नेपालकै शैक्षिक संस्था विश्वस्तरीय छन्, उच्च शिक्षा पढ्न बैंकबाट ऋण पाइन्छ : प्रिन्सिपल पौडेल
कक्षा १२ उत्तिर्ण विद्यार्थीहरू यतिबेला विश्वविद्यालय शिक्षाको तयारीमा छन् । विश्वविश्वालयहरुले पनि विभिन्न विषयमा भर्ना आह्वान गरेर प्रवेश परीक्षाको तालिका सार्वजनिक गरिसकेका छन् । तर, कक्षा १२ उत्तिर्णमध्ये ठूलो संख्याका विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने तयारी गरेको देखिन्छ । शिक्षण संस्थाहरू नेपालमै विश्वस्तरीय शिक्षा दिइरहेको दावी गर्छन तर, विद्यार्थी भने विदेशका विश्वविद्यालय खोजिरहेका छन् । नेपालको शैक्षिक संस्थाको अवस्था, शिक्षण प्रणाली, नेपाली शैक्षिक संस्थामै अध्ययन गर्नुपर्ने कारण र नेपालमा उपयोगितामूलक (एप्लाईड) कोर्ष अध्ययनको स्थिति जस्ता विषयमा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेलसँग विकासन्युजका लागि नारायण अर्यालले गरेको कुराकानीको सम्पादित अंश : स्नातक तह अध्ययनको लागि सबै विश्वविद्यालयहरुले विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएका छन् । सबै विद्यार्थीको पहुँचमा विश्वविद्यालयका कार्यक्रमहरु पुगेका छन् ? नेपालका धेरैजसो विश्विद्यालयहरुको धेरैजसो विषय नै मिल्दोजुल्दो अवस्थामा रहेका छन् । कुनै पनि देशमा विश्वविद्यालयहरुले कस्तो जनशक्तिको आवश्यकता छ भनेर विषयवस्तुको डिजाइन गरेका हुन्छन् । जुन विषयवस्तुको डिजाइन गरिएको छ, सो अध्ययन पश्चात उत्पादन हुने जनशक्ति राष्ट्रकै लागि हो । जनशक्तिको आवश्यकताका आधारमा नै पाठ्यक्रम तयार गरिएको हुन्छ । नेपालका विश्वविद्यालयले उत्पादन गर्ने जनशक्ति नेपालको आवश्यकता अनुरुप नै भैरहेको छ । कतिपय शैक्षिक कार्यक्रम मिल्दोजुल्दो छ, तर सबै ठाउँमा सबै विश्वविद्यालय पुग्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय पुरानो भएकोले धेरै ठाउँमा पुगेको छ भने प्रादेशिक तह र केही विशेष ठाउँहरुमा अन्य विश्वविद्यालय पनि पुगेका छन् । संघीय व्यवस्था पछि कतिपय अध्ययन गर्नको लागि काठमाडौं नै आउनपर्ने बाध्यता पनि हटेको छ । आफ्नो क्षेत्र तथा आफ्नो प्रदेशमा विद्यार्थीले रोजेको विषय पढ्न पाउने, सबै विषयका कलेज उपलब्ध हुने अवस्था बन्दै गएको छ । केही नयाँ कार्यक्रम पनि विस्तारै आउँदै छन् । कक्षा १२ उत्तिर्ण भएको विद्यार्थीले कुन विषय रोजेर स्नातक तहमा पढ्दा राम्रो हुन्छ ? तपाईंको सुझाव के छ ? विद्यार्थी स्वयंको रुचि के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । मानव जातिको स्वभाव भनेको ऊ सँधै नै हरेक ठाउँमा अग्रस्थानमा हुन चाहन्छ । अहिले २१ औं शताब्दीको विद्यार्थीले विश्वलाई राम्रोसँग देखिसकेको छ । विद्यार्थीको रुचिअनुसार कसैले सिभिल इन्जिनियर, कसैले बिबिए, कसैले चाटर्ड एकाउन्टेन्ट, कसैले डाक्टर त कसैले आइटी राम्रो मान्न सक्छन् । यी विषयहरु नेपालको सन्दर्भमा केन्द्रित गरेर अगाडि बढाइएको भए पनि विश्वबजारमा बिक्ने विषयहरु हुन् । विश्वबजारमा काम गर्न नेपाली युवा सक्षम भएको अवस्था छ । विश्वविद्यालयहरुले पनि बजारको मागअनुसार विषयको विस्तार गरेको देखिन्छ । साथै विश्विद्यालयहरुले देशलाई आवश्यक पर्ने जनशक्तिमा आधारित नयाँ–नयाँ विषयहरुको पनि विकास गरेका छन् । सूचना प्रविधिको सहायताले अहिलेको युवाले विश्व आफ्नै हातमा देखेको छ । त्यसैले उसले इच्छाअनुसार देशमा अथवा विदेशमा बिक्ने प्रकारको विषय रोजेर पढ्न सक्छ । पछिल्ला वर्षहरुमा सामान्यतया कक्षा १२ पास भइसकेपछि अध्ययन तथा करिअर निर्माणका लागि विदेश जाने प्रवृत्ति विकास भइरहेको छ । तपाईंले कसरी हेर्नुभएको छ ? मानवजाति हो, उसले सुविधा खोजिरहेको हुन्छ, जहाँ सुविधा हुन्छ ऊ त्यहाँ जान चाहन्छ । यो स्वभाविक पनि हो । देशमा नयाँ पुस्ताले सोचेजस्तो नभएको पनि होला । तर, केही नभएको पनि होइन, धेरै भएको पनि छ । तर, हामीले अपेक्षा गरेअनुरुप नभएको हुनसक्छ । माटो सुहाउँदो विकास भइरहेको हुनसक्छ । सुविधा खोज्ने केही विद्यार्थीहरुले यहाँ गर्ने मिहेनतले विदेशमा गएर गर्दा राम्रो हुन्छ भन्ने मानिरहेका छन् । पछिल्लो समयमा केसम्म हुँदै गएको छ भने उसको छोराछोरी विदेश गए, मेरा गएनन् मलाई समाजले कसरी हेर्ला भन्नेसम्म भइसक्यो । यो निकै गलत भइरहेको छ । हामीले १८ वर्षसम्मका बालबालिकालाई नाबालक भन्ने गर्छौं, कतै हामीले हाम्रा बालबालिकाहरुमा परिपक्वताको विकास नहुँदै विदेश पठाइरहेका त छैनौं ? कतै उनीहरु विदेश गएर आफ्नो शिक्षालाई अगाडि बढाउने भन्दा पनि पैसाको पछाडि मात्रै त दौडिरहेका छैनन् ? राज्यले र अभिभावकले यो विषयलाई कसरी हेर्ने ? नेपालबाट अध्ययन गर्ने नाममा विदेश गएका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका छैनन् । त्यहाँको समाजमा उनीहरु तल्लो स्तरका नागरिक भएर आफ्नो जीवन गुजारिरहेका छन् । तपाईंले भनेजस्तै हाम्रो मुलुकमा पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने झण्डै डेढ दर्जन विश्वविद्यालय पुगिसके । तर ठूलो संख्याका विद्यार्थीहरु अध्ययनको नाममा विदेश गइरहेका छन् । वास्तवमा विद्यार्थीहरुले स्नातक तह नेपालमा नै पढ्दा उनीहरुको करिअर राम्रो बन्छ की विदेशमा ? यहाँनेर एउटा महत्वपूर्ण प्रश्न उठ्छ । करिअर केलाई मान्ने ? पैसा र शिक्षा भनेका दुई भिन्न विषयहरु हुन् । हामीले के बुझिरहेका छौं भने ब्याचलर डिग्री पढ्ने वित्तिकै यसले यती कमाउनुपर्छ भन्ने गरेका छौं । यसले यस्तो किसिमको जागिर खानुपर्छ भन्ने काम गरिरहेका छौं । नेपालमा यो–यो काम यति पढेको व्यक्तिले गर्न हुँदैन भन्ने कुरा गरिरहेका हुन्छौं । यहाँबाट कक्षा १२ पढेर विदेश गएको विद्यार्थीले पैसा कमाएको छ, तर उसले आफ्नो शिक्षालाई अगाडि बढाइरहेको छैन । करिअर भनेको पैसा हो की शिक्षा अथवा उसको बुझाईमा परिपक्वतामा विकास हो ? हामीले ब्याचलर डिग्री यहाँ पढ भन्नुको अर्थ कक्षा १२ पछिको चार वर्षमा उसले आफ्नो जीवन, समाज र वास्तविक जीवनमा एक स्तरको परिपक्वता हासिल गर्न सकोस् भनेर हो । त्यसपछिको अवस्थामा ऊ नेपालमा मात्रै नभएर विदेशमा पनि राम्रोसँग आफ्नो क्षमतालाई बेच्न सक्छ । यहाँ बसेर ब्याचलर डिग्री पढेकोलाई होइन, विदेशमा गएर पैसा कमाएकोलाई समाजले ठूलो मान्ने काम गर्यो । जुन विषय क्षणिक हो । समाजमा एउटा भनाइ छ, ‘मुतको न्यानो’ वास्तवमा त्यही नै हो । जुन देशको युवाहरुले शिक्षामा छलाङ मार्दैनन् त्यो देशको विकास सम्भव छैन । हामीले हाम्रा युवाहरुलाई देशमा नै शिक्षित बनाउन सक्नुपर्छ । नेपालमा चार वर्षको एप्लाइड कोर्ष सरकारी संस्थामा अध्ययन गर्दा कलेजको शुल्क र बसोबार खर्चसमेत गरेर १५ लाख र निजीमा जाँदा न्यूनतम २५ लाख खर्च हुने रहेछ । यहाँ यति धेरै खर्चिनुभन्दा विदेश जाँदा ठिक भन्ने मानसिकता विद्यार्थीमा विकास भएको छ । यसमा राज्यको भूमिका हुनुपर्दैन ? आर्थिक अवस्था कमजोर भएका, दुर्गम क्षेत्रका र सरकारी स्कुल पढेका विद्यार्थीहरुलाई सरकारले १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ । सो सुविधा जुनसुकै विश्विद्यालय तथा कलेजमा पनि लागू हुन्छ । यो भनेको ठूलो परिणाम हो । हाम्रो कलेजले नै वर्षेनी १४ जना सिभिल इन्जिनियर पढ्ने विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरिरहेका छौं । त्यस्तै, नेपाल राष्ट्र बैंकले प्राविधिक तथा अप्लाइड विषयको अध्ययन गर्ने विद्यार्थीलाई ४ देखि ६ प्रतिशत ब्याजमा सफ्ट लोनको व्यवस्था गरेको छ । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजमा ९० जना विद्यार्थीहरुले अहिले पनि सो सुविधा लिइरहेका छन् । जुन ऋण प्राप्त गर्न विद्यार्थीले धितोको व्यवस्था गर्नुपर्दैन । कलेजलाई तिर्नुपर्ने शुल्कको पाँच लाखसम्म यस्तो सुविधा विद्यार्थीले प्राप्त गर्न सक्छन् । तर, यो सुविधाको लागि कलेजले बैंकसँग सम्झौता गरेर कार्यान्वयन गर्नुपर्ने हुन्छ । आइटी पढ्ने विद्यार्थीले दोस्रो सेमेस्टरबाट नै आफै आम्दानी गर्ने क्षमता समेत राख्ने गर्छ । उसले आफ्नो ऋण आफै तिर्न सक्छ । त्यस्तै इन्जिनियर पढ्ने विद्यार्थीले पनि सातौं समेस्टरबाट पार्ट टाइम काम गरेर आम्दानी गर्न सुरू गर्छ । हामीले यो सुविधालाई प्रयोग गर्न सकिरहेका छैनौं । आर्थिक अवस्था कमजोर भएको विद्यार्थीले आफ्नो परिवारसँग बसेर सरकारले दिएको सो ऋण सुविधालाई प्रयोग गरेर पढ्न सक्ने अवस्था छ । पढ्दै कमाउँदै गरेर यो सुविधा विद्यार्थीले प्रयोग गर्न सक्छन् । कतिपयले गर्वका साथ विदेशको डिग्रीको उल्लेख गर्ने गरेका छन् । के नेपालमा शिक्षण संस्था अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने हैसियत बनाएका छैनन् ? नेपाली विश्वविद्यालय तथा कलेजहरुले विश्वस्तरीय जनशक्ति उत्पादन गर्न नसकेको भए विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुले नेपालबाट स्नातक उत्तिर्ण गरेको विद्यार्थीलाई स्नातकोत्तर गर्न किन दिन्थे र ? विदेशी विश्वविद्यालयमा नेपाली विद्यार्थी पहिलो रोजाइमा किन पर्थे ? हाम्रो पाठ्यक्रम र शिक्षण राम्रो भएर नै उनीहरुको रोजाइमा परेको हो । नेपाली विश्वविद्यालयमा दक्षिण एसिया, युरोप तथा सबै मुलुकको पाठ्यक्रमलाई मध्यनजर गरेर नै विकास गरिएको छ । त्यसकारण हाम्रो सेलेबसमा कमजोरी छैन र पढाउने तरिकामा पनि कुनै कमि रहेको छैन । केही वर्ष अगाडि समस्या थियो । अहिले पढाउने दक्ष जनशक्तिको सन्दर्भमा पनि अहिले कुनै समस्या छैन । हाम्रो कलेजमा पढ्ने ६ सेमेस्टर सकेको विद्यार्थीले भर्खरै आफ्नो सम्पूर्ण क्रेडिट ट्रान्सफर गरेर क्यानडाको प्रतिष्ठित विश्वविद्यालयमा गएको अवस्था छ । त्यसैले पढाइको गुणस्तरीयतामा नेपाली विश्वविद्यालयलाई सबै विश्वविद्यालयहरुले स्वीकार गरेको अवस्था छ । आम्दानीको कुरामा नेपालको तुलनामा अन्य देशमा फरक हुनसक्छ । तर, नेपाल विश्वको तुलनामा कम खर्चिलो र सस्तो पनि छ । यो विषयलाई पनि हामीले तुलना गरेर हेर्यौं भने हामीलाई स्वभाविक लाग्छ । स्नातक तहमा विभिन्न विषयमा भर्ना आह्वान भएका छन्, कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई पढ्ने अवसरको विषयमा तपाईंको के सुझाव छ ? शैक्षिक दृष्टिकोणबाट हेर्दा १२ कक्षा पढेर पुरा गरेको भनेको बल्ल त्यो विद्यार्थी साक्षर भयो भनेर पनि बुझ्नु पर्छ । अब त्यो विद्यार्थी विश्वविद्यालयको नर्सरी तहमा प्रवेश गर्छ । हाम्रो मानसिकता के बनेको छ भने ब्याचलर डिग्री वा मास्टर डिग्री गरेपछि उसले यो जागिर खानपर्छ । हामीले के सोचिरहेका छैनौ भने विद्यार्थी पढेपछि ऊ उद्यमी बन्नुपर्छ । उसलाई उद्यमशील कसरी बनाउने भनेर राज्यले पनि कल्पना गरेको छैन । जस्तै बिएस्सीएजी पढेको विद्यार्थीले कृषि क्षेत्रमा उद्यमको विकास कसरी गर्न सकिन्छ भनेर सोच्न र गर्न सक्ने हुनुपर्छ । पछिल्लो समयमा कृषि क्षेत्रमा प्रविधिको विकास कसरी भइरहेको छ, त्यसको उपयोग कसरी गर्ने विषयमा उसले बुझ्न सक्ने हुनुपर्छ । शिक्षा क्षेत्रबाट अब पूर्ण प्रकारको मान्छे निस्कनुपर्छ । अब हामीले शिक्षा क्षेत्रको विषयमा पनि अवधारणा बदल्नुपर्छ । पढ्ने विद्यार्थीहरुलाई अब सूचनाप्रविधिमैत्री कसरी बनाउने विषयमा लैजान सक्नुपर्छ । अहिले मास्टर्स डिग्री उत्तिर्ण गरेका विद्यार्थीहरु नेपालमा जनशक्ति नचाहिने भएर विदेश गएका होइनन् । विकास हुन नसकेको कारणले उनीहरु विस्थापित भएका हुन् । अहिले कम्प्युटर इन्जिनियर, सिभिल इन्जिनियर जस्ता विषयमा मास्टर्स डिग्री गरेको जनशक्ति नेपालमा नै नरहेको अवस्था छ । देशको विभिन्न कारणले गर्दा मानिसले काम नपाएको जस्तो देखिएला तर, देशको विकासको लागि दक्ष र शिक्षित जनशक्तिको आवश्यकता पर्छ । नेपाल सानो मुलुक छ, पढ्नको लागि जहाँ गएर बस्न पनि सकिन्छ । विद्यार्थीको रुचि मुख्य विषय हो । सकेसम्म विद्यार्थीले आफ्ना अभिभावकहरु र समाजमा बसेर अध्ययन गर्न सक्यो भने उसले आफ्नो समाजलाई बुझ्न सक्छ । पूर्वदेखि पश्चिमसम्मको अवस्थालाई हेर्दा प्राविधिक शिक्षामा कमी छ जस्तो लाग्दैन । कतिपय केन्द्रीय विश्वविद्यालयले व्यवस्था गरेका छन् भने कतिपय ठाउँमा प्रादेशिक सरकारले व्यवस्था गरेका छन् । विद्यार्थीले प्राविधिक शिक्षा पढ्न चाहेको अवस्थामा प्राप्त गर्न नसक्ने अवस्था छैन । तर, मुख्य पढ्ने काम भने स्वयं विद्यार्थीको नै हो । विद्यार्थीहरुले सकेससम्म छात्रवृत्तिमा अध्ययन गर्नको लागि कुन विश्वविद्यालयले कति कोटा छात्रवृत्ति प्रदान गरेको छ र त्यसको छनौैटको परीक्षा कहिले हुँदैछ भन्ने विषय पनि बुझ्न जरुरी हुन्छ । धेरै एप्लाइड कोर्षहरु पढ्दा पार्टटाइम काम पनि पाउन सकिन्छ र पढाइको खर्च पनि उठाउन सकिन्छ ।
संस्थागत निक्षेप सरकारी बैंकमै राख्न सीईओहरुको लबिङ
काठमाडौं । सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले संस्थागत निक्षेपलाई सरकारी स्वामित्व रहेका बैंकहरुमा राख्नका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् । बैंकका सीईओहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेट्दै सरकारी बैंकको ब्याजदर कम भएको र यसअघि संस्थागत रुपमा रहेको निक्षेप अन्य बैंकले खोस्ने चुनौति रहेकोले सो रकम सरकारी बैंकमै जम्मा राख्नका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् । आर्थिक वर्ष सकिएपछि संस्थागत निक्षेपकर्ताहरुले मुद्दती निक्षेपमा जम्मा गरेको रकमको अवधि पनि समाप्त हुन्छ । पुनः आर्थिक वर्ष सुरु भएसँगै संस्थागत निक्षेपकर्ताहरुले सो रकम नविकरण गर्छन् । संस्थागत निक्षेपकर्ताहरुले जुन बैंकले बढी ब्याज प्रदान गर्छन् सोही बैंकमा जम्मा गर्ने गरेका छन् । पछिल्लो समय सरकारी स्वामित्व रहेका बैंकहरुको संस्थागत निक्षेपमा ब्याजदर कम छ । सोही अनुसार थोरै ब्याज भएका बैंकहरुमा संस्थागत निक्षेपकर्ताको आकर्षण कम हुने भएकाले अर्थमन्त्री डा.महतलाई सो रकम सरकारी बैंकमा राख्न सहजीकरण गरिदिन आग्रह गरेका हुन् । ‘सरकारी स्वामित्वका बैंकहरुमा संस्थागत निक्षेपको ब्याजदर कम छ, ब्याजदर कम भएपछि संस्थागत निक्षेपकर्ताहरु पनि बढी ब्याज दिने बैंकमा जम्मा गर्छन्, सरकारी बैंकहरु रित्तो हुन्छन्,’ एक बैंकका सीईओले भने, ‘अर्थमन्त्रीज्यूले संस्थागत निक्षेप सरकारी बैंकमा राख्न सहजीकरण गरिदिनु पर्याे, सो निक्षेपमा हाम्रोमा आयो भने ब्याज पनि हुन्छ ।’ सरकारी स्वामित्वका बैंकहरुले पनि भदौमा ब्याजदर बढाएपछि अर्थमन्त्री डा.महतले अर्थमन्त्रालयमा बोलाएर राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण श्रेष्ठ, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी र कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङलाई ब्याजदर किन बढाएको भनेर प्रश्न गरेका थिए । त्यसपछि बैंकका सीईओहरुले बैंकको ब्याज कम भएपछि निक्षेप खोसिएको र संस्थागत निक्षेप सरकारी बैंकमै राख्न सहजीकरण गरिदिन आग्रह गरेका हुन् । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत छ । बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नेपाल धितोपत्र बोर्ड, वैदेशिक रोजगार बोर्ड लगायत संस्थागत निक्षेपकर्ता हुन् । हालसम्म यी संस्थाहरुले जुन बैंकले बढी ब्याज प्रदान गर्याे सोही बैंकको संस्थागत मुद्दती निक्षेपमा लगानी गर्दै आएका छन् । तर, सरकारी लगानी रहेका बैंकहरुमा संस्थागत मुद्दती निक्षेपमा ब्याजदर कम भएपछि निजी बैंकतिर आकर्षित हुँदै आएका छन् । ‘आफूहरु ब्याजदर घटाउन तयार रहेको तर, संस्थागत निक्षेप सरकारी बैंकमा राख्न पहलकदमी वा सहजीकरण गर्न अर्थमन्त्रीसँग आग्रह गरेका हौं,’ एक बैंकका सीईओ भने ।
नाडा अटो-शोमा ५ हजार गाडी बुकिङ हुने अपेक्षा, विद्युतीय गाडीकै डोमिनेन्स्
काठमाडौं । आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्सपो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोको मुख्य आकर्षक विद्युतीय तथा कर्मसियल भेइकल रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ । ४ वर्षपछि हुन लागेको अटो–शोमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनकोे उल्लेख्य सहभागिता हुने नाडाले जनाएको छ । नाडाका अनुसार अटो–शोका लागि ८२ वटा स्टलहरु बुकिङ भैसकेका छन् । विगतका चार वर्षमा कारोना महामारी लगायतका कारणले नाडा अटो–शो हुन सकेको थिएन । लामो अन्तरालपछि हुन लागेको अटो–शोमा अटोमोबाइल कम्पनीहरुको अत्यधिक सहभागिता हुने नाडाका महासचिव सुरेन्द्र उप्रेतीले जानकारी दिए । उनका अनुसार अटो एक्सपोमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु ल्गायतका सामग्रीहरु रहनेछन् । नाडाका अनुसार एक्सपोमा चारपाङ्ग्रे सवारी साधन १७, दुई पाङ्ग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरु ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट तथा एसेसरिजका ३१ वटा स्टल रहनेछन् । उक्त–शो मा २२ ब्राण्डका मोटरसाइटल तथा स्कुटर, १६ ब्राण्डका कार तथा जिप, २६ वटा स्पेयर पार्टसका स्टलहरु रहनेछन् । प्राथमिकतामा इभी र कमर्सियल भेइकल अटो–शो मा विद्युतीय गाडी तथा कर्मसियल भेइकल मुख्य आकर्षण रहने भएका छन् । पछिल्लो समय डिजेल तथा पेट्रोलका गाडी बिक्री गर्दै आएका कम्पनीहरुले विद्युतीय गाडी भित्र्याउन थालेका छन् । सरकारले विद्युतीय गाडी (इभी)मा भन्सार तथा अन्तशुल्कमा छुट दिनेदेखि विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएपछि अटो–शोमा इभीलाई मुख्य आकर्षणको रुपमा हेरिएको नाडाले जनाएको छ । अटो–शो २०२३ मा विभिन्न १२ वटा इभी कम्पनीले स्टल बुक गर्दा डिजेल तथा विद्युतबाट सञ्चालित गाडीका १० वटा कम्पनीले स्टल बुक गरेका छन् । अटो–शोमा टोयोटा, मित्सुबिसी, प्रोटोन, स्कोडा र होन्डाका चारपाङ्ग्रे सवारीसाधन देख्न नपाइने नाडाले जनाएको छ । पछिल्लो समय नेपाली बजारमा नयाँ मोडलको गाडी नआएको भन्दै टोयोटाले स्टल नराखेको नाडा स्रोतले जनायो । चारपाङ्ग्रेमा सुजुकी, निसान, टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड, सिट्रोन सहभागी हुँदै छन् । त्यस्तै, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ र अर्को एउटा ब्रान्ड नखुलेको कम्पनी सहभागी हुने तय भएको छ । यी हुन अटो–शोमा देखिने दुई पाङ्ग्रे साधन यस वर्षको अटो शोमा यामाहा र हिरोले सहभागिता जनाउने छैनन् । मोटरसाइकलको बिक्री बढ्न नसकेकाले राम्रो बजार हिस्सा भएको यामाहा र आधिकारिक बिक्रेताको विवादका कारण हिरोले सहभागिता नजनाउने भएको हो । यी दुई बाहेक अन्य अधिकांश ब्राण्ड अटो शोमा रहने छन् । बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम, जोन्टेस, भेस्पा, अप्रिलिया, जावा, रोयल इनफिल्ड, बेनेली जस्ता ब्राण्डले अटो–शोमा भाग लिनेछन् । त्यस्तै, विद्युतीय दुई पाङ्ग्रेतर्फ इभोक, स्लेन, एफ्टेक, सनरा, प्योर ईभी, कोमाकी, इलेक्ट्रिक वान, सेग–वे, एनआईयू, याडिया र लेभ्निङ सहभागी हुने छन् । इभीकाे बाेलवाला रहने अटो–शोमा टाटा, हुन्डाई, सेरेन, ग्रेटवाल, सिट्रोन, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ लगायतका कम्पनीका विद्युतीय गाडीहरु प्रदर्शनमा आउने भएका छन् । हुन्डाईले कोना र आयोनिक शोमा राख्ने नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले अटो शोमा यसअघि नै बिक्री हुँदै आएको कोना र आयोनिक मोडलका गाडीहरु राख्ने जनाएको छ । कम्पनीले अटोशोमा पुरानै विद्युतीय गाडीहरु राख्ने जनाएको हो । हुन्डाइ कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी भएको भन्दै कम्पनीले अटोशोमा सोही गाडीहरु राख्न लागेको हो । हाल कोना ३ वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएल ६१ लाख ९६,००० र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । आईओएनआईक्यू ५ जीएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजार बराबरको रहेको कम्पनीले जनाएको छ । एमजी इभी–४ ल्याउँदै पारामाउन्ट नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अटो–शोका लागि नै लक्षित गरेर एमजी फोर मोडलको गाडी बिक्री गर्ने तयारी गरेको छ । एमजी फोर दुई ब्याट्री अप्सनसहित आउँदै छ । जसमा ५१ र ६४ किलोवाट आवर ब्याट्री प्याकमा सार्वजनिक हुन लागेको यो गाडीले क्रमशः ३५० र ४५० माथि नै रेन्ज दिने कम्पनीको दाबी छ । तर, कम्पनीले हालसम्म मूल्य भने सार्वजनिक गरेको छैन । डल्फिन गाडी भित्र्याउँदै बीवाईडी बीवाईडी गाडीको आधिकारिक वितरण साइमेक्स इंकले नाडा अटो शोमा डल्फिन गाडी बिक्रीका लागि राख्ने जनाएको छ । बीवाईडीले डल्फिनसँगै एटो–थ्रि समेत राख्ने तयारी गरेको छ । नेपाली बजारमा करिब ४५ लाख रुपैयाँ हाराहारिमा रहेको डल्फिन मोडलको गाडीमा ४४.९ किलोवाट प्रति घण्टा ब्याट्री क्षमता, ४२० किलोमिटर रेन्जको चार्च तथा ७० किलोबाटको मोटर जडान भएको कम्पनीले जनाएको छ । महिन्द्रा एक्सयूभी ४०० नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि समूहले नाडा अटोशोमा महिन्द्रा एक्सयुभी ४०० देखाउने भएको छ । नाडा अटो शोका लागि नै नयाँ कम्पनीले उक्त गाडी नेपाल ल्याउन लागेको हो । लिथियम आयोन ब्याट्री जडान गरिएको उक्त गाडाीमा ३४.५ र ३९.४ किलोवाट आवर गरी दुई वटा ब्याट्री अप्सन रहेको छ । तर, कम्पनीले हालसम्म नेपाली मूल्य भने सार्वजनिक गरेको छैन । सेरेस मोडलको नयाँ गाडी भित्रिँदै नाडा अटो शोमा नेपालमा नयाँ विद्युतीय गाडी भित्रन लागेको छ । एमएडब्लू कम्पनीले अटोशोका लागि नै चिनियाँ ब्रान्डको सेरेस–३ गाडी भित्र्याउन लागेको हो । सेरेस–३ मा ५२.७ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सस्तो मूल्यमा टाटा टियगो टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटोशोमा टियगो गाडी राख्ने तयारी गरेको छ । कम्पनीले २५ लाख रुपैयाँ हाराहारीमा अटोशोमा नै टियागो गाडीको लन्च गर्ने तयारी गरेको छ । सो मोडलको गाडी भारतमा लन्च भएसँगै कम्पनीले नेपाल ल्याउने तयारी गरेको हो । कम मूल्यमा सस्तो विद्युतीय गाडी उपलब्ध भएसँगै अटोशोको मुख्य आकर्षक टियगो नै हुनसक्ने नाडाले जनाएको छ । ५ हजार गाडी बुक हुने अनुमान चार वर्षपछि हुन लागेको आटोशोमा ५ हजार हाराहारीमा गाडीको बुकिङ हुने व्यवसायीहरुले अनुमान गरेका छन् । पछिल्लो समय धेरै उपभोक्ताको रोजाइ विद्युतीय गाडी रहेको र अटो शोमा नयाँ मोडलका गाडीहरु भित्रिएपछि उक्त संख्यामा गाडीहरु बुकिङको अनुमान गरिएको उनीहरुको भनाई छ । नाडाले समेत २० अर्ब रुपैयाँ बराबरको कारोबार हुँदा २ लाख मानिसले अटो–शो भिजिट गर्ने अनुमान गरेको छ । यसअघि भएको अटो शोमा ५ अर्ब हाराहारीमा कारोबार हुँदा ८० हजार बराबरको टिकट काटिएको थियो ।