सन्तोषजनक देखिएन गुण एयरको वित्तीय अवस्था, उडान प्रतिबन्ध कायमै

काठमाडौं । कर्मचारीलाई तबल नदिएपछि ग्राउण्डेड गरिएको गुण एयरका जहाज तत्काल नउड्ने भएका छन् । कर्मचारीलाई तलब समेत दिन नसक्ने भएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत फागुन ८ गतेदेखि ग्राउण्डेड गरेको थियो । ग्राउण्डेड गरेपछि क्यानको टिमले गुण एयरको फाइनान्सिङ अटिड गरेको थियो । अडिटका आधारमा जहाज उडानको अनुमति दिने तयारी गरिएतापनि अडिट रिपोर्ट सन्तोषजनक नभएको क्यानका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् । ‘हामीले फाइनान्सिङ अडिट गरेपछि त्यसकै आधरमा उडानको अनुमति दिने तयारी गरेका थियौँ, अडिट रिपोर्ट सन्तोषजनक पाइएनन, उडान प्रतिबन्ध लम्बियो’, उनले भने । गुणले बिग्रिएको आर्थिक अवस्था सुधार गर्ने, कर्मचारीको रोकिएको सेवासुविधा नियमित दिने, जहाज मर्मतसम्भार तथा क्यानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम भुक्तानी गर्ने आधार पेश गरेपछि उडान सुचारुको विषयमा थप अध्ययन हुने उनको भनाइ छ । अडिट गर्दा गुण एयरले तीन महिनादेखि कर्मचारीलाई तलब नदिएको क्यान स्रोतले जनाएको छ । ‘लामो समयदेखि गुण एयरले कर्मचारीलाई सेवा सुविधा भुक्तानी नगरेको पाइएको छ, कर्मचारीसँगै क्यानलाई समेत ४ करोड रुपैयाँ बढी बक्यौता भुक्तानी भएको छैन, तत्काल जहाज उडानको अनुमति दिने कुनै आधार भेटिएन’, स्रोतले भन्यो । ‘गत वर्षबाट गुण एयरको नामबाट उडान सुरु गर्दा नै हामीले वित्तीय अवस्थाको विषयमा विश्लेषण गरेका थियौँ, यति छिटो अवस्था बिग्रन्छ भन्ने हामीले अनुमान समेत गर्न सकेनौं’, क्यानको वित्त विभाग (फाइनान्स डिपार्टमेन्ट) स्रोतले भन्यो, गुणले आर्थिक अवस्था सुधार गर्ने आधार पेश नगर्दासम्म उडान नियमित हुन सक्दैन ।’ २०७८ को असोज १ गतेबाट रियलस्टेट व्यवसायी राजेन्द्र शाक्यले सिम्रक एयरको नाम फेरेर गुण बनाएका थिए । साढे ४ करोड बक्यौता गुण एयरले क्यानलाई साढे ४ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । क्यानको वित्त विभागका अनुसार गुणले गत वर्षको माघदेखि विमानस्थल कार्यालयलाई बुझाउनु पर्ने रकम भुक्तानी नगरेको हो । एयरलाइन्सले कम्पनीले विमानस्थल कार्यालयलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ । उक्त शिर्षक अन्तर्गत गुणले ४ करोड ४४ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । गुणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा २ करोड ८७ लाख, विराटनगरमा १९ लाख, नेपालगन्ञ विमानस्थल कार्यालयमा ५ लाख ६९ हजार रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । कर्मचारीलाई तलब समेत दिन नसकेको भन्दै क्यानले फागुन ८ गतेदेखि अनिश्चितकालका लागि गुणको उडान बन्द गरेको छ । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ । गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् । तीन महिनादेखि कर्मचारीलाई सेवासुविधा भुक्तानी नगरेको र वित्तीय अवस्था समेत सन्तोषजनक नभएको सार्वजिनक भैसक्दा गुण एयर भने बाहिर आएका कुरामा सत्यता नभएको बताउँदै आएको छ । गुण एयरका प्रवक्ता तथा मार्केटिङ्ग प्रमुख प्रज्वल थापा नियमित रुपमा सबै कर्मचारीहरुलाई तलब दिइएको बताउँछन् । उनले जहाज मर्मत तथा पाइटलको तालिम एकैपटक हुँदा उडान रोकिएको दाबी गरे । क्यानले जहाज ग्राउण्डेड गरेपछि पुराना जहाज बिक्रीको तयारी थालिएको गुणले जनाएको छ । २०७८ सालमा यती एयरलाइन्ससँग किनेको ५ वटा पाँचवटा जेट स्ट्रिम जहाज बिक्री गर्ने तयारी थालिएको जनाएको छ । ‘यतीसँग किनेका ५ सहित गुणसँग ७ वटा जहाज भएतापनि ४ वटाले मात्र उडान गर्ने गरेको थियो, उडान नगर्ने जहाज हामीले बिक्रीको तयारी थालेका थियौँ, तयारीकै बीचमा क्यानले उडानमा प्रतिबन्ध लगायो’, थापाले भने, ‘प्रतिबन्धकै बीच जहाज खरिद गर्न अमेरिकाको एक कम्पनीले जहाज लैजाने टुंगो लगभग लागिसक्यो, मूल्यांकनको काम बाँकी छ ।’ उनले पुराना जेट स्ट्रिम जहाज बिक्री गरेर ५० देखि ७० सिट क्षमताका मझौला जहाज ल्याएर गुणले पुनः उडान सुचारु गर्ने बताए । क्यानका प्रवक्ता निरौला भने गुण एयरले जहाज बिक्रीको औपचारिक रुपमा कुनै जानकारी नगराएको बताए । ‘हामीसँग गुणले जहाज बिक्रीको विषयमा कुनै जानकारी गराएको छैन, मैले पहि समाचार देखेर थाहा पाएको हो’, उनले भने, बिक्रीको आन्तरिक तयारी भएको होला, हामीकहाँ भुक्तानी गर्नुपर्ने बक्यौता रकम पूर्ण रुपमा भुक्तानी नभएसम्म जहाज बिक्रीको अनुमति दिदौनौँ ।’ जहाज खरिद तथा बिक्रीका लागि क्यानले अनुमति दिनुपर्छ ।

महानगरले १३ करोडको लगानीमा एक दर्जन पार्क बनाउँदै, बालेनको प्राथमिकतामा यम बुद्ध पार्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० मा १२ वटा पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले विभिन्न वडामा सुविधा सम्पन्न आधुनिक पार्क बनाउन लागेको हो । महानगरले चालू आर्थिक वर्षको वार्षिक कार्ययोजनामा समावेश गरेअनुरुप पार्क निर्माणको काम अगाडि बढाउने भएको हो । महानगरपालिकाका अनुसार धेरै जसो पार्क निर्माणको काम चालू आव भित्रबाटै सुरु हुनेछ । महानगर भित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ यो वर्ष पनि पार्क निर्माण गर्न लागेको महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुख राम बहादुर थापाले जानकारी दिए । महानगरपालिकाले साना ठूला गरी १२ पार्क निर्माण गर्न चालू आवमा १३ करोड ६३ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरपालिकाले साना ठूला गरी करिब २२ वटा पार्क निर्माणको काम अगाडि बढाएको थियो । जसमध्ये ८ वटा पार्क निर्माणको काम सम्पन्न भइसेको पनि थापाले बताए । उनका अनुसार बाँकी १४ वटा पार्क निर्माणको चरणमा छन् । निर्माणाधीन पार्कको पनि लगभग ६०/७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सो पार्कको काम महानगरले असार मसान्त भित्र सक्ने लक्ष्य लिएको छ । ‘महानगरपालिकाले कतिपय ठाउँमा पार्क निर्माणको काम सुरु गरिसकेको छ, अहिले वडा नम्बर ६ मा पनि काम भएको छ भने ३२ नम्बर वडामा पनि २ पार्क र ९ मा एक वटा पार्क बनाउने काम चलेको छ, अहिले भदौ असोज तिरै डिजाइन गरेका पार्कको निर्माण सुरु गरेका छौं,’ उनले भने । थापाका अनुसार पार्कमा फरक–फरक सेवा सुविधा हुनेछन् । पार्क जलवायु अनुकुल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको हुनेछ । कुन–कुन ठाउँ बन्दैछन् पार्क ? महानगरपालि चालू आवको योजनामा समावेश भएका धेरै पार्कको डिजाइन तयार गरी टेन्डर गरिसकेको छ । थापाका अनुसार योजनामा भएका पार्कका निर्माणका काम यही वर्षदेखि सुरु हुनेछ । महानगरपालिकाले वडा नम्बर ३ गङ्गालाल हस्पिटलको अगाडिको भागमा ‘इको पार्क’ निर्माण गर्ने भएको छ । महानगरले सो ठाउँमा इको पार्क निर्माण गर्नको लागि टेन्डर गरिसकेको पनि थापाले बताए । महानगरले उक्त पार्क निर्माणको लागि चालू आवमा एक करोड ५ हजार रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, महानगरको अर्को योजना हो बालाजु पार्क कम्पाउन्ड निर्माण तथा संरक्षण गर्ने । पहिलो चरणमा कम्पाउन्ड घेर्ने मात्र महानगरको योजना छ । यसको लागि अहिले डिजाइन स्टिमेट गरिरहेको थापाले जानकारी दिए । बालाजु पार्कको लागि चालू आवमा ५ करोड रुपैयाँ छुट्याइएको छ । चालू आवमा नै महानगरले बुद्धनगर पार्किङ सहितको पार्क निर्माण योजना राखेको छ । उक्त पार्किङ सहितको पार्क निर्माणको लागि एक करोड ५ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ । महानगरले सानो गौचरनमा बालमैत्री पार्क र खुल्ला व्यायमशाला निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । भूगोल पार्क न्युरोडमा निर्माणमा बनाउने भएको छ । उक्त पार्क निर्माणमा विवाद परेको छ । मूर्तिको विषयलाई लिएर विवाद परेको हो । विवाद टुङ्गयाइ पार्क निर्माणको योजनामा महानगर छ । सोही पार्क निर्माणको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, अर्को बुढापाकालाई लक्षित गर्दै महानगरले वडा नम्बर २५ मा महानगरले जेष्ठ नागरिक पार्क बनाउने भएको छ । सो पार्क महानगरले गुठीको जग्गामा बनाउन लागेको हो । गुठिका स्वामित्वमा रहेको उक्त ठाउँमा १२ रोपनी जग्गा छ । सो जग्गामा टहरा छन् । सो टहरालाई हटाएर पार्क निर्माण हुनेछ । यो पार्क निर्माणका लागि चालू आवमा एक करोड रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै, अर्को पार्क हो ‘यम बुद्ध पार्क’ । उक्त पार्क महानगरले वडा नम्बर १६ मा बनाउने भनेको छ । यो मेयर बालेनको नयाँ योजना हो । यो पार्क नयाँ बस पार्क गंगबु क्षेत्रमा बन्नेछ । उक्त स्थानमा लगभग १५ रोपनी जग्गा छ । यम बुद्ध पार्कमा स्केट, वोर्डिङ्ग, बास्केटबल कोर्ट, बी वोईङ लागयत अन्य निर्माण गर्ने भनिएको छ । सो पार्कको काम पनि चालू आवबाटै सुरु हुने थापाले बताए । यम बुद्ध पार्क निर्माणको लागि मेयर बालेनले एक करोड ५ हजार रुपैयाँ छुट्याएका छन् । यस्तै, तीनकुनेमा बृद्द संरक्षण र डीपीआर तयार गर्न ५ लाख, विभिन्न पार्क तथा सार्वजनिक स्थानमा खुल्ला व्यायाम सामाग्री जडान एक करोड, एक वडा एक पार्क निर्माण गर्न कार्यमा एक करोड, गंगाहिटी हाईटको जग्गा संरक्षण गरी पार्क बनाउने काम गर्न ८ लाख ५ हजार र वडा परिसरको पार्क निर्माण ५० लाख रुपैयाँ बजेट महानगरले छुट्याएको छ । महानगरपालिकाले चालू आव भित्र नै धेरै पार्कको निर्माणाधीन कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर, लक्ष्य लिए पनि केही पार्क निर्माणको काम समयमा नै सम्पन्न गर्न नसकिने थापाले जानकारी दिए । महानगरले टेन्डरको काम गत मंसिरबाट मात्र गरेको थियो । मंसिसदेखि सुरु भएको टेन्डर अहिले संशोधनको चरणमा रहेको पनि थापाले बताए । महानगरले माघदेखि भएका सम्झौताहरू असारमा नै सकाउने तयारी गरिरहेको छ । पहिलो चौमासिकमा काम हुन नसकेको काम अर्को आर्थिक वर्षको पहिलो चौमासिक सक्ने महानगरको योजना छ । महानगरले चालू आव भित्र रानीवारी पोर्पा अजिमा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसको लागि यो वर्ष २ लाख १ हजार १७ रुपैयाँ बजेट छुट्याएको छ । महानगरले वार्षिक कार्ययोजनामा शिवस्थली पार्कको काम पनि सम्पन्न गर्ने भनिएको छ । तर, लक्ष्य लिए पनि उक्त पार्कको काम चालू आवमा भने सम्पन्न नहुने थापाको भनाइ छ । महानगरले वडा नम्बर ४ मा बाजे बज्यै पार्कका निर्माण गर्दैछ । यो पार्कको काम चालू आवमा निर्माण सम्पन्न गर्नको लागि १ करोड ९६ लाख २७ हजार रुपैयाँ छुट्याएको छ । थापाका अनुसार यो पार्क चालू आव भित्र निर्माण सम्पन्न हुने छ । महानगरले बालाजु पार्क मर्मत तथा संरक्षण गर्न ९ लाख ९२ हजार, मनोहरा नदी किनारको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणमा २ करोड ९८ करोड ९७ हजार, मैतीदेवी पार्क निर्माण गर्ने कार्यमा ४ लाख ३३ हजार २ हजार, सन्तोषीनगर पार्क निर्माण गर्ने २ लाख ५८ हजार ७ सय, धुम्बाराही पार्कमा एक करोड ७ लाख ७२ हजार बजेट छुट्याएको छ । नरबुद्ध पार्क निर्माण गर्न ८ लाख १२ हजार, बालाजु पार्क विकास तथा स्विमिङ पुल निर्माण कार्यमा ७ करोड २५ लाख ९७ हजार छट्याएको छ ।

भोलि बैंक बन्दको पत्राचार, सीडीओको सहयोगमा खोल्न बैंकर्सको निर्देशन

काठमाडौं । उद्योगी व्यवसायीहरुले भोलि एकदिन बैंक बन्द गर्न आग्रह गर्दै प्रत्येक बैंकलाई पत्र पठाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला सदस्य मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न बैंकहरुलाई पत्र पठाएर भोलि बैंक बन्द गर्न आग्रह गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा उद्योगी व्यवसायीहरुले विरोध जनाएको र सोही विरोधलाई सहयोग स्वरुप भोलि बैंक बन्द गर्न सम्पूर्ण बैंकहरुलाई आग्रह गरेको हो । ‘आर्थिक मन्दीको कारण उद्योगका उत्पादनहरुको बिक्रीमा गम्भीर धक्का लागेको छ, व्यवसायीहरुको न्यून बिक्रीको कारण आर्थिक सन्तुलन बिग्रिएको छ, उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई टुवा पुर्याउन एक अंकको ब्याजदर कायम गरी राहत दिन यहाँ मार्फत् अनुरोध गर्दै फागुन ३० गते हाम्रो अनुरोधलाई सघाउन बैंक बन्द गरिदिन अुरोध गर्दछौं,’ पत्रमा लेखिएको छ । उद्योगी व्यवसायीहरुले बैंक बन्द नै गर्नका लागि पत्र पठाएपछि बैंकर्सले भने बैंक बन्द नगर्न आफ्ना शाखाहरुलाई आन्तरिक सर्कुलर गरेका छन् । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बैंकका शाखाहरु बन्द नगर्न बैंकका म्यानजेरहरुलाई निर्देशन दिएको बताएका छन् । ‘उद्योगी व्यवसायीहरुले बैंक बन्द नै गर्न पत्र पठाएका रहेछन्, बैंकिङ व्यवसाय अन्य व्यवसाय जस्तो मन लागेको बेला खोल्ने र मन नलागेको बेला बन्द गर्ने होइन, यो अत्यावश्यक सेवा हो, यसमा आम सर्वसाधारणहरुको दैनिकी जोडिएको छ, बैंक नै बन्द गर्नु भनेर यस्तो अराजकता देखाउनु हुँदैन, यो वित्तीय क्षेत्रका लागि राम्रो काम होइन,’ उनले भने । उनले शाखा कार्यालयहरुलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सहयोगमा बैंक खोल्न भनिएको बताए । उनले सबै बैंक तथा वित्तीय संस्थालाई निर्वाद रुपमा कार्यालय खोल्न पनि आग्रह गरेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याज उच्च भएको भन्दै केही उद्योगी व्यवसायीहरु आन्दोलित छन् । आज मात्रै केही उद्योगी व्यवसायीहरु राष्ट्र बैंक पुगेर विरोध गरेका थिए । उनीहरुले मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, ब्याज दरमा स्थिरता कायम गर्नुपर्ने, चालू पुँजी निर्देशिका स्थगित गर्नुपर्ने लगायतका मागहरु राखेर राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए । जसमा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठको पनि सहभागिता थियो । पछिल्लो समय श्रेष्ठले बैंक तथा वित्तिय क्षेत्रमाथि धावा बोल्दै आएका छन् । कतिपयले उनको अभिव्यक्तिलाई महासंघको चुनाव लड्ने स्टन्टका रुपमा पनि बुझेका छन् । उनले उद्योगी व्यवसायीहरुको मत पाउनकै लागि उनीहरुलाई उचालेर आफु हिरो बन्न खोजेको धारणा धेरैको छ । श्रेष्ठले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममै बैंक विरोधी अभिव्यक्तीहरु दिन थालेका छन् । उनले उद्योगी टाट पल्टने अवस्था बन्दा समेत बैंक गम्भीर नभएको बताइरहेका छन् । ‘कञ्चनजङ्गादेखि कञ्चनपुरसम्मका उद्योगीहरु हाल काठमाडौँमा बैंक ब्याजको विरोधमा सडकमा ओर्लिएको अवस्था छ, हामी सबै उद्योगी अहिलेको अवस्थामा मिलेर दबाब दिन आवश्यक छ, त्यसैले आउनुस् हातेमालो गर्दै नेतृत्व पङ्क्तिलाई आग्रह गरौँ,’ उनले सोमबार राष्ट्र बैंक अगाडि भएको विरोध सभामा भने, ‘बैंकले हामीलाई पीडा दिए ।’ महासंघकै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भने बैंकविरुद्द अराजक गतिविधि नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरिरहेका छन् । उनले केही व्यक्तिहरुले समाजमा पपुलर बन्नका लागि स्टन्ट गरिरहेको बताउँदै त्यस्ता व्यक्तिहरुको पछाडि नलाग्न सबै उद्योगी व्यवसायी र सर्वसाधारणलाई समेत आग्रह गरिरहेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छा पनि यस्ता अराजक गतिविध नगर्न आग्रह गरिरहेका छन् । उनले संस्थागत रुपमा भने यस्ता गतिविधि गर्नेलाई कुनै पनि निर्देशन दिन सकेका छैनन् । महासंघको निर्वाचन नजिकिँदै गएकाले पनि अराजक गतिविध गर्ने केही व्यवसायीविरुद्द महासंघले एक्सन लिन नसकेको बुझाइ धेरैको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवाल पनि बैंकविरुद्द व्यवसायीहरु उत्रिनु गलत भएको धारणा राख्दै आएका छन् । उनले बैंकविरुद्दका अभियान सञ्चालन गर्नु अराजकता भएको बताउँदै यस्तो कार्य नगर्न पनि आफ्ना सदस्यहरुलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल पनि उद्योगी व्यवसायीले अराजकता प्रदर्शन गर्न नहुने. बताउँछन् । बैंकिङ क्षेत्रबिना अर्थतन्त्र चलायमान नहुने बताउँदै उनले बैंकको अस्तित्वमाथि नै प्रश्न उठ्ने खालका गतिविधि नगर्न आग्रह गरे । ‘हामी सबैले ऐन नियमभित्र बस्नु पर्छ, समस्या परेको बेला एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्नु पर्छ, बैंकको ऋण तिर्दिन भन्नु गलत हो, तिर्नु पर्छ, तर बैंकहरुले पनि बढी ब्याज लिनु भएन,’ उनले भने । सम्बन्धित सामग्री : उद्योगी व्यवसायीलाई बैंकहरु नचाहिएको हो ? निजी क्षेत्र किन मौन ?