९ वटा पोलिसीमध्ये सावधिक जीवन बीमामा आकर्षित हुँदै बीमितहरु, कुनबाट कति उठ्यो प्रिमियम ?
काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले विभिन्न प्रकारका बीमालेखहरु सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले हालसम्ममा ९ वटा छुट्टा छुट्टै बीमालेखहरु सञ्चालनमा ल्याएका हुन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी साविधक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादि जीवन बीमा, आजिवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादि जीवन बीमा र लघु जीवन बीमा सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले यी सबै बीमालेख देशभरका ७ वटै प्रदेशमा बिक्री गरी बीमाशुल्क संकलन गरिरहेका छन् । जसमध्ये सबैभन्दा बढी प्रिमियम सावधिक जीवन बीमाबाट उठिरहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । माघ महिनासम्ममा मात्रै ७ वटा प्रदेशबाट ३२ अर्ब ५७ करोड रुपैयाँ बराबरको प्रिमियम सावधिक जीवन बीमाबाट संकलन भएका छन् । समीक्षा अवधिमा २२ लाख २१ हजार वटा पोलिसी बिक्री भएका छन् । उक्त बीमाशुल्क पुस महिनाको तुलनामा बढी हो । गत पुसमा मात्रै कम्पनीहरुले सावधिक जीवन बीमाबाट २८ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । ७ वटा प्रदेशमध्ये पनि सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन भएको छ । ९ लाख ८३ हजार वटा पोलिसी बिक्री भएको यो प्रदेशबाट मात्रै १७ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ । त्यस्तै, सावधिक जीवन बीमालेख बिक्रीबाट लुम्बिनी प्रदेशमा ४ अर्ब, गण्डकी ३ अर्ब २३ करोड, प्रदेश १ (कोशी) मा ३ अर्ब ८ करोड, मधेशमा २ अर्ब, सुदुरपश्चिममा एक अर्ब ३८ करोड र कर्णाली एक अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन भएका छन् । त्यसैगरी, सावधिक जीवन बीमालेखपछि सर्वाधिक बिक्री हुनेमा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख रहेका छन् । यो बीमालेखबाट कम्पनीहरुले माघसम्ममा २ अर्ब रुपैयाँ बढी प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी प्रिमियम उठेको छ । त्यस्तै, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमाबाट १२ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । त्यसपछि रुपान्तरित सावधिक जीवन बीमामा बीमितहरु आकर्षित भएका छन् । जसबाट कम्पनीहरुले ११ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको प्राधिकरणले जनाएको छ । आजिवन जीवन बीमालेख बिक्रीबाट कम्पनीहरुले कूल २ अर्ब ६८ करोड, वैदेशिक रोजगार म्यादि जीवन बीमाबाट १ अर्ब ९६ करोड, लघु जीवन बीमाबाट १ अर्ब ४३ करोड, म्यादि जीवन बीमाबाट ७७ करोड ६७ लाख र एकल बीमाशुल्क जीवन बीमाबाट ६८ करोड ४२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएका छन् । जुन चालु आवको ७ महिनाको अवधिमा संकलन भएका हुन् । समग्रमा कम्पनीहरुले सात वटै प्रदेशमा बिक्री भएका सबै बीमालेखहरुबाट कूल ८३ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी अर्थात ३८ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
यस कारण टाट पल्टियो सिलिकन भ्याली बैंक, नेपाली बैंकले सिक्नु पर्ने पाठ के हो ?
काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएपछि अमेरिकाको बैंक तथा वित्तीय क्षेत्रमा एक किसिमको तरंग पैदा भएको छ । ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरेपछि अमेरिकाको बैंक तथा वित्तीय क्षेत्रमा त्रास उत्पन्न भएको हो । यो घटनालाई लिएर धेरैले वित्तीय क्षेत्रमा संकट सिर्जना रुपमा चित्रण गरेका छन् । कतिपयले यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत बुझेका छन् । सन् २००८ मा वासिंङटन म्युचअल टाट पल्टिएको थियो । सो घटनापछि भएको यस घटनालाई अर्को वित्तीय संकटका रुपमा लिइएकाे छ । सिलिकन भ्याली बैंक अमेरिकाको १६औं ठूलो बैंक हो । नियामकले यो बैंकलाई बन्द गरेर भएको निक्षेपलाई आफ्नो नियन्त्रणमा लिएको छ । केही समय अगाडि देखि नै यस बैंकका वित्तीय स्वास्थ्य बिग्रिएको थियो । बेला बखत यस बैंकको विषयमा नकारात्मक समाचारहरु बाहिरिन्थे । बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा सेयर बेचेर करिब २.२५ बिलियन बराबरको सेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला लगानीकर्ता र बचतकर्ताले आफ्नो लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए । बैंकको विषयमा नकारात्मक विषयहरु बाहिरिएपछि निक्षेपकर्ताहरुले समेत धमाधम पैसा निकाल्दै आएका थिए भने ऋणीहरुले पनि समयमै ऋणको सावाँ किस्ता तिर्न मानिरहेका थिएनन् । यो बैंक समस्यामा पर्नुको मुख्य कारण उच्च ब्याजदर भएको विषय पनि बाहिरिएको छ । बैंकको सेयर मूल्य घट्दै जाँदा र लगानी समस्या हुँदा ठूलो सकसमा परेको थियो । अमेरिकाको बैंकहरुको नियामक फेडरल रिजर्भले महंगीलाई लक्षित २ प्रतिशतको दायरामा ल्याउन ब्याज दर वृद्धि गरेको छ । यसले पनि बैंकलाई असर गरेको हो । फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन(एफडीआईसी) ले बैंकमा करिब १७५ बिलियन डलर डिपोजिट रहेको जनाएको छ । यस बैंकको लगानीको हिस्सा सबभन्दा बढी प्रविधि क्षेत्रमा रहेको बताइएको छ । बैंकले भारतमा मात्रै करिब दुई दर्जन स्टार्टअपमा लगानी गरेको बुझिएको छ । गत वर्ष अक्टोबरमा मात्रै भारतका स्टार्टअप कम्पनीले सो बैंकबाट करोडौं डलर ऋण लिएको खुलेको छ । यो बैंक टाट पल्टिएसँगै यसको असर भारतमा पनि पर्ने धेरैको विश्लेषण छ । विश्व बैंकको पछिल्लो प्रक्षेपण प्रतिवेदनमा समेत सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने उल्लेख छ । नेपाली बैंकले सिक्नु पर्ने पाठ पछिल्लो समय नेपाली बैंक तथा वित्तीय क्षेत्र पनि स्वस्थ अवस्थामा छैन । बैंक तथा वित्तीय क्षेत्रले लामो समयदेखि तरलताको समस भोगिरहेका छन् भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट उच्च ब्याज लिएको भन्दै उद्योगी व्यवसायी पनि आन्दोलनमा छन् । बैंक तथा वित्तीय संस्थाहरुको नियामक राष्ट्र बैैंक एकपछि अर्को कडा नीति अघि सारेर वित्तीय संस्थाहरुप्रति झन कठोर बनिरहेको छ भने बैंकहरुले राष्ट्र बैंकको नीतिको मौन विरोध गर्दै आएका छन् । उद्योगी व्यवसायीहरुले बढी ब्याजदर भयो भनेर विरोध जनाइरहेको बेला नियामक राष्ट्र बैंकले नै बढी ब्याजलाई नै प्रशय दिइरहेको उसको नीतिबाट प्रष्ट हुन्छ । अहिले राष्ट्र बैंकले साढे ११ प्रतिशत ब्याजदरमा बचतपत्र बिक्री गरिरहेको छ । जुन बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्र तथा मुद्दती निक्षेप खातामा तोकिएको ब्याजदरभन्दा बढी हो । हाल बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा ११.३३ प्रतिशत ब्याजदर छ । तर, चैतदेखि भने घट्ने बताइएको छ । राष्ट्र बैंकले नै ब्याजदर बढाउने नीति अघि सार्दा यसले सेयर बजारलाई असर गर्ने धेरैको बुझाइ छ । सेयर बजारमा आएको गिरावट नै सिलिकन भ्याली बैंक टाट पल्टिनुको एउटा प्रमुख कारण भएको धेरैको बुझाइ छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा यो घटनाबाट नेपाली बैंकहरुले पनि धेरै पाठ सिक्नु पर्ने बताउँछन् । नेपाली बैंकहरुले बैंक जति ठूलो भयो त्यति धेरै जोखिम हुने, कर्जा लगानी एउटै ठाउँमा मात्रै गर्न नहुने, अधिक तरलता हुनु पर्ने र बैंकहरुको समस्यामा नियामकले सहयोग गर्नु पर्ने लगायतका विषयहरु बुझेर अगाडि बढ्नु पर्ने उनको राय छ । सिलिकन भ्याली बैंक जस्ताे ठूलो बैंक डुब्नाले पनि धेरै ठूलो जनमानसमा आर्थिक क्षति पुर्याएको छ र अझै पुर्याउन सक्छ । पछिल्लो समय नेपाली बैंक पनि ठूलो बन्ने लहर सुरु भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति अघि सारेर बैंक ठूलो बनाउने रणनीति बनाइरहेको छ । यदि त्यो बैंकमा कुनै दिन समस्या आउने वित्तिकै त्यसले ठूलो जनमासनमा असर पर्ने थापाको भनाइ छ । यस्तै, सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा बढी लगानी गरेको थियो । पूर्व कार्यकारी निर्देशक थापका अनुसार बैंकले एउटै क्षेत्रमा लगानी गर्नु राम्रो होइन । ‘सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा मात्रै लगानी गरेको थियो, अब यो घटनाले त्यस बैंकले लगानी गरेको क्षेत्रमा पनि असर पर्ने भयो, नेपालमा पनि घरजग्गा र सेयर बजामा बैंकहरुले बढी लगानी गर्छन्, ती क्षेत्रमा समस्या आयो भने बैंकहरु पनि ठूलो समस्यामा पर्न सक्छन्,’ उनले भने । यस्तै, बैंकहरुले तरलता अनुपात प्रयाप्त राख्नु पर्ने थापाको धारणा छ । अधिक तरलता .नराख्दा पनि बैंकमा समस्या आउन सक्छ । पछिल्लो समय नेपाली बैंकिङमा बैंकको ९० प्रतिशतमा रहेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को विषयमा व्यापक विरोध पनि हुने गरेको छ । तर, बैंकहरुले यो भन्दा पनि बढी तरलता राख्नु पर्ने थापाको तर्क छ । उनले बैंकमा अधिक तरलता राख्दा जस्तोसुकै समस्या आएपनि बैंकले समाधान गर्न सक्ने क्षमता राख्ने बताए । यस्तै, उनले नियामकले सहयोग नगरेकै कारण पनि सिलिकन बैंकमा समस्या आएको बताउँदै यस विषयमा राष्ट्र बैंकले पनि सजग बन्नु पर्ने राय दिए । ‘केन्द्रिय बैंकले सहयोग गरेन भने पनि यस्तो समस्या आउन सक्छ, सिलिकन भ्याली बैंकलाई त्यहाँको केन्द्रिय बैंकले अन्तिम ऋणदाता सहुलियत दियो भने डुब्ने सम्भावना कम हुन्थ्यो, यस्ता समस्या आउने वित्तिकै केन्द्रिय बैंकले पनि सहुलियत दिन पछि हट्नु हुन्न,’ थापाले भने ।
अर्थतन्त्र ठीकठाक भएको राष्ट्र बैंकको सन्देश, १० महिनाको आयात धान्ने वैदेशिक मुद्रा
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुमा सुधार देखिएकको हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि सुधार देखिएको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढको छ । अर्थतन्त्रका विभिन्न सूचकहरु सुधार हुँदा अर्थतन्त्र पनि सही दिशामा रहेको राष्ट्र बैंकको सन्देश छ । शोधनान्तर स्थिति १ खर्ब ३३ अर्बले बचतमा चालू आर्थिक वर्षको माघ मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४११ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई रु.५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २९ करोड रहेको थियो । पौने १४ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति चालू आर्थिक वर्षको माघ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ मसान्त सम्मको तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा रु.१३८३ अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२२८ अर्ब ५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१५५ अर्ब २८ करोड कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९र८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ७८.३ प्रतिशत र २४.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । रेमिट्यान्स पनि बढ्यो ७ महिनासम्म पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स पुगेको छ । चालू आव ७ महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजा ७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु.७५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो । आयात र निर्यात घट्यो चालू आर्थिक वर्षको सात महिनामा नेपालले ९३ अर्ब बराबरको निर्यात गरेको छ । सात महिनाको तथ्यांक अनुसार नेपालले ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको हो । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अबधिमा ८८.३ प्रतिशतले निर्यातमा वृद्धि भएको थियो । गत आवको तुलनामा चालु आवको सो अवधिमा २९ प्रतिशतले निर्यातमा कमी आएको हो । यस्तै, चालू आवको सात महिनाको अबधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब १९ अर्ब १७ करोड बराबरको विदेशी वस्तुको आयात गरेको छ । अघिल्लो आवकोे तुलनामा चालू आवको सो अबधिमा १९.९ प्रतिशतले आयातमा कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८ प्रतिशत, २४.३ प्रतिशत र २२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ । मूल्यवृद्धि बढेको बढ्यै चालू आर्थिक वर्षको सात महिनाको अबधिमा ७.८८ प्रतिशतले मूल्य वृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्यांक अनुसार मूल्यबृद्धि ७.८८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही महिनामा ६.२४ प्रतिशत मूल्यबृद्धि रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ । सात महिनाको अबधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।