’, उनले भने ।