भारतमा विवाह खर्च १०० खर्ब, शिक्षाभन्दा दोब्बर
काठमाडौं । भारतमा मानिसहरूले शिक्षाभन्दा बढी विवाहमा खर्च गर्ने गरेको पाइएको छ । एक रिपोर्टका अनुसार भारतको विवाह उद्योगको आकार करिब १ सय खर्ब रुपैयाँ बराबर रहेको छ । पछिल्लो समय मानिसहरू बिहेमा धेरै खर्च गर्छन् । अझ भनौं, पैसा पानी जस्तै बगाइन्छ । समयसँगै विवाहको शैली पनि परिवर्तन भएको छ । अहिले विवाह योजना, विवाह गन्तव्य, विवाहपूर्व र विवाहपछि गरिने फोटोसुट जस्ता धेरै काम थपिएका छन् । यस्तै, भारतमा मानिसहरूले शिक्षाभन्दा विवाहमा बढी खर्च गर्ने देखिएको छ । यो खाना र किरानापछि दोस्रो हो । एक औसत भारतीयले विवाह समारोहमा पढाइको तुलनामा दोब्बर खर्च गर्छन् । भारतमा हरेक वर्ष ८० लाखदेखि १ करोडसम्म विवाह हुने गर्दछ । यो चीन जस्ता देशमा भन्दा बढी हो, जहाँ हरेक वर्ष ७० देखि ८० लाख विवाह हुन्छन्, जबकि अमेरिकामा यो संख्या २० देखि २५ लाख छ । ब्रोकरेज फर्म जेफरिजले एक रिपोर्टमा भारतीय विवाह उद्योगको आकार अमेरिकी उद्योग (७० अर्ब अमेरिकी डलर) भन्दा झन्डै दोब्बर भएको बताएको छ । यद्यपि, यो चीन (१ खर्ब ७० अर्ब डलर) भन्दा सानो छ । प्रतिवेदन अनुसार भारतको खपत श्रेणीमा विवाह दोस्रो स्थानमा छ । यदि विवाह एक श्रेणी हुन्थ्यो भने यो खाना र किराना (६ खर्ब ८१ अर्ब डलर) पछि दोस्रो ठूलो खुद्रा श्रेणी हुन्थ्यो । भारतमा विवाहहरू भव्य हुन्छन् र यसमा धेरै प्रकारका समारोह र खर्च समावेश हुन्छन् । कपडा र गरगहनामा कति खर्च हुन्छ ? विवाहले गहना र कपडा जस्ता श्रेणीमा खपत बढाउँछ र अप्रत्यक्ष रूपमा अटो र इलेक्ट्रोनिक्स उद्योगहरूलाई फाइदा पुर्याउँछ । असाधारण विवाह रोक्न प्रयासहरू भए पनि विदेशी स्थानहरूमा आयोजित भव्य विवाहहरूले भारतीय भव्यता प्रदर्शन जारी राखेका छन् । ‘हरेक वर्ष ८० लाखदेखि १ करोड विवाहहरू हुन्छन्, भारत संसारको सबैभन्दा ठूलो विवाह गन्तव्य हो,’ जेफरिजले भनेको छ, ‘यसको आकार १ खर्ब ३० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ, भारतको विवाह उद्योग अमेरिकाको भन्दा झन्डै दोब्बर छ र प्रमुख उपभोग वर्गहरूमा महत्त्वपूर्ण योगदान दिन्छ ।’ भारतीय विवाहहरू धेरै दिनसम्म चल्छन् र साधारणदेखि असाधारणसम्मका हुन्छन् । यसमा क्षेत्र, धर्म र आर्थिक पृष्ठभूमिले महत्त्वपूर्ण भूमिका खेल्छ । प्रतिवेदनमा यो पनि भनिएको छ कि भारतमा शिक्षामा (ग्रेजुएसनसम्म) मा भन्दा विवाहमा हुने खर्च दोब्बर छ, जबकि अमेरिका जस्ता देशहरूमा यो खर्च शिक्षाको तुलनामा आधाभन्दा कम छ । एजेन्सी
जीवनभर बैंकिङ गरे, बुढेसकालमा हिरासत पुगे
काठमाडौं । जीवनको महत्वपूर्ण तीन दशक नेपाली बैंकिङ क्षेत्रमा योगदान गरे । मुलुकको सबैभन्दा पुरानो बैंक ‘नेपाल बैंक’मार्फत् नेपालीलाई बैंकिङ सेवा दिए । बैंकको नाम नसुनेकालाई बैंकिङ सिकाए । पैसा बचत गर्न नजान्नेलाई निक्षेप राख्न सुझाए । इन्ट्री लेवलदेखि बैंकको चिफ म्यानेजरसम्म पुगे । अथक संघर्ष र मिहिनेतपछि ३१ वर्षमा स-सम्मान बैंकबाट अवकाश पाए । बैंकिङ क्षेत्रमा ठूलो योगदान गरेको भन्दै दोसल्ला र खादासहित बैंकबाट विदा भए । उनलाई अझैं बैंकिङ भोक मरेन । सर्वसाधारणलाई वित्तीय साक्षरता र वित्तीय पहुँच बढाउनुपर्छ भन्ने हुटहुटी उनको मनमा खेलिरह्यो । अरु कुनै बैंकमा काम गर्ने अवस्था थिएन । परिणामतः उनले रोजे सहकारी । बैंकबाट अवकास हुनु पाँच वर्षअघि अर्थात् २०५६ सालमा ललितपुरको पुल्चोकमा स्थापना भएको थियो लालिगुराँस बहुउद्देश्यीय सहकारी । उनले सोही सहकारीमार्फत् जनतालाई बैंकिङ सेवा सिकाउने र आफू पनि व्यस्त हुने विकल्प खोजे । र, उनी बने लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य । उनी अर्थात् अमरदास श्रेष्ठ । अमरदास श्रेष्ठ । नेपाल बैंकबाट अवकास भएपछि उनी सक्रिय रुपमा सहकारीमा लागे । बैंकिङ करिअरमा कमाएको पैसा र पेन्सनलाई बचतका रूपमा सोही सहकारीमा राखे । सहकारीमा आकर्षक ब्याज थियो, बचत रकम बढ्दै गयो । जति बचत बढ्यो, उनको भूमिका र जिम्मेवारी पनि फेरिन थाल्यो । उनको चाहना थियो, आफ्नो बचतको पैसा बढाउने र सर्वसाधारणलाई पनि बैंकिङ सेवा सिकाउने । सोही संकल्पका साथ उनी वि.सं. २०६१ सालमा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सचिव बने । उनी सो सहकारीको सचिव मात्रै बनेनन् जहाँ-जहाँ सुरेन्द्र भण्डारीले लगानी गछर्न्, त्यसको सेयर साझेदार पनि बने । २०६४ सालमा सो सहकारीको उपाध्यक्ष बने । ८ वर्ष उपाध्यक्षको जिम्मेवारीमा बसे । वि.सं २०७४ सालमा सो सहकारीको अध्यक्ष बने । उनलाई नजिकबाट चिन्ने सहकारीकर्मीहरू भन्छन्, ‘श्रेष्ठ नाम मात्रैका अध्यक्ष थिए, सहकारीको साँचो सुरेन्द्र भण्डारीको हातमा थियो ।’ ‘जसो-जसो पण्डित बाजे, उसै-उसै स्वाहा’ भनेजस्तो लालिगुराँस सहकारीमा पनि त्यस्तै भयो । सहकारीका सीईओ भण्डारीले जे भन्यो, त्यस्तै गर्थे अध्यक्ष श्रेष्ठ । जहाँ भण्डारीले लगानी गरे त्यहाँ उनको पनि केही लगानी हुन्थ्यो । उनीहरूको साझेदारीमा लालिगुराँस कलेज पनि खुल्याे । जुन कलेजको भण्डारी अध्यक्ष हुन् भने अमरदास सञ्चालक समिति सदस्य हुन् । ‘मौरीको संगत गरे फूलबारीतिर, झिँगाको संगत गरे फोहोरतिर’ भनेजस्तै भयो अमरदास श्रेष्ठलाई पनि । भण्डारीकै संगतले वृद्धभत्ता खानु पर्ने ७६ वर्षको उमेरमा हातमा हतकडी लाग्यो । न्यानो ओछ्यानमा बस्नु पर्ने उमेरमा चिसो भुइँमा रात बिताउनु पर्ने बाध्यता आइलाग्यो । अमृत कुमार अर्याल । अमरदास मात्रै होइनन्, अमरदासका सहकर्मी अमृत कुमार अर्यालको हालत पनि त्यस्तै भयो । उनीहरू दुवै जनाले नेपाल बैंकमा सँगै काम गरे । सँगै बैंकबाट अवकास पाए । अमृतले पनि नेपाल बैंकमा ३१ वर्ष काम गरे । उनी पनि बैंकको विभिन्न शाखामा लामो समय काम गरे । कामु शाखा प्रबन्धक भएर बैंकबाट अवकास भए । अमरदासकै सल्लाहमा पेन्सनबाट आएको रकम सोही लालिगुराँस सहकारीमा राखे । २०६५ सालमा सोही संस्थाको सञ्चालक बने । पछि उनी संस्थाको कोषाध्यक्ष बने । अमरदास र अमृतलाई आफ्नो काबुमा लिएर सुरेन्द्रले बचतकर्ताको बचत दुरुपयोग गरे । नेपाल बैंकमा अमृत र अमरदाससँग काम गरेका एक बैंकरले अनुभव सुनाउँदै भने, ‘उनीहरू जनताको पैसा ठग्ने क्यारेक्टर (चरित्र)को थिएनन्, अरुको लहैलहमा लाग्दा हिरासत पुग्नुर्यो ।’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रकम ठगेको आरोपमा लालिगुराँस सहकारीका पदाधिकारी तथा सञ्चालकलाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । प्रहरीले सो सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सीईओ सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदम जोशी प्रधानलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ भएकी सञ्चालक समिति सदस्य प्रधान पनि लामो समय शिक्षण पेसामा थिइन् । पछि सहकारीमा लागिन् । अन्ततः त्यही सहकारीले शिक्षण पेसा गरेर कमाएको सम्मानलाई सकाइदियो । काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले उनीहरूलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको बताए । लालिगुराँस सहकारीका सञ्चालक र लेखा समिति गरेर ९ जनाविरुद्द जिल्ला अदालत ललितपुरले गत चैतमा पक्राउ पुर्जी जारी गरेको थियो । गत माघमा उनीहरू विरुद्द महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको छ । यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ध्रुब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन सहितको पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । उनका अनुसार अब उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइनेछ । यस सहकारीमा कुल ६ अर्ब ३० करोड रुपैयाँ बचत र २२ हजार बचतकर्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरेपछि अब सहकारीका बचतकर्ताको उजुरीका आधारमा सहकारीको बचत ठगेको आरोपमा पनि थप अनुसन्धान अगाडि बढाइनेछ । सम्बन्धित सामग्री : न्यायाधीशसँग चुस्की लाउँदै थिए सुरेन्द्र, पक्राउ गर्न प्रहरीकै अवरोध
विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज
काठमाडौं । धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ-डाक्टर वा इन्जिनियर वा पाइलट । तर कुन विषय पढ्दा आफ्नो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने अन्योलता भने विद्यार्थी र अभिभावकमा हुन्छ । अब के पढ्ने ? पढेपछि के बन्ने ? के कस्ता अवसर हुन्छन् ? विषय छनोट कसरी गर्ने ? करियर काउन्सिलिङ नपाउँदा अधिकांश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ । पछिल्लो समय विश्व बजारका लागि प्रतिस्पर्धात्मक जनशक्ति कसरी बनाउने भन्ने विषयमा विद्यार्थी र शैक्षिक संस्था दुवै जागरुक भएको पाइन्छ । अभिभावक पनि सचेत हुँदै गएका पाइन्छ । एसईई उत्तीर्ण भएका विद्यार्थीको चासोको विषय बनेको छ कहाँ पढ्ने ? के पढ्ने ? कुन कलेजमा पढ्दा प्रभावकारी सिकाई हुन्छ र राम्रो नतिजा हासिल गर्न सकिन्छ ? एसईई पछि विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा लगायतका संकायहरु मध्ये कुन संकायमा पढ्ने भन्नेमा सबैभन्दा पहिला विद्यार्थीले नै छनौट गर्नुपर्ने हुन्छ । फरक फरक विषय पढाउनका लागि फरक फरक शिक्षालयले ख्याती कमाएका छन् । विज्ञान संकायतर्फ राम्रो शिक्षा दिने संस्थाहरु मध्ये एक हो ग्लोबल स्कुल अफ साइन्स । सन् २०१९ मा स्थापना भएको ग्लोबल स्कुल अफ साइन्सले केही वर्षदेखि विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किरहेको छ । ग्लोबल स्कुल अफ साइन्स नै किन ? एसईईमा राम्रो जीपीए आएको छ र विज्ञान पढ्ने रुची छ भने त्यस्ता विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स उपयुक्त गन्तव्य बन्न सक्छ । सन् २०१९ मा स्थापना भएको यो कलेजले स्थापनाको छोटो समयमा नै मेडिकल, इन्जिनियरिङ र आईटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको छ । गेटबाट भित्र प्रवेश गर्नेवित्तिकै निकै ठूलो कम्पाउन्ड, दायाँतिर फुटसल र बास्केटबलमा रमाइरहेका विद्यार्थी, नजिकै बोटबिरुवाले सजाइएका गमलाको लस्कर पार गर्दै जाँदा स्कूलभित्र कुनै स्टार होटलमा पस्दै गरेको अनुभूति हुन्छ । अत्याधुनिक कक्षा कोठामा विद्यार्थीहरुले निर्धक्क आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्छन् । कक्षा कोठामा स्मार्ट बोर्डहरु जडान गरिएका छन् । जहाँ शिक्षकले हरेक विषय डिजिटल प्रविधिबाट अध्यापन गराउँछन् । ग्लोबल स्कुल अफ साइन्सले आफूलाई मेडिकल र इन्जिनियरिङ विद्यार्थी उत्पादनको हबका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सोही अनुसार यहाँ कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि हरेक सोमबार र बिहीबार कलेजभित्रै मेडिकल तथा इन्जिनियरिङको तयारी कक्षा समेत सञ्चालन हुन्छ । मेडिकल र इन्जिनियरिङ क्षेत्रलाई आफ्नो लक्ष्य बनाएका विद्यार्थीका लागि यो अत्यन्तै उपयोगीसिद्ध भइसकेको छ । ग्लोबल स्कुल अफ साइन्समा विद्यार्थी भर्ना भएपछि उनीहरुको दुई वर्षे पढाईको सम्पूणर् जिम्मा कलेजले लिन्छ र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीणर् भएको कलेजका प्रोग्राम डाईरेक्टर गोकुलदेव बडु बताउँछन् । उनका अनुसार गत वर्ष देशभर विज्ञान संकायमा देशभरीबाट ४७ जनाले ४ जीपीए ल्याएकोमा त्यसमा ग्लोबल कलेज अफ साइन्सबाट मात्रै ६ जना विद्यार्थी थिए । यो निकै ठूलो उपलब्धी भएको उनी बताउँछन । मूलभूत रुपमा धेरै साइन्स कलेजहरुको गहन अध्ययनपछि खोलिएकाले यो कलेज अरु साइन्स कलेजभन्दा केही भिन्न छ, जुन यसको विशेषता हो । ग्लोबल स्कुल अफ साइन्सले कक्षा ११ मा विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक आइतबार अघिल्लो साताभरी अध्ययन अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रुपमा सञ्चालन गर्छ र हरेक बुधबार यसको नतिजा आउँछ । नतिजा उनीहरुका अभिभावकलाई समेत दिइन्छ । यसरी एक महिनासम्म चार पटक नियमित परीक्षा लिएपछि विद्यार्थीको शैक्षिक अवस्था कस्तो छ ? पढाएको बुझ्छ वा बुझ्दैन ? पढाईलेखाईको स्तर कस्तो छ ? भन्ने जानकारी हुन्छ । महिनाको अन्त्यमा हरेक अभिभावकलाई महिनामा कति परीक्षा भए ? कति अंक ल्याएको छ ? कलेजमा कति दिन उपस्थित भएको छ ? विद्यार्थीको व्यवहार कस्तो छ ? गृहकार्य समयमा गरेको छ कि छैन ? जस्ता कुराहरु रिपोर्ट बनाएर अभिभावकलाई दिइन्छ । यसबाट विद्यार्थीहरुको डिभिजन सुरु हुन्छ र कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था कलेजले नै गर्छ । उनीहरुले नियमित कक्षा सुरु हुनुभन्दा अघि बिहानीको समयमा गएर अनिवार्य रुपमा अतिरिक्त कक्षा लिनुपर्छ र जब तीन महिनाको टर्मिनल एक्जाममा राम्रो नतिजा निकाल्न सक्छन्, त्यसपछि त्यो कक्षाबाट ‘रिलिज’ गरिन्छ र जसको कमजोर नतिजा छ, उसलाई त्यहाँ राखिन्छ । यसरी निरन्तरको प्रयासबाट सबै विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएको प्रोग्राम डाईरेक्टर बडुले बताए । ग्लोबल स्कुल अफ साइन्स पछिल्लो समय विद्यार्थीमात्रै नभएर शिक्षकको पनि रोजाईको स्कुल बनेको छ । यहाँ ४० जना पूणर्कालीन, ३० जना आंशिक शिक्षक र २० जना कर्मचारी छन् । जो जतिबेला पनि विद्यार्थीका समस्या हल गर्न उपस्थित हुन्छन् । पूणर्कालीन शिक्षकहरुले बिहानैदेखि स्कुलमा उपलब्ध हुने भएकाले कमजोर विद्यार्थी र कक्षामा नियमित पढाईका क्रममा नबुझेका तथा सामूहिक छलफलमा आफूले नजानेको कुरा प्रष्टसँग राख्न नसक्ने विद्यार्थीले पनि यो समयमा आएर अतिरिक्त कक्षा लिन वा शिक्षकसँग व्यक्तिगत रुपमा भेटेर समस्या समाधान निकाल्न सक्छन् । जुन कक्षाको अतिरिक्त शुल्क नलाग्ने प्रोग्राम डाईरेक्टर बडु बताउँछन् । सबैभन्दा राम्रो पक्ष भनेको यहाँका शिक्षकले विद्यार्थीलाई ‘फोर्सफुल्ली’ भन्दा पनि विषयवस्तुबारे ‘मोटिभेट’ गरेर अध्यापन गराउने भएकाले अहिलेसम्म यो स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । यहाँको सबैभन्दा राम्रो पक्ष भनेकै कलेजमा कुनै पनि विद्यार्थी भर्ना भइसकेपछि उसको पढाईको सम्पूणर् जिम्मा कलेजले नै लिन्छ । यसमा कुनै पनि बाहानामा अभिभावकलाई थप भार पर्नेगरी ट्युसन पढाउन लगाउने, अतिरिक्त कक्षाको व्यवस्था गराउनेजस्ता काम गर्दैन । शिक्षकहरुको सेवा, सुविधा, सम्मान, प्रतिष्ठासँगै समयानुकूल तालिमहरुको समेत व्यवस्था भएकाले यो स्कुल हरेक शिक्षक र विद्यार्थीको रोजाईमा पर्दै आएको छ । यहाँको सबैभन्दा बलियो पक्ष भनेको कुनै अभिभावकले आफ्नो एउटा छोराछोरीलाई यहाँ पढाए भने अर्को छोराछोरी पनि यही पढाउन चाहन्छन् । ‘यो कलेजप्रति अभिभावकको विश्वास हो’ उनले भने । सुविधा सम्पन्न संरचना र भविष्यमुखी शिक्षा एसईईपछिको शिक्षा विद्यार्थीहरुको भविष्यसँग सीधा सम्बन्धित हुन्छ । त्यसैले यो भविष्यको जग बसाल्ने शैक्षिक तह पनि हो । यो स्टेजमा गएर कसैको पढाई कमजोर भयो भने उसको सिंगो करियरमा नै क्षति पुग्न सक्छ । ग्लोबल स्कुल अफ साइन्स यो कुराप्रति सचेत छ । यहाँको भवन बाहिर भव्यमात्रै होइन, भित्र पनि उत्तिकै सुविधा सम्पन्न छ । यहाँको ल्याबमा एकैपटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाई क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन् । पढ्ने इच्छा भएका विद्यार्थीलाई यो स्कुल सधैं खुला हुन्छ । शनिबार पनि यहाँ पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ । हरेक कक्षाहरुमा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरुलाई तत्कालै स्मार्टबोर्डबाट प्राक्टिकल रुपमा हेर्न पाइन्छ । जस्तो मानव शरीरका अंगहरुबारे पढाई भइरहेको छ भने शिक्षक वा विद्यार्थीले हातले चित्र बनाएर देखाइरहनुपर्दैन । स्मार्टबोर्डमा आफूले अध्ययन गरिरहेको र जान्न मन लागेको विषय तत्कालै हेर्न सकिन्छ । जसबाट विद्यार्थीको पढाई सैद्धान्तिकमात्रै नभएर विषयवस्तुबारे व्यवहारिक र प्रयोगात्मक रुपमा स्पष्ट हुन समेत सहयोग बढुले बताए । हरेक विद्यार्थीले यहाँ अनिवार्य रुपमा प्रिजेन्टेसन गर्नुपर्छ । यसले विद्यार्थीको लेखनसँगै, वाककला, सिप र भाषागत ज्ञान समेत बढ्नसक्छ । स्कुलले प्रयोगात्मक ज्ञानका लागि प्रिजेन्टेसनसँगै विभिन्न हाइड्रोपावर, रासायनिक क्षेत्रका साथै महावीर पुनको राष्ट्रिय आविश्कार केन्द्रको भ्रमण गराउने गरेको छ । यसका साथै विभिन्न ‘इन्टरनेशलन एक्सपोजर’ का माध्यमबाट विभिन्न देशको भ्रमण समेत गराउने गरिएको छ । जसबाट विद्यार्थीहरुलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविस्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुन्छ । ग्लोबल स्कुल अफ साइन्समा अध्ययन गरेका दर्जनौं विद्यार्थी पूणर् छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी विदेशमा समेत पूणर् छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । विद्यार्थीको ध्यान यतिबेला विश्वका नविनतम् प्रविधितर्फ मोडिएको छ । यसलाई ध्यानमा राख्दै ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्याससँगै पाठ्यक्रमसँग सम्बन्धित गतिविधि (सीसीए) तथा अतिरिक्त क्रियाकलाप (ईसीए) मा समेत विशेष जोड दिँदै आएको छ । ‘विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको छ । अत्याधुनिक भौतिक पूर्वाधार, आधुनिक शिक्षण सिकाई प्रणाली, अत्याधुनिक ल्याब, सुविधासम्पन्न सभाहल, टेक्नो ल्याब, कम्प्युटर ल्याब र लाइब्रेरीको व्यवस्था कलेजका विशेषता हुन्’ प्रोग्राम डाइरेक्टर बढुले भने । छात्रवृत्तिको व्यवस्था के छ ? ग्लोबल स्कुल अफ साइन्समा कक्षा ११ मा ६५० जना र कक्षा १२ मा ६५० जना गरी १ हजार ३ सय विद्यार्थी क्षमता छ । एसईईमा राम्रो नतिजा ल्याउने हरेक विद्यार्थीको ग्लोबल स्कुल अफ साइन्सबाट प्लस टु गर्ने चाहाना हुन्छ । यहाँ हाल ६७ वटा स्कुलबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीले अध्ययन गरिरहेका छन् । यसैबाट यो कलेजप्रति विद्यार्थीको आकर्षणलाई बुझ्न सकिन्छ । यहाँ अध्ययन गर्नका लागि यति नै शुल्क लाग्छ भन्ने निश्चित हुदैन । यसो भन्दा यो अभिभावकले तिर्नसक्नेभन्दा असाध्यै महंगो पनि छैन । कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छनोट भएका २५ जना विद्यार्थीले कक्षा ११ र १२ मा पूणर् छात्रवृत्ति प्राप्त गर्छन् । छात्रवृत्ति प्राप्त गर्न नसकेका विद्यार्थीलाई पनि उनीहरुको एसईईमा प्राप्त जीपीएका आधारमा शुल्कमा छुट हुन्छ । त्यसैले जेहेन्दार विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स एक उत्कृष्ट गन्तव्य बन्दै गएको छ । छात्रवृत्ति कसरी पाइन्छ ? एसईईको परीक्षाफल प्रकाशित भएको पाँचौ दिनमा छात्रवृत्तिका लागि इन्ट्रान्स/टप २५ मेरिट फुल स्कलरसिप परीक्षा सञ्चालन हुन्छ । जुन परीक्षामा उत्कृष्ट २५ भित्र पर्नसक्ने विद्यार्थीले २ वर्ष यो कलेजमा पूणर् छात्रवृत्ति प्राप्त गर्छ । यो परीक्षा ६० अंकको हुन्छ । डेढ घन्टाको यो परीक्षामा विद्यार्थीले क्याल्कुलेटरजस्ता सामग्री प्रयोग गर्न पाउँदैनन् र भौतिक रुपमा उपस्थित भएर परीक्षा दिनुपर्छ । यो परीक्षामा लिखितमा न्युनतम ४५ अर्थात ७५ प्रतिशत अंक ल्याउनुपर्छ । उनीहरुको १० अंकको अन्तर्वार्ता हुन्छ । बाँकी रहेको ३० अंक विद्यार्थीको जीपीए अनुसार प्राप्त हुन्छ । जस्तो कुनै विद्यार्थीको ४ जीपीए छ भने उसले यो परीक्षामा पनि ३० अंक नै प्राप्त गर्छ । कसैको ३.९ जीपीए छ भने २६ अंक र ३.८ छ भने २४ अंक प्राप्त गर्छ । यसरी लिखित परीक्षा, अन्तर्वार्ता र जीपीएको अंक जोडेर टप २५ भित्र पर्ने विद्यार्थीले कक्षा ११ र १२ मा पूणर् छात्रवृत्ति पाउँछन् । जुन परीक्षामा ४० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीले ग्लोबल कलेज अफ साइन्समा भर्नाका लागि योग्य हुन्छ । यी विद्यार्थीमा पनि जीपीए राम्रो भएका विद्यार्थीले केही मात्रामा छात्रवृत्ति पाउछन् । जसले यहाँ अध्ययन गर्न चाहने विद्यार्थीलाई थप सहज हुन्छ । बिचमा कुनै कारणबस पूर्ण छात्रवृत्ति पाएको विद्यार्थीको पढाई कमजोर भयो भने पनि उसको छात्रवृत्ति कटौती हुने भन्ने हुँदैन । बरु छात्रवृत्ति नपाएका विद्यार्थीले पढाईमा राम्रो गरेमा उनीहरुले तिर्नुपर्ने शुल्क कम हुन्छ । यसले पनि कलेजप्रति आकर्षण बढेको छ । इन्ट्रान्स परीक्षादेखि युनिट टेस्ट, अतिरिक्त क्रियाकलाप (ईसीए), खेलकुद लगायतका गतिविधि पनि वार्षिक क्यालेन्डरका आधारमा निश्चित गरिएका छन् । जसका कारण कलेजमा कुन समयमा के हुन्छ भन्ने अन्योलता अभिभावक र विद्यार्थीमा हुँदैन । विद्यार्थीलाई विज्ञानको गहिरो अध्ययन गराएर बौद्धिक र सिर्जनशील विद्यार्थी उत्पादन गर्नु कलेजको उद्देश्य हो । विज्ञान कस्तो विषय हो ? यो विज्ञानको युग हो । विज्ञानको परिभाषा रसायनशास्त्र, भौतिकशास्त्र वा जीव विज्ञानमा मात्रै सीमित छैन । अर्थशास्त्र, गणितदेखि समाजशास्त्र, राजनीतिशास्त्र जस्ता विषयलाई पनि विज्ञान मानिन्छ । तर विज्ञान संकाय भन्नेबित्तिकै हरेकको मनमा रसायनशास्त्र, भौतिकशास्त्र वा जीव विज्ञान आइहाल्छ । यो युग भनेको छनोटका बहुविकल्प भएको युग पनि हो । त्यसैले इच्छाअनुसारको विषय छनोट गर्ने र त्यसमा अब्बल हुने कोशिस हरेक विद्यार्थीले गर्नुपर्छ । विज्ञान विषय पढ्ने इच्छाशक्ति भएका हरेक विद्यार्थीका लागि उपयुक्त विषय हो । यो विषय पढेका विद्यार्थीले भविष्यमा जुनसुकै विषयमा उत्तिकै राम्रो गर्न सक्छन् । क्षमतावान् विद्यार्थीले कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने हो भने त्यसपछि अन्यत्र जाने प्रशस्तै ढोकाहरु खुल्छन् । प्लस टु साइन्सपछि इन्जिनियरिङ, मेडिकल साइन्स पढ्ने सोच भएका विद्यार्थीका लागि आधार तयार हुन्छ । विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । के पढेर कहाँ जाने भन्ने प्रष्ट भएर विषय छनोट गर्नु उपयुक्त हुन्छ । साथीभाइ वा अरुको करकापले नभई आफ्नो क्षमता र लक्ष्य निश्चित गरेर अघि बढ्ने विद्यार्थीका लागि विज्ञान उपयुक्त विषय बन्नसक्छ ।